विदुर / कृषि उपज संकलन केन्द्रको भवन शिवपुरी गाउँपलिका- शेराबगरमा भएकाे दोस्रो दुईदिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ ।
जिल्लाबाट प्रदान गरिने सरकारी कार्यालयका सेवाहरु स्थानीयमै गएर सेवा प्रदान गरिने कार्यक्रम अनुरुप जिल्ला प्रशासन कार्यालयको अग्रसतामा भएको हो । तेस्रो घुम्ती शिविर बेल्कोटगढी नगरपालिकामा हुने प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभएको छ ।
शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले शिविरलाई चाडपर्वको रुपमा मात्र नभई दैनिक गाउँघरमै जनताले सेवा सुविधा प्राप्त गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । एउटै कार्यको वडा, गाउँपालिका र जिल्लासम्म पुगेर सेवा लिनुपर्ने समस्या झेल्नु पर्ने बाध्यता भइरहेको हुनाले स्रोत र साधन जे जस्तो अवस्थामा छ त्यस्तैलाई जनताको घरदैलोमै गएर सेवा प्रवाह गर्नुपर्ने अध्यक्ष थापाले बताउनुभयो ।
शिविरमा ५ सय ९ जनाले नयाँ नागरिकता लिएका छन् । महिला २ सय ८७ र पुरुष २ सय २२ जना रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
त्यसैगरी, फोटोसहितको मतदाता नामावली ४ सय ५ ले नयाँ मतदाता परिचयपत्रको लागि दर्ता गराएका छन् । महिला २ सय २२ र पुरुष १ सय ८३ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कृषि ज्ञान केन्द्र, तरकारी जोन, बागवानी विकास केन्द्र. भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त सेवामामा ३ सय ३४ जनालाई बिउ राख्ने बोरा, ३ सय ५० जनालाई सिमी र काँक्रो बिउ, ८ जनालाई बालीसम्बन्धि परामर्श, १ जनालाई खेतमै पुगेर अवलोकन र परामर्श र ५ जनालाई पशु सेवा परामर्श दिईएको छ ।
घरेलु तथा साना उद्योग विकासका अनुसार ४ जनाले नयाँ व्यवसाय दर्ता, २ जनाले लघु उद्यम कृषि फर्म दर्ता र ३१ जनाले परामर्श लिएको जानकारी दिएको छ ।
त्यस्तै, १ सय १९ जनालाई नयाँ विद्युत मिटर वितरण र १ सय ९० जनाबाट विद्युत महशुल संकलन गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
स्वास्थ्य परिक्षण तथा औषधि वितरण २ सय ३ जनाले सेवा लिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले घुम्ती शिविरमा सहयोग, सुरक्षाको प्रबन्ध र सुरक्षा सम्बन्धि जनचेतना कार्यक्रम गरेको छ ।

प्रतिक्रिया