१ फागुन, विदुर । त्रिशूली अस्पताल र जनस्वास्थ्य कार्यालय नुवाकोटको आयोजनामा नुवाकोटमा पनि नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियान सञ्चालन भएको छ ।
फागुन महिनाभर सञ्चालन हुने अभियानको शुभारम्भ देवीघाट ज्येष्ठ नागरिक अध्ययन प्रतिष्ठानबाट सुरु गरिएको छ । फागुन १ गते अभियान अन्तर्गत प्रतिष्ठानको वृद्धाश्रममा रहेका ३४ जना ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुको रगतमा चिनीमा मात्रा (सुगर), रक्तसञ्चार, पिसाव परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले बताए ।
सरकारले घोषणा गरेको अभियान अनुसार स्थानीय तहसँगको समन्वयमा जिल्लाभर अभियान सञ्चालन हुने प्रमुख अधिकारीले बताए । नेपालमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका नागरिक छन् । ३० वर्ष उमेरपछि विभिनन नसर्ने रोगको फैलन सक्ने भएकाले सरकारले यो समुदायलाई यो अभियानअन्तर्गत समेट्ने लक्ष्य लिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, अस्पतालका कामु निर्देशक राजेन्द्र लामा, प्रतिष्ठानका अध्यक्ष विष्णु नेपाललगायतको सहभागिता रहेको थियो ।
देशमा नसर्ने रोगको भार बढ्दै गएको स्थितिमा यसलाई नियन्त्रण गर्न सरकारले फागुन महिनाभर नसर्ने रोगको परीक्षण देशव्यापी बनाएको छ ।
अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मृगौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात पहिचान गर्ने कार्यक्रम रहेको छ । एक महिने सेवा अन्र्तगतका सबै सेवा निःशुल्क हुने बताइएको छ ।

प्रतिक्रिया