-ठाकुर पुडासैनी
कोरोनाभाईरस (कोभिड-१९) जनवादी गणतन्त्र चीनको वुआान शहरबाट सन् २०१९ को डिसेम्बर महिनाको अन्त्यतिरबाट सुरु भएको र हालसम्म यसले विश्वका २०० देशहरुलाई आफ्नो प्रभावमा पारिसकेको छ। यसको कारणले गर्दा विश्वका धनी, मध्यम र गरीब सबै मुलुकहरुलाई आतङ्कित भएका छन् । यो आलेख तयार गर्दा सम्म यो भाईरस संक्रमितको संख्या ११ लाख नाघिसकेको छ भने ५९ हजार भन्दा बढीले ज्यान गुमाई सकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। कोरोना भाइरसको प्रभाव खराब हुँदा नेपालको कुल गार्हस्थ उत्पादनको ० दशमलव १३ प्रतिशत अर्थात् तीन करोड ३० लाख अमेरिकी डलर क्षति हुने विश्लेषण एसियाली विकास बैंक (एडिबी)ले गरेको छ । नेपालमा सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित हुने छ । सौभाग्यवस् नेपालमा भने यो रोगको भयावह संक्रमण हुन पाएको छैन । नेपाल सरकारले यसको रोकथाम र नियन्त्रणकोलागि भगिरथ प्रयत्न गरेको देखिन्छ ।
विश्व अर्थतन्त्रमा कोरोना भाईरसले ठूलो प्रभाव पार्ने निश्चित छ । धनी राष्ट्रहरुले कोरोना भाईरसबाट आफ्ना नागरिकहरुलाई बचाउन ठूलो धनराशी छुट्याई सकेका छन् । कोरोनाले विश्वको कुल गार्हस्थ उत्पादनमा ७७ अर्बदेखि ३ खर्ब ४७ अर्ब डलरसम्म क्षति हुने अनुमान एसियाली विकास बैंकले गरेको छ । यो विश्व अर्थतन्त्रको ० दशमलव १ देखि ० दशमलव ४ प्रतिशतसम्म हो । कतारले आफ्नो कुल गार्हस्थ उत्पादन (जीडीपी) को १३%, संयुक्त राज्य अमेरिकाले जीडीपीको १०% रकम बराबरको राहत रकम घोषणा गरेका छन् । नेपालले पनि आफ्नो क्षमता अनुसार नागरिकहरुलाई राहत प्रदान गर्नका लागि उच्चस्तरीय कोरोना राहत कोषको स्थापना गरेको छ र उक्त कोषमा रकम जम्मा हुने क्रम जारी छ ।
कोरोनाभाईरसको संक्रमणबाट विश्वका ३५ करोड जनसंख्याले बेरोजगारी समस्या भोग्नु पर्ने चेतावनी दिएको छ । नेपालमा काम गर्ने उमेर समूहका ६१ प्रतिशत जनसंख्या रोजगारीको क्षेत्रभन्दा बाहिर रहेको तथ्यांक छ । नेपाल विकासको गतिमा भर्खर बामे सर्न लागेको अवस्थामा कोरोनाभाईरसले हाम्रो अर्थतन्त्र तहसनहस बनाउन सक्ने सम्भावना रहेको छ । समयमा नै सचेत भई संयमता पुर्वक आर्थिक परिसुचकहरु यथाअवस्थामा कायम राख्न प्रयत्न गर्नु नै वर्तमान सरकारको मुल दायित्व हो ।
यो महामारीले नेपालमा ल्याउन सक्ने आर्थिक चुनौतीहरु निम्न बमोजिम हुन सक्दछः
- वैदेशिक रोजगारीमा ठूलो ह्रास
- रेमिट्यान्समा उल्लेख्य कमी
- पर्यटन व्यवसाय धराशायी
- विदेशी मुद्राको आर्जनमा कमी
- स्वदेशी उद्योगधन्दा बन्द
- राष्ट्रिय रोजगारीमा कमी
- जनताको आम्दानीको स्तर घटने
- बचतको दरमा ह्रास हुने
- बैंकमा प्रवाह हुने मुद्रामा कमी
- ऋण लगानी क्षमतामा कमी
- रुग्ण उद्योगको संख्या वृद्धि
- कर्जा लगानी र असुलीमा समस्या
- कृषि मल, बीउ, र उपकरणमा समस्या
- आयात निर्यात व्यापारमा कमी
- समग्र अर्थतन्त्रमा मन्दी आउन सक्ने
कोरोनाभाईरसको कहर सधैका लागि होईन । कुनै न कुनै दिन हामी यसबाट मुक्त हुन्छौं । करोनाको कहर समाप्तिपछि पनि हाम्रो जन जीवन उन्नत र विकसित हुनुपर्दछ । त्यसका लागि माथि उल्लेखित समस्याबाट अर्थतन्त्रलाई बचाउन नीति निर्माता र सम्बन्धित क्षेत्रका विज्ञहरुले समयमा नै यथोचित गृहकार्य गर्नु जरुरी छ र यसमो पहलकदमी सत्तारुढ दलले केन्द्र, प्रदेश र स्थानीय तहमा लिनु आवश्यक छ ।
माथि उल्लेखित समस्याहरु समाधान गर्न निम्न उपायको खोजी गर्न सकिन्छः
- नयाँ श्रम गन्तव्यको खोजी
- पुराना श्रम गन्तव्यसँग सुमधुर सम्बन्ध कायम
- देश भित्र नै रोजगारीको अवसरको खोजी
- संक्रमण मुक्त हुने बित्तिकै आन्तरिक पर्यटनमा व्यापक वृद्धि
- वाह्य पर्यटन प्रवर्धनामा विशेष जोड
- रुग्ण उध्योगलाई कर छुट
- सहुलियतपुर्ण कर्जा प्रवाह
- राष्ट्र बैकबाट मुद्राको आपुर्ति वृद्धि
- कृषि, उद्योग र व्यापार क्षेत्रलाई उत्साहित गर्ने रणनिति
- वैदेशिक लगानीलाई उच्च प्राथमिकता
- कृषि क्षेत्रलाई विशेष क्षेत्र घोषणा
- कृषि उत्पादनको सरकारद्वारा खरिद
- कृषि बाली बीमा र मल, विउमा अनुदान
- बैदेशिक व्यापारमा वस्तु तथा क्षेत्रगत विविधता
- निर्यातजन्य वस्तु वा सेवाको उत्पादनमा विशेष जोड
हामी नेपालीले नेपालकै आर्थिक विशिष्टतामा नीति नियम र योजना निर्माण गर्नु बुद्धिमानी हुन्छ । तुलनात्मक लाभ र लागत हिसाब गरी विश्व बजारमा बिकाउ हुने वस्तु वा सेवा उत्पादन गर्न र नेपाली भुमिमा उच्च रोजगारी दर सिर्जना गर्न निम्न उपायहरु उपयुक्त हुन सक्दछ:
- आर्थिक संकटको समयमा जनतासंग नलिन बरु जनतालाई दिने
कर छुट, व्याजदर छुट, सहजकर्जा उपलब्धता आदि । यसो गर्दा उद्योगधन्दा खुल्छ, उत्पादन र आय वृद्धि हुन्छ । - व्यापक रोजगारी सिर्जना गर्न ठुलठुला आयोजनाहरु सञ्चालन गर्ने
जलविद्युत आयोजना, सडक निर्माण, खानेपानी, नहर निर्माण आादि। यसो गर्दा सरकारी खर्च बढ्छ। सरकारी खर्च बढ्नु भनेको जनताको आम्दानी बढ्नु हो । जनताको आम्दानी बढाएपछि करको दायरा बढाई सरकारले नै आम्दानी बढाउन सक्दछ। - जडिबुटीजन्य उत्पादनमा जोड दिनु पर्ने
नेपालमा भएका जडिबुटीहरु संजिवनी जस्तै छ भन्छन्। अनुसन्धान गरी रुद्राक्ष, बोधिचित्त, पाँचआौले, चिराईतो, यार्सागुम्बा प्रशोधन गरि निर्यात गर्ने। - गाँजा खेति किन नगर्ने?
पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ, साँसद विरोध खतिवडा र पूर्व भौतिक योजना तथा विकास विकास मन्त्री केशव स्थापितले अनुसन्धानका आधारमा संसदमा बिल पेश गरेका हुन् भने ३ महिनामा कानुन बनाउने तर गाँजा खेती गर्न तत्काल अनुमति प्रदान गर्ने । नेपालको समृद्धिको यो भन्दा छिटो आधार अरु हुन सक्दैन ।
विश्वब्यापी कोरोनाभाईरसले सिर्जना गरेका अनगिन्ती समस्याबाट त्रसित र बिचलित नभई यसको सामना गरौं । चुनौती र समस्यासँग जुधेर नै मानव सभ्यता अगाडि बढ्दै आएको छ । के थाहा, यस समस्याको सामना गर्दा गर्दै हामी नवीन क्षितिज देख्न सक्ने विन्दुमा पुग्न पनि सक्छौं ।आशावादी बनौं, आौंशीरुपी निराशामा पनि पुर्णिमा: डाक्ने चाँदनी रहेको हुन सक्दछ ।
प्रतिक्रिया