विदुर, नुवाकोट । नागरिकता घटना दर्ता र एकल महिला सुरक्षा कोषसँग सम्बन्धित अक्सफामले तयार गरेको मोबाईल एप्स ‘थाहा छ ?’ को बारेमा अन्तरक्रिया कार्यक्रम भएको छ ।
ककनी सामुदायिक विकास केन्द्र (केसिडीसि) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङले मोबाइल एप्सले ग्रामिणभेग तथा सामान्य लेखपढ गर्ने जनताको हकमा नागरिकता दर्ताको विषयमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा अक्सफामका लैंगिक आपतकालीन संयोजक विपना धिमालले महिलाहरु नागरिकता, एकल महिला सुरक्षा कोषको रकम पाउनबाट समेत बञ्चित हुने गरेको भन्दै यो एप्सले नागरिकता, एकल महिला सुरक्षा कोषको बारेमा कानूनी प्रक्रिया थाहा पाउन एप्सले सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा एकल महिला नुवाकोटका अध्यक्ष देवकी पौडेलले एप्सबाट महिलालाई नागरिकता, एकल महिला सुरक्षा कोषबारे जानकारी पाउन सजिलो हुने बताउनुभयो ।
के हो ‘थाहा छ ?’ मोबाइल एप्स
आधुनिक सञ्चार संयन्त्र मार्फत नागरिकता, घटना दर्ता सम्बन्धी कानूनी कागजातहरु र एकल महिला सुरषा कोषमा महिलाहरुको पहुँच बनाउने उदेश्यले यो मोबाइल एप्सको निर्माण गरिएको हो ।
के छ एप्समा ?
यो मोबाइल एप्समा नागरिकता, घटना दर्ता तथा एकल महिला सुुरक्षा कोषसँग सम्बन्धित चित्र कथा, अडियो नाटक, हाजिरी जवाफ, जानकारी पुस्तिका, नियमावली, महत्वपूर्ण फोन नम्बरहरु र सम्बन्धित सोधिने प्रश्नहरु राखिएको छ ।
कसरी पाउन सकिन्छ यो एप्स ?
यो एप्स सबैको लागि निःशुल्क हो । अहिले यो एप्स एन्ड्रोइड मात्र उपलब्ध रहेको छ । यो डाउनलोड गर्नका लागि मोबाइलको गुगल प्ले स्टोरमा गएर ‘थाहा छ ?’ Thaha chha ? लेखेर खोज्न सकिन्छ र पहिचान गरी त्यसलाई आफ्नो मोबाईलमा डाउनलोड गर्न सकिन्छ । त्यसपछि एप्समा राखिएको सामग्री अफ लाईन डाउनलोड हुन्छ र पछि कुनै पनि समयमा इन्टरनेट विना नै हेर्न सकिन्छ । एप्सको साइज ३२ एमबि रहेको छ ।
प्रतिक्रिया