नुवाकोट जिल्ला ऐतिहासिक पृष्ठभूमिसँगै भौगोलिक विशिष्ठताले भरिपूर्णं जिल्ला हो । यसका साथै यस जिल्लामा बहुजातीय जनताको बाहुल्यताले जातीय एवम् सांस्कृतिक विविधताले सम्पन्न जिल्लाको रुपमा पनि नुवाकोटलाई परिचित गराउनु आवश्यक छ । जातीय सांस्कृतिक पहिचान नै नेपालको मौलिक पहिचान हो । यहाँका विविध जातजाति एवम् तिनले बोल्ने भाषाभाषीको विविधता र यी जातीहरुले मान्ने सांस्कृतिक पक्ष देशकै महत्वपूर्ण सांस्कृतिक धरोहरका रुपमा संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक देखिन्छ । नुवाकोट जिल्लामा तामाङ जातिको बाहुल्यता रहेको भएपनि बाहुन, क्षत्री, नेवार, भुजेल, परियार, विश्वकर्मा, मिजार, राई, माझी, मगर, शेर्पा, बराम, बलामी, मुसलमान, गुरूङलगायत जातजाती समुदायको बसोबास रहेको पाइन्छ । यी विभिन्न किसिमका जातीय समुदायले आ–आफ्नै किसिमका भाषा, संस्कृति र परम्परालाई मान्दै आइरहेका पाइन्छन् । विविध समुदायले मान्ने चाडपर्व, संस्कार, भाषा–संस्कृतिका विविधताको बिचमा पनि एकता र ऐक्यबद्धताको अनुपम उदाहरण पनि नुवाकोट जिल्लामा रहेका जातीय विविधताको महत्वपूर्ण पक्ष हो । यसकारण पनि नुवाकोट जिल्लामा रहेका विभिन्न जातजाती र यी सम्प्रदायहरुले अंगिकार गरिरहकेको भाषा–संस्कृति र परम्पराका विषयमा संकलन एवं संक्षिप्त रुपमा उल्लेख गर्ने जमर्को यस आलेखमार्फत् गर्न लागिएको हो ।
तामाङ
नुवाकोट जिल्लामा तामाङ जातिको बहुल्यता रहेको पाइन्छ । तामाङ जाति मुख्यतयाः नुवाकोटका घ्याङफेदी, शिखरबेसी, राउतबेसी, बेतीनी, लच्याङ, बुङताङ, साल्मे, किमताङ, भाल्चे, देउराली, काहुले, गोस्र्याङ्ग, दाङसिङ्ग, जिलिङ आदि क्षेत्रमा बसोबास गर्दै आइरहेका छन् । तामाङ जाति संयुक्त परिवारमा नै बस्न रूचाउँछन् । एक परिवारमा चार जनादेखि १९÷२० जनासम्म सदस्य रहेका परिवारहरू तामाङ समुदायमा भेटिन्छन् । तामाङहरूको शारीरिक बनावट मङ्गोलियन आकृतिको देखिन्छन । छोटो कद, थेप्चो नाक, गहुँगोरो वर्ण तामाङहरू फुर्तिला र बलिया छन् । यी जाति साधारणतया बुन्जा, बख्खु, ढोचा आदिको कम र बाक्लो कपडाको दौरा सुरूवालमाथि राडीपाखीको बाक्लो भोटो लगाउँछन् । महिलाहरू पनि बख्खुको सट्टा श्यामा र फरियासित पछ्यौरा ओढ्छन् । हिजोआज अन्य समुदायको रहनसहन र भेषभुषाबाट प्रभावका कारण हाल आधुनिक रङ्गीचङ्गी पोषाक पनि प्रयोगमा आउन थालेको छ । तामाङ जातिका विभिन्न थरहरू हुन्छन्, तर भाषा आफ्नै हुन्छ । तामाङहरू बौद्ध धर्म मान्छन् । तामाङ जातिको विभिन्न चाडहरूमध्ये ल्होसार विशेष रुपमा मनाइन्छ ।
बराम
बराम जाति नुवाकोटको तादि गाउँपालिकाको भद्रुटारमा बसोबास गर्दै आएका छन् । बसाई सर्दै गोरखाबाट भद्रुटारसम्म आइपुगेको उनीहरुको भनाई छ । बिशेषतः खेती किसानीमा रमाउने बरामहरू पशुपालन, व्यापार व्यवसाय, ज्याला मजदुरी र बैदेशिक रोजगारीमा संलग्न रहेका छन् । बरामहरू निगालोको चोयाबाट डोको, नाम्लो, थुन्चे बनाई बेचबिखनमा समेत संलग्न रहँदै आएका छन् । हिन्दुधर्म मान्दै आएका भद्रुटारका बरामहरू मुख्य धर्म किरात बताउँछन् । हिन्दु धर्मअनुसार नै रीतिरिवाज संस्कारहरू गर्दै आएका यिनीहरू तीन वर्षको एकपटक कुलपूजा गर्छन् । कुलपूजा गर्नुको मुख्य कारण आफ्नो पितृलाई खुशी पार्नु रहेको भनाई बराम समुदायको छ । यस जातिका महिलाहरू फरिया, चोलो, पटुका, ढाका पछ्यौरी तथा गहनामा तिलहरि ढुङ्ग्री, नाकमा बुलाकी, चुरा, फुली लगाउँछन् भने पुरुषहरू पोशाकमा दौरा, कछाड, स्टकोट, भोटो, धोती लगाउँछन् । बराम जातिको आफ्नै भाषा विद्यमान छ । जसलाई बालकुरा भाषा भनिन्छ । मान्छेको भाषा भएको हुँदा यिनीहरूको भाषामा बालकुरा भनिएको हो । बालकुरा भाषा र मगर जातिको भाषा केही हदसम्म मिल्दोजुल्दो देखिन्छ । बराम जातिको सामाजिक संस्कारअन्तर्गत सबै संस्कार मिल्दोजुल्दो भए तापनि मृत्यु संस्कार अति पृथक रहेको छ । यस जातिमा पुरुषको मृत्यू भएमा सालो र महिलाको मृत्यू भएमा भतिज बोलाउने चलन छ ।
नेवार
नुवाकोटको विशेषतः शहरी र बेसी क्षेत्रमा नेवार समुदायको बाहुल्यता रहेको पाइन्छ । बेत्रावती, त्रिशूली, बगुवा, देवीघाट, विदुर, बट्टार, रानीपौवा, चोकदे, खरानीटार, ढिकुरे, तारूका, दुईपिपल आदि ठाउँमा व्यापार व्यवसाय गर्दै आएका नेवारहरू ग्रामीण वस्तीमा पनि बसोबास गरेको पाइन्छ । नुवाकोटमा नेवार जातिको आगमन पनौति, ललितपुर, काठमाडौं, भक्तपुर, गोरखा, धादिङ आदि जिल्लाबाट भएको हो । नेवार जातिको आफ्नै भाषा छ । यस भाषा तिब्बत्ती भारपेली भाषा अन्तर्गत पर्दछ । नेपालमा लेखिएका ग्रन्थहरूमध्ये सबै भन्दा बढी लेखिएको ग्रन्थ नै नेवारी हो । यस जातिको मूख्य पेशा भनेको नै व्यापार व्यवसाय हो भने यसको अतिरिक्त कृषि, बैदेशिक रोजगार, नेपाल प्रहरी, सेनाका साथै निजामति कर्मचारीमा पनि कार्यरत देखिन्छ । अनेक जात र थरहरूको नेवार जाति धनी रहेका छन् । कामको प्रकार हेरेर यिनीहरूको जात निर्धारण गरिएको हुन्छ । जस्तै खेतीकिसानी काम गर्नेलाई ज्यापू, धार्मिक कामकाज गर्नेलाई जोशी, चित्र बनाउने वा रङ्गरोगण गर्नेलाई चित्रकार, मिठाई बनाउनेलाई मधिकर्मी, फलाम पिट्नेलाई नकर्मी, मासु बेच्नेलाई खड्गी, सुनको काम गर्नेलाई बज्राचार्य आदि । डंगोल, चित्रकार, नगरकोटी, बज्राचार्य, खड्गी, नापित, प्रधानाङ्ग, जोशी, श्रेष्ठ, वन, प्रधान, मल्ल, मास्के, राजभण्डारी, राजवंशी, बैद्य, अमात्य, तुलाधर, ताम्राकर, कसंकार आदि थरहरू रहेका नेवार जाति हिन्दू र बौद्ध धर्ममा विभाजित भएका छन् । चाडपर्व, जात्राहरू नेवार जातिले धुमधामले मान्दछन् । नुवाकोट जिल्लामा विशेषत दशै, तिहार, गाइजात्रा, श्रीकृष्णअष्टमी, शिवरात्री, फागूपूर्णिमा, जनैपूर्णिमा, देवीघाट जात्रा, सिन्दुरेजात्रा, लाखेनाच, टाकुटुकेंनाचजस्ता पर्वहरू वर्र्षौदेखि मान्दै आएका छन् ।
बाह्मण/क्षत्री
नुवाकोटमा बाहुन क्षत्रीहरूको बसोबास धेरै ठाउँहरूमा छरिएर रहेको पाइन्छ । विशेषगरी बाहुन क्षेत्रीहरुको मुख्य धर्म हिन्दू धर्म हो । बाहुनहरूको पेसा पुरोहित्याई हो भने क्षत्रीहरूको काम प्रहरी, सेना नै हुन्छ । क्षत्री तीन प्रकारमा विभाजित भएको देखिन्छ । कुमाई, पूर्वीय र जैसी । कुमाइअन्र्तगत डोटेल, उप्रेती, खतिवडा, विष्ट, पाण्डे, लोहनी, भट्ट, पन्त, ज्ञावली, पनेरू आदि, पूर्वीयअन्तर्गत गोतामे, ओझा, आचार्य, घिमिरे, देवकोटा, गुरागाई, अधिकारी, रेग्मी, बास्तोला, सापकोटा, पौडेल, पन्थी, प्याकुरेल, ढुङ्गाना, ढुङ्गेल, नेपाल, रिसाल, बराल, भट्टराई, पोखरेल, न्यौपाने, लामिछाने, भण्डारी, सिग्देल आदि, र क्षत्रीअन्र्तगत बोगटी, महत, ओली, बानियाँ, कुवर, बस्नेत, रोका, थापा, बुढाथोकी, देउजा, कार्की, खुलाल, भाट आदि । बाहुन क्षत्री दुबैले हिन्दु धर्म मान्ने हुँदा सोहीअनुसारको रीतिरिवाज गर्दै आइरहेका छन् । दशैै, तिहार, एकादशी, पूर्णिमा, हरितालिका तिज, जनैपूर्णिमा, नयाँवर्ष आदि मुख्य चाडपर्व मनाउने गरिन्छ । बाहुन क्षत्रीको बालकको न्वारान गर्दा बच्चाको बुवा अनिवार्य उपस्थिति हुनुपर्दछ ।
शेर्पा
तिब्बत्ती भाषासँग मिल्दो जुल्दो देखिने शेर्पा जाति नुवाकोटको घ्याङ्फेदीमा बसोबास गर्दै आएका पाइन्छन् । तिब्बत मुलुकबाट नेपाल पसेका शेर्पाहरू नुवाकोटको उच्च भागमा बसोबास गर्दछन् । शेर्पाहरू मुख्य व्यवसाय खेतीपाति, पशुपालन र व्यापार व्यवसाय नै हो । अन्य जातिको जस्तै शेर्पा जातिमा अनेकन थरहरू रहेका छन् । जस्तै खाम्बाचे, चिथावा, हिगोर्मा, पिनासा, शागुप, शैर्वा, पालदोर्जे, मन्दे, मोया आदि । शेर्पा जातिमा पुरूषले दौरा, छुवा र सुरूवाल (नौगोर्य) लगाउँछन् भने महिलाहरू बड्गूर लगाउँछन् । शेर्पाहरुको मुख्य रुपमा ल्होसार दुमजे र मानिरिन्दु पर्वहरू धुमधामले मनाउँछन् । घर र गुम्वाहरू सजावट गर्न शेर्पाहरु सिपालु देखिन्छन् । शेर्पाहरू मुख्य गरेर लोसार कर्मकाण्ड चलाउन यिनीहरूको आफ्नै पुरोहित लामा हुन्छ । यस जातिमा अन्य जातिले गरेको ब्रतबन्ध जस्तै छरतेन गर्ने चलन छ । एक महिलाले दाजुभाइ दुबै जनासँग संयुक्तरूपमा विवाह गर्ने रित भए तापनि अहिले सो चलन हटेको देखिन्छ । अन्य जातिको भन्दा शेर्पा जातिको अन्त्योष्टि कार्य अलि फरक रहेको छ । यस जातिमा मृतक भए पछि किरिया बस्ने र झुठो बार्नेलाई मृतकको दशा फाल्ने एक किसिमको पुतली (पिठोबाट निर्मित) खुवाउने र घर बाहिर फाल्ने गरिन्छ ।
माझी
माझीहरू नुवाकोटको माझिटार, देवीघाट र खड्गभन्ज्याङ क्षेत्रमा बसोवास गर्दै आएका छन् । माझी जातिको अनुहार शारीरिक बनोट व्यवहार र पेशालाई हेर्दा कुमाल र राईसँग जीवन संस्कार र शैलीहरू एक आपसमा मिल्दोजुल्दो देखिन्छ । नदीमा डुङ्गा चलाउँने हुनाले नै यी जातिलाई माझी जाति भनिएको हो । करिव चारदशक अघि माझी जातिको मुख्य पेशा यात्रुहरूलाई डुङ्गा तारिदिने, माछा मार्ने र खेती गर्ने काम थियो, तर बदलिदो परिस्थितिको कारण दुबै नदीमा पुल झोलुङ्गेपुलको निर्माणले यिनीहरू उक्त पेशा छाडी हाल जागिरे, खेतीपाती र व्यापार व्यवसायतर्फ उन्मुख भएको देखिन्छ । माझी जातिको आफ्नै भाषा रहेको छ । उक्त भाषामा नेपाली, संस्कृत, राई आदि भाषाका शब्दहरू मिश्रित रहेका छन् । यी जातिका पुरुषहरू सेतो कपडा, कछाड, लगौटी, भोटो र इष्टकोट लगाउँछन् भने महिलाहरू सेतो चोलो र कालो गुन्यू लगाउँछन् । महिलाहरूले गर्भधारण गरेपछि जङ्गलको बाटो र नजोतेको खेतवारी हिड्न हुँदैन भन्ने जनविश्वास रहेको छ । यदि हिंडेमा जन्मने बच्चाले दुःख दिन्छ भन्ने धारणा रहेको छ । बच्चा जन्मदा छोरा भएमा विशेष किसिमले लिने गरिन्छ भने छोराको बुवालाई माला र टीका लगाईदिने चलन छ । आधुनिकतातर्फ अग्रसर हुन खोजेको माझीहरूको मृत्यु संस्कार अरू जातीसँग मिल्दो जुल्दो भए तापनि लासलाई गाड्ने चलन छ । माझी जातिमा कोही मृत्यु भएमा मलामीले नदीको किनारामा लगी खाल्डो खनी गाड्ने र घर फर्कने बेलामा बुर्की छर्दै फर्कन्छन् । गाउँघरमा भूतप्रेत नआओस् भन्नाले कोदाली अथवा हसियाले हिँड्ने बाटोको छेउँमा रेखा बनाई काँडाले छोपी थिच्ने परम्परा रहेको छ । यी जातिको किरिया कार्य गर्दा चौथों, एघारौं र तेह्रौ दिन महत्वपूर्ण मानिन्छ । त्यही दिनमा मलामी इस्टमित्र र आफन्त नातेदारहरू डाकी सुंगुर, कुखुरा, माछा, बोकाको मासुका साथमा भोज खान दिन्छन् ।
गुरूङ
गुरूङहरू नुवाकोट जिल्लाको ककनी, किमताङ, मनकामना, सामरी, उलेंनी, बसुन्चेत, बुडताङ आदिमा बसोबास गर्दै आएको पाइन्छ । कृषि र पशुपालन व्यबसायमा आश्रित गुरुडहरूका युवापुस्ता सेना, प्रहरी र वैदेशिक रोजगारीतिर संलग्न रहेका छन् । गुरुङहरूमा आफ्नो जातीय संरचना चारजाते र सोह्रजाते भनेर दुई जातमा विभाजित छ । यी दुवै आफुलाई माथिल्लो श्रेणीका सम्झन्छन् । चारजातेमा घले, लामिछाने, घोदाने र लामा हुन् भने सोह्रजातेमा कुरूम्छे, क्यावछे, जिये, घ्याब्रे, रिमाली, भिगी, थि, चोर्मी, पोम, फोज, थोर्जे, योज, दोर्जाली, पैजी, खत्रा र खेलाली हुन् । पहिरनको हकमा पुरूषहरू कछाड, भोटो र कालो टोपी लगाउछन् भने महिलाहरू मखमली चोलो, फरिया र सुनका गहनाहरू लगाउँछन् । युवापुस्ताहरू अहिले आधुनिक पहिरन लगाउँछन् । गुरूङ समाजमा वैवाहिक चलन आ–आफ्नै जातमा सीमित राख्छन् । अन्य जातिको जस्तै मामाचेला र फुपुचेलीबिच विवाह गर्ने प्रचलन पनि छ । घरपरिवारको सरसल्लाहअनुसार विवाह नगरी आफ्नै जात भित्रको जो कोहीसँग पनि वैवाहिक सम्बन्ध गाँस्न सक्छन् । घाटु, सोरठी र रोदीजस्ता गुरूङ जातिमा प्रचलित नाच हो । यस जातिमा अन्तिम संस्कार गर्दा लासलाई गाड्ने वा जलाउने दुवै चलन रहेको पाइन्छ ।
मगर
नुवाकोट जिल्लामा मगर समुदाय तारूका, खानीगाउँ, मदानपुर, सामरी, सूर्यमति, चौघडा, थप्रेक, ककनी, कविलास, विनपामा बस्दै आएका छन् । मगर जातिको नुवाकोटमा आगमन पाल्पाका मुकुन्द सेनकै पालामा भएको देखिन्छ । मगर जातिको आफ्नै भाषा छ । भोट–बर्मेली भाषाअन्तर्गत पर्ने मगरहरूको भाषालाई ढुट, खामरपाङ र काईके गरी ३ भागमा वर्गिकरण गरिएको छ । तिनैथरिका भाषालाई मगर भाषा भनिन्छ । आफ्नै मगर भाषाका अलावा नेपाली भाषा पनि बोल्दछन् । मगर जातिको आफ्नै लिपि रहेको छ जसलाई अक्खारिक लिपि भनिन्छ । मगर जाति प्रकृति पुजक हुन्, अधिकांश मगरहरू एक किसिमको तिब्बती बौद्ध धर्मको अनुसरण गर्दछन्, लामा गुरु पुरोहितको रूपमा हुन्छन् । मगरहरू हिन्दुधर्मको एक समिश्रित रूप हो कि हिन्दु परम्पराहरूसँग पहिले प्राकृत र बौद्ध अनुष्ठानको संयोजन गरिएको छ । मगरहरू आफ्नै मौलिक संस्कृतिमा रमाउने गर्दछन् । मगर जातिका मुख्य चाडहरु मिनाम ल्हेस माघे सङ्क्रान्ति, चेली पुज्ने, चन्डी पूर्णिमा, भुमेर भुम्यार भूँयार, राके तिवार, चैते दशै हो साथै दशै, तिहारजस्ता पर्वहरू पनि धुमधामले मनाउने गर्दछन् । मगर समुदायमा पनि अन्य जनजातिहरू जस्तै कृषि पेशामा आश्रित रहेको छ । अधिकांश मगर समुदायहरू खेती–किसानी गर्दछन् । घरमा गाई, भैंसी, भेडा, बाख्रा, सुँगुर र कुखुरा पनि पाल्ने गर्दछन् । केही स्थानका मगरहरू डोको, मान्द्रो, गुन्द्री, नाम्लो, चकटी, घामपानीबाट ओत लाग्न बाँसको चोया र ठूलो पातले बुनेर बनाएर ओढ्ने स्यागु (घुम) बुन्ने गर्दछन् । मगर जातिमा कौरा नाच, हुर्रा नाच मुख्य छन् । मगरहरू विवाह गर्दा आफ्नो जात भित्रै गर्ने गर्दछन् । मगर जातिमा दुई प्रकारको विवाह संस्कार प्रचलनमा रहेको देखिन्छ । ती हुन् मागी विवाह र भागी विवाह । मगर जातिका बाजाहरूमा खैँजरी, मादल , अलङ्का, कुटकुटे, मचेटा, दुन्दी, च्याखुरेबाजा, केतुकी बाजा, छेलर, पैजन, दरबङा, रिङ, डम्फु, दमाहा, मरुली, डौदी, झ्याली आदि मुख्य छन् । समाजमा अन्य जनजातिहरूको प्रभावले गर्दा मगर जातिका युवायुवतीहरू नेपाली भाषामा आकर्षित भएकाले मगर भाषा बोलचालमा कमी आएको छ ।
भुजेल
भुजेल जाति नुवाकोटको तुप्चे, तारूका, खड्गभन्ज्याङ, रातमाटे, चारघरे, खानीगाउ, वेलकोट आदि ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका छन् । बाहै्र महिना बाह्रै काल खेतिपाती र मजदुरीमा लागेका भुजेलहरू बागलुङ जिल्लाबाट नुवाकोटमा बसाई सर्ने क्रममा आएको बुझिन्छ । हिन्दु धर्मावलम्वी भुजेलहरू धर्मसंस्कृति, रीतिरिवाज हिन्दुसंस्कारअनुसार गर्छन् । भुजेल जातिका पूर्खाहरुले प्रारम्भिक कालदेखिनै आफ्ना परिवार, गाईवस्तुहरु, बालीनालीहरु र मानव जातिको रक्षाको लागि सूर्य, वायु, जल, जमिन र जङ्गलको पूजा गर्दै आएका थिए । भुजेल जातिमा धामीझाँक्रीमा विश्वास गर्ने प्रचलन पनि छ । धामीझाँक्री विधिबाट सुर्य, वायु, जमिन, जङ्गल, जलको आह्वान गरी पुजा गर्ने प्रचलन रही आएकाले पनि भुजेल जातिलाई प्रकृतिका पुजारी भनिन्छ ।
राई
नुवाकोटको सूर्यमति, चौघडा, रातमाटे, चारघरे क्षेत्रमा राई जातिको बसोवास रहेको छ । राई जाति अन्य जनजातिको तुलानामा सोझो, सादा जीवन र अन्य जनसमुदायको समाजदेखि टाढा रहन रुचाउँछन् । विशेष गरेर ग्रामीण बस्तिहरूमा बसोबास गर्दै आएका यी जातिको लवाईखवाई तथा रहनसहन अन्य जातिको तुलनामा पृथक रहेको पाइदैन । झट्ट हेर्दा राई जाति सामाजिक, साँस्कृतिक दृष्टिले कुमाल जातिसँग पनि संस्कार मिल्दोजुल्दो देखिन्छ । राईहरू प्रायः गर्मीमा बस्ने र बाह्रै महिना खोला, नदी र वनमा जीवन व्यतीत गर्ने हुँदा थोरै कपडाको प्रयोग गर्दछन् । पुरूषहरू गन्जी, धोती, कछाड, लुङ्गी र मौसमअनुसारको कपडा लगाउँछन् भने महिलाहरू सारी लगाउँछन् । राई जातिको सांस्कृतिक तथा रहनसहन नदी र जङ्गलबाट प्रभावित रहेको पाइन्छ । यी जाति त्रिशूली, लिखु र तादी नदीको आसपासमा बसोबास गर्दै आएका छन्, तर समयको परिवर्तन सँगसँगै स्थानीय बजारतिर पनि बसाईसरेका छन् । यिनीहरू समाजमा विविध देवीदेवताहरूको प्रभाव महत्वपूर्ण मानिन्छ । आफ्नो घर अथवा गाउँको पूर्वपट्टी रूख रोपी एउटा सानो झुपडी बनाउने चलन छ । राईहरूमा अदृश्य शक्तिको विश्वास गरी पूजाआजा र प्रार्थना गर्ने पुरानो प्रथा परम्परादेखि अहिलेसम्म यथावत् नै रहँदै आएको छ । पूर्वकालमा तान्त्रिक विद्या पूरा लिइसकेको व्यक्तिले विभिन्न जनावरको भेषधारण गर्न सक्ने, एक खोलाको माछा धपाउँदै अर्को खोला लगी समात्न (मार्न) सक्थ्यो भन्ने जनविश्वास रहेको छ । साथै तान्त्रिक विद्या लिएको व्यक्तिलाई नेपालको राजाबाट लालमोहर प्राप्त थियो । सो व्यक्तिले गाउँगाउँमा गई बिरामीलाई झारफुक गर्नुपथ्र्यो । यस जातिको विभिन्न संस्कारमध्ये मृत्यूसंस्कार महत्वपूर्ण समय हुन्छ । कुनै परिवारको सदस्य मृत्यु भएको खवर पाउँना साथ गाउँलेहरू मृतकका घरमा जम्मा हुन्छन् । मृतक व्यक्ति बालक छ भने नदीको किनारामा गाड्ने चलन छ । राई जातिमा पनि बुवाआमाको मृत्यु भएमा सबै छोराले किरिया गर्नुपर्ने बाध्यता छैन ।
कुमाल
पीछडिएका जाति कुमाल स्थानीय विदुर नगरपालिका क्षेत्रमा बसोवास गर्दै आएका छन् । यी जाति सरल, सोझा र श्यामवर्णका छन् । राजनीतिक, निजामति, सैनिक, प्रहरी सेवा आदि क्षेत्रमा ज्यादै न्यून हुनाले यस जातिलाई अल्पसङ्ख्यकको रूपमा लिएको छ । कुमाल जातिमा घरहरू प्राय एकै ठाउँमा झुरूप्प छन् । हिन्दू धर्म मान्ने हुँदा अन्य हिन्दु धर्म मान्ने जनजातिले जस्तै चाडपर्व मनाउँदै आएका छन् । यसका अलावा यिनीहरू माघे सक्रान्ति भव्यरूपले मान्दछन् । कुमाल समाजमा एकै बस्तीमा बसोबास गर्ने वंशका परिवारहरू सबैभन्दा बुढ्यौलीले वर्षको दुईपटक कुलाइनको पूजा गर्नुपर्ने हुन्छ । पूजाअर्चनाको समयबाहेक अन्य समयमा प्रायजसो सुकुल गुन्द्रीले छोपिन्छ । यस जातिको आफ्नै भाषा छ । आफ्नो परिवार र समुदायमा कुमालहरू प्रायजसो आफ्नै भाषा बोल्छन् भने अन्य समुदायका व्यक्तिहरूसँग बोल्नुपर्ने नेपाली भाषा नै प्रयोग गर्छन् । अहिले कुमाल समुदायका वालवालिकाहरूका साथै युवायुवतीहरू नेपाली भाषा नै बोलीचालीको क्रममा प्रयोग गरिदै आएका हुँदा अन्ततोगत्वा कुमाल भाषा नै लोप भएर जान सक्ने सम्भावनालाई नकार्न सकिन्न । कुमालहरू माटाका भाँडावर्तन बनाउनका लागि आफ्नो ज्यानलाई नै जोखिममा राखी पहाड र अनकन्टार पखेराबाट माटो ढुवानी गर्दछन् । काँचो माटोलाई पकाएर प्रशोधित गरी गाग्रो, घ्याम्पो, चिलिम, गमला, मकल, घैटो, देवीदेवताहरूका मूर्तिहरू बनाउँछन् । माटाका भाडावर्तन बेचविखन गर्नका लागि उनीहरू स्थानीय गाउँबस्तीमा थुन्चेमा बोकर लैजान्छन् । तर अहिले बजारमा प्लास्टिकका रङ्गीचङ्गी भाँडावर्तन आउनाले माटाका भाँडावर्तन त्यति प्रयोगमा नआउनाले कुमालहरूले यस पेशा दिनप्रति दिन छाड्दै गएका छन् ।
बलामी
बलामी जाति मेहनती एवम् अति सोझा मानिन्छन् । बलामीहरू नुवाकोट जिल्लाको ओखरपौवा क्षेत्रमा बसोबास गर्दै आइरहेका छन् । यस जातिको शारीरिक संरचनालाई नियाल्दा तामाङ र क्षेत्रीहरूसँग मिल्दोजुल्दो देखिन्छ । ओखरपौवाको कागती गाउँमा बलामीहरू भिरालो ठाउँमा बाक्लो वस्ति बनाएर सयौं वर्ष अघिदेखि बसोवास गर्दै आएका छन् । बलामीहरूका पुरूषहरू कमिज, दौरा, सुरूवाल, इस्टकोट र मौसमअनुसारको कपडा लगाउँछन् । प्रायजसो खेतीकिसानी काममा नै व्यस्त रहने हुँदा जागिरे पेशातर्फ लाग्ने बलामी जातिका मान्छेहरू कमै सङ्ख्यामा रहेका छन् । बलामी जाति भक्तपुरबाट बसाइ सर्ने क्रममा नुवाकोट कागती गाउँमा आएको बताइन्छ । भक्तपुरको राजा रणजित मल्लको पालामा भोजनमा झुक्याएर मासु र रक्सी खान दिएको हुँदा आफूले लगाएको जनैनै चुँडालेर फ्यालिदिई भक्तपुर देश नै छाडेर हिँडेको हुँदा भलाद्मी मान्छे भनिने गर्दागर्दै भलाद्मी शब्द अप्रभंस भई थर बलामी रहन गएको बलामीहरूको भनाइ छ । बलामीहरूको आफ्नै भाषा छ । उक्त भाषा केही हदसम्म नेवारी भाषासँग मिल्दोजुल्दो रहे तापनि यिनीहरू अलि लस्काएर बोल्छन् । केही बलामीहरूले आफ्नो नामको पछाडिको थर श्रेष्ठ र खप्तडी लेख्न पनि थालिसकेका छन् । बलामी जातिको भाषामा धामी (झाँक्री) लाई छाए भनिन्छ ।
दलित समुदायका परियार, मिजार र विश्वकर्माका विभिन्न थर
नुवाकोटमा रहेका अन्य समुदायजस्तै दलित समुदायका परियार, दमाई, दर्जी, सुचिकार, नग, कालाखेती, कोखरे गजमेर, छिनाले, घतानी, गोरखनाथ आदि थर भएका जातिहरु पनि रहेका छन् । यस्तै विश्वकर्मा, लोहार, चुनरा, टमटा, असुरपाले, गोधे, चुनार, कालीकोटे, कुमार, बहरा, तिरूवा, कामी, सुनार, आड थरका जातिहरु छन् । यस्तै मिजार, बरखाने, चर्मकार, मूल, कोइराला, अच्छामी काला, गोतामे तोलाङ्गे, ठगुन्ना, दन्येताजस्ता थर भएका दलित समुदायका जातिहरु नुवाकोटमा विभिन्न क्षेत्रमा रहँदै आएका छन् । प्राय दलित सुमदाय भित्रपर्ने यी जातिहरुको भाषा, रहनसहन, भेषभुषा र संस्कृति ब्राह्मण क्षेत्रीसँग मिल्दोजुल्दो छ । परम्परागतरुपमा दलित समुदायको कपडा सिउने, भाँडा बनाउने, छालाको कामगर्ने लगायतका आफ्नै पेशा रहँदै आएपनि अहिले परम्परागत पेशाबाट अन्य पेशा अँगाल्ने प्रचलन बढ्दै गएको देखिन्छ ।
मुसलमान
मुसलमानहरूको बसोबास त्रिशूली बजार क्षेत्रमा बाक्लो पाइन्छ । मुसलमानहरुको प्रमुख पेशा भनेको नै व्यापार व्यवसाय हो । चुरा, धागो पोते बेच्ने मुसलमानहरू अन्य व्यवसायमा पनि संलग्न छन् । त्रिशूलीमा मुसलमानको वस्ती तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा प्रधानमन्त्रीत्वकालमा बसोबास गर्दै आएको देखिन्छ । इराकबाट व्यापारको सिलसिलामा भारततर्फ छिर्ने क्रममा काठमाडौं प्रवेश गरे । अहिले त्रिशूलीबाट केही मुसलमानहरू व्यापारकै सिलसिलामा व्यापारीक केन्द्र बट्टार, देवीघाट, चोकदे, रानीपौवाका साथै काठमाडौँतर्फ छरिएका छन् । इस्लाम धर्म मान्ने मुसलमानहरू धर्मप्रति अडिग छन् । खास गरेर इदउल फित्र र इदउल अजहा गरी दुई किसिमले इद पर्व मान्दै आएका छन् । इदउल फित्र पर्व एक महिनासम्म खुशीयालीपूर्वक व्रत बस्नुका साथै दान दिने चलन छ भने इदउल अजहा पर्वमा पशुहरूलाई अल्लाहको नाममा पशु बध गर्ने गरिन्छ । त्यस्तै यसै पर्वताका आर्थिक स्थिति मजबुद भएका मुसलमानहरू तीर्थयात्राको रूपमा साउदी अरवको मकास्थित कावामा हज गर्न जाने चलन पनि छ । आलम, अहमद, मिया, खान, हमिद, अलि, बक्स आदि थरहरू रहेका छन् ।
अन्त्यमा, नुवाकोट जिल्लामा रहेका यी विविध जातीय पहिचान बोकेका जातजातिहरु अहिले पनि विद्यमान रहँदै आएका छ्न् । सबै सम्प्रदायले मनाउँदै आएका सांस्कृतिक परम्परा, भाषा, भेषभुषा, पेशापूर्णरुपमा उस्तैरुपले चल्न सकेको भने छैन । किनभने बढ्दो प्रविधिको विकास, समाज आधुनिकीकरण र विभिन्न समयमा भएका व्यवस्था परिवर्तनको प्रभावको कारण पनि उस्तै र दुरुस्तै रुपमा सबै जातजातिको संस्कृति र परम्परा कायम रहन सकेको छैन । पेशा, रोजगारी र व्यवसायको परिवर्तन र शहरीकरण र विदेशिने प्रचलनले जातजाति मात्र नभएर समग्र समाज नै परिवर्तन भइरहेको छ । यस्तो अवस्थामा परम्परागत रुपमा कायम रहेका जातजातिका विभिन्न संस्कृति, पेशा, उनीहरुले प्रयोग गर्ने भेषभुषा र भाषाशैली पनि परिवर्तन हुनु भनेको समग्रमा चिन्ताको विषय पनि हो । यसले परम्परादेखि चल्दै आएको जातीय संस्कृति लोपहुँदै जाने सम्भावना बढ्दै जान्छ । यसकारण आधुनिकता र प्रविधिसँगै परम्परागत उत्पादन, भेषभुषा, खानपान, चाडपर्व, संस्कृति र भाषाहरुलाई संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नु जरुरी भइसकेको छ । जातीय विविधता नुवाकोटको सांस्कृतिक वैभवको पहिचान हो । सांस्कृतिक सम्पत्ति हो । यो सम्पत्तिलाई सम्वद्र्धन र प्रवद्र्धन गर्न नुवाकोट जिल्ला अग्रसर हुनुपर्दछ । नुवाकोटमा हरेक वर्ष नुवाकोट महोत्सव हुँदै आएको छ । नुवाकोट एउटा ऐतिहासिक एवम् पर्यटकीय गन्तव्य जिल्ला पनि भएकाले पर्यटन र व्यापारसँगै जातीय संस्कृतिलाई प्रवद्र्धन गर्न जातीय उत्पादन र समावेशीतालाई सँगसँगै जोडेर अघि बढ्न सके यसको प्रवद्र्धन र विकासमा महत्वपूर्ण कदम हुनसक्छ ।
लेखक नुवाकोट साहित्य प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष हुन् ।
प्रतिक्रिया