नुवाकोट । बागवानी विकास केन्द्र नुवाकोटले उत्पादन गरेको फलफुल तथा तरकारीका बिरुवा बिक्री हरेक वर्ष बढिरहेको छ । केन्द्रले फलफुल तथा तरकारीका बिरुवा बिक्री गरेर राजस्व बढाइरहेको छ ।
केन्द्रका लागि सरकारले उपलब्ध गराउने पुँजीगत र चालू शीर्षकको बजेट विनियोजन घट्दै गए पनि फलफुल तथा तरकारी बालीको संवद्र्धन तथा गुणस्तरीय बिरुवा उत्पादनको जिम्मेवारी भने बढिरहेको निमित्त कार्यालय प्रमुख ठाकुरप्रसाद न्यौपानेले बताए ।
गत आव २०८०/०८१ मा केन्द्रले विभिन्न जातका फलफुलका ७९ हजार पाँच सय ५० बिरुवा उत्पादन गरी बिक्री गरेको थियो । केन्द्रले सो वर्ष सबैभन्दा बढी सुन कागतीको ४५ हजार नौ सय ३४ बिरुवा बिक्री गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
केन्द्रबाट अम्रपाली, मल्लिका र अन्य जातका आँप, लिची, रुखकटहर, कफी, अनार, मेकाडे–मियानट, एभोकाडो, चस्मे कागती, निबुवा, मेवा, केरा, अम्बा, बेल, ड्रायगन फ्रुट, भोगटे, लहरे आँप, मरिच र सरिफाको बिरुवा उत्पादन र बिक्री–वितरण गर्ने गरेको छ ।
केन्द्रबाट गत आवमा २० जातका फलफुलका बिरुवा बिक्री गरेकोमध्ये मेकाडे–मियानटको १९ हजार तीन सय ६८, मेवाका तीन हजार ५५, आँपका दुई हजार चार सय दुई, ड्रायगन फ्रुट कटिङ नौ सय १८, निबुवाका ६ सय ६६, चस्मे कागतीका चार सय ८२, अनारका चार सय १० र एभोकाडोका पाँच सय ६२ बिक्री गरिएको थियो ।
केन्द्रले गत आवमा काउली, बन्दा, प्याज, गोलभेँडा, खुर्सानी, ब्रोकाउली, रायो, भेडेखुर्सानी, लहरे तरकारी, भन्टा गरी एक लाख ३९ हजार एक सय १४ वटा तरकारीका बेर्ना बिक्री गरेको जानकारी दिएको छ । केन्द्रलाई फलफुल तथा तरकारी बालीको संवद्र्धन तथा गुणस्तरीय बिरुवा उत्पादन र कृषकलाई प्राविधिक सेवा दिनको लागि आव २०७९/०८० मा रु. तीन करोड १९ लाख ६२ हजार रहेकोमा गत आव २०८०/०८१ मा रु. दुई करोड ६९ लाख ९९ हजार विनियोजन भएको थियो ।
अघिल्लो आवमा भन्दा गत आवमा रु. ४९ लाख ६२ हजार कम बजेट विनियोजन भएको लेखापाल गोमा राईले जानकारी दिइन् । केन्द्रले अघिल्लो आवमा भन्दा गत आवमा रु. तीन लाख ७६ हजार राजस्व बढी सङ्कलन गरेकोसमेत उनले बताइन् । केन्द्रले अघिल्लो आवमा रु. ४२ लाख ६७ हजार राजस्व सङ्कलन गरेकोमा गत आवमा रु. ४६ लाख ४३ हजार राजस्व सङ्कलन गरेको वार्षिक प्रगति विवरणमा उल्लेख छ ।
नेपालमा मध्यपहाडी क्षेत्रको बेँसी भू–भागलाई स्थानविशेष सम्भाव्यताको आधारमा फलफुल तथा तरकारी बालीमा आत्मनिर्भर बनाई सम्बन्धित बालीको माध्यमबाट कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले वि.सं. २०१६ मा त्रिभुवन ग्रामीण विकास केन्द्रको नाममा नुवाकोटमा स्थापना भएको थियो ।
केन्द्रले कृषि विकास कार्यक्रमलाई अगाडि बढाउन आवश्यक पर्ने तरकारीका बिउ तथा फलफुलको बोट, बिरुवा उत्पादन सुरु गरी नुवाकोटसहित छिमेकी जिल्लामा बिक्री–वितरण गर्ने उद्देश्यले कृषि फार्मको नाममा सुरु भएको केन्द्र वि.सं. २०१९ मङ्सिरमा विघठन गरी उपोष्ण प्रदेशीय बागवानी फार्म, वि.सं. २०५२ मा बागवानी केन्द्र, वि.सं. २०६१ मा उपोष्ण प्रदेशीय बागवानी विकास केन्द्र हुँदै वि.सं. २०६१ मा पुनर्संरचना भई नुवाकोटसहित रसुवा, धादिङ जिल्लालाई कार्यक्षेत्र थप गरी बागमती प्रदेश सरकारअन्तर्गत बागवानी विकास केन्द्र वि.सं. २०७५ देखि नामकरण गरियो ।
केन्द्रको स्वामित्वमा हाल दुई सय ८० रोपनी जग्गा रहेको छ ।

प्रतिक्रिया