+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट स्वयम्भु महाचैत्यको मूर्तिमा प्राणप्रतिष्ठा (फोटोफिचर)

nuwakot budhha maha chaitya stupa pranpratishtha in ashokbatika
डबली खबर
२ साल अगाडी

विदुर – नुवाकोट जिल्लाकै सबैभन्दा पुरानो ऐतिहासिक पुरातात्विक र धार्मिक निर्माणाधीन स्वयम्भू महाचैत्य क्षेत्रभित्र १०८ वटा चैत्य बनाउने योजना अनुसार शनिबार नुवाकोटको अशोकबाटिकामा बुद्धको मूर्तिमा प्राण प्रतिष्ठा गरिएको छ ।

शुक्रबार र शनिबार दुई दिन विधिवत रुपमा गुभाजुद्वारा पूजाआजा गरी चारओटा मूर्तिमा प्राण प्रतिष्ठा गरिएको स्वयम्भु महाचैत्य पुनर्निर्माण अभियानका संयोजक गौतममान सिंहले जानकारी दिए ।

बुद्धको मूर्ति परिक्रमा गराउने क्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ | फोटो: सुनील श्रेष्ठ

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, नेपाली सेना, प्रहरी, जनप्रतिनिधि लगायत स्थानीयको सहभागितामा बुद्धको मूर्तिलाई महामण्डल अशोकबाटिकादेखि दरबार क्षेत्र हुदैं भैरवी मन्दिरसम्म परिक्रमा गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले नगर तथा समग्र विकासको लागि महाचैत्यको निर्माणले धार्मिक तथा पर्यटन क्षेत्रमा टेवा पुग्ने बताए । अहिले अवस्थामा धार्मिक आस्थाले सहिष्णुता भाइचाराको सम्बन्ध कायम राख्न अति आवश्यक रहेको बताए । आफ्नो कार्यकालमा महाचैत्यको निर्माण सम्पन्न गरिने र नगरका १३ वटै वडा र कार्यपालिकाबाट स्तुपा राखिने नगरप्रमुख श्रेष्ठले प्रतिबद्धता जनाए ।

जिल्ला अधिकारी पौडेलले महाचैत्यले समग्र नुवाकोट जिल्लाको पुनर्जागरण गर्ने र विश्वमा बौद्ध धर्मालम्बीसामु पहिचान गराउन टेवा पुग्ने बताए ।

कार्यक्रममा आर्यमञ्जुश्री नामसंगीति स्तोत्रपाठ पुच: ललितपुरका संयोजक राजेन्द्रमान बज्रचार्यले बौद्ध धर्म, दिपाकंर बुद्ध र महाचैत्यको महत्व चर्चा गरेका थिए ।

विदुर नपा-२ का अध्यक्ष दिपक कायस्थले बौद्धधर्म र बुद्धप्रति आस्था राख्ने जनसमुदाय र संघसंस्था जोडिने क्रम दैनिक बढिरहेको जानकारी दिए । पुनर्निर्माण अभियानमा विदुर नगरपालिकासहित यस अभियानमा नुवाकोट युवा क्लब, विदुर नगरपालिका-२, बज्राचार्य युवा क्लब काठमाडौं, चिभाः चैत्य अर्गनाइजेसन, पदमावती महाविहार नःबहाल ललितपुर, लाइन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५, नुवाकोट उद्योग वाणिज्य संघ आवद्ध भएका छन् ।

महाचैत्य पुनर्निर्माण चार चरणमा निर्माण गरिने निर्माण अभियन्ता सिंहले जानकारी दिए । महाचैत्य निर्माणका लागि पहिलो चरणमा टुँडीखेलदेखि स्वयम्भू चैत्यसम्म ढुङ्गेसिँढी निर्माण गर्ने र सिँढीको दायाँबायाँ बुद्धधर्मसँग सम्बन्धित चिभा, चैत्य, मूर्ति आदि निर्माण गर्ने कार्य योजना रहेको छ । दोस्रो चरणमा सम्पूर्ण पाँच रोपनी जग्गालाई पूर्ण रूपमा ऐतिहासिक झलक आउने गरी ढुङ्गेपर्खाल निर्माण गर्ने रहेको छ । तेस्रो चरणमा स्वयम्भू महाचैत्यको निर्माण गर्ने र चौथो चरणमा सर्वसाधारण र सङ्घसंस्थालाई बौद्धधर्मको प्रचारप्रसार र ध्यान साधना गर्न महास्तुपा, विहार, चैत्य, चिवा, बुद्धका मूर्ति निर्माण गर्ने कार्य योजना रहेको सिंहले जानकारी दिए ।

महाचैत्यको निर्माणको लागि आर्थिक, भौतिक तथा श्रमदान सहयोग आउने क्रम जारी रहेको नुवाकोट क्लबका अध्यक्ष सरोज डंगोलले जानकारी दिए । सहयोग गर्न इच्छुकले लुम्बिनी विकास बैंक लि.मा रहेको नुवाकोट युवा क्लब नामक खाता नम्बर ०८२००१२०२४२२६३००००००१ मा जम्मा गर्न सकिने अध्यक्ष डंगोलले जानकारी दिए । 

दुई हजार तीन सय वर्षभन्दा अगाडिको पुरातात्विक ऐतिहासिक दुर्लभ स्वयम्भू चैत्य पुरानै अवस्थामा पुनर्निर्माण गर्न लगिएको हो । सम्राट अशोकले नुवाकोटको महामण्डल (अशोकबारी) क्षेत्रमा अशोक चैत्य बनाएको शिलालेखमा उल्लेख छ ।

पुरातत्व विभागले गतवर्षको फागुनमा स्वयम्भू महाचैत्यको अध्ययन गरेको थियो । करिब १४ सय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको उक्त विहार जीर्ण भएसँगै उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विक स्वरुपमा पुनःनिर्माणका लागि विभागले अध्ययन गरेको थियो।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ