२०८१, १३ बैशाख बिहीबार

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग तालिम सम्पन्न

    श्रावण २ २०७५ १५:४८

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर। लिखु गाउँपालिकासुर्यगढी गाउँपालिकाको संयुक्त आयोजना र बहुसाँस्कृतिक मनोसामाजिक संस्था (टीपीओ नेपाल) को प्राविधिक सहयोगमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धि तालिम सम्पन्न भएको छ ।

दुवै गाउँपालिकामा कार्यरत सहायक स्वास्थ्यकर्मीहरुका लागी ६ दिने मानसिक स्वास्थ्यको निदान र उपचारसम्बन्धि तालिम र अहेव तथा अनमीहरुका लागी आधारभुत मनोसामाजिक सहयोग सम्बन्धि ३ दिने तालिम प्रदान गरिएको टीपीओ नेपालले जनाएको छ ।

पछिल्लो समय मृत्युदरको भारमा नसर्ने रोगहरुकोे भार बढिरहेकोमा मानसिक रोग एक प्रमुख रोग रहेको छ । समुदायस्तरमा मानसिक रोगको उपचारको सहज पहुँच नभएको, धेरैजसो मानसिक रोगको औषधीहरु नि:शुल्क पाईने भएतापनी समुदायस्तरमा कार्यरत स्वास्थ्यकर्मिहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि तालिम नभएको अवस्थामा सर्वसाधरणले सहरमा गएर चर्को मुल्यमा उपचार गराउनुपर्ने बाध्यता रहेको छ । मानसिक रोगहरुसँग सम्बन्धित विभिन्न लाञ्छाना तथा विभेदको कारणले उपचारको पहुँचमा जान डराउने र उपचारको पहुँचमा पुगेकाहरुले पनि प्रभावकारी उपचारलाई निरन्तरता दिन नसकेको कारण समुदायमा मानसिक समस्या निको नहुने रोगको रुपमा बुझिने गरेको छ ।

तालिमपश्चात समुदायस्तरबाटै मानसिक रोगको निदान, उपचार तथा आवश्यक आधारभुत मनोसामाजिक सहयोग र जटिल समस्या भएकाहरुलाई सिफारिस गर्नको लागी सहज हुने सहभागीहरुले बताईएको छ । समुदायमा मानसिक रोगबारे भएका लाञ्छाना तथा विभेदको रोकथाम गर्न र सर्वसाधरणलाई नि:शुल्क उपचारको पहुँच विस्तार गर्नमा तालिमको महत्वपुर्ण  भूमिका रहेको टीपीओ नेपालका एमएचपीएसएस एड्भोकेसी अधिकृत जितेन्द्र राईले जानकारी दिनुभयो । मानसिक स्वास्थ्यलाई सरकारी पक्षबाट यथेष्ट प्राथमिकता नभएको अवस्थामा स्थानियतहबाट यस्ता कार्यक्रम प्राथमिकताका साथ संचालन गर्न सकेमा मानसिक स्वास्थ्य सेवाको पहुँच आम समुदायमा दिर्घकालिन रुपमा विस्तार हुने अधिकृत राईले बताउनुभयो ।

तालिम पहिलो चरणमा लिखु गाउँपालिका वडा नं ४ को चौघडा स्वास्थ्य चौकीमा लिखु गाउँपालिकाका अहेव तथा अनमीहरुलाई ३ दिने आधारभुत मनोसामाजिक सहयोग सम्बन्धि तालिम भएको थियो । दोश्रो चरणमा ६ दिने लिखु र सुर्यगढी गाउँपालिमा कार्यरत सहायक स्वास्थ्यकर्मीहरुका तालिम भएको थियो । त्यस्तै, तेस्रो चरणमा सुर्यगढी गाउँपालिकामा कार्यरत अहेव तथा अनमीहरुका लागी ३ दिने सामाजिक तालिम प्रदान गरिएको टीपीओ नेपालले जनाएको छ ।

तालिमका सहभागीहरुलाई सुर्यगढी गाउँपालिका र लिखु गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतहरुको छुट्टाछुट्टै उपस्थितीमा तालिममा सहभागी स्वास्थ्यकार्यकर्ताहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । स्वास्थ्य क्षेत्रका कार्यक्रमहरुमा मानसिक स्वास्थ्यलाई पनि प्राथमिकताका साथ स्थानियतहमार्फत् नियमित गर्नमा जनप्रतिनिधीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।

टीपीओ नेपालले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग कार्यक्रमलाई समुदायस्तरमा संचालन गर्नका लागी निरन्तर पैरवी गर्दैै आइरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top