+
Search

ताजा अपडेट +

पपुलर +

सडक डिभिजन नुवाकोटका योजनामध्ये दुई ठूला आयोजना अन्तिम चरणमा

Two major projects of the Road Division Nuwakot are in the final stages
सुनील श्रेष्ठ
१ घण्टा अगाडी

साउन १, विदुर । सडक डिभिजन कार्यालय नुवाकोटले गत आर्थिक वर्ष २०८२/८३ को भौतिक प्रगति विवरण सार्वजनिक गरेको छ। उक्त अवधिमा कार्यालय अन्तर्गत सञ्चालित विभिन्न आयोजनाहरूको भौतिक प्रगति मिश्रित प्रकृतिको रहेको देखिन्छ।

डिभिजन कार्यालय अन्तर्गत सञ्चालित कुल ११ वटा मुख्य सडक योजना तथा मर्मत कार्यक्रमहरूमध्ये दुईवटा रणनीतिक सडक आयोजनाहरूको प्रगति निकै उत्साहजनक र निर्माणको अन्तिम चरणमा पुगेको देखिएको सडक डिभिजन प्रमुख बद्रीप्रसाद शर्माले जानकारी दिए । ५ वटा ग्रामीण तथा सहायक सडकहरूको गति सुस्त रहेको छ। एउटा महत्त्वपूर्ण सडक खण्डमा भने बोलपत्र नपरेका कारण ढिलाइ भई भर्खरै सम्झौताको तयारी थालिएको उनले बताए ।

विवरण अनुसार तीनपिप्ले–रानीपौवा सडकखण्डको १४ किलोमिटर कालोपत्रे गर्ने लक्ष्यमध्ये ९० प्रतिशत भौतिक प्रगति भइसकेको छ । गुर्जे–छहरे खण्डको नियमित मर्मततर्फ ८० प्रतिशत र पट होल्स टाल्ने काम ७० प्रतिशत सम्पन्न भई यातायात सहज बनाइएको छ।

यसैगरी, १८ किलोमिटर लामो गङ्गटे–लब्धु–समुन्द्रटार–गोल्फुभञ्ज्याङ सडक खण्डको काम ६० प्रतिशत र गेर्खुटार–डाँडागाउँ–चोगदे सडकको भौतिक प्रगति ७० प्रतिशत छ। त्यस्तै, तिनपिप्ले–कुमारी–कोल्पुटार सडकले ५० प्रतिशत प्रगति हासिल गर्दै सब-बेस निर्माणको काम सकेको छ।

जिल्लाका आयोजना अन्तर्गत साविक जिलिङ गाविस भवन खतिवडा गाउँ सडक र शिवपुरी गाउँपालिकाको थानाभञ्ज्याङ–सुनखानी सडकमा हालसम्म केवल २०/२० प्रतिशत मात्र काम हुन सकेको छ।

त्यसैगरी, बालाजु–बेत्रावती सडकखण्ड, लब्धु–कालीमाटी–हल्दे मोटरबाटो, र बाहुनबेसी–नर्जामाण्डप सडकमा हालसम्म मात्र १०/१० प्रतिशत भौतिक प्रगति पुगेको छ । जहाँ अहिले प्रारम्भिक चरणका टेवा पर्खाल र सडक चौडा पार्ने काम मात्र भइरहेका छन्।

ठाटी भञ्ज्याङ–लप्टन डाँडा–बेतिनी सडकमा भने पहिलो पटक बोलपत्र नपरेका कारण ढिलाइ हुन गई हाल पुनः आह्वानमार्फत सम्झौताको चरणमा पुर्‍याइएको छ।

मुख्य राजमार्ग र बजार क्षेत्र जोड्ने सडकहरू तीव्र गतिमा अघि बढे पनि ग्रामीण पहुँचका सडकहरूको न्यून प्रगतिले गर्दा बाँकी अवधिमा कामको गति बढाउनुपर्ने चुनौती सडक डिभिजनसामु देखिएको जनाएको छ।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ