बेलकोटगढी । राष्टिय गौरवको आयोजनाको रुपमा निर्माण भइरहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी सडक आयोजनाले बेलकोटगढी नगरपालिका क्षेत्रमा जग्गा पर्ने जग्गाधनीलाई मुआव्जा वितरण सुरु गरेको छ ।
आयोजनाले बेलकोटगढी नगरपालिका वडा नं. ५,७, ८ र ९ नं. वडामा जग्गा पर्ने जग्गाधनीहरुलाई पहिलो चरण अन्र्तगत जग्गाधनीहरुलाई मुआव्जा वितरण गर्न लागेको सडक आयोजनाले जनाएको छ । यस क्षेत्रका ७ सय जनाको निवेदन दर्ता भएको आयोजनाले जनाएको छ ।
सडक आयोजना विस्तारको लागि जग्गाधनीहरुलाइ वितरणको लागि यस वर्ष २५ करोड रुपैया प्राप्त भएको छ । सडक आयोजना विस्तारको लागि जग्गाको मुआव्जा मात्र झण्डै १० अर्व भन्दा धेरै लाग्ने अनुमान आयोजनाले गरेको छ । वाँकी जग्गाधनीहरुलाई पनि सरकारसँग रकम माग गरी छिट्टै मुआव्जा वितरण गर्ने आयोजनाको तयारी छ ।
आयोजना निर्माण २५ प्रतिशत मात्र काम भएको छ । सडक आयोजनाले १० किलोमिटर सडक यसै आर्थिक वर्षभित्र कालोपत्रे गर्ने जनाएपनि छिटो वर्षा सुरु भएको कारण पूरा गर्न नसकिएको जनाएको छ । सडकका दायाँवायाँ रहेका बिजुलीका पोलहरु सार्न ढिलाई भइरहेकोले पनि सडक बिस्तारको गति ढिला भएको आयोजना प्रमुख सुवोद देवकोटाले बताए । सडक विस्तारको क्रममा रातमाटे क्षेत्रमा भएको विवादका कारण पनि मुआव्जा वितरण तथा सडक विस्तारमा केही ढिलाई भएको आयोजनाको दावी रहेको छ ।
संवाद समूह नुवाकोटले विहीवार आयोजना गरेको छलफल कार्यक्रममा आयोजना प्रतिनिधि लिलाधर अर्यालले आयोजना निर्माणको क्रममा स्थानीय सरोकारवालासग समन्वय गरेर अघि बढेकाले नै आयोजनामा गुणस्तरीय काम भइरहेको दावी गरेका छन् । आयोजनाले सडक कालोपत्रे गर्दा आधुनिक डिजिटल पू्राविधिको मेसिन प्रयोग गरेर गरिने हुँदा १० किलोमिटर कालोपत्रे २० दिनमै गर्न सकिने बताए । कार्यक्रममा आयोजनाले सामाजिक उत्तरदायित्व अन्र्तगत गरेको अतिरिक्त योजना तथा निर्माणको काम विदुर नगरपालिकालाई पनि जानकारी दिनुपर्ने विदुर नगरपालिकाका उपप्रमुख गीताकुमारी दाहालले बताइन् । उपप्रमुख दाहालले कतिपय योजनाहरु नगरपालिका र आयोजनाले दोहोरो रुपमा रकम विनियोजन भएको पाइएकाले दोहोरोपन हटाउनका लागि पनि आयोजनाले गर्ने सामाजिक उत्तरदायित्वको काम नगरपालिकालाई जानकारी गराउन आग्रह गरिन् ।
आयोजनाले पहिलो चरणमा सुरु गरेको मुआव्जा वितरणको मापदण्ड सामाजिक मूल्य मान्यता अनुसार नै रहेको प्रतिक्रिया स्थानीय जनप्रतिनिधिहरुले दिएका छन् । अन्य क्षेत्रमा पनि न्यायोचित रुपमा मुआव्जा वितरण हुनुपर्ने विदुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष लेलिन रंजीत बताउँछन् । आयोजना विस्तारको क्रममा पर्न सक्ने समस्या समाधानको लागि पनि आयोजनाले स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरेर अघि बढ्नुपर्ने उनले बताए ।
आयोजना निर्माणको क्रममा विदुर नगरपालिकाको गंगटेबजारदेखि ढुंगेको बान्द्रेसम्म चार लेनको सडक निर्माणको लागि स्वीकृत भइ विस्तृत डिजाइनको काम भइरहेको आयोजनाले जनाएको छ । यसका लागि आयोजनाले केही दिनभित्रै सडकमा जग्गा पर्ने जग्गाधनीहरुको सुचीसमेत सार्वजनिक गर्न लागेको छ ।
संवाद कुञ्ज नुवाकोटले यस अघि सञ्चालन गरेको सहजीकरण कार्यक्रममा आयोजनाले सार्वजनिक सुनुवाई सञ्चालन गर्ने, मुआव्जाको काम तत्काल समाधान गर्ने, सामाजिक न्यायको आधारमा मुआव्जा वितरण गर्नेलगायतका प्रतिवद्धता पूरा गर्न तयार रहेको आयोजनाले जनाएको छ । वातावरण प्रदुषण नियन्त्रणका उपायहरु अबलम्बन गर्ने, सडकको दायाँवायाँ १५,१५ मिटर भित्रका सबैलाई मुआव्जा दिनेलगायतका सहमति गरेको संवाद कार्यक्रमका क्षेत्रीय संयोजक सन्तोष खनालले बताए । आयोजनामा देखिएका विवादको सहजीकरणको लागि संवाद समूहले संवाद प्रक्रिया अघि बढाएपछि समस्या समाधानको लागि सहज र बुझाईमा समान धारणा भएको खनालले बताए । सडक आयोजना विस्तारका क्रममा देखिएका समस्या समाधानको लागि प्रतिवद्धताहरु पूरा गर्न आयोजना तयार रहेकोसमेत कार्यक्रममा जानकारी गराएको थियो ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण भइरहेको यो सडक निर्माणले गति लिन नसकेकाले आयोजनाले जतिसक्दो चाँडो निर्माण र गुणस्तरीय काममा प्रतिवद्ध रहन सरोकारवालाहरुले सुझाव दिएका थिए ।
प्रतिक्रिया