विदुर, नुवाकोट/ सुचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिडिया काउन्सिल विधेयक पत्रकारकै हकहितको लागि ल्याइएको बताउनुभएको छ ।
आइतबार नुवाकोट सदरमुकाम विदुरमा नेपाल प्रेस संगठन नुवाकोटले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले पत्रकारिता क्षेत्र देशको समृद्धि र राष्ट्रिय स्वाधिनताको विरुद्धमा लाग्न नदिनको लागि यो विधेयक आवश्यक परेको बताउनुभयो । मिडिया काउन्सिल विधेयक पत्रकारलाई जेल हाल्नको लागि नभई पेशाप्रति जिम्मेवार र मर्यादित बनानउको लागि भएको मन्त्री बाँस्कोटाले बताउनभयो ।
सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री बाँस्कोटाले हावादारी र अर्काको मानमर्दन हुने पत्रकारिताले देशमा समृद्धि नहुने बताउँदै त्यसको नियमनको लागि प्रस्तावित मस्यौदाले काम गर्ने बताउनुभयो । मस्यौदामा के्ही कमजोरी भए त्यसलाई सच्याउन सरकार तयार रहेको स्पष्ट पार्दै आन्दोलनको पछि नलागी छलफलमा आउन सम्वन्धित पक्षलाई आग्रह गर्नुभयो ।
अहिलेको सरकारले समानुपातिक विज्ञापन प्रणालीको विकास र पत्रकारको सामाजिक सुरक्षाको लागि पाँच करोड ३४ लाखको कोष स्थापना गरेको दावी गर्दै त्यसलाई प्रेस विरोधी र प्रेसमाथिको अंकुशको रुपमा चित्रण नगर्न आग्रह गर्नुभयो ।
अर्को प्रंसग बोल्दै मन्त्री बाँस्कोटाले केरुङ, नुवाकोट काठमाडौं रेल आउने कुरामा कुनै दुविधा नभएको बताउँदै रेल आउने कुराले पनि कतिपय विज्ञहरुलाई टाउको दुखाईको विषय भएको बताउनुभयो ।
मन्त्री बाँस्कोटाले चीनवाट रसुवागढी–नुवाकोट हुंदै काठमाडौ–लुम्विनी तथा पुर्व पश्चिम रेलमार्ग सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।