२०४९ सालको स्थानीय निर्वाचनमा निर्वाचित तत्कालीन काहुले गाविसकी अध्यक्ष चीरमायाँ तामाङ त्यस समयमा नुवाकोटमै निकै चर्चामा रहेको नाम हो । महिला भएर पनि उनको वजनदार शैली मन नपराउने शायदै थिए । त्यसबेलाको ६१ गाविसमध्ये जिल्लामा निर्वाचित एकमात्र महिला गाविस अध्यक्ष चीरमायाँ तामाङ हक्की र निडर स्वभावकी थिइन् ।
तिनताक नै उनी आफ्ना कुरो जो कोहीसँग खरो र हक्की रुपमा राख्न डराउँदिन थिइन् । जिल्लाका जुनसुकै कार्यालय प्रमुुखदेखि अन्य जनप्रतिनिधिहरुसमेत उनीसँग दोहारो सम्वाद गर्न डराउँथे । उनी आफ्नो गाँउमा योजना माग्न र पार्न लगाउन कसैसंग डराउँदिन थिईन् ।
तत्कालिन समयमा नेकपा एमालेको जिल्ला कार्यालय विदुरमा हाम्रै घर अगाडि थियो । पार्टी कार्यालयसँगै माझिटारका राई दाइको चिया पसल पनि थियो । त्यसकालमा सधैं बिहान राजनीतिक कुराकानी गर्ने र चिया पिउनेहरुको अखडा नै थियो ।विदुरको एमाले जिल्ला पार्टी कार्यालय । २०५४ को स्थानीय निकायको निर्वाचन तय भइसकेको थियो ।
चुनावी सरगर्मिले सदरमुकाम विदुर तातेको थियो । माघ महिनाको पारिलो घाम तापेर बिहानको चियाको चुस्किसँगैं राजनीतिक कुराकानी संधैजसो चलिरहन्थ्यो । एकदिन तत्कालिन एमाले जिल्ला सचिव भरत ढुगांना, नेता मदनमानसिंह खड्का, काहुलेका जीतबहादुर बोगटी र अन्य केही व्यक्तिहरु चिया गफमा व्यस्त थिए ।
यसैक्रममा, मदनमानसिंह खड्काले तत्कालीन काहुले गाविसकी अध्यक्ष चीरमायाँ तामाङलाई छलफलका लागि एमाले पार्टी कार्यालयमा बोलाउनु भएको रहेछ । चीरमायाँ पनि आफ्ना केही साथिभाईहरु र तत्कालिन भाल्चेका गाविस अध्यक्ष मेघबहादुर घलेसहित मदनमानसिंह खड्कालाई भेट्न एमाले पार्टी कार्यालय विदुर पुगेकी थिईन् ।
उनले मदनमानलाई भेट्ने वित्तिकै हाम्लाई किन बोलाएको काजि? भन्दै प्रश्न गरिन् । मदनमानले भित्र गएर कुरा गरौं न भन्दै स्थानीय चुनावमा एमालेलाई सहयोग गर्न के प्रस्ताव मात्रै गरेका थिए, मदनमानसिंहको कुरा भुइमा खस्न नपाउदै चीरमायाँ दिदीले एक्कासि हात हल्लाउदै भन्न थालिन् – “ए काजि! कमानसिंहले गाविस अध्यक्षमा उठ् भने उठे, जिते पनि, जिल्लाको (जिविस) चुनावमा काँग्रेसलाई भोट हाल भनेर ठुलाकाजि (जीतसिंह खड्का)ले भने त्यो पनि माने । फेरी मध्यावधि चुनावमा डा.लोहनीलाई जसरी पनि हराउनुपर्छ, काँग्रेसमा प्रवेश गर, अर्जुनलाई सहयोग गर भन्यौ, त्यो पनि गरे, के हामी तिम्रो गोठाला हौं ? तिमिले जे जे भन्यौ त्यही मान्दै जानु पर्ने? अव हेर्नु काजिको संधै पछि लाग्न सकिदैन, हाम्रा पनि कुरा हुन्छन्,अब यस्ता कुरा नगरम्“।
चीरमाया दिदीको चर्को आवाजले ध्यान एक्कासी सवैको उनी तिरै मोडियो । विहान साढे ९ बजे तिरको बेला थियो । सदरमुकाम विदुरमा मानिसहरुको चहल–पहल वढिसकेको थियो । चीरमायाको चर्को अवाजले मानिसहरु एमाले पार्टी कार्यालय तिर लम्किन थाले, मान्छेको भीड वढ्न थाल्यो । चीरमायाँ दिदीको धारे हात र गर्जनलाई साम्य पार्न खोज्दै भरत ढुगांनाले मदनमानसिहं खड्कालाई भित्र जान ईशारा गरे । चीरमायाँलाई साम्य पार्न लागे । चीरमायाँ दिदीको कडा प्रतिउत्तरले मदनमानसिंह खड्का रातो–पिरो र अनुत्तरित हुंदैै एमाले पार्टी कार्यालय भित्र छिरे ।
अहिले पनि नेपालमा स्थानीय निकाय निर्वाचन २०७९ को घोषणा भइसकेको छ । सवै दलहरु चुनाव केन्द्रीत अभियानमा छन् । आजभन्दा करिव २४वर्ष अगाडि सदरमुकाम विदुरमा घटेको त्यो घटनाले आजको समयमा पनि ठुलो अर्थ राख्दछ ।
स्थानीय तहमा एक्लै वा गठवन्धन गरेर निर्वाचनमा जाने भन्ने विषयमा दलहरुले स्थानीय स्तरवाटै निर्णय गर्ने अधिकार प्रत्यायोजित गरेका छन् । एमालेले सम्पूर्ण अधिकार तल्लोतहमा पठाएको घोषणा गरिसकेको छ । काँग्रेसले भने एकातिर, “घर–घर जाँउ काँग्रेस जिताऔं“ अभियान संगै स्थानीय तहवाट प्रस्तावित उमेदवारहरुको नामावली निर्णय गरि प्रदेश र जिल्लातहमा पठाउन निर्देश गरेको छ ।
अर्कातर्फ, गठवन्धनको ढोल पनि पिट्दैछ । काँग्रेस भित्र एकथरि खेमा गठवन्धन गर्ने र जित्ने स्थानमा आफ्ना गुटको उमेदवारलाई मात्र टिकट दिने र हार्ने स्थानमा पार्टीका संस्थापन पक्ष इतर समूहलाइ उठाउने रणनीतिमा लागेको आरोप छ । केन्द्र्रीय नेतृत्व काँग्रेस भित्र राम्रा र स्थानीय स्तरमा लोकप्रिय व्यक्तिलाई पेल्ने, हाम्रा र दामदार व्यक्तिलाई स्थानीय निर्वाचनमा अगाडी वढाउन खोजेको र स्थानीय स्तरवाट भएका सिफारिसलाई विगतमा जस्तै रद्दिको टोकरीमा हाल्ने रणनीतिमा लागेको चर्चा नुवाकोटमा चलेको सुनिन्छ ।
स्थानीय निर्वाचनमा गाँउ, नगर र स्थानीय समितिहरुवाट भएको निर्णयलाई जिल्ला, प्रदेश र काँग्रेस केन्द्रले आत्मसाथ अक्षरशः लागू गर्नुपर्दछ । यदि काँग्रेस केन्द्रले नुवाकोटमा स्थानीय स्तरवाट भएका निर्र्णयको विरुद्ध गए काँग्रेसका कार्यकर्ताहरु चीरमायाँ दिदीको पथमा नजालान् भन्न सकिन्न, जान्छन् पनि अवस्य ।
केन्द्रीय नेताहरुलाई स्थानीय कार्यकर्ताहरुले सधै अन्धभक्त भएर सर्मथन गर्न सक्दैनन् र गर्नुपनि हुदैन, स्थानीय कार्यकर्ताहरु केन्द्रीय नेताका झोले पनि त होइनन् । समय, काल र परिस्थितिलाई मध्यनजर नगरि गरिएको निर्णय प्रतिकुल हुन पनि सक्छ । गलत निर्णयका विरुद्ध उनीहरुलाई पाइला–पाइलामा प्रश्न गर्न सक्ने हुनुपर्छ र गलत निर्णयका विरुद्ध उत्तर खोज्न छोड्नु हुदैन ।
प्रतिक्रिया