+
Search

ताजा अपडेट +

पपुलर +

विदुर–४ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

डबली खबर
१० महिना अगाडी

६ असार, नुवाकोट । विदुर नगरपालिका वडा नम्बर–४ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रम बीच सो वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको हो ।

वडाका अध्यक्ष निलमबाबु ढुङ्गेलले सो वडाभित्र बसोवास गर्दै आएका ४ देखि १३ वर्षका ६ जना बालबालिकाहरु विद्यालय बाहिर रहेकोमा दुई जना अपाङ्गता भएका व्यक्ति र ४ जनाको पारिवारिक आर्थिक अभावको कारण जसमा एक जना जिल्ला बाहिर रहेको जानकारी दिए । बाँकी ३ जना बालबालिकालाई अभियान अन्तर्गतको व्यवस्थापनमा बट्टारमा रहेको युनाईटेड आधारभूत विद्यालयमा भर्ना गरिएकोले वडालाई अनिवार्य तथा निः शुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको बताए ।

नगरपालिकाका शिक्षा शाखाले उक्त वडाको एक हजार ४०० घरधुरीमा बालबालिकाको वैयक्तिक विवरण संकलन गरेको उनले जानकारी दिए । सोहिअनुसार वडाका कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ सञ्चालित अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको उनले बताए ।

नगरपालिकाले गत वैशाख २ गते देखि ९ गतेसम्म सङ्कलन गरिएको विद्यालय बाहिर रहेका ४ देखि १३ वर्ष सम्मका बालबालिकाको वैयक्तिक विवरण संकलन गरेकाे नगरपालिकाका शिक्षा प्रमुख नवराज सापकाेटाले जानकारी दिए । नगरपालिकाले नयाँ शैक्षिक सत्र सुरू हुने समय तथा नयाँ भर्नाका लागि गरिने घरदैलो कार्यक्रममार्फत् विभिन्न कारण विद्यालय नपुगेका बालबालिकाको सूक्ष्म रुपमा लगत सङ्कलन गरेको उनले बताए ।

अहिलेसम्म नगरपालिकाका ४, ८, ९ र १३ वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा भईसकेको उनले जानकारी दिए ।

नगरका १३ वटै वडामा अभियान सञ्चालन गरेर असार १० गतेभित्र अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ