विदुर, नुवाकोट / विनाशकारी भूकम्पको साँढे तीनवर्षपछि नुवाकोटमा सरकारी वकिलको कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।
जिल्ला सरकारी वकिल कार्यालय भवनको उद्घाटन गर्नुहुँदै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायिक प्रक्रिया अनुसार नै न्याय सम्पादन हुने भएकाले राजनीतिक हस्तक्षेप तथा कहीँ कतैबाट हस्तक्षेप नगर्न आग्रह गर्नुभएको छ । न्याय सम्पादनका लागि सबै सरोकारवालाले सहयोग गर्नुपर्ने बताउनुभयो ।
न्यायको पहुँचभन्दा बाहिर रहेकालाई न्यायिक पहुँचमा प्रवेश गराई न्याय सम्पादन गर्ने कार्य चुनौतीपूर्ण रहेको मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपाने उपाध्यायले बताउनुभयो । जिल्लाका न्यायिक निकायहरुबाट स्वच्छ र निपष्क्ष न्याय सम्पादन गरिनुपर्ने सांसद नारायणप्रसाद खतिवडाले बताउनुभयो । न्यायसम्पादनका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग र हातेमालो गर्न तयार रहेको सांसद हितबहादुर तामाङले बताउनुभयो ।
यस अघि २०७३ भाद्रमा भवनको शिलान्यास पुर्व महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठबाट भएको थियो । वैशाख १२ को भूकम्पले सरकारी वकिलको कार्यालय भत्काएपछि रु.२ करोड ३६ लाख ९५ लाख ६ सय ६१ रुपैंयामा साँढे दुईतले भवन निर्माण भएको जिल्ला न्यायाधिवक्ता बिमल थापाले जानकारी दिनुभयो । तीन तले भवनको पहिलो तलामा ८ कक्ष रहेको छ जसमा मुद्दा, प्रशासन, अभिलेख, जिन्सी, कम्प्युटर र सोधपुछ शाखा रहेको छ । दोस्रो तलामा न्यायधिवक्ता र सहायक जिल्ला न्यायाधिकवक्ताको कार्य कक्ष रहेको छ भने बयान, पुस्तकालय तथा बैठक कक्ष समेत रहेको छ । तेस्रो तलामा कार्यालय प्रमुखको निवास तथा अतिथि निवास रहेको छ । भवनले कुल क्षेत्रफल ४ सय ९८ दशमलव ६७ वर्ग मिटर आगटेको छ । भवन भूकम्पले भत्काएपछि विदुरमा भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो ।
उद्घाटन समारोहमा सांसद बद्रि मैनाली, सांसद केशव पाण्डे, सांसद हीरानाथ खतिवडा, जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङ, विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डित, सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया