+
Search

ताजा अपडेट +

पपुलर +

हाइड्रोसिल बिरामीको निःशुल्क शल्यक्रिया हुने

hydrocele nuwakot nepal
डबली खबर
७ साल अगाडी

विदुर / हाइड्रोसिल (अण्डकोषमा पानी जमेर देखापर्ने रोग) भएका बिरामीका लागि जिल्ला अस्पताल त्रिशूलीले निःशुल्क शल्यक्रिया गरिने भएको छ । यही माघ १५ गतेदेखि १७ गतेसम्म हुने निःशुल्क हात्तीपाइले रोग निवारण हाइड्रोसिल शल्यक्रिया हुने अस्पतालले जनाएको छ ।

हाइड्रोसिल रोगबाट पीडितले शल्यक्रिया गर्नुपर्ने बिरामीलाई जिल्ला अस्पालमा नै निःशुल्क सेवा उपलब्ध हुने भएकोले यसबाट लाभ लिन सबैमा अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले आग्रह गर्नुभयो । नि:शुल्क शल्यक्रियामा बिरामीले समयमै अस्पतालमा नाम दर्ता गराई सेवाको लाभ लिन अस्पतालले अनुरोध गरेको छ ।

औषधि सेवनबाट उपचार सम्भव नभएको हाइड्रोसिल बिरामीका लागि पनि सेवा रहने अस्पतालका डा. विवेक के.सीले जानकारी दिनुभयो । हाइड्रोसिल दुई प्रकारका (जन्मजात र पछि देखापर्ने) बिरामी हुने भए पनि अस्पतालले पछि देखापरेको हाइड्रोसिलका बिरामीलाई लक्षित गरी शिविर संचालन गर्न लागेको हो । समयमै उपचार भएमा हाइड्रोसिल रोग पूर्ण निको हुने भएकाले निःशुल्क उपलब्ध गराइएको सेवामा जिल्लामा रहेका बिरामी सबै समेटिने विश्वास लिएको अस्पतालले जनाएको छ ।

हाइड्रोसिल भएको कसरी थाहा पाउने (भिडियो)

हात्तीपाइले भएका बिरामीलाई टोकेको लामखुट्टेले स्वस्थ मान्छेलाई टोकेपछि बढी जाडो महसुस हुने, शरीरमा कम्पन हुनु, लिम्फनली सुन्निनु, रातो भई दुख्ने, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुष अण्डकोष ठूलो हुनु, दुख्ने, गिर्खा भेटिनु र पछि हाइड्रोसिल अर्थात् अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनेजस्ता लक्षण देखिएमा हात्तीपाइले (फाइलेरिया) भएको हुन सक्छ । साथै, महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्ने भएमा पनि हात्तीपाइले भएको हुन सक्छ ।

नेपालमा हात्तीपाइले रोग उचेरेचिया काँक्राफ्टि परजिवीको सङ्क्रमणबाट फैलिएको पाइएको छ । सङ्क्रमित भएको मान्छेको शरीरमा खासगरी रातिको समयमा छालामुनि रहेको रगतको नलीमा माइक्रोफाइलेरिया प्रवेश गरी बस्ने हुँदा सो समयमा क्युलेक्स या अन्य जातको लामखुट्टेबाट सङ्क्रमण फैलने गर्दछ ।

विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगका रूपमा चिनिएको यो रोगको नेपालका ६१ जिल्लामा सङ्क्रमण देखिएपछि सरकारले सन् २००३ देखि निवारणका लागि आम औषधि सेवन गराउने कार्य सुरु गरेको थियो । सन् २०२० सम्म नेपालबाट पूर्णरूपमा यो रोग निवारण गर्ने उद्देश्यका साथ सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइसक्ने लक्ष्य नेपाल सरकारले राखेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ