२०८१, २२ बैशाख शनिबार

‘सङ्कल्प १०१’ माथि विमर्श: श्रीराम श्रेष्ठ

    असार २ २०७६ १४:१२

shreeram shrestha mahamandal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

युवाकवि मोतीराम भट्टले नेपालमा भित्र्याएको गजललाई शम्भुप्रसाद ढुङ्गेलले मलजल गरे । त्यतिखेर लेखनाथ पौड्याल, चक्रपाणि चालिसे, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटाहरूको कलम पनि गजल लेखनतिर चलेको देखिन्छ । त्यसपछि भने गजल लेखन सुस्ताएको देखिन्छ । भीमनीधि तिवारीले मोतीरामको गजल लेखनशैलीलाई पछ्याएर बढवा दिन काम गरे । त्यस्तै, माध्यमिक कालमा उपेन्द्रबहादुर जिगरको योगदान रह्यो । वि.सं.१९९६ मा उनले ‘एक सय गजल’ नामक सङ्ग्रह नै प्रकाशनमा ल्याएका थिए ।

गजललाई उर्दूको एउटा लोकप्रिय काव्य विधा मानिन्छ । गजलमा थोरै शब्दमा धेरै भाव व्यक्त गर्न सकिन्छ । चारदेखि सात शेरसम्मको गजललाई उपयुक्त मानिन्छ । प्रत्येक पङ्तीलाई मिसरा भनिन्छ । पहिलो र दोस्रो मिलेर शेर बन्छ । पहिलो शेर र दोस्रो पङ्तीबीच पारस्परिक सम्बन्ध हुनु पर्दछ । अझ मतला, मुक्ता, रदिफ काफिया र तखल्लुसजस्ता गजलका आधारभूत व्याकरण हुन् भने गजलमा रदिफको खासै आवश्यकता पर्दैन । रदिफबिना पनि गजल लेख्न सकिन्छ । तर काफियाबिना गजल हँुदैन । तथापि यसका अतिरिक्त भाव, लय, अलङ्कार, प्रतीक आदिको संयोजन जरूरी पर्दछ । यसै नियमलाई पछ्याउँदै गजल लेखनमा मिसिन आएकी छिन् — अम्बिका कार्की ‘अमू’ ।

वि.सं. २०३४ मा साउन सात गतेका दिन बुवा तीर्थराज पोखरेल र माता खेमकुमारी पोखरेलको कोखबाट जेठी सुपुत्रीको रूपमा जन्मिएकी ‘अमू’ नेपाली साहित्य तथा समाजकी एक अगुवा व्यक्तित्वको रूपमा चिनिन्छन् । विवाह भएको पाँच वर्षमै पति वियोगमा परी एक वर्षकी छोरी च्यापेर सङ्घर्षको मैदानमा लड्दै जुध्दै आइकी छिन् । विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालहरूमा उनका रचना प्रकाशित भइरहेका पाइन्छन् । मुडुला कार्की सेवा समाज, हाम्रो मझेरी साहित्य प्रतिष्ठान, राष्ट्रिय नारी साहित्य समाज, गजलमञ्च चितवन, जनसाहित्य मञ्च, सर्लाहीजस्ता सामाजिक सङ्घसंस्थामा समेत उनको क्रियाशीलता रहने गरेको पाइन्छ ।

‘अमू’ले वि.सं.२०७५ मा ‘सङ्कल्प १०१’ नामक गजल सङ्ग्रह प्रकाशन गरिन् । प्रस्तुत कृति नै यिनको पुस्तककारको रूपमा पहिलो हो । यस कृतिमा चार–चार शेरमा तीन वटा, पाँच–पाँच शेरमा ८९ वटा, छ–छ शेरमा छ वटा र सात–सात शेरमा तीन वटा गरी जम्मा १०१ वटा गजल समाविष्ट छन् । यस सङ्ग्रहभित्र देशप्रेम, प्रकृतिप्रेम, पीडा, विद्रोह, हर्ष–बिस्मात, सुख–दुःख, मानव अधिकार, सामाजिक विकृति, विसंगति, राजनीतिक विचलन आदि विषयवस्तुमा केन्द्रित भएर सरल र सरस भाषा–शैलीमा रचिएका गजल पाइन्छन् ।

‘सङ्कल्प १०१’ भित्र पुष्प अधिकारी अञ्जली, डा. घनश्याम न्यौपाने ‘परिश्रमी, केशवराज आमोदी, धनराज गिरी, महानन्द ढकाल, विजय ज्ञावली, नारायणकर्म कार्की, गौरी तमू, वि.पी. खनाल ‘बुद्धि’, विमल वैद्यजस्ता व्यक्तित्वका शुभकामना तथा भूमिकाहरूमा भूमिका तथा शुभकामना समेटिएका छन् ।

राष्ट्रलाई समृद्धितर्फ डो-याउनका लागि राजनीतिक दलहरूले जनतासँग गरेका प्रतिबद्धता चुवावपछि बिर्सिएको कुरा पनि गजलका विषय बनेका छन् । निर्वाचनमा जित हात पार्नका लागि मिसन र भिजन तेस्र्याउँछन् नेताहरू । तर, जनताको विश्वासको मत पाएपछि आफूलाई शक्तिशाली, सम्झन्छन् । जनतालाई रैती सम्झन्छन् । ती नेता भनाउँदाहरू ऐस–आराम, ठगठाग, बिलासिताको जीवन बिताउन थाल्दछन् । व्यक्तिगत र दलगत स्वार्थबाट माथि उठ्न सक्दैनन् । समाजमा बसोबास गर्नेहरूको मन पनि विभाजित गरिदिन्छन् । क्षणिक स्वार्थको प्रलोभनमा आफू–आफूमा तछाड मछाडको स्थिति सिर्जना हुन्छ । सही र गलत छुट्याउन पनि अरूद्वारा निर्देशित भएपछि विवेकशून्य चेतनाले समाजको रूपान्तरणको खाका कहिले कोर्नेः

छल छाम गर्दै–गर्दै,
ठगी जाने ठाम मेरो ।

उफ्रि हाँक्छु मञ्चमाथि,
लोभ्याउने दाम मेरो ।

०००

बेमौसमी सदाबहादर,
उधोतिको लाम मेरो ।

संसार चलायमान छ । पृथ्वीको उत्पत्तिसँगै हामीले विभिन्न अपत्यारिला भनाइ पनि सुन्दै आएका छौँ । प्रकृतिले सिर्जित गरेको अकाट्य सांसरिक रितलाई हामी सहर्ष स्वीकार्न बाध्य भएका छौं । मानवद्वारा समाजलाई डो¥याउनका लागि नीति, नियम, कानुन तय गरिएको हुन्छ । ती सीमित घेरामा बाँधिन बाध्य भएका छौँ । केही दण्ड सजाए मानसिब हुन्छन् भने केही अमानवीय । शिक्षा र चेतनाको कमीले गर्दा त्यस्ता असामाजिक व्यवहार र घटना भइरहेका छन् । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने स्पष्ट रूपमा लिखित कानुन थिएन । महिलालाई दोस्रो दर्जाको रूपमा हेर्ने गर्दथ्यो । यतिसम्मकी लोग्ने मर्दा स्वास्नी मान्छे जिउँदै सती जानु पर्दथ्यो । आगो जलिरहेको चिता माथि विधवालाई जिउँदै राखेर पोल्ने गरिन्थ्यो । आगोको रापले सहन नसकी चितामाथि बसेका विधुवा महिला भागेमा ढुङ्गामुढाले हानी घाइते बनाएर वा मारेर पुनः चितामा राखेर पोल्ने गरिन्थ्यो । यद्यपि, तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले विधिवत रूपमा सती प्रथाको अन्त्य गरे । समाजमा अहिले पनि विधुवा महिला माथिको विभेद जारी छ । विधुवाले सेतो पहिरन लगाउनु पर्ने, दोस्रो विवाह गर्न नपाउने विधुवालाई हेर्दा वा भेट्दा अशुभ हुने जस्ता अमर्यादित व्यवहारले प्रताडित छन्, विधवा महिला भन्ने उनका गजलमा भाव यसरी व्यक्त भएका छन्ः

विधवाको सेतो साडी अशुभ मान्छ मेरो समाज,
हेराइमा नै अलच्छिनी किन ठान्छ मेरो समाज ।

०००

नारी हाँस्दा लगाइन्छ अनेकन लान्छनाहरू,
स्वास्नी माथि स्वास्नी थप्दा भतेर खान्छ मेरो समाज ।

०००

जमानाको माग अनुसार हिड्नुपर्छ भन्दै छन् कोही,
फेसन नयाँ सोच पुरानै किन छान्छ मेरो समाज ।

एकल महिलाले समाजमा भोग्नु परेका समस्याहरूलाई सटिक ढङ्गले गजलमा उतारेकी छिन् अम्बिकाले—

एक्लो बन्न रहर हुन्न तक्दिरले पारिदियो,
छैटौँ दिनको भावीले नै ग्रहदशा सारिदियो ।

०००

मुस्कुरायो उत्ताउली रे घुसघुस रे नबोलेमा,
सङ्घर्षका मैदानमा यही समाजले झारिदियो ।

०००

पुरूषवादी समाजमा काँडामाथि हुदाँ कदम,
न त मर्र्नु बाँच्नुको यो कस्तो छहारी दियो ।

देशको अवस्था देखेर जनताको मन कुडिन्छ नै । देशमा लोकतन्त्र आयो तर सीमित व्यक्तिले मात्रै त्यसको उपभोग गरिरहेका छन् । संविधानमा व्यवस्था भएको मौलिक हक समान रूपमा कार्यान्वयन हुन सकेन । राजनीतिक आडमा टाँसिनेहरूको बोलवाल रहन गयो । मुलुक सङ्घीयतामा गएपछि जातीय नाराले आकाश छुन गयो । कुनै पनि समय जातीय द्वन्द्व भड्कन सक्ने संभावनालाई नर्कान सकिन्न । देशको अस्मितामाथि धावा बोल्ने र देशकै सिमान हडप्न खोज्नेविरूद्धमा किन बोल्न सक्दैनन् स्वार्थीहरू ? चिन्तित छिन् उनी:

ए सरकार ! ए सरकार ! भन्दै थाकेको छु ,
धरोधर्म देशका लागि देवीदेवता भाकेको छु ।

चिल्ला मीठा भाषण त बर्षेनी स्ुनाउँदै आयौ
तिम्रा गतिविधिहरू पनि हेर्दा हेर्दै थाकेको छु ।

०००

सुस्ता, लिपु खोलानाला हाम्रा देशको सम्पत्ति नै,
लथालिङ्ग हुदाँसमेत मनको व्यथा ढाकेकी छु ।

अम्बिका कार्की ‘अम्बू’ पति बियोगमा छिन् । द्वन्द्वकालमा राष्ट्रका लागि समर्पित रहने व्रmममा विद्रोही पक्षबाट मारिए उनका पति । विवाह गरेको पाँच वर्ष नपुग्दै पति बियोगमा परेर उनको मन विक्षिप्त भयो । एक वर्षकी छोरी लिई जीवन सङ्घर्ष गरिन् उनले । पीडामाथि मलमपट्टी र सहानुभूति दिने काम कही कतैबाट भएन । यस्तै दुःखद् घटनाव्रmमलाई बिषयबस्तु बनाई गजलमा उनले यसरी लेखेकी छन्:

तिम्रो सुरक्षाको खातिर पति गुमाएकी छु मैले,
दोस्रो देशको नागरिक झैँ बनेको पीडा चाखेकी छु ।

०००

रित्ता सधैँ रित्तिदै छन्–भएका झन भरी भए,
सत्र हजार ज्यान मरे, भेडाबाख्रा सरी भए ।

उनले आफ्नो जीवन साथी गुमाउँदाको पीडालाई अझै पनि भुल्न सकेकी छैन । आँखैमा टाँसिने गरी सम्झनाको झझल्को आइरहन्छ उनलाई । पतिसँग बिताएका प्रेमिल सम्झनाहरूले उनलाई सताइ रन्हछन:

तिमी नै हो मेरो जिन्दगानी उहाँ भन्नु हन्थ्यो,
सातै जूनी साटाँैला जवानी कहाँ भन्नु हुन्थ्यो ।

०००

तिमीभन्दा अघि मैले धर्तीबाट विदा लिए,
लेख है हाम्रो प्रेम कहानी उहाँ भन्नु हन्थ्यो ।

०००

रूखमा चढ्दा काँध थाप्नेसँग जोगिनु तिमी,
खसाली दिन्छन् जानी–जानी उहाँभन्नु हुन्थ्यो ।

२०६२/०६३को जन आन्दोलन पश्चात हामीले लोकतन्त्र र गणतन्त्र पाएका छौँ । नयाँ संविधान प्राप्त गरेको छ मुलुकले । केन्द्रिकृत शासन प्रणाली विकेन्द्रीकृत भई गाउँ–गाउँमा सेवा सुविधाका पहुँच पुगेको छ । स्थानीय सरकार, प्रदेश सरकार बनेका छन् । भनिन्छ, सिंहदरबार गाउँमा पुगेको छ । तर, वास्तविकता कस्तो छ त उनी लेख्छिन्ः

धन हुनेलाई रजाइँ छ जुनै तन्त्र आए पनि,
निमुखालाई उत्थान गर्नु कुनै गाथा आएन ।

सङ्घीयतामा चिरा भयो सबैको यो फूलबारी,
छुट्टै राज्य छुट्टै कानुन कतै साझा आएन ।

०००

पीडाबोकी सदनतिर धाइरहने हामी हौँ,
जनतालाई न्याय दिने खाका आएन ।

कुनै पनि राष्ट्रमा नागरिकको मौलिक हक स्वतन्त्र हुन्छ तब मात्र त्यस देशका नागरिक सुखी र खुसी हुन्छन् । आम नागरिकलाई आफू भन्दा माथि देश हुन्छ । व्यक्तिगत स्वार्थभन्दा देशको स्वार्थले छाती फराकिलो बनाउनु पर्छ । देश रहेमा मात्र हामी रहन्छौ । देशनै नरहे हामी कहाँ रहन्छौ । देश दुःख्दैगर्दा हामी कहाँ खुसी हुन सक्छौ । राष्ट्रप्रेमले ओतप्रोत भएका गजलको नमूना :

माटो रोयो मैले देखेँ,
बिग्रेको हो ऐले देखेँ ।

०००

मेरो प्यारो देशलाई
सिध्याएर आफैले देखे ।

०००

रोएको यो मातृभूमि
दुखाए यस्तैले देखेँ ।

अम्बिकाले सबै क्षेत्रका बिषयलाई अँगालेर गजल लेखेकी छिन् । प्रेमप्रणयको कुरा त गजलमा आउने नै भयो । प्रेमले जीवनलाई खुशी बनाइदिन्छ भने प्रेमले नै बिद्रोह पनि बनाइदिन्छ । सच्चा प्रेम जागेको बेला संसार नै जितेको जस्तो आभास हुन्छ । प्रेमी–प्रेमीका बीचको सम्बन्ध दरिलो हुन एकले अर्कामा गरेको विश्वासले नै हो । यसरी उनले लेखेको गजलको अंशका दुई शेर प्रेम र विद्रोह:

प्रेमको प्याला भई प्यास मेटाउन प्रेमले,
धड्कन मुटुसँग साथ थाम्ने हात बनेर ।

०००

जिन्दगीमा बल्झिरहने घाउ बन्यो आफ्नै अतीत
पासा अन्तै पल्टिने घाउ बन्यो आफ्नै बाध्य भएँ ।

छिटफुट केही गजलमा श्रृंगारिक भाव पनि सटिक ढङ्गले प्रस्तुत भएका छन् ।

अलिकति तिम्रो अलिकति मेरो तब खास होस्,
अधरको मुस्कानले नै दिलमा बास होस् ।

०००

मुनामदन भन्दा उच्च रहोस् हाम्रो युगल जोडी,
प्रेमिल पालुवा पलाउने सधैँ मधुमास होस् ।

०००

भूगोलको दूरीमा टाढा–टाढा भए तापनि
सम्बन्धमा माया, विश्वास हाम्रै पास होस् ।

अन्तमा, जगलकार अम्बिका कार्की ‘अमूू’का गजल नियम र भावले सशक्त रहेको हँदा सृजनामा परिपक्वता देखिन्छ । आफ्नो जीवन भोगाई र मानव जीवनका कथा–व्यथाहरूलाई गजलमा मिहिन ढङ्गले प्रस्तुत गरिएको छ । समग्रहमा गजल अब्बल छन् । गजलका पारखीहरूले पढ्न छुटाउनु नहुने एउटा गजलकृति हो, ‘सङ्कलप १०१’ ।

mahamandal3@gmnail.com

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top