२०८१, १७ बैशाख सोमबार

२०७६ लाई फर्केर हेर्दा

डबली खबर     बैशाख १८ २०७७ १८:०७


farkera herda nuwakot sunil shrestha 2076

पालिका विशेष

 नुवाकोट जिल्लाको ज्याला तथा निर्माण सामाग्रीहरूको दररेट २०७६/०७७ सार्वजानिक भएको थियो जसमा प्रतिदिन प्लास्टर ११८०, कम्प्युटर अपरेटर ९८०, ज्यामी ७००, पियन ४८०, लाईट ड्राइभर ६४०, प्याच वर्कर ५६०, लेन्थ वर्कर सुपरभाईजर ६३०, झाडु लगाउने ५३० रुपैंयाँ ज्याला निर्धारण गरिएको थियो ।

विदुर नगरपालिकाले आफ्नो पुरानो भवन छोडी विदुर नपा-२ विदुरमा रहेको तत्कालिन जिल्ला सहकारी डिभिजनले निर्माण गरेको नयाँ भवनमा आफ्नो कार्यालयलाई स्थान्तरण गरेको थियो ।

एसबिआई बैंकले पालिकाको अनुमति विना कारोबार सुरु गरको भन्दै पन्चकन्या गाउँपालिकाले कारोबार नगर्न र बोर्ड हटाउन निर्देशन जारी गरेको थियो ।

प्रदेश सरकारले नुवाकोटका नौ वटा स्थानीय तहलाई प्रदेश सरकारले एम्बुलेन्स र दमकल खरिद गर्ने स्वीकृति दिएको थियो । विदुर नगरपालिकालाई दमकल र बेलकोटगढी नगरपालिका, किस्पाङ, तादी, तारकेश्वर, दुप्चेश्वर, पन्चकन्या, मेघाङ र सुर्यगढी गाउँपालिकालाई एम्बुलेन्स खरिद गर्नका लागि अख्तियारी प्रदान गरेको थियो । बजेट विनियोजन नभएको कारण देखाउँदै अन्य पालिकाले भने खरिद गरेको छैन । विदुर नपाले मात्र दमकल खरिद गरेको छ भने नगरसँग अहिले दुईवटा दमकल रहेको छ ।

‘समृद्ध दुप्चेश्वर निर्माणमा म, मेरो र दुप्चेश्वरवासीको स्वास्थ्यप्रति जिम्मेवार रहन्छु’ भन्ने नारासहित दुप्चेश्वर गाउँपालिकामा ‘मेरो वर्ष २०७६’ सुरु भएको थियो । सुत्केरीको घरमा अवस्था अनुसार झण्डा राख्ने र सुरक्षित मातृत्व खाद्यान्न प्रदान गरेको थियो ।

तारकेश्वर गाउँपालिकाकी उपाध्यक्ष तारादेवी रिमालले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेको आरोपको सामना गरिरहेकी थिईन भने कर्मचारीद्वारा गाउँपालिकाको कार्यपालिकाबाट हुने कामकाज केहि दिन ठप्प पारेका थिए ।

जिल्ला समन्वय समितिको नुवाकोट र १२ वटै स्थानीय तहका आधिकारीक वेबसाईट र सामाजिक संजालको अध्यावधिक कमै मात्रमा सक्रिय रहेको छ ।

८८ लाख ५३ हजार ८ सय ५० रुपैँया विनीयोजन बजेटसहित एक वर्षीय पूर्ण सरसफाइ कार्यक्रम परियोजना सुरु भएको भएतापनि प्रगति न्यून रहेको छ । विदुर नगरपालिका वडा नं १, २, ४ र ७, किस्पाङ्ग गाँउपालिका वडा नं २, ३ र ५ र लिखु गाँउपालिका वडा नं १, ४, ५ र ६ मा सुरु भएको उक्त कार्यक्रम मा नमुना समुदाय र नमुना विद्यालाय छनौट भएको र कार्यन्वयन भने शुन्य सरह रहेको छ ।

विकास तथा पूर्वाधार

माथिल्लो त्रिशूली थ्रि ए जलविद्युत आयोजनाको ६० मेगावार्ट विद्युत राष्ट्रिय प्रशारणमा जोडिएको थियो । प्रधानमन्त्री ओलीले काठमाण्डौबाट स्वीच थिचेर र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्ले नै पुगेर उद्घाटन गरेका थिए ।

झोलुङ्गे पुलमा अख्तियारको चासोविदुर नगरपालिका वडा नम्बर ५ र बेलकोटगढी नगरपालिका वढा नम्बर ८ जोड्ने झोलुङ्गे पुल बित्री प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टीकरण मागेको थियो । विदुर नपाका वडा नम्बर ५ का वडाअध्यक्ष चित्रकार र बेलकोटगढी नपाका वडा नम्बर ८ का वडाअध्यक्ष पुडासैनीले ७० हजारमा देबिघाट जिलिङ जोड्ने पुल गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडकले योजनाले काटेर फालेपछि कवाडीलाई बेचेर पालिकामा राजश्व दाखिला गरेको भएता पनि पुलको बेचबिखनको चर्चाले पालिका तातेको थियो ।

राष्ट्रिय गौरवको आयोजनामा परेको गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक आयोजनाले ६० प्रतिशत काम सकेको जनाएको छ । यो सडक गल्छीदेखि रसुवागढी नाकासम्म ८२ किलोमिटर छ । आयोजनाले ३ खण्डमा काम गरिरहेको छ । पहिलो खण्ड गल्छी–मैलुङसम्मको ४६ किमि भित्र पर्छ । यो पहिलो खण्ड धादिङको गल्छी हुँदै नुवाकोटको कोल्पुटार, रातोमाटे, महादेवफाँट, काशीटार, देवीघाट, पीपलटार, गंगटेसम्म २० किलोमिटर सडकस्तरोन्ति गरेको छ ।

७५ मेगावाटको त्रिशुली गल्छी जलविद्युत आयोजनाको पीपीए खारेज:नेपाल विद्युत प्राधिकरणले सोमबार सार्वजनिक सूचना प्रकाशित गरी पीपीएमा भएको व्यवस्था बमोजिम आयोजनाको प्रवर्द्धक कम्पनी सिद्धकाली पावरले लगानी जोहो (वित्तीय व्यवस्थापन) गर्न नसकेको भन्दै सम्झौता खारेज गरिएको जानकारी गराएको छ ।

पुनर्निर्माण

भुकम्प गएको ५ वर्ष वितिसक्दा नुवाकोटमा ८० प्रतिशत नागरिकले निजि आवास निर्माण गरेर तेश्रो किस्ताको रकम बुझिसकेका छन् । नुवाकोटमा भूकम्प पिडित लाभग्राहीको सूचीमा ७७ हजार ४२ घरधुरीको नाम समावेश भएको थियो । त्यसमध्ये  ७३ हजार १ सय ८३ ले सम्झौता गरेर पहिलो चरणको सरकारी सुविधा लिएका छन् । प्रतिशतका हिसावले यो ९५ प्रतिशत हो । राष्ट्रिय पूननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवथापन तथा स्थानीय पूर्वाधार कार्यालय नुवाकोटको अनुसार पाँच प्रतिशत अर्थात् करिव ३५ सय जना पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएर वेपत्ता छन् । अहिलेसम्म तेश्रो किस्ता अर्थात अन्तिम किस्ताकै रकम बुझ्नेको सङ्ख्या ६१ हजार ५३ रहेको छ । प्रतिशतका हिसावमा यो ७९ प्रतिशत हुन आउछ । अनुदान व्यवथापन तथा स्थानीय पूर्वाधार कार्यालयको अनुसार भूकम्पबाट आंशिक क्षति भएका घरको सङ्ख्या १६ सय ६२ रहेकोमा ९ सय ८८ ले सम्झौता गरी पहिलो किस्ता रकम बुझिसकेका छन् । अहिलेसम्म १४ घरधुरीले मात्र दोश्रो किस्ता रकम बुझेका छन् । प्राधिकरणमा २७४ गुनासो गरेका थिए ।

भूकम्प क्षति भएको साततले दरबारको चीन सरकारले पानीबाट जोगाउन जस्ता ओढाउने कार्य गरको थियो । सांस्कृतिक धरोहर बोकेका मठ, मन्दिरहरुको पुनर्निर्माण कार्य भैरहेको छ ।

आर्थिक

प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को प्रारम्भिक नतिजाले नुवाकोटमा ३० हजार १ सय २९ जनाले रोजगारी पाएको तथ्यांकमा उल्लेख छ । जसमा १२ हजार ५६ महिला र १८ हजार ७३ पुरुषले रोजगारी पाएको  तथ्यांकमा उल्लेख छ ।

जिल्ला सहकारी संघको तथ्यांकअनुसार नुवाकोटमा २ सय ६८ संस्था सदस्य रहेको छ । जसमा ६६ बहुउद्देश्यीय सहकारी र अन्य २ सय ६७ सहकारी सङ्घ/सँस्था सक्रिय रहेको छ ।

व्यापारीहरुको लागि फस्टाउने थलोको रुपमा रहेको छैठौं नुवाकोट महोत्सवको उद्घाटन पुर्व राष्ट्रपतिरामवरण यादवले गरेका थिए भने महोत्सव माघ १६-२७ गते सम्म संचालन भएको थियो । महोत्सवबाट संघले करिब पाँच करोड रुपैयाँको कारोबार गरेको जनाएको छ भने ६० हजार दर्शकले अवलोकन गरेको थियो । महोत्सवमा स्टल नम्बर १२ मा राखिएको लिखु गाउँपालिकाका तुलबहादुर बिकले बनाएको खुकुरीको मुल्य रु १ लाख रहेको थियो । उक्त खुकुरीको तौल दश किलो, लम्बाई करिब ३.९२ फिट रहेको छ । खुकुरी महोत्सवको विशेष आकर्षणको रुप रहेको छ ।

पर्यटन

विदुर नगरपालिका वडा नम्बर २ को कुवापानीमा नेपालकै दोस्रो लामो लम्बाई भएको संचालित नुवाकोट दरबार जीपलाइन संचालन आएको थियो । युवा व्यवसायीहरुको समूहले संचालन गरेको जीपलाईनले नुवाकोटको पर्यटन विकासमा अतुलनीय योगदान रहेको थियो।

बेलकोटगढी नगरपालिका वडा नम्बर २ जिलिङमा ३५ करोड रुपैयाको लागतमा ग्रिनल्याण्ड रिसोर्ट एण्ड अर्गानिक फार्म हाउसको लागि योजना तयार भएको थियो । हाउसको गुरु योजना भने सर्वेक्षण मै सिमित रहेको छ ।

शिवपुरी गाउँपालिकाका वडा नम्बर ७ सुईरेचौरमा प्यारागलाईडिङ उडानको सफल परीक्षण उडान भएको थियो । व्यवसायको लागि फस्टाएको प्यारागलाईडिङले भने नियमित उडानग गर्न सकेको छैन ।

भ्रमण वर्ष २०२० को प्रवर्द्धनको लागि रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा फागुन ११ गतेदेखि १५ गतेसम्म पाँच दिने फिकुरी ट्रेकिङको अवलोकन भ्रमण भएको थियो । त्यस्तै, समाजकै आयोजनामा तथा उत्तरगया गाउँपालिकाको आर्थिक सहयोगमा पहिलोपटक रसुवाकाे पैरेवेशीदेखि नुवाकाेटकाे भैंसेसम्म जलयात्रा भएको थियो ।

आव २०७६/७७ को चैत्र मसान्तसम्ममा विदुर नगरपालिकामा करिब दुई सय र अन्य स्थानीय तहमा करिब पाँच सय होटल तथा रेष्टुरेन्टहरु संचालनमा रहेको छ ।

राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै नेकपा निकट विद्यार्थीहरुले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको जालपादेवी मन्दिरमा ‘शान्ति पूजा’ गरिएको थियो । देशभर नेकपा निकट र शुभचिन्तकहरुले शान्ति पूजा र दिप प्रज्वलन गरको थियो ।

पार्टी एकता भएको लामो समयपछि नुवाकोटमा नेकपाका जिल्ला सदस्यहरुलाई स्थायी कमिटि सदस्य तथा नेकपा प्रदेश नं. ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले पद तथा गोपनियताको सपथ खुवाएका थिए । जिल्ला कमिटिमा १७५ जना रहेका छन् । पूर्व एमालेबाट ७४ र पूर्व माओवादीबाट ७१ गरी १ सय ४५ जनाको जिल्ला कमिटि बनाइएको थियो ।

नेपाली काँग्रेसको जिल्ला सदस्य तथा पालिका स्तरीय सदस्य मनोनयन विवादित चुलिएको थियो ।

कृषि

कृषिको सम्भावना र उत्पादनको लागि ककनी गाउँपालिकाको रानीपौवामा जेठ ४ देखि ८ गतेसम्म सञ्चालन भएको ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला २०७६’ भएको थियो ।

गरिमा जातको धान भनेर नक्कली बीउ परेका कारण पीडित भएको भन्दै नुवाकोटका १२० भन्दा बढी किसानहरुले क्षतिपूर्तिको लागि कृषि ज्ञान केन्द्रमा निवेदन दिएका थिए ।

सबै स्थानीय तहहरु र कृषि ज्ञान केन्द्रले कृषि अनुदान र अभिमुखीकरण तालिम दिलाएका थिए ।

शिक्षा

एसईई परीक्षा २०७५ मा नुवाकोटबाट निशा गजुरेल, रश्मी पनेरु, एकल अर्याल र कमल लामिछाने गरी चार जनाले शिर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएका थिए ।

नुवाकोटका तीन वटा पालिकाले पञ्चायति शैलीको झल्को दिने गरी शिक्षा ऐन बनाएका थिए । स्थानीय सरकारले बनाएको शिक्षा ऐन संघीय सरकारको शिक्षा ऐनसँग बाँझिएको थियो । विदुर नगरपालिकाबाट साभार गरिएको बेलकोटगढी नगरपालिकाले गत वर्षदेखि लागू गरेको शिक्षा ऐन पञ्चायति शैलीको निरंकुशता लाद्ने खालका ऐन बनाएका थिए । संघीय गणतान्त्रिक संविधानले प्रत्याभूत गरेको लोकतान्त्रिक मूल्य मान्यतालाई चुनौती दिने खालको शिक्षा ऐन बनेपछि तारकेश्वर गाउँपालिकाले व्यवस्थापन समिति गठनको कामलाई स्थगित गरेको थियो । नुवाकोटका अधिकांश स्थानीय तहले लागू गरेको शिक्षा ऐन प्रचलित कानुन भन्दा माथि रहेको थियो र केहि संशोधनमै रहेको छ ।

अस्थायी शिक्षकहरुको हड्तालले देशभर प्रभाव भएको थियो भने स्थानीय तहगत रुपमा शिक्षक दरबन्दीले पनि नुवाकोटमा शिक्षा क्षेत्रमा राजनैतिक प्रभाव परेको थियो ।

पृथ्वी माध्यमिक विद्यालयमा शिक्षक दरबन्दी नियुक्तीले नागरपालिका र विद्यालय बीचमा राजनैतिक चिसो पसेको थियो ।

स्वास्थ्य

तारकेश्वर गाउँपालिका-३ को जोरचौतारामा असार २ मा भएको एक दिने नि:शुल्क स्वास्थ्य शिविरमा करिब १ सय बिरामीहरुमा पाठेघरको समस्या भएको पाइएको थियो ।

असोजमा पहिलोपटक विदुर नगरपालिका-४ मा १ जना, वडा नम्बर ५ मा २ जना र बलेकोटगढी नगरपालिकाको विभिन्न वडामा ३ जना गरि ६ जना डेङ्गीका बिरामी भेटिएको थियो ।

मङ्सिरदेखि जिल्लामा स्वास्थ्य बिमा सुरु भएको थियो । नेपाल सरकारले स्वास्थ्य बिमा सम्बन्धि जारी गरेको नियमावलीअनुसार राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत परिवारका ५ जनासम्मले ३ हजार ५ सय रुपैयाँ तिरेर एक वर्षका लागि बिमाअन्तर्गत उपचार सेवा लिन सक्छन् । एक लाखसम्मको स्वास्थ्य बिमा गर्न पाईनेछ ।

पुष १ गतेदेखि जिल्ला सामुदायिक आँखा केन्द्र विदुर, नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा र तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा नुवाकोटका विभिन्न १५ स्थानमा एक दिने नि:शुल्क आँखा शिविर भएको थियो ।

नुवाकोटका २४ हजार बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाईने भनिएता पनि कोरोनभाइरसका कारण पहिलो चरणमा चैत ४ गतेदेखि ८ गतेसम्म विदुर नगरपालिका, म्यगाङ, किस्पाङ, तादी, शिवपुरी, दुप्चेश्वर र सुर्यगढ़ी गाउँपालिकाका बालबालिकालाई दादुरा र रुबेला रोगविरुद्धको खोप लगाईको थियो । जसकालागि ६ सय ९० खोप केन्द्रमा १ हजार २ सय ३२ जना तालीम प्राप्त महिला स्वास्थ्य स्वयम् सेविका तयारी अवस्थामा राखेका थिए ।

मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण सुरु: बागमती प्रदेश सरकारले कार्यान्वयमा ल्याएको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम जिल्ला अस्पताल त्रिशुलीमा सुरु भएको छ । कार्यक्रम अन्र्तगत विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाका नागरिकहरूलाई निःशुल्क उपचार हुनेछ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयद्वारा सञ्चालित मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम हरेक हप्ताको दुई दिन मात्रै सञ्चालन हुने छ । त्यसका लागि मंगलबार र बुधबारको दिन  तोकिएको छ । दुवै नगरपालिकाको २६ वटा वडाका ५० जना को निःशुल्क उपचार हुने जिल्ला अस्पताल त्रिशुलीका मेडिकल सुपरिटेन्डेन डा। रेमकुमार राईले जानकारी दिएका छन् ।

विभिन्न दुर्घटना परेका सिकिस्त चार बिरामीहरुको आकस्मिक उपचारका लागि ‘एअर एम्बुलेन्स’ हेलिकोप्टरमार्फत काठमाडौं लागिएको थियो ।

खेलकुद

वैशाख १८ देखि २४ गतेसम्म भएको विदुर नगर मेयर कप राष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिकाले जितको थियो । फाइनलमा आयोजक विदुर नगरपालिकालाई २–० गोलले पराजित गर्दै पोखरा महानगरपालिकाले उपाधी जितेको थियो । प्रतियोगिताका उत्कृष्ट खेलाडी विदुर नगरपालिकाका महेन्द्र तामाङ भएका थिए ।

जेठ २२ गरेदेखि दोस्रो नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरु भएको थियो भने उपाधि घरेलु टोली नुवाकोट-११ ले उचालेको थियो, जेष्ठ ३१ भएको फाइनलमा संकटा क्लब काठमाण्डौलाई ट्राईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गरेको थियो ।

१३औं दक्षिण एसियाली खेलकुदमा नुवाकोटका खेलाडीहरू अनु अधिकारी, लक्ष्मी मगर, कृष्णबहादुर तामाङ, मिना ग्लान, रेजिन रिमाल र राजिव पुडासैनीले विभिन्न खेलमा ११ पदक दिलाएका थिए । जन्मस्थान स्थानीय तहले सम्मान स्वरूप आर्थिक सहयोग गरेका थिए ।

संघीय गणतान्त्रिक नेपालको संविधान दिवसको अवसर पारेर मैत्रीपुर्ण फुटबल खेलमा राष्ट्रसेवक कर्मचारी समूह ५-२ अन्तरले विजयी भएका थिए ।

बंगलादेशको राजधानी ढाकामा सम्पन्न वेस्टर्न सेकेण्ड इन्टरनेशनल कराँते च्याम्पियनशीपमा स्वर्णपदक विजेता दुई खेलाडी रोहिणी पण्डित र यजुक थिङलाई स्थानियबाट आर्थिक सहयोग गरेका थिए ।

बेलकोटगढी नगरपालिका-५ दुईपिपल डबलीमा जिल्लामा पहिलोपटक द्वाथलन साईकिलिङ तथा दौड भएको थियो ।

नुवाकोट जिल्ला बुद्धिचाल संघद्धारा जिल्लामै पहिलापटक आयोजित प्रथम नुवाकोट खुल्ला फिडे रेटिङ्ग रेपिड चेस टुर्नामेन्टको उपाधि पुर्व नेपाल च्याम्पियन बद्रिलाल नेपाली विजयी भएका थिए ।

कोरियाको सिन्हान युनिभर्सिटीमा जारी “वर्ल्ड पिस तेक्वान्दो फेस्टिभल”मा स्पिड किक ब्रेकिङतर्फ नुवाकोटका रमेशकुमार श्रेष्ठले नेपालको लागि स्वर्णपदक दिलाएका थिए ।

नुवाकोटमा सम्पन्न ११ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा लिखु गाउँपालिका प्रथम ,विदुर नगरपालिका दोस्रो र बेलकोटगढी नगरपालिका तेस्रो भएका थिए ।

अपराध

मानव बेचबिखनमा वडाध्यक्षजिल्ला अदालत नुवाकोटले दुप्चेश्वर गापा-१ का वडाध्यक्ष सुनबहादुर तामाङलाई तीन जना बेचबिखनमा परेका नेपाली युवतीको बयानका आधारमा ३७ वर्ष जेल सजाय हुने फैसला सुनाएको थियो तर उच्च अदालतका न्यायाधीशद्वय रमेशबहादुर थापा र हरिप्रसाद केसीको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै तामाङलाई सफाइ दिने फैसला गरेको थियो । उच्च अदालतले सुनबहादुरलाई सफाइ दिँदै दाबी पुग्ने सजायसमेत स्थगित गर्न भनिएको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध सुनबहादुरले २०७५ जेठ २४ गते उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

१७ वर्षपछि चितवनबाट फरार अभियुत्त पक्राउ:२०५९ माघ १० गते ककनी गाउँपालिका वडा नम्बर ७ सिम्लेकी ७९ वर्षिय पदमकुमारी गुरुङलाई वारदात गरेको आरोपमा ककनी गाउँपालिका वडा नम्बर ७ सिम्लेका ३६ वर्षिय भरत सुनारलाई भदौ ३१ गते चितवनको राप्ती नगरपालिका वडा नम्बर ७ भबानी बजारबाट पक्राउ गरेको थियो ।

लागुऔषदमा वडाध्यक्षलागू औषध चरेस मुद्धा लागेका फरार म्यागङ गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष रामबहादुर तामाङलाई काठमाडौंमा पुन:पक्राउ परेको थियो । तामाङलाई जिल्ला अदालत काठमाण्डौले २०६१।०२।२७ गते ३ वर्ष कैद र २५ हजार जरीवाना गरेको थियो ।

वडाअध्यक्ष सिलवाल फरार:अवैध रुपमा सालको काठ बेचेका बेलकोटगढी नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष डिल्लीराम सिलवाल फरार भएका थिए । उनलाई छुटाउन नेकपाका प्रतिनिधिसभाका सांसददेखि नगरपालिकाका मेयरहरु समेत लागि परेका थिए ।

पूर्व मेयर कमानसिंहको ठगी काण्ड:धनमाया तामाङले वैदेशिक रोजगारको लागि भनेर आफुलाई नौ लाख ५२ हजार रुपैयाँ ठगि गरेको भनेर कारबाहीको माग गरेका थिए ।

थप मानव अपराध सम्बन्धि समाचारको लागि इन्सेकको वेबसाइट मा हेर्न सकिन्छ

दुर्घटना

वर्षकै पहिलो हप्ता वैशाख ३ गते विदुर नगरपालिका-२ मा रहेको एक्जेटिभ सेन्टरमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा ईनारपाटीका शिवशंकर न्यौपाने डुबी बेहोस भइ थप उपचारको लागि काठमाण्डौ हेलिकप्टर मार्फत लागिएको थियो ।

बैशाखमा तिव्रगतिमा रहेको बा ४ ख ७३८९ नं. को बसले सडक छेउमा ढलनाली निर्माणका लागि पर्खाल लगाइरहेका मजदुरलाई ठक्कर दिंदा घटनास्थलमै ज्यान गएको थियो ।

साउनमा देउराली बुङताङबाट त्रिशुली आउंदै गरेको पासाङल्हामु यातायातको बा २ ख २८०४ नम्बरको यात्रुबाहक बसले विपरित दिसाबाट आएको मिनी टाटालाई साइड दिने क्रममा माटो भासिएर सडकदेखि ४० मिटर तल खस्न पुगेको थियो भने ४७ जना घाईते भएका थिए ।

साउन १४ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ मा आगजनी गरेको थियो । आगलागबिाट कार्यालयमा रहेको कागजपत्र, फर्निचर, ४ थान पंखा र २ थान कम्प्युटरमा क्षति भएको थियो ।

accident nuwakt 2076

भदौमा किस्पाङ गाउँपालिका-५ शान्तिबजारस्थित ट्रकको ठक्करबाट शान्तिबजारका एक जनाले ज्यान गुमाए ।

असोज २१ केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा एक बालकको घटनास्थलमै ज्यान गएपछि आक्रोशित आफन्त र स्थानीयले चालकलाई सख्त घाइते हुने गरी कुटपिट गर्नुको साथै आक्रोशित भिडले बसमा ढुंगामुडा गरी क्षति पुर्याएको थियो ।

मंसिर २८ गतेदुप्चेश्वर गाउँपालिका-६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको थियो । उक्त घटनामा ३ महिला र १७ जना पुरुषको मृत्यु भएको थियो ।

चैतमा विदुर नगरपालिकाको बट्टारमा बा ५ ख २८९८ नम्बरको टिप्परले विपरीत दिशाबाट आइरहेको ना ३३ प ३४६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको थियो भने टिपरमा आगजानी भएको थियो ।

पिडितलाई बिमा रकम:खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुवावट भइ आगोलागी हुँदा मृत्यु भएका विदुर नगरपालिका वडा नम्बर ८ डिहीबजारका साईला मिजारको परिवारलाई श्रीराम ग्याँस उद्योगका प्रबन्धक ज्ञानबहादुर नापितले बिमा बापतको रु.१० लाख रुपैयाँ प्रदान गरको थियो । ग्यास सिलिन्डर लिकेजबाट हुने दुर्घटनाको क्षतिपूर्ति पाउने भएकोले ग्यास किन्दा बिल अनिवार्य लिन कम्पनिले अनुरोध गरेको थियो ।

समाचार

वर्षको सुरवातको पहिलो हप्ताको वैशाख ५ गते प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दले नुवाकोट रसुवाको जनजीवन प्रभावित बनेको थियो ।

राष्ट्रिय परिचयपत्रभदौंमा एक कार्यक्रम बीच नुवाकोटमा नागरिकको पूर्ण वैयक्तिक विवरण राख्न ‘राष्ट्रिय परिचयपत्र’काे फाल्गुणमा गरिने भनिएता पनि कुनै प्रक्रिया अघि बढेको छैन । भदौमै अविरल बर्षाको कारणले तादी गाउँपालिका वडा नम्बर ३ को ६ घर उच्च जोखिममा परेको थियो ।

४२ जना हराएinfographics data lost people nuwakot नुवाकोटबाट चालु आवको मङ्सिरमसान्तसम्ममा ४२ जना हराएको थिए । प्रहरीको तथ्यांकअनुसार हराएकामा महिला बढी रहेका छन् । हराउनेमा महिला ३६ जना रहेका छन् भने २ बालक र ४ बालिका जना रहेका छन् ।

बृहत कुमारी पुजा:काठमाडौंको ह्युमत मिसा पुच:को आयोजनामा नुवाकोटमा तेस्रो बृहत जीवित कुमारी पुजा भएको थियो । जिवित देवी कुमारीको उचित संरक्षण र सम्बर्द्धनको लागि आज शनिबार जीवित देवी कुमारीको विशेष पूजा गरिएको पुच:ले जनाएको छ ।

द्वन्द्वमा नुवाकोटका ४३ वेपत्ता:विदुर\बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले नुवाकोट जिल्लाबाट सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका ४३ जनाको नाम प्रकाशित गरेको थियो । नुवाकोट रेडक्रससित भने २३ जनाको मात्रै सूची थियो । तत्कालीन बिद्रोही नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा आएको १३ वर्षपछि मात्रै राज्य पक्ष र तत्कालिन विद्रोहीबाट बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो ।

आत्महत्यामा महिला बढीगत भदौमा जिल्ला प्रहरी कार्यालयले प्रकाशित गरेको तथ्यांकअनुसार गएको तीन वर्षमा नुवाकोटमा १ सय ५२ जनाले आत्महत्या गरेको थियो । तथ्याङ्क अनुसार आत्महत्या गर्नेमा महिला ७६, पुरुष ७१, बालक २ र बालिका ३ जना गरी १ सय ५२ जना रहेका थिए ।

११ बालिकाको उद्धारभारतको कोठीबाट नुवाकोट जिल्लाका चालु आवमा ११ जनालाई उद्धार गरिएको शक्ति समुहले जनाएको थियो । जसमा उमेर १४ वर्षदेखि १८ वर्षका बालिकाहरु बढी रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top