+
Search

ताजा अपडेट +

पपुलर +

असहाय भएर बाँच्नुको पीडा

Sahayogi Haat Belkotgadhi Nuwakot
डबली खबर
८ साल अगाडी

विदुर / अशक्त एवं असहाय भएकै कारण नगरपालिकाको १० नं. वडा कार्यालयले शुक्रवार विहान एक एकल महिलाको घरमै पुगेर राहत वितरण गरेको छ ।

बेलकोटगढी नगरपालिका वडा नं. १० स्थित आँपचौरकी तिलमाया आचार्यको घरमै पुगेर वडाका प्रतिनिधिहरुसहित स्थानीयवासीहरुले राहत प्रदान गरेका हुन् ।

एक महिनाको लागि खाद्यान्न सहयोग गर्न स्थानीयहरु आचार्यको घरमा पुग्दा जस्ताले बनेको सानो टहरो, ढुंगामाटोको गाह्रोको सट्टा चारैतिर एक पाता जस्ता तेस्याइएको थियो । जस्तादेखि माथिको भाग खाली भएका कारण दुई दिन अघि परेको सानो पानीले टहराभित्र हिलाम्मे थियो । त्यो हिलाम्मे घरभित्र तिलमाया खाना पकाइरहेकी थिइन् । छेउमै आचार्य परिवारले रात कटाउने एउटा गुन्द्रीको विस्तारा थियो । उनीहरु यही विस्तारामा रात कटाउने गरेका छन् । पढ्दा कुनै फिल्मको ‘काष्टिङ’ जस्तो लागेपनि यो आचार्य परिवारको वास्तविक दैनिकै थियो ।

आचार्यका आठ वटा सन्तान् छन् । ती मध्ये दुई छोरा र एक छोरी अहिले आचार्यको साथमा छन् । शारिरिक रुपमा निकै असक्त तिलमाया हिँडडुल गर्न सक्दिनन् । पाँच वर्ष अघि श्रीमानको मृत्यु भएपछि साहरा टुटेको हो । ‘गाउँले कसैले दया गरेर ल्याइदिए यी अनाथ अवोधहरुले खान पाउँछन्, स्थानीय रामप्रसाद अधिकारीले भन्नुभयो – ‘सहारा कोही नहुँदा उनीहरुको दैनिकी कष्टकर बन्दै गएको छ ।’

आचार्य परिवारको लागि लत्ताकपडा, ओढ्ने ओछ्याउने, खाद्यान्न लगायतका सामग्री प्रदान गरिएको छ । कम्तिमा एक महिनाको लागि भएपनि पुग्ने गरी खाद्यान्न र जाडोको लागि लुगा र सिरोक डस्नाको व्यवस्था मिलाएका हौँ ।’ – वडा नं. १० का वडा अध्यक्ष पूर्णबहादुर त्रिपाठीले भने । थप सहयोग गर्नको लागि नगरपालिकाको समन्वयमा आवश्यक प्रक्रिया अघि बढाउनेसमेत वडा अध्यक्ष त्रिपाठीले बताए ।

खाद्यान्नसहितको टोली आचार्यको घरमा पुग्दा ६ वर्षिय छोरा कृष्णले ‘अव त मज्जाले खान र न्यानोमा सुत्न पाइने भयो’ भन्दा त्यहाँ भेला भएकाहरुमा सन्नाटा छाएको थियो ।

नेकपा एमाले वडा नं. १० का संयोजक एवं पूर्व वडा अध्यक्ष श्यामप्रसाद तिवारीले दयनीय अवस्थामा रहेका आचार्यको एक कोठाको घर निर्माणको लागि आवश्यक पर्ने रड, सिमेन्ट आफूले खरिद गरिदिने प्रतिवद्धता व्यक्त गरे । ‘३० बोरा सिमेन्टसहित चार कुँइन्डल’ रड दुई दिनभित्रै किनिदिन्छु, तिवारीले भने । घर निर्माणको लागि आवश्यक बालुवा, गिटी वडा कार्यालयको सिफारिसमा स्थानीय क्रसरबाट निःशुल्क उपलब्ध गराइने वडा सदस्य सरस्वती तिवारीले बताइन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ