२६ साउन, विदुर । नुवाकोटमा गत आर्थिक वर्षभन्दा २०८१/८२ मा कम मात्रामा रगत सङ्कलन भएको छ ।
रगत सङ्कलन र आपुर्ति गर्दै आएको नेपाल रेडक्रस सोसाईटी (नेरेसो) नुवाकोट शाखाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रको तथ्यांकअनुसार गत आवमा ९३६ युनिट रगत सङ्कलन गरिएको छ । यो गत आवभन्दा ३० प्रतिशत रगत सङ्कलन कमी भएको जनाएको छ। रगतदान गर्नेमा पुरुषको तुलनामा करिब ६ प्रतिशतले कमि देखिएको छ । जसमा १३९ महिला र ७९७ पुरुषले रगतदान दिएका थिए ।
रक्त सञ्चार केन्द्रले त्रिशूली अस्पतालमा उपचार गर्न आएका बिरामीहरुलाई आवश्यक रगत र बिरामीहरुको रगत समुह मिलान गरी नौ सय ५८ बिरामीहरुलाई सेवा प्रदान गरेको छ ।
यसैगरी केन्द्रले अन्य जिल्लाका बिरामीहरुको उपचारको निम्ति भक्तपुर रक्त सञ्चार केन्द्रलाई तीन सय १७ युनिट, कान्तिपुर सञ्चार केन्द्रमा ७६ युनिट र केन्द्रिय रक्त सञ्चारमा ८२ युनिट रगत पठाएको थियो ।
वर्षायाम अर्थात् साउनदेखि मङ्सिर महिनासम्म मानिसहरु खेतपातीमा संलग्न हुने र चाडपर्व पनि सोहि अवधिमा पर्ने भएकाले रगत संकलनमा कमी हुने गरेको नेरेसो नुवाकोटका सभापति हरी श्रेष्ठले बताए ।
“रक्तदातामा अझै पनि जनचेतनाको कमि रहेको छ”, उनले भने “रगतदान गरेर मानिसको स्वास्थ्यमा असर नभई फाइदा हुने हुँदा ३/३ महिनाको समयान्तरमा रक्तदान गर्न सबैलाई अनुरोध गर्दछु ।”
रगतको माग र आपूर्ति महिना अनुसार हुने देखिएको छ । यस्तै, चाडपर्वको समयमा पनि रगत सङ्कलन कम हुन्छ । मंसिर/पुसदेखि साउनसम्म धेरै राम्रो रगत सङ्कलन हुन्छ । विशेष अवस्था जस्तैः कोभिड, डेंगीको महामारी अवस्थामा विशेष किसिमको रगत आवश्यक परेको हुन्छ । त्यस्तो बेलामा हामीले रक्तदानका लागि विभिन्न सङ्घ/संस्थाहरु, रक्तदाता अभियन्ताहरुको समन्वयमा रगतदानको लागि विशेष आह्वान गरि रगत आपूर्ति पुरा गर्ने गरेको उनले बताए ।
शहर केन्द्रित स्थानमा सबैभन्दा बढी रगत सङ्कलन हुने देखिएको रक्तसञ्चार केन्द्रका इञ्चार्ज लक्ष्मी श्रेष्ठले बताईन् । सदरमुकाम विदुरमा विभिन्न सङ्घ संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा दुई सय २२ युनिट रगत सङ्कलन भएको उनले जानकारी दिईन् ।
तथ्यांकअनुसार भौगोलिक अवस्थाले पनि रगत सङ्कलनमा प्रभाव पारेको छ । विभिन्न स्थानमा भएको रक्तदान कार्यक्रम अन्तर्गत बट्टारमा एक सय ७५, कालिकास्थानमा ६६, तुप्चेमा ६५, देवीघाटमा ४० लगायत अन्य स्थानमा गरी कुल आठ सय ६० युनिट रगत सङ्कलन गरिएको छ । यस्तै, रक्त सञ्चार केन्द्रबाट ७६ जना रक्तदाताले रगत दान गरेका थिए।
शल्यक्रिया गर्नु अगाडी वा गरिरहेको समय वा गरीसकेपछि, दुर्घटना एवं चोटपटकहरुबाट बढी रक्तस्राव भएमा, महिलाहरु गर्भवति भई बच्चा जन्माउने अवस्थामा (बढि रक्तश्राव भएमा), क्यान्सरका रोगीलगायतका बिरामीहरुलाई नयाँ रगत आवश्यक पर्ने नेपाल रेडक्रस सोसाईटी नुवाकोटका कार्यालय प्रमुख समुन्द्रबाबु अधिकारीले बताए ।
नुवाकोट र रसुवाको नागरिकलाई रक्त सञ्चार केन्द्रमार्फत् नि:शुल्क रगत उपलब्ध गराउँदै आईरहेको छ । वि.सं. २०७१ फागुन २५ गतेदेखि जिल्ला अस्पताल त्रिशूलीबाट सुरु गरेको नेपाल रेडक्रस सोसाईटी नुवाकोटले ०७७ साल देखि आफ्नै भवनबाट व्यवस्थित रुपमा रक्त सञ्चार सेवा सञ्चालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया