विदुर, नुवाकोट / आज २७ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नुवाकोटमा पनि पदयात्रा गरि मनाईएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक, राजनीतिक, आर्थिक, साँस्कृतिक लगायत मूल प्रवाहमा ल्याउने उद्देश्यले हरेक वर्ष डिसेम्बर ३ तारिखमा यो दिवस मनाईने गरिन्छ । यस वर्ष अन्तर्राष्ट्रिय नारा “अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकारण तथा समावेशिता र समानताको सुनिश्चता” र राष्ट्रिय नारा “मलाई गणना गर, समावेश गर” भन्ने मूल नाराका साथ सदमुकाम विदुरमा पदयात्रा गरिएको छ ।
पदयात्रापछि कोणसभाका प्रमुख अतिथि विदुर नगरपालिकाका प्रमुख संजु पण्डितले विदुर नगरपालिकाभित्रका अपाङ्गता क्षेत्रमा कार्यरत संस्थाहरुलाई एक भइ अपाङ्गता भएका व्यक्तिहरुको हकहितको लागि कार्यक्रम ल्याएमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा नगरप्रमुखले नुवाकोटको अपाङ्गता क्षेत्रमा क्रियाशील पूर्णलाल श्रेष्ठ र रुपा थापालाई दोसल्ला ओढाई सम्मान गर्नुभएको छ । सम्मानित हुने श्रेष्ठले विगत २०६२ सालदेखि बौद्धिक अपाङ्गता क्षेत्रमा कार्यरत हुनुहुन्छ । बौद्धिक अभिभावक संघ नुवाकोटका निवर्तमान अध्यक्ष हुन् । श्रेष्ठकै कार्यकालमा विदुर नपा-५, मझिटारमा बौद्धिक अपाङ्गता भएका बालबालिकाको हेरचाह केन्द्रको स्थापना भएको हो । अर्का सम्मानित रुपा थापा विदुर नपा-१ का वडासदस्य हुनुहुन्छ । थापा अपाङ्गता भएका व्यक्तिको हकहित, अधिकारको सुनिश्चितता र तालिममा क्रियाशील व्यक्ति हुन् ।
कार्यक्रममा विदुर नगरपालिकाका उपप्रमुख गीता दाहालले राज्यका अपाङ्गता भएका व्यक्ति, बालबालिका, जेष्ठ नागरिकको हकहित, अधिकारको सुनिश्चितता प्रदान गर्न नसके सुखी नेपाली सम्वृद्ध नेपाललाई सार्थकता दिन नसक्ने बताउनुभयो । नगरपालिकाले अपाङ्गता भएका व्यक्तिको लागि सदैव सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा बौद्धिक अपाङ्गता अभिभावक संघका निवर्तमान अध्यक्ष पूर्णलाल श्रेष्ठले विदुर नगरपालिका लगायत गाउँपालिकाले अपाङ्गतालाई गम्भीरताको आधारमा पूर्णअशक्त, अतिअशक्त, मध्यम अपाङ्गता र सामान्य अपाङ्गतावर्गलाई एक स्थानमा समावेश गरी विशेष शिक्षा दिन सके ज्योतिको शिक्षा, आर्थिकोपर्जनको विकास हुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरु शिक्षा, स्वास्थ्य, यातायात, सामाजिक पुनःस्थापना, सशक्तिकरण, चेतना लगायतका बारेमा राज्य मौन रहँदा अपाङ्गता भएका व्यक्ति खुलेर समाजमा आउन सकेका छैनन् । ग्रामीण दुर्गम भेगका कतिपय अपाङ्गता भएका व्यक्तिहरुको पहिचान समेत हुन नसकेको हुनाले स्थानिय हुँदै राज्यले अपाङ्गता भएका व्यक्तिलाई अवसर प्रदान गर्नुपर्ने सरोकारवालाले माग राखेका थिए ।
गत मङ्सिर ४ गते नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ट नागरिक मन्त्रालयले अपाङ्गतालाई गम्भीरताको आधारमा पूर्णअशक्त, अतिअशक्त, मध्यम अपाङ्गता र सामान्य अपाङ्गता वर्ग गरि चार भागमा वर्गीकरण गर्दै त्यसै प्रकारका परिचयपत्रको लागि अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५ जारी गरेको थियो । अपाङ्गता भएका व्यक्तिलाई संरक्षण, सामाजिक सुरक्षा साथै विविध पक्षमा पहच वृद्धि गर्ने उद्देश्यले अपाङ्गता परिचयपत्र वितरण गरिँदै आएको छ । अपाङ्गता भएका व्यक्तिलाई प्रदान गरिएको परिचय पत्रमार्फत विभिन्न क्षेत्रमा विभिन्न तवरले सेवा, सुविधा, अधिकार तथा अवसर उपलब्ध गराउने व्यवस्था रहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५ (नमूना) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
समाज कल्याण परिषद्का अनुसार अपाङ्गताको क्षेत्रमा काम गर्ने भनेर दर्ता भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको संख्या झण्डै १ हजार ५ सय छ । सरकारी र गैरसरकारी क्षेत्रले अपाङ्गता भएका व्यक्तिलाई समुदायमा पुनःस्थापना र परिचालन गर्न धेरै लगानी गरे पनि अपाङ्गगता भएका व्यक्तिको अवस्थामा भने खासै परिवर्तन नआएको अपाङ्गताको क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधिहरूले बताउने गरेका छन् ।
राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्याको करिव ५ लाख जना अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिको अधिकारलाई विश्वव्यापीरूपमा स्थापित गर्ने प्रयासका क्रममा सन् १९८१ लाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय अपाङ्गता वर्षको रूपमा घोषणा गर्यो । सन् १९९२ बाट हरेक वर्षको डिसेम्बर ३ तारिखलाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरिएको थियो । नेपालमा सन् २०१३ बाट उक्त दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया