विदुर / नुवाकोटको स्वास्थ्य क्षेत्रमा सेवा गर्ने उदेश्य राखी निर्माणाधीन रहेको चक्र देव पोलिक्लिनिक प्रा.लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत बौद्धिक अपाङ्गता प्रारम्भिक विद्यालयलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेको छ ।
विदुर नगरपालिका-५ स्थित माझीटारमा रहेको विद्यालयका विद्यार्थीहरुलाई जाडो महिनाको लागि २५ वटा र कर्मचारीको लागि ४ वटा ज्याकेट, ४८ थान चित्र कोर्नको लागि आर्ट कपि, कलर र खाजाको लागि २ कार्टुन बिस्कुट लगायतका सामाग्रीहरु पोलिक्लिनिकका अध्यक्ष सुशील पण्डितले विद्यालयका प्रधानाध्यापक राजिन्द्र श्रेष्ठलाई प्रदान गर्नुभएको छ । कार्यक्रममा सबै विद्यार्थीहरुलाई पोलिक्लिनिक परिवारका सदस्यहरुले फ्रुटी खुवाएका थिए ।
कार्यक्रममा पोलिक्लिनिकका अध्यक्ष सुशील पण्डितले भान्जाको जन्मदिनको अवसरमा विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेको बताउनुभयो । आगामी दिनमा सहयोगलाई निरन्तता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यस अघि पण्डितले गत वैशाखमा विद्यालयलाई ६ थान पंखा तथा जडान खर्च प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष रमेश आचार्य, डबली खबरका संचालक सुनील श्रेष्ठ, डा. विकास पण्डित, मौषमी गिरी, सर्मिला पण्डित, संघका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।




बौद्धिक अपाङ्गता प्रारम्भिक विद्यालय
विद्यालय विसं २०६८ देखि संस्थागत रुपमा सञ्चालन गरिएको हो । यस अघि विद्यालय “बौद्धिक अपाङ्गता दिवा हेरचाह केन्द्र” को रुपमा सेवा प्रदान गर्दै आइरहेको थियो । बौद्धिक अपाङ्गता अभिभावक संघद्वारा संचालित यस विद्यालयमा अहिले २४ जना विद्यार्थीहरु अध्ययन गर्नुको साथै होस्टेलकै रुपमा विद्यालयमै बस्दछन् ।
विद्यालयमा अहिले शैक्षिक निरन्तरतामा चुनौती देखिनुको साथै खाजा, खानाको पनि आर्थिक अभाव रहेको छ । साथै नयाँ भवनमा भौतिक पूर्वाधारहरु अझै आर्थिक अभावकै कारण सम्पन्न हुन सकेको छैन ।
विद्यालय गत साउनमा मात्र नयाँ भवनमा स्थान्तरण भएको हो । यसभन्दा अघि हाल विदुर नगरपालिका वडा नम्बर ५ को कार्यालयमा रहदै आएको थियो । वडा कार्यालयको माग र सम्झौता अनुसार पहिलाकाे भवन छाेड्नु परेकाे हाे । अहिले नयाँ भवनबाट सेवा प्रदान गर्दै आई रहेको छ ।
संघको कार्यसमितिमा अध्यक्ष रमेश आचार्य, सचिवमा उमाकान्त नेपाल र कोषाध्यक्षमा सरिता थापा, सदस्यहरुमा नारायणी श्रेष्ठ, रिता खड्का, जुठेराज डंगोल र केशव अधिकारी र सल्लाहकारमा निवर्तमान अध्यक्ष पूर्णलाल श्रेष्ठ रहेको छ ।
प्रतिक्रिया