+
Search

ताजा अपडेट +

पपुलर +

हराएका विदुरहरु

bidur center of nuwakot
डबली खबर
२ साल अगाडी

नुवाकोट जिल्लाको सदरमुकाम विदुरको विकाससँगै ऐतिहासिक र सांस्कृतिक पहिचान हराउँदै गएको चिन्ता नि‍कटिएको छ। विदुरको स्थानीय इतिहास, स्थानिय नाम र परम्परागत स्थलहरू समयक्रममा लोप हुँदै गएका छन् भने आधुनिक विकासले पुराना स्मृतिहरू ओझेलमा परेका छन्।

नगरपालिकाको गठन संविधान २०७२ को भाग ५ अनुसार भए पनि, २०४२ सालदेखि विदुरको नाम र पहिचान रहँदै आएको उल्लेख छ। संविधान लागू भएपछि विदुर नगरपालिका पुनः स्थानीय तहको रुपमा घोषणा भए तापनि, शहरीकरण र नयाँ संरचनाले परम्परागत स्थानहरू र सांस्कृतिक स्मृतिलाई प्रभावित गरेको पाइएको छ।

स्थानीय तह निर्माण भएदेखि विदुरमा मानव पदचाप कम हुदै गर्दा विदुरको छाप पनि हराउँदै गइरएको छ । माथिल्लो र तल्लो विदुरको सम्बन्ध टाढीएको छ । केहिमा निर्भर रहेको विदुर अहिले परनिर्भर भएको छ । जसको लागि सामुदायिक विद्युतीयकरणमार्फत् सामाजिक र वातावरणीय परिवर्तनको लागि स्थानीय तहले थातथलो कार्यक्रम सञ्चालन गरी स्थायीत्व कायम गर्नुपर्ने देखिन्छ ।

वनदेवी मन्दिर पदमार्ग

अहिलेको हुलाक कार्यालयदेखि र रावलधारा हुँदै मन्दिर जाने पदमार्गको छाप हराएको छ । नुवाकोट-बागेश्वरी सडक विस्तारले पनि ऐतिहासिक पदमार्ग मेटिँदै गएको छ । जुन जिल्लाको सदरमुकाम नुवाकोटनै हुदाँ आउने जाने मार्गको रुपमा रहेको थियो । बान्द्रेदेखि आउने पदमार्ग पनि केहि अलमल छ ।

मसलाघारी

अहिले विदुर खानेपानी तथा सरसफाई संस्था, योगा भवन, शहरी स्वास्थ्य केन्द्र, सेफ हाउसलगायतका भवन निर्माण भएको छ । जुन स्थानलाई विदुर निवासीले मसलाघारीको नामले चिन्दथे । स्थानीयले चौपाया चरण र खेल्नेस्थानको रुपमा प्रयोग गर्दै आईरहेका थिए । विकास निर्माणसँगै तीन दशक बितिसक्दा ‘मसलाघारी’को नाम निशाननै मेटिएको छ । वन फाँडेर विकास गरिएको छ । मसलाघारीसँगै रहेको रातटाउके आँपको बोट अहिले बस बिसौनी भएको छ । त्यो पनि बुढो भएर काटिएको छ ।

अमलाचौर

सदरमुकाम विदुरबाट नजिक गौचरण, वनभोज जस्ता गतिविधि गर्न खुला क्षेत्र अहिले ओझेलमा छ । स्थानीयले पशुपालन गर्न छोडेको लामोअवधिपछि अमलाचौर अहिले बौद्धधर्मालम्बीहरुको दाहसंस्कार गर्ने स्थलको रुपमा विकसित हुदैंछ । मौसमी तरकारीको रुपमा दुर्लभ च्याउ ‘पट्याउ’ र अन्य वन च्याउ खोज्न जाने माहोलको हराएको छ । वर्षात् समयमा जाने उक्त माहोलको होडबाजी सम्झनामा सिमित भएको छ । चौरको भुइँभरि हुने अमला अचेल सम्झनाका पानामा स्पर्श छ । खाना पकाउन चुलो बाल्न वनमा दाउरा लिने जाने गरिन्थ्यो । अहिले सहज र शहरी जीवनशैलीले सबै आयातित ग्यासमा रमाएका छन् ।

लक्ष्मीनारायण मन्दिर

०७२ सालको महाभूकम्पले गर्दा लक्ष्मीनारायण मन्दिर भत्किएपछि पुनर्निर्माण पछि भइरहेको मन्दिरको स्थान भन्दा करिब ३० मिटर पर नयाँ प्यागोडाशैलीमा निर्माण भएको छ । भूकम्पले क्षति भएको लक्ष्मीनारायणको मूर्ति अहिले लोकतान्त्रिक चौताराको पूर्व भागमा राखिएको छ भने नयाँ मूर्ति स्थापना गरिएको अवस्था छ । पुरानो मन्दिरको केहि भग्नावशेष र घन्टीको छाप मात्र छ ।

ऐँसेलुधारा र छरछरे धारा

ओसमा फल्ने मौसमी फल ऐँसेलु मैथली खोलाको किनारमा पाईन्थ्यो, टिपिन्थ्यो, खाईन्थ्यो । खोलाकै पानी र मूलपानीको धाराले नुहाईधुवाई गरिन्थ्यो । वर्षामा मात्र पलाउने मूलधारा छरछरे धारा अहिले भर नहुने भएको छ । वस्ती विस्तारसँगै मूल हराउँदै भएको छ । रावलधाराको पानी विदुरका खेतका गह्राहरुमा सिँचाई हुन्थ्यो । अहिले सिमित मात्रमा हुन्छ र छरछरे धाराको मुहान पानी पनि अभ्यस्त छ ।

त्रिशूली खोला र बगैँचा

रिजाल बगैंचामा मौसमी फलफुल आँप र लिची फाल्दा स्थानीयहरु हर्षित हुन्थे । मौका मिलाएर फल लिने कला अद्भुत हुन्थ्यो, सुनिन्थ्यो । बगैंचाभरि फलफुल फलेको देख्दा सबै मोहित हुन्थे । शनिबार या विदाको समय त्रिशूली खोलामा नुहाईधुवाई, पौडी खेली घरफर्कने बेला मेसो मिलाएर फल लिने र माली देखेसी कुलेलाम ठोक्ने बालापन हराएको छ । बजारका पसलमा पाईने फलफुलले सो पल हराम भएको छ ।

मैथली खोल्सा र ब्यारेक

मैथली खोल्सामा माछा मार्ने, कागजका डुंगा बनाई खेल्ने, असुरोको डांठको पानी घट्ट बनाई खेल्ने परम्परा हराएको छ । अहिले न माछा छ न खोल्सामा खेल्ने बालबालिका नै । बदलिँदो जीवनशैलीले स्थानीय प्राकृतिकको रणभूल मानसपटलमा सिमित मात्र छ । उबेला ब्यारेकको तारजालीको घेरा नाघेर गोल्टिनका बट्टा, बियरका बोतल लिन जाने र सरसफाईका दूतलाई पैसामा बेची केहि मुख मिठाउने यादहरु अझै स्मरणमा छ । अहिले बोतल लिनु न ब्यारेक जानुपर्छ न मुख रसाउन । गोजीमा दाम भए सबै आनन्दीय आउने भएको छ ।

बरपिपल चौतारा र धारा

साविकको विदुर नगरपालिका वडा नम्बर ३ विदुरस्थित स्थानीय ध्रुवकुमार रावल दाईको घर अगाडी रहेको बरपिपलको चौतारा पासाङल्हामु शेर्पा राजमार्ग विस्तारको क्रममा काटिँदा विदुरमा लोकतान्त्रिक चौतारा मात्र बाँकी छ । नलगाउँबाट पानी उपभोगको निमित्त ल्याईएको धारा पनि स्मृतिमा छ । सडककै छेउमा धारा हुदाँ यात्रुहरुले प्यास मेट्थे । सडक धुलो हुदाँ पानी छ्याप्नी पनि कम्ता रमाईलो हुदैनथ्यो ।

कृषि उत्पादन

नारायणी नदीको किनार बिर्साउने विदुरमा २/३ दशकमा उखुबाली राम्रो थियो । स्थानीयस्तरमै उखु पेलेर सख्खर उत्पादन गरिन्थ्यो । स्वास्थ्यबर्धक खुदो खाइन्थ्यो । अहिले आयात गरी ल्याउने परिपाटी बसेको छ । उबेला उद्योग थियो अहिले व्यापार मन्दी छ । दाम्लो, नाम्लो, गुन्द्री, चकटी लगायतका कृषि उपज उत्पादन बिलिन छन् । इँटा बनाउने, भाँडाकुँडा बनाउने आरन पनि हराएको छ ।

पशुपालन

खेतबारीमा अन्न लगाउनको लागि गोरु जोतिन्थ्यो । दुधको लागि गाई, भैंसी, बाख्रा पालिन्थ्यो । अहिले एकाध घरमा मात्र गाई पालिएको छ । अन्नपात फल्ने खेतबारीमा घर फलेको छ । तयारी दाना खुवाउन भाउले उकालो लागेको छ । पशुको गहुँत गोबरको बास्ना दुर्गन्धित भएको छ । कृषिमा आधुनिकीकरण र शहरी जीवनशैलीले विदुरमा पशुपालन संस्कृति लोप भएको छ । गाई तिहार, कर्मकाण्ड, सुत्केरो, पूजामा मात्र गाई खोजिने भएको छ ।

मिलन क्लब र नवबिहानी

सामाजिक क्षेत्रमा कहलिएको मिलन क्लब र फुटबलमा नाम कमाएको नवबिहानी युवा क्लब बिलिन छ । जिल्लाको फुटबलमा उत्कृष्ट खेलाडीको रुपमा स्थापित खेलाडीहरुले खेलखेल्न छोडेका छन् । सामाजिक क्रियाकलाप र खेलकुदमा भविष्य नहुदाँ दुवै क्लब अहिले धड्डाको अभिलेखमा मात्र सिमित छ । युवाको पुस्तान्तरणको कमिले खेल र सामजिक कृयाकलापमा न्यून छ । खेल्न विदुरभन्दा पर जानुपर्ने बाध्यता छ । समाजभन्दा व्यक्तिगत कार्यमा व्यस्त छ ।

बालमन्दिर

प्राथमिक शिक्षाको लागि स्थापना गरिएको बालमन्दिरको भवन अहिले पूर्णरुपमा जिर्ण छ। स्थानीय पालिकाको भवन नजिकै हुदाँ पनि कुनै चासो छैन । विदेशी शैक्षिक परम्परा भित्र्याउन हात जोडी लागेको छ । केहि स्वरूपमा नयाँ भवनमा अध्यापन हुन्छ । रानी ऐश्वर्य राज्यलक्ष्मी शाहले बालदिवसमा हेलिकप्टरबाट आएर चकलेट बाँड्ने र रानी भेट्ने अवसरको पर्खाई लोकतन्त्रसँगै तुहिएको छ ।

स्थानीय नेतृत्व तथा सामाजिक समूहले अब आवश्यक रहेको परम्परागत मार्ग तथा सांस्कृतिक स्थल संरक्षणका लागि दीगो योजना निर्माण गर्ने र इतिहासका पाटोलाई बिर्सन नदिने पहल आवश्यक रहेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ