२०८१, १३ बैशाख बिहीबार

पर्यटकीय क्षेत्र बन्दै ‘रावलधारा’

सुनील श्रेष्ठ     माघ १३ २०८० ०८:२९

two women collecting water in Bidur Rawaldhara nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – मूलबाट आउने पानी स्वादिलो, ऐतिहासिक र सांस्कृतिक महत्व जोडिएकोले पनि स्थानीयबासीहरूबीच बढी लोकप्रिय रहेको विदुर नगरपालिका वडा नम्बर २ स्थित रावलधारा अहिले पर्यटकीय क्षेत्रमा विकास हुदैं गइरहेको छ । बागमती प्रदेश सरकारले सन् २०२४ लाई बागमती प्रदेश भ्रमण वर्षको रुपमा मनाउँदै छ । प्रदेशको नुवाकोट जिल्लाभित्रै रहेको ‘रावलधारा’ भ्रमण वर्ष र यहि माघ २६ देखि फागुन ७ गतेसम्म हुने नुवाकोट महोत्सवका लागि उपयुक्त गन्तव्य बन्ने देखिएको छ ।

रुद्रेश्वर महादेव मन्दिर

रुद्रेश्वर महादेव मन्दिर, मानिसको मृत्युपछि गरिने मृत्यु संस्कारको मेरुदण्ड ढिकुरो पाटी, किरिया बस्ने घर ‘क्रियापुत्री भवन’ र पानी ट्यांकीले धारा परिसरको अवस्था फेरिएको छ । योसँगै धाराको संरक्षणका लागि पकेट उद्यानको लागि फुलहरु लगाउने काम, खुल्ला व्यायमशाला, रङ्गरोहण, फोहोर व्यवस्थापनलगायतका भौतिक निर्माणका कार्य निर्माण चरणमा रहेको स्थानीय रामकृष्ण पाण्डेले जानकारी दिए । निर्माण सम्पन्न हुँदा आन्तरिक र बाह्रय पर्यटकका लागि रमणीय र मनमोहकस्थलको रुपमा यसलाई विकास गर्न लागिएको उनले बताए ।

रावलधारा प्रवेशद्वार

पृथ्वीनारायण शाहकालिनमा निर्माण भएको धाराको संरक्षण र सम्बर्द्धनका लागि स्थानीय सरकारले समयसमयमा बजेट विनियोजन समेत गर्दै आईरहेको छ । काठमाडौंबाट गोरखामा दरबार बनाउने क्रममा इँटा लैजाने बाटोमा पर्ने कुवालाई आफ्नो पुर्खाले संरक्षण गरेर धारामा स्थापित भएको रावलधारा संरक्षक ध्रुवकुमार रावलले बताए ।

“सोसमयमा पुर्खाले कुवा वरपर खाना बनाई खाने र पानी खाने गर्थे”, उनले भने “पछि पुर्खाले यसै स्थानमा विर्ता पाएपछि बसोबास गर्न थाल्यो । धाराको संरक्षण गरेकै भएर रावलधाराको नाम रहन गएको हो ।”

मूलधारा भएपनि सदरमुकामको पहिचानको रुपमा स्थापित छ । धारा क्षेत्रमा रहेको रुद्रेश्वर महादेव मन्दिरले धार्मिक आस्था राख्ने नवआगन्तुक पर्यटकलाई लोभ्याएको छ । जङ्गली जनावर, चराहरु पनि धारामा पानी पिउन आउने गरेको मूलधाराको पानी जाडोमा तातो र गर्मीमा चिसो हुने पानीले स्थानीयदेखि आगन्तुकलाई लट्ठ पारेको छ ।

पानी थाप्दै स्थानीय ।

भनिन्छ पधेँरामा गाउँघरका हालचाल बुझ्न पाईन्छ । दिनहुँ पानी लिन आउने, नुहाउने, लुगा धुनेलगायतका दिनचर्याको लागि आउने जोकोहिमा सम्बन्धको कसी बाँध्न सकेको छ रावलधाराले । बिहानैदेखि रातको अभेरसम्म घुईँचो हुने धारासँग विदुरबासीको स्वास्थ्यहितको झण्डा फर्फराउनुको साथै मनमनै बसेको छ । बिजुली बत्ती भएपछि दिनरात सहज छ । आफु दिनहुँ निर्त्यकर्म गर्न धारामा जाने गर्दा आफ्नो जीवनशैली नै राम्रो भएको बताउँछन्, स्थानीय रामकृष्ण पाण्डे । उनी दिनहुँ धारामा नुहाईधुवाई गरी रुद्रेश्वर महादेव मन्दिरमा पूजापाठ गर्छन् । उनको पूजापाठले धारामा पानी लिन आउनेको मनमस्तिष्कमा पनि आनन्दित तुल्याउँछ ।

सदरमुकाम सरकारी सेवा सुविधा लिन आउने सेवाग्राही वा नवआगन्तुक पर्यटकले रावलधाराको स्वच्छ पानीको स्पर्श गर्न र पिउन छुटाउँदैनन् । सम्झनामा तस्वीर लिन्छन्, पानी पिउँछन् अनि खेल्छन् । नुवाकोट सरुवा भइ आउनेजाने जोकोही निजामित कर्मचारीहरु पनि धाराको पानीबाट मोहित छन् । नुवाकोट घुम्न आउने वा रावलधाराको नाम सुनेरै पनि धारा अवलोकन गर्न आउनेको माहोल बढ्दो छ ।

धाराको पानी विदुरलगायत त्रिशूली, ढुंगे, बट्टारका स्थानीयसमेतले उपभोग गर्दै आईरहेको छ । सवारीसाधन हुनेले काठमाडौं जादाँ धाराको पानी लिएर जाने गरेको छ । उतैको पानी भन्दा रावलधारा पानीको स्वादले गर्दा आफु काठमाडौं जादाँ लाने गरिएको स्थानीय कविन्द्रमान प्रधानले बताउँछन् । यस्तै राजेन्द्र महर्जनले पनि आफु ललितपुर जाँदा पानी लग्ने गरिएको बताए ।

फाइल फोटो

२०७१ सालमा हिमालयन बैंक लिमिटेडको नुवाकोट शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रावलधारामा ढुंगा बिछ्याउन र मर्मत गरेर धाराको मुहार फेरिदिएका थिए ।

स्थानीय मूल पानीको विश्वसनीय वैकल्पिक स्रोतको रुपमा स्थापित रावलधारा विदुर नगरपालिकामा हुँदै आएको खानेपानीको व्यवस्थापन दक्षिण एशियाकै उदाहरणीय खानेपानी योजना प्रतिवेदनको छनौटमा साउथ एसिया इन्ष्टिच्युट अफ एड्भान्स्ड् स्टडिज ‘सियास’ले धाराको तस्विर राखेको थियो । जसले गर्दा रावलधाराको प्रचारप्रसारमा टेवा पुगेको छ ।

धाराको स्थानीय, विदुर सिटि युथ क्लब, जिल्ला प्रहरी कार्यालयलगायतले समयसमयमा सरसफाई गर्दै आईरहेको छ । भ्रमण वर्षमा यहाँको भौतिक पूर्वाधार काम सम्पन्न हुनसके आएका पर्यटकलाई केही समय भए पनि ऐतिहासिक र रमणीयस्थलको अवलोकन गराउन सकिने गरी काम अघि बढाउन सकिने छ। पर्यटकीय गन्तव्यमा विकास हुँदै गएको रावलधारा क्षेत्रलाई राम्रो बनाउन लागिपर्ने स्थानीय, जनप्रतिनिधिहरु प्रतिबद्व भएर लाग्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top