४ मङ्सिर, नुवाकोट । लक्ष्मी सपोर्ट फाउण्डेशनले तारकेश्वर गाउँपालिका–४ स्थित चक्रेश्वर आधारभूत विद्यालयका ५० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेको छ। अध्ययनमा रुचि र अतिरिक्त क्रियाकलापमा सहभागिता बढाउन सामग्री प्राप्त भएको विद्यालयले जनाएको छ।
शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सक्रिय शिक्षाप्रेमी रामकाजी (स्वर्णिम) थापाको पहलमा उक्त संस्थामार्फत बालकक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो। विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीका लागि शैक्षिक सामग्री, खेलकुद उपकरणका साथै कक्षाकोठा सुधारका सामग्रीसमेत उपलब्ध गराइएको थियो।
थापाको पहलमा विद्यालयको कार्यालय कक्ष र बालकक्षामा कार्पेट, कुशन, भित्तेलेखन, गलैचा लगायतका सामग्रीको व्यवस्थापन गरिएको छ। यसअघि पनि थापाले तारकेश्वर गाउँपालिकाभित्रका ६ वटा विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरिसकेका छन्।
शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा लामो समयदेखि सक्रिय थापा तारकेश्वर गाउँपालिका–४ का वडा सदस्य समेत हुन्। पछिल्लो समय उनले नुवाकोट, लमजुङ र कास्कीका विभिन्न विद्यालयमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग गर्दै आएका छन्। हालसम्म करिब पाँच सय विद्यार्थीलाई थापाको पहलमा साउण्ड सिस्टम र अन्य शैक्षिक सामग्री वितरण गरिएको छ।
कार्यक्रमका क्रममा थापा, फाउण्डेशनका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा अभिभावकले आधुनिक तथा गुणस्तरीय शिक्षाका लागि सामूहिक सहयोग आवश्यक रहेकोमा जोड दिए।

प्रतिक्रिया