२०८१, ११ बैशाख मंगलवार

महिलाको नेतृत्वमा सञ्चालित विद्यालय जिल्लाकै नमुना बन्दै

    जेष्ठ १३ २०७५ २०:१७

jana samudayik school
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

गमला लामा, विदुर/नुवाकोटमा ४ सय ५४ सामुदायिक विद्यालय छन् । त्यस्तै १३ वटा श्रोतकेन्द्र । जसमध्ये रातमाटे श्रोतकेन्द्रको ढकालथोकमा रहेको कक्षा तीन सम्म पढाई हुने जन सामुदायिक आधारभूत विद्यालय ।

महिलाहरुद्धारा सञ्चालन भइरहेको विद्यालय श्रोतकेन्द्रकै नमुना हो । सञ्चालकहरुमा सकरात्मक सोच छ । अरु भन्दा भिन्न कसरी बनाउने भन्नेमा प्रयासरत छन् । सानोसानो कुरामा पनि श्रोतकेन्द्रसँग समन्वय गरेर सजिलै काम सम्पन्न गरिरहेको छ । समुदायबाट पनि कुनै नकरात्मक गुनासो आएको छैन ।

२०५३ सालमा समुदायकै श्रमदानमा निर्माण भएको विद्यालय अहिले महिलाकै नेतृत्वमा सञ्चालन भइरहेको छ । विद्यालयमा तीन जना शिक्षक कार्यरत छन् । दुई जना राहत कोटामा र एक जना बालविकास कोटामा । शिक्षा ऐनको आठौ संसोधन दफा १२ अनुसार गठन भएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि महिला नै रहेको छ । ३० जना विद्यार्थी रहेको विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुदै आएको छ । सन्तानले गुणस्तरीय शिक्षा आर्जन गरोस् भन्ने सबै अविभावकको हुन्छ र निजि विद्यालयमा भर्ना गरिदिने प्रचलन छ तर ढकालथोकमा रहेको सम्पूर्ण अभिभावकको रोजाई जन सामुदायिक प्रावि नै रहेको छ । यस विद्यालयबाट अध्ययन सकाएर महादेवफाँटमा रहेको महादेव माध्यामिक विद्यालय र दुईपिपलमा रहेको कामरुदेवि माध्यामिक विद्यालयमा जाने गरेका छन् । कक्षा तीन सम्म पढेर अन्य विद्यालयमा थप अध्ययनको लागि गएका आफ्नो छोराछोरीको नतिजा अगाडी नै आउने गरेको अभिभावकहरु बताउछन् ।

घरको सम्पूर्ण जिम्मेवारी काधमा । त्यसमाथी पनि विद्यालयको सबै भार । सजिलो त कहाँ हुन्छ र त्यसमाथी पनि महिला । राम्रो कुरा लागेर बोल्यो पोथी बास्यो भनेर बुझ्ने समाज । अप्ठ्याराको त पहाडै हुन्छ भन्ने सोचिन्छ तर विद्यालयको प्रधानाध्यापक रञ्जना बुलुनलाई केही असहज छैन जिम्मेवारी पूरा गर्न । तीन वर्ष भयो उनले प्रअको जिम्मेवारी सम्हाल्न थालेकी । विद्यालयको अध्यक्ष पुरुष थिए । अहिलेको जस्तो सहज थिएन विद्यालयमा हुने गतिविधि सञ्चालन गर्न । प्रअ बुलुन भन्छिन्, “व्यवस्थापन समितिको बैठक बारे जानकारी एक हप्ता अघि देखि गरायो । तोकिएको दिनमा त समयमा कहिल्यै उपस्थित नहुने । अध्यक्ष अनुपस्थित हुदा धेरै पटक बैठक नै स्तगित गर्नुपर्यो । घरको काम छोडेर बैठक भनेर विद्यालय आएका अन्य व्यवस्थापन समितिका पदाधिकारीले कहिल्यै राम्रो सोच्ने थिएनन् अध्यक्षकै कारण ।” विद्यालयको आर्थिक कारोवारको लागि चेकमा हस्ताक्षर गर्न हप्तौँ कुर्नु परेको, अध्यक्षकै घरमा धाएकोे अनुभव त कत्ति छन् कत्ति प्रअ बुलुनसँग । अहिले विद्यालयको अध्यक्ष महिला नै भए पछि त विद्यालयमा हुने गरेको हरेक गतिविधि सञ्चालन गर्न सहज भएको छ । प्रअको योजनामा अध्यक्षको साथ र अध्यक्षको योजनामा प्रअको साथ बराबर छ ।

विद्यालयकी अध्यक्ष नीलु घले यहि विद्यालयको पहिलो व्याजको विद्यार्थी । गाउँमा विद्यालय स्थापना नहुदो होस् त घले सहित सयौँ छोरीहरु कित अशिक्षित हुन्थे कि त पढाइमा ढिलो । विद्यालय स्थापना भएको समयमा कक्षा १ मा तेह्र चौध उमेर नाघिसकेका विद्यार्थीहरु भर्ना भएका थिए । “हामीले त सानो उमेर छदा विद्यालयको अनुहार देख्न पाएनौँ । ढिलै भए पनि अक्षर मार्फत संसार चिहाउने काम यहि विद्यालयले गर्यो । अहिले विद्यालयको अध्यक्ष छु । मेरो एउटा हस्ताक्षरकै कारणले सानो काम पूरा हुन समय नलागोस् भन्ने लाग्छ । घर, खेतवारीको कामलाई थाती राखेर भए पनि विद्यालयको कामलाई प्राथमिकता दिने गरेकी छु ” अध्यक्ष घले भन्छिन् । सानो गाउँ । रोजगारीको शिलशिलामा गाउँका प्राय परिवार नै शहर केन्द्रित भएका छन् जसले गर्दा विद्यालयमा बालबालिका थोरै छन् । विद्यार्थी थोरै भएकै कारण मर्ज हुन्छ कि भन्ने डर मनमा रहेको अध्यक्ष घले बताउछिन् ।

रातमाटे श्रोतकेन्द्रमा ३९ वटा सामुदायिक विद्यालय छन् । तर प्रअ महिला र अध्यक्ष पनि महिला नै रहेको विद्यालय जनसामुदायिक आधारभूत विद्यालय नै रहेको श्रोत व्यक्ति बद्रि शर्मा बताउछन् । श्रोतव्यक्ति शर्मा भन्छन् “महिलाहरुद्धारा सञ्चालन भइरहेको विद्यालय श्रोतकेन्द्रकै नमुना हो । सञ्चालकहरुमा सकरात्मक सोच छ । अरु भन्दा भिन्न कसरी बनाउने भन्नेमा प्रयासरत छन् । सानोसानो कुरामा पनि श्रोतकेन्द्रसँग समन्वय गरेर सजिलै काम सम्पन्न गरिरहेको छ । समुदायबाट पनि कुनै नकरात्मक गुनासो आएको छैन ।”

सिङ्गो समुदायदेखि विद्यालयका व्यवस्थापकहरुमा पनि विद्यालयमा अध्ययनरत बालबालिकाको भविष्य प्रति चिन्तित छन् । उनीहरु अरु विद्यालय भन्दा गुणस्तीयसगै उत्कृष्ट कसरी बनाउने भन्नेमा सामूहिक छलफलमा नै व्यस्त हुन्छन् । हाम्रो समुदायमा, हाम्रै सन्ततीले अध्ययन गाराउन भनेर राज्यको लगाीनमा सञ्चालनमा रहेका सामुदायिक विद्यालय धेरै छन् । तर, तिनीहरुको व्यवस्थापन सही नहुदाँ र तिनले दिएको शिक्षा गुणस्तर नहुदाँ बेरोजगार जनशक्ति उत्पादन गर्ने कारखाना सरह बनिरहेका छन् । सामुदायिक विद्यालयको सुधारको लागी धेरै पक्ष परिवर्तन हुनुपर्छ यही क्रममा जिम्मेवार पक्षका सामान्य मिहेनतले रातमाटेको ढकालथोकमा रहेको कक्षा तीन सम्म पढाई हुने जनसामुदायिक आधारभूत विद्यालययबाट धेरै पाठ अरुले पनि सिक्न सक्नेछन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top