२३ जेठ, नुवाकोट । राष्ट्रिय सहकारी बैंक नुवाकोट शाखाको आयोजनामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी गरिएको मापदण्डका विषयमा छलफल तथा अन्तरक्रिया भएको छ ।
नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरेको निर्देशन तथा मापदण्ड, २०८१ ले पारेको प्रभावबारे शुक्रबार विदुरमा अन्तरक्रिया गरिएको राष्ट्रिय सहकारी बैंक नुवाकोट शाखाका प्रमुख किरण डङ्गोलले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका व्यापार विकास प्रमुख मधु रायमाझीले सहभागीहरूलाई पुँजी पर्याप्तताको मापदण्ड, यसको गणना विधि, जोखिम वर्गीकरण तथा नेपाल राष्ट्र बैंक र राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी मापदण्डको विषयमा जानकारी गराएका थिए ।
जिल्ला सहकारी सङ्घ नुवाकोटका अध्यक्ष शिवप्रसाद अधिकारीले सहकारी संस्थाहरुले नियमकीय निर्देशनहरूको पालना गर्दै जोखिम व्यवस्थापन, पारदर्शिता र उत्तरदायित्वमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा जिल्ला सहकारी सङ्घ नुवाकोटका उपाध्यक्ष अरुण श्रेष्ठ, सदस्य सुमन अधिकारीलगायत जिल्लामा सञ्चालित बैंकका सदस्य सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया