विदुर, नुवाकोट / प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले पत्रकार आचारसंहिता सम्बन्धि डिजिटल संवाद भएको छ ।
नुवाकोटको पत्रकारिता व्यवस्थित र मर्यादित बनाउन सत्य, तथ्य र निष्पक्ष आवश्यक रहेको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताउनुभयो । जिल्लाको पत्रकारिता र पत्रकारको अवस्थाको विषयमा आफु नजिकबाट जानकारी रहेको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउनुभयो । पत्रकारको पेशागत सुरक्षा, क्षमता वृद्धिका लागि स्थानीय निकाय क्रियाशिल रहेको बताउनुभयो । सञ्चार माध्यममा क्रियाशील पत्रकारहरुले पनि आफ्नोस्तर अन्तर्राष्ट्रिय तौरतरिका र व्यवहारमा उतार्नुपर्ने प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले बताउनुभयो । पत्रकारितामा अहिलेको समयमा महिलाहरुको संख्या उल्लेख्य देखिएपनि महिलाको विषयवस्तुलाई कमै मात्रमा समेटिएको हुनाले महिलाको क्षेत्रमा पनि कलम चलाउनुपर्ने विदुर नगरपालिकाका उप-प्रमुख गीताकुमारी दाहालले बताउनुभयो ।
पत्रकारिता सधैं अध्ययनकै विषय हुने भएकोले नयाँ प्रविधि र प्रयोगको सिप आवश्यक रहेको प्रेस काउन्सिल नेपालका सदस्य गोपाल बुढाथोकीले बताउनुभयो । यस्तै, नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले भदौ १ गतेबाट लागू भएको कानूनलाई प्रयोग गरेर अनियमितता गरिरहेका सार्वजनिक व्यक्तिहरुले पत्रकारलाई नै मुद्दा लगाउन थालेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार आचारसंहिता, प्रेस काउन्सिलले ल्याउन लागेको डिजिटल नियमको बारेमा प्रेस काउन्सिल नेपालका उप-प्रशासकीय अधिकृत रामशरण बोहोराले जानकारी गराउनुभएको थियो । त्यस्तै, पत्रिकाको प्रति सुरक्षित गर्न पिडीएफ फाइललाई इमेल मार्फत पठाउनुपर्ने र पत्रिका, टिभी, रेडियो, अनलाईन पत्रिकाको दैनिक डाटालाई अहिले २ वर्षसम्मको डाटा सुरक्षित राख्ने कार्य एनआईडीसी डाटा सेन्टरबाट भईरहेको जानकारी बोहोराले दिनुभयो । त्यस्तै, आगामी दिनमा ५ वर्षसम्म डाटालाई सुरक्षित राखिने व्यवस्था गर्ने कार्य भई रहेको जानकारी दिनुभयो । अहिले नेपालभरक ३२ टिभी च्यानलहरुको प्रत्यक्ष प्रसारण रेकर्ड भैरहेको जानकारी दिनुभयो । डिजिटल संवाद कार्यक्रमलाई देशैभर संचालन गरिने बोहोराले जानकारी दिनुभयो।
कार्यक्रममा विदुर नपा-४ का वडाध्यक्ष टलकमान श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य देवचन्द्र भट्ट, प्रेस युनियनका पुर्व केन्द्रिय सदस्य शिव देवकोटा, जिल्ला अदालतका श्रेस्तेदार शिवप्रसाद बञ्जारा, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ईन्द्रबहादुर पण्डित लगायतले नुवाकोटको पत्रकार र पत्रकारिताको विगत र वर्तमान, विकास र चुनौतीको अवस्था बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया