विदुर / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ३ नं. प्रदेशको प्रथम महाधिवेशन नुवाकोट सदरमुकाम विदुरमा शनिवार सम्पन्न भएको छ । अधिवेशनले पेमा लामाको अध्यक्षतामा २० सदस्यीय नयाँ प्रदेश समिति निर्विरोध निर्वाचित गरेको छ ।
महाधिवेशनले उपाध्यक्षमा युवराज श्रेष्ठ, महिला उपाध्यक्षमा अञ्जु डिम्दोङ, महासचिवमा सुरजकुमार भुजेल, संगठन सचिवमा पूर्णिमा स्याङ्वा, संस्थागत सचिवमा श्याम रानामगर र कोषाध्यक्ष पूर्णभक्त दुवाल चयन भएका छन् । यस्तै खुल्ला सदस्यहरुमा बाबुकाजी श्रेष्ठ, विनोद श्रेष्ठ, साहिला तामाङ, रामशरण माझी,महिला सदस्यहरुमा लक्ष्मी शाक्य, सम्झना श्रेष्ठ, कुञ्जला पुलामी चयन भएका छन् । यस्तै संस्थागत सदस्यहरुमा डोल्मा शेर्पा, राजेश रुम्वा तामाङ, जीवन लिम्बु, नविन रानामगर, राजेश बज्राचार्य चयन भएका छन् । महाधिवेशनले अल्पसंख्यक सदस्यमा पुष्पा राई हायुलाइए चयन गरेको छ ।
यस्तै तीन सदस्यीय अनुशासन समिति पनि निर्विरोध चयन भएको छ । अनुशासन समितिको संयोजकमा दिलबहादुर लामा र सदस्यहरुमा राजकुमार शाक्य र रिदेन महर्जन चयन भएका छन् ।
यस अघि शुक्रवार महाधिवेशनको उद्घाटन गर्दै पूर्व मन्त्री एवं संघीय सांसद हितबहादुर तामाङले देशमा विद्यमान गतिविधिको लेखाजोखा गरी सही सुचना दिने काम सञ्चारकर्मी भएको भएकाले सही सुचना दिएर नागरिकको समस्या समाधानको लागि राज्य र समुदायको पुलको काम गर्न पत्रकारहरुलाई आग्रह गरे । संविधानले दिएका अधिकार संरक्षण गर्ने काम सबैको दायित्वभित्र पर्ने भएको हुँदा सबै मिलेर संघीयता संस्थागत गर्ने अभियानमा जुट्न सबैमा आग्रह गरेँ । आदिवासी जानजातिको समस्या,चुनौती र यसको निकासको लागि जनजाजति पत्रकारहरुले भूमिका खेल्न सक्ने बताउँदै सांसद तामाङले समग्र राष्ट्रिय हितसहित जातजातिको भाषा, धर्म, संस्कृति, रितिरिवाजको संरक्षणमा पनि जनजाति पत्रकारहरुले भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा सहभागी हुन नसकेका अर्का सांसद नारायणप्रसाद खतिवडाले शुभकामना सन्देशमार्फत संघीयता समावेशीताको विषयमा आदिवासी जनजाति पत्रकारहरुले भूमिका निर्वाह गर्न पहिलो महाधिवेशनले योगदान दिने विश्वास रहेको बताएका छन् ।
कार्यक्रमका विशेष अतिथि आदिवासी जनजाति महासंघ महासंघका संघीय अध्यक्ष दण्ड गुरुङले जनजाति पत्रकारहरुले उठाएका मुद्दा नै नेपाल पत्रकार महासंघमासमेत लागू भएकोमा खुशी व्यक्त गरे । उनले संघीयता कार्यान्वयनसँगै नुवाकोटमा पहिलो ऐतिहासिक महाधिवेशन सम्पन्न गरेकोमा नुवाकोटलाई धन्यवाद दिएका थिए । कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सांसद बहादुरसिंह लामाले विकास निर्माण र जातीय विभेद अन्त्यको लागि सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।
फोनिज ३ नं. प्रदेशका सयोजक समीर बलामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसदहरु बद्री मैनाली, हिरानाथ खतिवडा, कल्पना नेपाली, आशामाया तामाङलगायतले संघीयता संस्थागत गर्नको लागि जनजाति पत्रकारहरुको भूमिकाको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, प्रेस चौतारी नेपालका उपमहासचिव हिरा लामा, जनजाति पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष गजुरधन राई, जनजाति महासंघ नुवाकोटका अध्यक्ष भगवान रानामगर, नेपाल पत्रकार महासंघ ३ नं. प्रदेशका महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, आदिवासी जनजाति पत्रकार महासंघ नुवाकोटका अध्यक्ष शक्तिमाया तामाङ लगायतले मन्तव्य राखेका थिए ।








प्रतिक्रिया