२०८१, १४ बैशाख शुक्रबार

पर्यटकीय नगरी पोखराको सम्झना

श्रीराम श्रेष्ठ     माघ १७ २०७८ १३:०१



diary pokhara shreeram shrestha

नेपालको गण्डकी प्रदेशमा पर्ने कास्की जिल्ला अलौकिक प्राकृतिक सौन्दर्यताले भरिपूर्ण नगर हो । यो आर्थिक तथा सामाजिक विकासको एउटा समृद्ध संगमस्थलको रूपमा स्थापित छ । देशको राजधानी काठमाडौंबाट १७६ कि.मि. लामो राजमार्ग दूरीमा पर्दछ कास्कीको पोखरा । आकारको हिसाबले पूर्वमा लमजुङ, दक्षिणमा तनहूँ, स्याङ्जा, पश्चिममा पर्वत र उत्तरमा मनाङ रहेको यो जिल्ला त्रिकोण आकारमा रहेको छ ।

भौगोलिक अवस्थिति २७७’ उत्तर अक्षांशदेखि २८३६’ उत्तर अक्षांश र ८३४६’ पूर्व देशान्तरदेखि ८४१२’ पूर्व देशान्तरभित्र परेको कास्कीको कुल क्षेत्रफल १,३२२ वर्ग किलो मिटर छ । उत्तरमा अग्लो अन्नपूर्ण हिमश्रृंखला छ भने सात हजार मिटर भन्दा बढी उचाइमा रहेका अन्य हिमश्रृंखलाहरू छन् ।

कास्की जिल्लाको नाम मध्यभागमा रहेको ऐतिहासिक महत्वको कास्कीडाँडा र कास्की कोटबाट भएको अनुमान गरिन्छ । कास्की जिल्ला काश्यप क्रृषिको तपोभूमि रहेको र काश्यपकुट शब्दबाट कास्की बन्न गएको मान्यता रहेको पाइन्छ । त्यस्तै, प्राकृतिक खनिज स्रोतको भण्डार कास रहेको र कासकी हुँदै अपभ्रंश भएर कास्की रहन गएको भन्ने भनाइ पनि छ ।

कास्कीमा गुरुङ जातिको बाहुल्यता रहेको छ । गुरुङ भाषामा ‘कास’ भनेको कछाड र ‘शिव’ भनेको लगाउने अर्थात् ‘कछाड लगाउने’ र ‘बस्ने’ शब्दबाट कास्की रहन गएको स्थानीय भनाई पनि रहेको छ ।

ईशाको दशकदेखि चौध शताब्दीको बिचमा मल्ल राजा थिए । काठमाडौँ राज्यका मल्ल राजाको शक्ति बढ्दै गएकाले ई.सं. १४२८–८२ सम्म मल्ल राज्यले जरा गाड्यो । कान्तिपुरका मल्लहरूको आपसी द्वन्द्वले गर्दा राज्य साँघुरिदै गयो । त्यसताक गण्डकी इलाकामा शाह वंशको उदय भइसकेको थियो ।

मुसलमानी आतंकले गर्दा जयन खान, सूर्य खान, विचित्र खान र जगदीश खानले राज्य गरे । जयदेव खानका छोरा कुल मण्डनले कास्कीमा छुट्टै राज्य कायम गरे । कुल मण्डलले दिल्ली सम्राटलाई रिजाए वापत उनीलाई ‘शाह’ भन्ने पदवी प्राप्त गरेका थिए ।

गोरखाका राजा पृथ्वीनारायण शाहले आफ्नो सीमाना काली गण्डकीसम्म बढाएका थिए । पृथ्वीनारायण शाहले कास्की आफ्नो राज्यमा गाभ्ने रणनीति धेरै बनाए । तर, उनको देहावसान भयो । पृथ्वीनाराण शाहको मृत्युपछि गोरखाका राजा बालक रणबहादुर शाहलाई बनाए । नाबालक राजाका नायबी बहादुर शाहले हस्तान्तरण गरे । चौबीसे राज्य जित्नका लागि ठूलो फौज पठाएँ । तनहुँ सजिलैसँग कब्जा गरे । राजेन्द्रलक्ष्मी देवीले बहादुर शाहलाई हटाई नायबी आफ्नो हातमा लिए । त्यसै बेला लमजुङ र पर्वत मिलेर गोरखा आक्रमण गरेका थिए । आक्रमण सफल हुन सकेन । गोरखाको फौजको नेतृत्व अमरसिंह थापाले गर्दै चौधीसी शक्तिलाई परास्त गरेपछि क्षतिपूर्तिसहित कास्की कब्जा जमाउन सफल भएको थियो ।

०००

कास्की जिल्लाको सीमा क्षेत्र तनहुँको कोत्रे बजार । सीमाक्षेत्रबाट अगाडि बढेपछि आइपुग्छ बूढीबजार । सानो बजार । सडक छेउमै बनेका छन्, पक्की घरहरू । पसलमा किनमेल गर्नेहरूको भीडभाड नै देखिन्छ । सफासुग्घर देखिन्छ बजार । बूढीबजारको बिचमा देखियो बेकरी क्याफे । भोक मेटाउन क्याफेमा छिर्यौँ । ब्ल्याक कफी र पाउरोटी खायौँ । पसलको साइनबोर्डमा ठेगाना थियो, बूढीबजार । कौतुहलता जाग्यो । “कसरी यो बजारको नाम बूढीबजार रहन गयो होला ?” साहुजीले भने, “गाउँको खेतबारीमा पानी लगाउन एउटा कुलो थियो । कुलोको नाम बूढीकुलो थियो । यसै ठाउँमा बस्ती बस्यो । बूढीकुलोमा बस्ती भएकाले बूढीबजार रहन गएको हो ।” बढ्दो शहरीकरणका कारण बूढीबजारमा गल्जार बन्दै गएको रहेछ ।

नेपालको दोस्रो ठूलो महानगरपालिका हो, पोखरा–लेखनाथ महानगरपालिका । काठमाडौँदेखि १८१ कि.मी. को दूरीमा रहेको महानगरपालिका ३३ वटा वडा मिलेर बनेको छ । उत्तरमा मादी र माछापुच्छ्रे गाउँपालिका, दक्षिणमा स्याङ्जा र तनहुँ, पूर्वमा मादी र रूपा गाउँपालिका र पश्चिममा अन्नपूर्ण गाउँपालिका पर्वत र स्याङ्जा जिल्ला पर्दछ । पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, मौजा चापकोट, भदौरे (३९) वडाहरु कास्कीकोट, माझठानको (१, ४, ९) वडाहरू, कालिकाको १, ५ वडा मिलेर महानगरपालिका बनेको हो । यहाँ चार लाखको सङ्ख्यामा मान्छेहरूको बसोबास रहेको छ । शिरोमणि लेखनाथ पौडेलको जन्मघर भएका कारणले उनैको नामबाट महानगरपालिकाको नाम राखिएको हो । धौलागिरी, अन्नपूर्ण र मनास्तुजस्ता श्रृंखला र आठ हजारभन्दा अग्ला हिमालहरूको परिदृश्य हेर्न सकिने महानगरपालिका नेपालको सबैभन्दा बढी जैविक विविधतायुक्त क्षेत्र हरियाली जंगल र दुर्लभ वन्युजन्तु बनस्पति भएको ठाउँ हो । यस महानगरपालिकालाई सात तालको शहर पनि भनिन्छ । ती तालहरू हुन्,– बेगनास, रूपा, मैदी, दिपाङ, खास्टे, न्युरेनी र गुँदे । यसै महानगरपालिभित्र पर्दछ– पोखरा ।

पोखरा पर्यटकीय र धार्मिक दृष्टिकोणले पोखरा महत्वपूर्ण स्थल हो । स्वदेश तथा विदेशबाट हजारौंहजारको सङ्ख्यामा पोखरा घुमफिरका लागि पर्यटकहरू आउने गर्दछन् । नेपाल एकीकरण हुनुअगाडि पोखरा कास्की राज्यअन्तर्गत थियो । पृथ्वीनारायण शाहका माइला छोरा बहादुर शाहले पोखरालाई एकीकृत नेपालमा मिलाएका हुन् । पोखराको बजार दक्षिणतिर विशाल फेवा ताल र बजारको बिचमा जमीन भासिएर बगेको साँगुरो सेती र गहिरो सेती गण्डकी रहेको छ । सेती गण्डकी नदीको नामबाट पोखरालाई सेती उपत्यका पनि भनिन्छ ।


सेती नदी कास्कीको सबैभन्दा ठूलो नदी हो । अन्नपूर्ण हिमालबाट बग्ने गर्दछ यो नदी । सेती नदीसँग साँघु, भलौदी, रुर्दी, मर्दी थाङदी, काली, फुस्रे, विजयपुर, खुदी, ताल तथा आँपु खोला मिसिन आउँछ । मुहानदेखिको नदीको लम्बाई ६४ कि.मी. को छ । उच्च ठाउँबाट तलतिर बग्ने हुँदा माटो बगेर निकै गहिरिएर बगेको छ । खोंच जस्तो देखिन्छ तर पानी देखिँदैन– सेती नदीमा । माछा मार्नका लागि मात्र प्रयोग भएको छ पानी । सेती नदी तनहुँमा गएर मिसिन्छ । सेती नदीपछि मादी र मोदी नदी पर्दछ –कास्कीमा । उत्तर दक्षिण फैलिएको बजारको दूरी छ कि.मी. छ । पोखराको प्रमुख बजारको रूपमा चिप्ले ढुङ्गा, पृथ्वी चोक, सिर्जना चोक, लेकसाइड आदि हुन् । समयको माग अनुसार ठूलठूला सपिङ्ख कम्पेल्क्स पनि खोल्ने क्रम जारी छ । पोखरा बजारको सुरूवात तीन सय वर्ष अगाडि भएको सुनिन्छ ।

पोखराको प्रमुख व्यापारिक केन्द्र चिप्लेढुङ्गा बजार नै हो । फराकिलो सडकमा बस्ती बिस्तार भएको छ । वित्तीय, संघसंस्था पनि प्रशस्त मात्रामा खोलिएको छ । पोखरालाई चिनाउने चिप्लेढुङ्गा नै हो । सडक छेउमा गाडिएको अवस्थामा रहेको ढुङ्गा ऐतिहासिक रहेको छ । ढुङ्गाको संरक्षण गर्नका लागि चारैतिर सिक्रीले घेरेर ढुङ्गामा पहेलो रङ्ग लगाउने कार्य गरिएको छ । पोखरा आउने अधिकांश पर्यटकहरूले यस ढुङ्गालाई अवलोकन गर्ने गर्दछन् ।

०००

मस्त निद्रामा थियौँ हामी । दशरथले बिहानै सबैलाई जगाए । घुमफिरको तालिका अनुसार फेवाताल र मन्दिरको दर्शन गर्नु नै थियो । छिट्टै नै फ्रेस भएर होटेल अर्थात् लेकसाइडबाट नजिकै रहेको तालसम्म पैदल नै यात्रा गर्‍यौँ । बिहान ६ः३० बजे पुग्दा विदेशी र स्वदेशी पर्यटकहरूको बाक्लै उपस्थिति भइसकेछ । डुङ्गामा चढ्नको लागि टिकट काट्न र वाटर प्रुफ ज्याकेट लगाउन व्यस्त थिए– सबै जसो । कति छिट्टै घाम लाग्यो । फेवातालको उत्तर दिशामा देखिए सेताम्मे हिम–टाकुराहरू । मनमोहक देखियो । फोटो खिच्यौँ । पर्यटकहरूलाई ल्याउन लानका लागि सार्वजनिक डुङ्गाको व्यवस्था गरिएको रहेछ । एकपटकमा ६–७ जना मात्र चढ्न मिल्ने । सरसल्लाह अनुसार ३,४ घण्टाका लागि एउटा डुङ्गा भाडामा लियौँ । पहिलो पटक मन्दिरमा दर्शन गर्नका लागि अगाडि बढ्यौँ । डुङ्गा चालक राम गन्धर्व निकै फरासिला रहेछन् । फेवातालको बारेमा बेली–बिस्तार लगाउन थाले ।

रारापछिको ठूलो ताल नै फेवा हो भन्थे उनी । रानीवन, फेवा, मामे, खपौदी, हर्पन खोला, पञ्चासीजस्ता लेकबाट बग्ने पानी नै ताल बाराहीको मुख्य स्रोत रहेछ । फेवातालको पानीबाट बिजुली समेत निकालिन्छ । लेखनाथ महानगरपालिका वडा नं ६ बैदामको फेवातालको बिचमा ताल बाराही मन्दिर आठ दश मिनेटको अन्तरालमा नै आइपुग्यो । यस मन्दिरलाई प्रमुख शक्तिपीठका रूपमा लिन्छन्, हिन्दुधर्म मान्नेहरू । स्थानीय भनाइअनुसार १४६७ मा मन्दिरको स्थापना भएको बताइन्छ । तर, ठोस प्रमाण भने भेटिँदैन । कास्कीका राजा कुलमण्डन शाहले मन्दिरको खरको झुप्रो हालेर मन्दिर स्थापना गरेका्े भनाइ पनि छ । मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । साक्षत देवीको रूपमा पुजिने मन्दिरभित्र बाराही देवी, बालकुमारी, रूद्रायणी महालक्ष्मी, महाकाली, ब्रम्हायणी मङ्गलकाली, नारायणी देवीका साथै कुमार, गणेश, बराहका मूर्तिहरू पनि रहेका छन् । मूर्तिको दायाँ बायाँ ढलौटका सिहका जोर मूर्ति पनि राखिएको छ । बराहबाट बाराही बनेको अनुमान गरिएको छ । बराह भगवान विष्णुको रूप हो । मन्दिरमा नेपाली झण्डा पनि गाडिएको छ । सबै दिन जसो मन्दिरमा पूजापाठ हुने गरे तापनि प्रत्येक हप्ताको मङ्गलबार र शनिबार विशेष आरती दिई पूजापाठ गर्ने गरिन्छ । मन्दिरमा मनोइच्छा पूरा गर्नका लागि भाकल गर्न आउनेहरूको घुँइचो नै लाग्दछ । भाकल स्वरूप परेवा उडाउने र नरिबल फुटाउने गरिन्छ । दैनिक चारदेखि छ हजारसम्म पर्यटक आउने गर्दोरहेछ । मन्दिरमा पूजापाठ गर्नका लागि पुजारीको व्यवस्था गरिएको छ । विशेष पूजा हुँदाका भेटी र अन्नहरू संरक्षण समितिको नाममा र अन्य दिनमा चढाइएका भेटी र अन्न पुजारीले नै उपभोग गर्ने चलन छ । मान्दिरको संरक्षण र सम्बर्द्धन गर्न समिति निर्माण गर्नुको साथै केही मन्दिरको नाममा गुठी जग्गाहरू पनि रहेछ ।

मन्दिरवरिपरि चर्चिएको जग्गा तीन रोपनी रहेछ । मन्दिरवरिपरि बार बाँधिनुका साथै बस्नका लागि टेबलकुर्चीको व्यवस्था गरिएको छ । चारैतिर पानी नै पानी बिच भागमा मन्दिर अर्थात् टापु । अचम्मै लाग्छ– जोकोही त्यहाँ पुग्नेहरूका लागि । जिज्ञासा मेटाउने प्रयास गरेँ यसबारे । स्थानीय भनाइ– पहिले फेवाताल रहेको ठाउँमा ठूलो गाउँ थियो । भगवान शिवले जोगीको रूप लिई त्यहाँका मान्छेहरूको मन लिन त्यहाँ पुगेछन् । जोगीले रातको समयमा बास माग्दा कसैले दिएनन् । अन्ततः एउटी बूढीआमाले बास दिइन् । रातका समयमा गरिबीको कारण मीठो भोजन खान दिन सकिनन् । ढुटोको रोटी पकाएर जोगीलाई खान दिइन् । ती जोगीले रोटीलाई एउटै डल्लो गरी फिर्ता दिएछन् । जोगीले बिहान उज्यालो नहुँदैं घर छाड्ने सल्लाह दिएछन् । बिहान झिसमिसे उज्यालोमा ती बूढीले घर छाडिछन् । बिहानीपख सबै घरहरू पानीले डुबाएछ तर ती बूढीको घर डुबेन रे । सो घर नै तालबाराही मन्दिर हो ।

मन्दिरनजिकै एउटा सानो पसल छ । जहाँ पूजापाठका सामान बिक्री गर्नुको साथै फोटो खिच्न र पोखराका आकर्षक फोटाहरू किन्न पाइन्छ । ती पसलका साहुजी हुन् उनै चीरपरिचत फोटोग्राफर महेन्द्रमान पालिखे थिए । उनको अन्तर्वार्ता धेरै राष्ट्रिय दैनिक पत्रिकामा पढेको थिएँ – मैले । उनी व्यस्त थिए तापनि एकक्षण भलाकुसारी गर्ने समय दिए । गलामा लेन्स क्यामरा झुण्ड्याएका । वि.सं. २०२१ मा पोखराको गणेशटोलमा उनको जन्म भएको रहेछ । अन्तर्वार्ता दिने क्रममा पत्रकारहरूले बङ्ग्याई चढाई गरेर छाप्ने हुँदा अलि असहज महसुस गरेको उनले बताए । वि.सं. २०४८ सालदेखि दिनहुँ अर्थात् वर्षको ३६५ दिन नै मन्दिरमा आई फोटो खिच्ने सुविधा दिएर मनग्य रकम जोडका रहेछन् । घरपरिवारको खर्च धानेका छन् । सरकारी विद्यालयको शैक्षिक गुणस्तर बृद्विका लागि कम्प्युटर खरिद गरी हस्ताक्षर समेत गरेका रहेछन् । उनको भनाइ सुन्दा आनन्द आयो । उनीसँग विदा मागेर मन्दिरबाट बाहिरियौँ । डुङ्गा चालक हामीलाई कुरेर बसेका रहेछन् । पुनः डुङ्गामा चढेर ताल परिक्रमा सुरू गर्‍यौँ ।

तालको दक्षिण किनारामा डुङ्गा पुर्‍याई एक चक्कर ताल घुम्ने सल्लाहअनुसार अघि बढ्यौँ । उज्यालो बढ्दै छ । तालमा डुङ्गामा सहेर गर्नेहरूको जमात जताततै देखिन्छ । तालको गहिराई २५ मिटर रहेको छ । तालको छेउछाउमा जलकुम्भी झारले ढाकेको देखियो । डुङ्गा चालक भन्दै थिए, ‘२२ हजार रोपनी क्षेत्रफलले ढाकेको ताल अहिले आठ हजार रोपनीमा मात्र छ ।’ फेवाताल पोखराको पहिचान हो । यदि पानी घट्ने र ताल नै नरहने हो भने पोखरा मरूभूमिमा सावित हुनेछ । सतही पानीको बेगमा हामी डुङ्गामा अघि बढ्दै छौं । फेवाताललको छछल्किएको पानीले समुद्रको आभाष दिलाउँछ । किनाराको डिलमा माछा मार्नका लागि बल्छी खेल्ने र जाल थाप्नेको जमात देखियो । सो तालको माछा मारेर आफ्नो दैनिक गुजारा गर्न समेत गर्दो रहेछ । तालको बिच–बिचमा माछा उफ्रेको पनि देखियो । झारपात, काठका मुढा, प्लाष्टिक, बोतलजस्तो फोहरहरू जताततै देखिन्छ । सरसफाई गरिएको देखिएन । डुङ्गा चालक भन्दै थिए– सफा त गर्छन् तर जनघनत्व बढी छ । फोहर मैला निकास गर्ने ठाउ छैन, स्थानीयहरूले फोहर मैला तालमा फ्यालिदिन्छन् । जति नै जान्ने बु्झ्ने भएनि के गर्ने यस्तै छ यहाँको चलन ।

फेवाताल नजिकै घरहरू पनि बनेको देखिन्छ । पक्कै पनि फेवातालको जग्गा चर्चेर घर बनाएको हुन पर्छ । एकदिन राज्यले डोजर लगाएर घर भत्काउने नै छ । त्यसबेला जिब्रो काट्लान् सरकारी जग्गा हडडप्नेहरू भन्दै जगिदै थिए भित्र मानबहादुरजी ।

डुङ्गामा सहेर गर्ने मनग्य देखिन्छन विदेशी पर्यटकहरू । आफैले भाडामा डुङ्गा लिएर सयर गर्दा अचानक डुङ्गा पल्टेर धेरै जना पर्यटकहरूको दुःखद निधन भएको पनि सुनिँदै आइएको हो । पोखराको फेवातल आकर्षक प्रमुख केन्द्रविन्दु नै हुन् । फेवातालमा घुमफिर गर्नेहरूको युगल जोडी देख्दा मलाई भन्न मन लाग्यो विवाहको बन्धनमा बाँधिएका जोडीका लागि हनिमुनका साथै गर्लफ्रेण्ड/ब्वाइफ्रेण्डका लागि डेकिटङ स्पोर्ट नै हो भन्दा फरक नपार्ला ।

फेवातालको नजिकै भेटिए राजीव गन्धर्व । सारङ्गी रेट्दै ठट्याली पाारमा गीत गाउँदै थिए । वरिपरि विदेशीका साथै स्वदेशी पर्यटकहरूको पनि उपस्थिति थियो । करिब २० मिनेट गीत गाए बापत सात आठ सय हात पारे । एकछिन् राजीव गान्धर्वसँग भलाकुसारी गर्न अवसर जुट्यो । उनको घर बाटुले चौर रहेछ । ४२ वर्ष लागेका उनका पिता, श्रीमती र दुई छोराछोरी गरी जम्मा पाँच जना छन् रे । बास बस्नका लागि एउटा छाप्रो छन् भने खेती गर्नका लागि जग्गा जमिन छैन भन्थे । छोरा फेवातालस्थित लेकसाइडको एक होटेलमा मजदुरी गरिबस्छ रे । आफूले पोखराका विभिन्न पर्यटकीय स्थलहरूमा दिनभर १४/१५ सय रूपैयाँ कमाई गर्ने र सोही रकमले परिवारको जीवन गुजारा चलाउने बताए ।
गन्धर्व अर्थात् गाइने नेपालको एक जाति हो । बि.सं. २००७ सालमा प्रजातन्त्रको आगमनपछि नेपालमा विदेशीहरूको आगमन हुन थालेको हो । ती विदेशी अनुसन्धानकर्ताहरूले गाइने जातिको बारेमा खोजी कार्य गरेका छन् । विशेष गरेर विदेशी अनुसन्धानकर्ता ए.ए.वेकले २०१३, प्रो. एलेक्जेण्डर माएकाडो नाल्डले २०१८, कोरेन जेष्टले २०२२, मिरेय एल्फयरले २०२३ र मार्क ग्यार्वारियाले २०२३ र २०२५ मा विभिन्न ठाउँमा गाइने जातिको बारेमा अनुसन्धान गरेका थिए । बाक्लो बस्ती रहेको बाटुलेचौरका अलवा अन्य जिल्लाहरूमा पनि बसोबास गर्दै आएका छन् गाइनेहरू ।

गाइनेको उत्पत्तिबारे ब्रम्ह्माजीको चार जना ऋषि, चारवर्ण र छत्तीस जातको सृष्टिसँग जोडिएको छ । ऋषिहरूमा गन्धर्व ऋषि पनि थिए । गन्धव ऋषिको तुलनामा गन्धर्व ऋषि सोझा थिए । ब्रम्ह्माका तीन जनाले आफ्नो समूहबाट हटाउनका लागि गन्धर्व ऋषिलाई गाइको खुट्टा प्रयोग गरी अबरिहा भन्ने शब्द प्रयोग गरी माग्न पठाए । ती गन्र्धवले गाइको खुट्टा प्रयोग गरी मागेर ल्याएको हुँदा अछूतो रहे्यो र माग्ने काममा लाग्न बाध्य भए । यसैले गाइनेहरू गन्धर्व ऋषिका सन्तान हुन् । पेट पूजा गर्नका लागि जग्गा जमिन नभएकाले गीतको माध्यमबाट यसरी चित्रण गर्दछन्ः

खेतीको नाममा प्रभु खोर्सानी रोप्ने ठाउँ छैन
जात बुझ म गाइने जगत मुलुक मागिकन प्राणनी राख्छ ।

गाइनेले गाउने गीतको भाकाको विषयबस्तु फरक फरक हुन्छन् । गीत गाउँदा महाभारत, रामायण जस्ता धार्मिक कथाबस्तुलाई सम्ेट्ने गर्दछन्ः

राजारानी पण्डित ज्ञानी
भीष्मजस्ता अनेक सुुखीर
जानुपर्छ आखिर
यो जिउ पापी रहने छैन थीर
चार दिन बस्नलाई के को तन्ता पीर ।

गाइने भाइको मर्मस्पर्शी गीतले मनलाई छोयो । बक्सिस स्वरूप हामीले पाँच सय रूपैयाँ दियौँ । ती गाइने भाइको अनुहारमा चमकता देखियो । दिनभरिको घुमाइले हामी पनि थकित भयौँ । पुनः आरामका लागि गेष्ट हाउस आयाैँ । बिहान चाँडै नै निद्रा खुल्यो । घडी हेरेँ, चार बजेको रहेछ । निदाउन प्रयास गरेँ । निद्रा लागेन । आँखा चिम्म गरेर नै समय कटाइयो । बल्ल उज्यालो भयो । हामी फ्रेस भएर थोरै समय भए पनि पैदलयात्रा हिँड्यौँ, फेवातालको डिलतिर । बिहानको हिँडाई स्वास्थ्यका लागि फाइदा नै हुन्छ । मित्र सुरजजीलाई भने हिँड्नु पर्‍यो कि ज्वरो नै आउने । बल्लतल्ल असिन पसिन गर्दै बास बसेको ठाउँमा फर्कियौँ । हामीबिच सल्लाह भयो आजको घुमफिरका बारेमा । भ्याएसम्म पोखराको हेर्न लायकको ठाउँहरूको अवलोकन गर्ने । हामीले दुबै जना बिहानको ब्रेक फ्रास्ट लिएर लग्यौं डेभिड फल अर्थात पातलो छाङ्गो । सडकको देव्रे दिशामा रहेछ डेभिड फल्स । प्रवेश शुल्क तिरेर भित्र छि¥यौँ । गेटभित्र माला, मूर्ति, पोष्टर, खेलौना आदिको पसलहरू लामबद्ध राखिएको थियो । ठमेलका पसलहरूमा जस्तै । हामीले पोखराको दृश्य झल्कने केही रङ्गीन फोटाहरू खरिद गर्‍यौँ । फूलबारी र केही मूर्तिहरूले सजिएको पार्क जस्तो बनाएको रहेछ । पर्यटकहरू पार्कमा विश्राम गरेको देखिन्थ्यो । डेभिड फल्स जानेतर्फ तीन फुटे बाटो बनाएको रहेछ । मान्छेहरू आउने जाने व्रmम बराबर रहने हुँदा बाटो सानो भएको जस्तो महसुस गर्‍यौँ । भर्‍याङकै ओरालो बाटो हुँदै ओर्लेर पुग्यौ डेभिड फल्स । पोखराको सुन्दरता डेभिड फल्सले पूर्ति गरेको छ । डेभिड फल्स दक्षिणतिर पर्दछ । सङ्लो पानी निकै बेकले बगेको पानी माथिबाट तल झरना जस्ता खस्दा आवाज नै ठूलो । पानी जमिनमा खस्दा उछिट्टिएको पानीको वाफ अर्थात् थोपाले शरीरमा भिज्दा आनन्द अनुभूति हुने । पाङ्गो माटो पानीको बेगले गर्दा खिएर जमिनको भाग धेरै तल गएको देखिन्छ । खोलाको किनारामा फलामे बार लगाइएको छ । जस्ले गर्दा पर्यटकहरू सुरक्षित भएका छन् । यस खोलाको पानी फेवातालमा गई मिसिने रहेछ । डेभिड भन्ने विदेशी नागरिक पौडी खेल्ने क्रममा चिप्लेर खसी डुबेर मरेको हुनाले उनकै नामबाट खोलाको नाम राखिएको हो । बारमा समातेर धेरै बेर हेर्‍याैँ पानीको उन्मत्ततालाई । वातावरणले मन खिच्यो र मैले केही हाइकु लेखेँः

डेविट फल्स
खाल्टो नै डरलाग्दो
तानिन्छ मन ।

पानीको छाल
डरलाग्दो प्रवाह
प्रवृmति बग्दा ।

प्रकृति हाँस्छ
मादकता देखेर
बचाई राख ।

हो, प्रकृतिको बरदान अचम्मैको छ । सौन्दर्यताको बयान गरेर सकिन्न । गहिरिएर हेर्दै जाँदा मनमा विभिन्न कुरा खेल्ने सकरात्मक वा नकरात्मक । मान्छेलाई जीवन जिउने कला सिकाउँछ प्रकृतिले । प्रकृति वरदान हो भने अभिशाप पनि हो । प्रकृतिसँग सजगताका साथ अगाडि बढ्न सक्नु नै बुद्धिमतता हुन जान्छ ।

डेभिड फल्सको प्रवेशद्वारबाट निस्केर पिच सडकको पारिपट्टि रहेको गुप्तेश्वर गुफामा पुग्यौँ, हामी । पोखराको छोरेपाटनमा रहेको गुप्तेश्वर गुफा बाह्रय र आन्तरिक पर्यटकहरूको भीडभाड नै देखिन्छ । जमिनको सतह भन्दा मुनि रहेछ उक्त गुफा । गुफाको भित्री संरचना फराकिलो देखिन्छ । गुफाको छत कडा चट्टानले बनेको छ । गुफामा डेभिड फल्स खोलाको पानी बग्दै गरेको पनि देखिन्छ । उज्यालोको लागि बिजुली बत्तीको पनि प्रबन्ध मिलाएको छ । अक्सिजनको कमीले सास फेर्न गाह्रो भएको महसुस हुँदोरहेछ । गुफामा हिँडडुल गर्न भने सहज नै छ । गुफाको संरक्षण र सम्बद्र्धनका लागि गुप्तेश्वर महादेव व्यवस्थापन समिति गठन गरिएको छ । आम्दानीको स्रोत भनेको नै टिकट शुल्क र भक्तहरूले चढाएको भेटी नै हो । गुफामा महादेवको मूर्ति स्थापना गरिएको छ । विश्व शान्तिको कामनासहित मनुष्यको सुख–शान्तिका लागि आरती सेवा सञ्चालन गर्न थालिएको रहेछ । आरती प्रत्येक हप्ताको सोमबार गर्ने चलन थालिएको छ ।

वि.सं. २०५० मा एक साधुले गुफा पत्ता लगाएको हो । सपनामा साधुलाई शिवले दर्शन दिएको र आफू जमिनमुनि रहेको बताए । बिहानीपख जमिन खोतली हेर्दा गुफा भेटिएको भन्ने स्थानीय भनाइ छ । यस गुफालाई प्रकृतिको चमत्कारको रूपमा लिइदै आएको छ भने आन्तरिक तथा बाह्रय पर्यटकका लागि गन्तब्य स्थल साबित भएको छ ।

पोखराको उत्तरपश्चिममा पर्ने बिन्ध्याबासिनी प्रसिद्ध पर्यटकीय एवम् धार्मिक तीर्थस्थल हो । बजारभित्रै रहेको मन्दिरले २७ रोपनी जग्गा चर्चिएको छ । पिच सडकबाट छेडी उक्लेर थुम्कामा पुगेपछि मन्दिर भेटिन्छ । एकतले जस्तो देखिने मन्दिरसाँघुरो देखिन्छ । मन्दिरमा गणेश, हनुमान, सरस्वती, राधाकृष्ण, शिवजस्ता देवीदेवताहरूको मूर्ति स्थापना गरिएको छ । यस मन्दिरको परिसरमा संस्कृत पाठशाला भजन मण्डली, विवाह यज्ञ, सङ्गीत पाठशालाको समेत स्थापना गरिएको रहेछ । मन्दिर हाताभित्र टाढा टाढाबाट आएका सन्त महन्तहरूलाई गाँसबाँसको पनि व्यवस्था गरिएको छ । प्रत्येक दिन जसो मन्दिरमा भीड लाग्ने गर्दो रहेछ । विशेषत आश्विन शुक्लपक्ष, चैत्र शुक्लपक्ष र अन्य महत्वपूर्ण पर्वहरूमा यहाँ विशेष पूजाआजा गर्ने गरिन्छ । मन्दिर बिहान ५ः०० बजेदेखि बेलुकी ७ः०० बजेसम्म खोलिने गरिन्छ । यो मन्दिरको स्थापनाको बारेमा कुनै ठोस प्रमाण भेटिएको भने छैन । स्थानीय भनाइ अनुसार यो मन्दिर तीन सय वर्ष पुरानो हुन सक्छ । मन्दिर परिसर थुम्कामा रहेको हुँदा अन्नपूर्ण, माछापुच्छ्रे, मर्दी, सङसारकाङजस्ता हिमाली टाकुराहरू देखिन्छन् । पर्यटकीय आकर्षणका लागि यहाँ एक भ्यु टावर बन्न लागेको कुरा थाहा भो ।

पोखरामा बसाइँमा सरूभक्तलाई सम्झेँ । फोनवार्ता धेरै पटक भयो तर भेटेर प्रत्यक्ष वार्ता गर्ने अवसर जुटेको थिएन । फोन गरेर उहाँसँग भेट्ने समय मिलाएँ । वि.सं. २०१३ भाद्र तीजको दिन कास्की जिल्लाको बागबजार पोखरामा जन्मेका सरूभक्त नेपाली साहित्यमा कविता, गीत, गजल, मुक्तक नाटक, संस्मरण, कथा र उपन्यास जस्ता विधामा सशक्त रूपले कलम चलाउँछन् । कलात्मक अभिव्यक्ति प्रस्तुत गर्न माहिर सरूभक्त दर्शनका अध्येता, शून्यवादका प्रवक्ता, सव्रिmय सिर्जनशील क्षमता भएका प्रख्यात साहित्यकार हुन् सरुभक्त । नेपाली साहित्यमा नयाँ प्रयोगको धारबाट आफ्नो लेखनीलाई उनले अगाडि सारेका छन् । जस्तैः विज्ञान साहित्य । छलफल गर्ने व्रmममा विज्ञान साहित्य र अन्य साहित्यबिचको अन्तरलाई कसरी हेर्नु भएको छ भनी मैले प्रश्न तेस्र्याए । सरूभक्तले भने, ‘विज्ञान साहित्य र अन्य साहित्य बिचको प्रमुख अन्तर विषयगत हुन्छ । दुई विधाबिचको यो विषयगत अन्तरले ‘लक्षगत’ वा उद्देश्यगत अन्तर सिर्जना गर्दछ । विज्ञान साहित्यको केन्द्रीय विषय विज्ञान हुन्छ र यसको अभीष्ट लक्ष्य वा उद्देश्य पनि विज्ञान नै हुन्छ । यो युग वैज्ञानिक युग हो । विज्ञान साहित्य वैज्ञानिक सत्यताहरू र वैज्ञानिक परिकल्पनाहरू र वैज्ञानिक परिकल्पनाहरू परिफष्ट हुने गर्दछ । उनीसँग साहित्यिक भलाकुसारीलाई बिट मार्दै पुनः समय मिलेको खण्डमा भेट्ने बाचा गर्दै छुट्टियौँ ।

संस्वृmति, परम्परा, रितिरिवाज इतिहासलाई बुझ्नका लागि हामीले अनेकौँ सन्दर्भ सामाग्री जुटाउनु पर्दछ । भनेको बेलामा ती सामाग्रीहरू नपाइन पनि सक्छन् । पढेर भन्दा देखेर लिएको शिक्षा छिटो बुझिने र दीर्घकालीन हुन्छ । यसै उद्देश्यलाई पूर्ति गर्नका लागि पोखराभित्र चारवटा सङ्ग्राहलय खोलिएको छ । नाफारहित खोलिएको सङ्ग्राहलय सबै उमेरका लागि आकर्षणको केन्द्रविन्दु बनेको छ । यसका लागि दक्ष जशक्ति, आर्थिक तथा दीर्घकालीन कार्यव्रmम तय गरिनु पर्दछ । ऐतिहासिक, सांस्वृmतिक, कलात्मक, वैज्ञानिक, प्राकृतिक, जातीयजस्ता सामाग्रीहरू सङ्कलन थलो नै सङ्ग्रहालय हो । सङ्ग्रहालय स्वदेशी तथा विदेशी पर्यटकका लागि अनुसन्धानको थलोको रूपमा लिइन्छ । सङ्ग्रहालयमा बसेर विश्व चिहाउन सक्दछ । नेपालमा सङ्ग्रहालय सञ्चालन विदेशको देखासिकीले नै गर्दा हो । म्युजियमलाई नेपालमा सङ्ग्रहालय भनियो । म्युजियम भन्नाले मठमन्दिर, चर्चहरूमा बहुमूल्य सामान सङ्कलन गरेर राखिने घरलाई म्युजियम भनिन्थ्यो । युरोपबाट म्युजियमको स्थापना गर्न सुरू गरिएको हो । नब्बेको दशकदेखि म्युजियमलाई सांस्कृतिक केन्द्रको रूपमा विकसित गर्दै लगियो । संसारको सबैभन्दा पुरानो सङ्ग्रहालय ई.स.१३ औँ शताब्दीका तत्कालीन रेमसेज द्वितीयले राखेका थिए । यस सङ्ग्रहालयमा अति दुर्लभ (भौतिक तथा अभौतिक) बस्तु सङ्कलन गरिएको थियो । यद्यपि, पोखरामा रहेको सङ्ग्रहालयको अवलोकन गर्दा विभिन्न समुदायका संस्कृति झल्कने पहिरन, गरगहना, भाँडाकुँडा, रूपैयाँ पैसा, तस्बिरलगायत सङ्ग्रहित छन् ।

पोखराको अनेकन ठाउँमा घुमफिर गर्न हौसिएका छौँ हामी । चीन–केरूङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङ, नुवाकोटका सुरजकुमार श्रेष्ठ, दशरथ थापा र म बिच छलफल भयो । हामी बसेको होटेलका साहुजीको सल्लाहअनुसार पोखराभन्दा अलि चिसो ठाउँ ह्याङजा जाने निधो गर्‍यौँ । हिमाली जिल्लामा बसोबास गर्ने भएको हुँदा चिसो ठाउँ मानबहादुरजीलाई अति नै मनपर्छ । पोखराबाट पश्चिम लाग्दा याग्दी नदी तरेपछि ह्याङजा पुगिने रहेछ । ह्याङ्दी खोला नजिकै पारिपट्टि तिब्बती शरणार्थीको क्याम्प बाक्लै देखियो । तिब्बतका डोक्पाहरू हुन् तिनीहरू । याग्दीको नदीको ,पानी चिसो रहेको हुँदा यहाँको माछाले बजार पाएको छ । याग्दीको तिरैतिर अगाडि बढ्ने क्रममा २०–३० मिनेटको अन्तरालमा आइपुग्यो– ह्याङजा । सेपिलो ठाउँ भएको चिसोको अनुभूति भयो । चिसै भएका कारण सुन्तला राम्रै फल्दो रहेछ । यस ठाउँ समुद्री सतहबाट १,०६६ मिटरको उचाइमा रहेको छ । यहाँ गाउँबस्ती अलि पातलै देखियो । विशेषतः बाहुन क्षत्रीको बसोबास रहेछ । खोलाको माथिल्लो टापु सुनसान छ । जस्ताले बारेर बनाएको एक स्थानीय होटेल देखियो । आँगनवरिपरि त्यत्तिकै सफासुग्घर । हामीभन्दा पहिले नै आइपुगिसकेका रहेछन्, दीपक मनाङ्गे, शशी अधिकारी, तेम्बा तामाङका साथै पोखराका अन्य युवा साथीहरू । भोक लागेको छ बेसमारी । तसर्थ साथी भाइहरूले व्यवस्था गरेको लोकल माछा, चिउरा, भटमास र लोकल तीनपानीको स्वादमा भोक मेट्याैँ । माछा निकै नै स्वादिलो भएका कारण पुःन माछा खोज्न लगाएर पनि धित मार्ने गरेर खायौँ । माछाको स्वाद त्रिशूली खोलाको असला माछाजस्तै । चिसो पानीको माछा स्वादिलो हुन्छ बिछिट्टै । दीपक मनाङ्गेको नाम नसुन्ने कमै होलान् । उनको बारेमा जति नकारात्मक कुरा सुनिन्छ तर भेटघाट र कुराकानीको व्रmमममा पृथक पाएँ– मैले । नेपाली राजनीतिका बारेमा खुलेर कुराकानी गर्‍याैँ । नेपालमा राजनीतिक दल धेरै भए । सरकार पक्ष र विपक्ष गरी जम्मा दुई दल भएमा मात्र स्थायी सरकार बन्ने र दलले जारी गरेको घोषणापत्र र राजनीतिक दस्तावेजले मूर्त रूप पाउने भन्दै दीपक मनाङ्गेले भने, ‘ठूला ठूला कलकारखाना राज्यले होइन जनता चलाउने हो । सानातिनादेखि ठूलठूला कलकारखाना चलाउन राज्यले प्रोत्साहन गर्ने काम गरेमा छिट्टै नै आर्थिक क्रान्तिमा फड्को मार्न सकिन्छ ।

उनको धाराप्रवाह भनाइलाई सबैले चुपचाप लागेर सुनिरहेका थिए । मानबहादुर तामाङले बिचमा थपे– ‘राजनीतिलाई समाजसेवाको भावनाले लिनुपर्‍यो ।’ उनले नेता तथा कार्यकर्ताले राजनीतिलाई व्यवसाय बनाएर नै मुलुक समृद्धितर्फ बढ्न नसकेको कुरामा जोड दिए । यसरी खाजा खाने जमघटमा राजनीतिक गतिविधिका बारेमा गहिरिएरै छलफल भयो । यसलाई हामीले बसाइको क्रममा उपलब्धि नै मान्यौँ । साँझ पर्न लाग्यो । चिसो बतास चल्न थाल्यो मुटु नै काम्ने । सबै जनाको सरसल्लाहले हामी पोखरातर्फ लाग्यौँ बास बस्नका लागि हिजैको ठाउँमा ।

०००

मानबहादुरजी र म प्याराग्लाडिङका लागि सराङकोट गयौँ । प्याराग्लाडिङ गर्न पालो कुरेर बस्नु पर्नेरहेछ । छाताजस्तै गरी उडेको आज आफैले अनुभूत गर्न पाएकोमा खुसी लागेको छ । ठूलो कपडाको छाता जस्तोलाई डोरी डोरीले बाँधेर गाँठो पारी मान्छेको कम्मरमा कसिँदो रहेछ । भीरमा डोरी समात्दै दौडदै हाम फाल्नु पर्दो रहेछ । त्यो दृश्य देखेर मलाई डर पो लाग्यो । केही गरी छाता हावामा उग्रेन भने गयो– सिधैँ गयो ज्यान । पानी नै पिउन नपाउने । दोधारमा परे म प्याराग्लाडिङ गर्ने कि नगर्ने ? अन्ततः निर्णय गरे नगर्ने भनेर । मानबहादुरजी कर लगाउदै थिए । मैले मानिनँ । मानबहादुरजी सहयोगी लिएर प्याराग्लाडिङमा सहभागी भई भीरमा हाम्फाल्दै आकाशमा उड्न थाले । म भने आफ्नो मनलाई आफैले सान्त्वना दिँदै लेक साइड बासस्थानतिर हान्निएँ । सराङकोटबाट हिँड्दै गर्दा बाटोमा जीप दुर्घटना भएछ । बिच बाटोमा नै पल्टनाले जाम त हुने नै भयो । एक घण्टाको मेहनतपछि जीपलाई सडकको कुनातिर धकेलेर बाटो खोल्यौँ । कच्ची, उकालो, ओरालो, घुम्तीले गर्दा यात्रा गर्न कठिन भयो । ठाउँ ठाउँमा बाटो साँघुराका कारण साइड दिन पनि हम्मे हम्मे पर्न जाने । जस्तै कठिन यात्रा भए तापनि साहसिक प्याराग्लाडिङ खेलले सुखद् अनुभूति निम्त्याउँदो रहेछ ।

पोखरामा हेलिकप्टर जस्तै सानो बस्तुमा चढेर आकाशको फन्को लगाउन पाइन्छ । जसलाई अल्ट्रालाइट भनिँदो रहेछ । यो एक किसिमिको साहसिक खेल हो । यस खेललाई फिस्टेल अल्ट्राफ्लाइटले सञ्चालन गर्दै आएको छ । पर्यटकको सुविधाको लागि चार वटा प्याकेजको व्यवस्था गरेको रहेछ । १५,३०,६० र ९० मिनेटको समय । १५ मिनेटको उडानमा पोखरा बजार र फेवाताल वरिपरि, ३० मिनेटको उडानमा सारङकोट हँुदै सेतीनदी, माछापुच्छ्रे हिमाल, र ६० र ९० मिनेटको उडानमा अन्नपूर्ण सहितको श्रृंखला घुम्ने व्यवस्था मिलाइएको रहेछ । उडान शुल्क खर्चिलो रहेछ । नेपाली कम, विदेशी बढी यो खेलमा रमाउने गरेको देखिन्छ ।

पोखराको आकाशमा बेलुन जस्तो ठूलोमा मान्छेहरू बसेर उडिरहेको पनि देखिन्छ । यो एक किसिमको खेल नै रहेछ । यसलाई हट एयर बेलुन भनिँदो रहेछ । बेलुन प्रा.लि.नेपालले सञ्चालन ल्याएको छ । एक पटकमा आठ जना बस्न मिल्ने हट एयर बेलुन पोखराको धम्फुसबाट उडेर मार्दी खोलामा अवतरण गरिन्छ । यो उडानमा सहभागी भए वापत प्रतिव्यक्ति नेपालीलाई रू ११ हजार र विदेशी पर्यटक प्रतिव्यक्ति रू १६० (अमेरिकी डलर) लिने गरिँदो रहेछ । नेपाल सरकारसँग बेलुन उडानको स्वीकृत लिए तापनि अनुभवी ड्राइभरको कमीले यो खेल सञ्चालन गर्न नसकेको सञ्चालकको भनाइ सुनियो । विदेशबाट अनुभवी ड्राइभरले नेपालीलाई तालिम दिई दक्ष ड्राइभर बनाउनतर्फ लागेको बताइन्छ । बेलुन स्पेनबाट ल्याउने गरेको रहेछ ।

०००

नुवाकोट गाउँ ऐतिहासिक ठाउँ हो । पोखराबाट १८ कि.मी. दक्षिणमा पर्दछ । परापूर्व कालमा नुवाकोट एउटा छुट्टै राज्य थियो । नुवाकोटको प्रथम शासक थिए– मिरहन्चा । उनका दुई छोरा थिए । एक छोरा विचिन्न खान कास्की र यशोब्रम्ह्र लमजुङका शासक थिए । नुवाकोटमाथि सबैले आँखा लगाएका थिए । तर सबैको हार भयो । पृथ्वीनारायण शाहले पनि नुवाकोट कब्जा गर्न सकेनन् । अन्ततः वि.सं. १७८५ मा नुवाकोट हात पारेर छाडे पृथ्वीनारायणले । लडाइँ लड्नका लागि एक किल्ला चर्तुभुज आकारले बनेको र चारैतिर पर्खाल लगाएको । पर्खालमा साना साना आँखी झ्याल । पर्खालभित्रबाट बाहिर देख्ने तर बाहिरबाट भित्र नदेख्ने । नुवाकोटका सेनाहरूले शत्रुलाई त्यसै झ्यालबाट बन्दुकको निशाना बनाई हान्दथे रे । दक्षिण पर्खालको नजिक त्रिशूल भएको मन्दिर रहेछ । मन्दिरको नजिक मौलो गरिएको छ । दशैँ र तिहारमा पशुलाई मौलामा बाँधी बली दिने गरिन्छ । यस भेगबाट पोखरा, बागलुङ र थाकखोला जाने मूलबाटो छ । गढीको संरचना भग्नावशेषमा परिणत भएको देखिन्छ । गढीको अवलोकन गर्नका लागि मान्छेहरू अहिले पनि जाने गरेको भेटिन्छ ।

लुम्ले पर्यटकीय गन्तव्य स्थलको रूपमा परिचित छ । पोखरा र बागलुङको बिचमा अर्थात् २७ कि.मी.को दूरीमा पर्दोरहेछ । नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ भएकोले हावापानी स्वच्छ र सफा छ । चैत–वैशाखमा पनि मुटु छुने चिसाको कारण सिरक ओडर सुत्नु पर्ने हुन्छ । उच्च ठाउँमा रहेको हुँदा यहाँबाट उत्तरमा माछापुच्छ्रे, पूर्वमा पोखरा, फेदीमा मोदी खोला र माथीको म्याग्दीको पुनहिलको दृश्य अवलोकन गर्न सकिने रहेछ । अन्नपूर्ण पदमार्गमा पर्दछ,– लुम्ले । लुम्लेलाई भारतको चेरापुज्जी पनि भनिन्छ । लुम्ले गाउँमा गुरूङ, थकाली, बाहुन क्षत्री र विश्वकर्माजस्ता जातिको मिश्रित बसोबास रहेको रहेछ । देशकै नमूनाको रूपमा कृषि केन्द्रको समेत स्थापना गरिएको छ । ४,८०० देखि ५,७०० फिटको उचाइमा रहेको कृषि केन्द्र दक्षिण फर्केको ११७ हेक्टर जमिनमा भूगोल रहेको छ । उच्च ठाउँमा रहेको हुँदा सिजनमा हिउँ पर्दछ । हिउँले बाटोदेखि घरका छतमा ढप्पकै धाकेको हुन्छ । हिउँ खेल्नका लागि स्वदेशी तथा विदेशी पर्यटकहरू आउने गर्दछन् । लुम्लेको प्रचार प्रसारका साथै व्यवस्थित गर्न लुम्ले होलिडेज नेपाल नामक संस्था स्थापना गरिएको छ । विदेशी पर्यटकहरू लुम्लेमा भित्र्याउन उल्लेख्य काम गर्दै आएको रहेछ यस संस्थाले । पर्यटकको सुविधाका लागि होटल तथा रेष्टुरेण्ट पनि खोलिएको छ । लुम्ले गाउँलाई कविता गाउँ भनेर नामाकरण गरिएको छ यतिखेर । गीतकार विनोद गौचनले नामाकरण गरेका हुन् । लुम्लेको भूगोलको बनोटलाई स्पर्श गर्दै कविता प्रशस्त रच्न सकिन्छ । पर्यटन, प्रबद्र्धन गर्ने उद्देश्यले लुम्लेको नाम कविता गाउँ राखेको गौचनले बताए । बागलुङको गलकोटमा जन्मेका प्रसिद्ध गायक तिलकबम मल्लले पनि लुम्लेको मोहकताले मोहित भई गीत लेखे । जुन गीत आज पर्यन्त उत्तिकै लोकप्रिय छ:

मुटु छुने लुम्लेको हावाले
मनै छुने लजालु मायाले
पुनहिलैमा,
फूलजस्तै सोल्टिनी बस्यो दिलैमा ।

०००

धुम्पुस गाउँ पोखराको नगरकोट मानिदो रहेछ । पोखराबाट २५ कि.मी. दूरीमा रहेको धुम्पुस गाउँ जान बागलुङ राजमार्गको घट्टेखोलावाट दाँयातर्फ कच्चि मोटर बाटोमा यातायातको साधनद्वारा एक घण्टाको समयमा आरामले पुगिन्छ । समुद्री सतहबाट १२०० मिटरदेखि २५०० मिटरसम्मको उचाइमा रहेको धुम्पुस १८०३ वर्ग कि.मी. क्षेत्रफल जमिनको भूभाग रहेको रहेछ । धुम्पुसबाट माछापुच्छ«े, धौलागिरी हिमाल स्पष्ट देखिनुका साथै लुम्ले, ल्वाङघलेल, हेम्जा ढिकुरपोखरीजस्ता ठाउँहरू पनि देखिन्छन् । पर्यटकहरूको आकर्षणका लागि भ्युटावर समेत निर्माण गरिएको छ । भ्युटावर चढ््न नेपालीलाई रू २० र विदेशीलाई रू ५० शुल्क लिन गरिएको रहेछ । उच्च ठाउँमा रहेको हुँदा जङ्गलभरि लालीगुराँस धपक्कै फुल्ने गर्दछ । गुराँस फुलेको समयमा जङ्गल नै राताम्य देखिन्छ । लालीगुराँस फ्ुल्ने समयमा यहाँ लालीगुराँस महोत्सव पनि गरिँदै आएको रहेछ । पर्यटकको आगमनमा बृद्धि भएका कारण गाँस र बासका लागि होम स्टे समेत सञ्चालन गरिएको रहेछ ।

०००

सिक्लेस गाउँ पोखराबाट ३८ कि.मी.को दूरीमा अर्थात् मादी गाउँपालिका पर्दछ । यातायातको साधनबाट चार घण्टाको समय लाग्दछ, सिक्लेस पुग्न । पोखराबाट काभ्रेखोला, छाचोक, मेल्चो, थाक, तप्राङ चिप्ली, पार्चे हुँदै सिक्लेस पुगिन्छ । कच्ची मोटरबाटोले गर्दा यात्रा गर्न कठिन पर्दोरहेछ । अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्ने सिक्लेस लमजुङ हिमालको काखमा रहेको छ । उच्च तथा भिरालो ठाउँमा रहेको सिक्लेस समुद्र सतहबाट दुई हजार मिटरको उचाइमा रहेको छ । गाउँको शीरमाथि सेताम्य हिमाल देखिनछ । ठूलाठूला चौर, पहाड, वनजङ्गल, नदी, झरनाजस्ता प्रावृmतिक सम्पदाले सिक्लेसलाई चिनाउने गरेको छ । यहाँ नगण्य रूपमा विश्वकर्मा र परियार जातिको बसोबास छ भने तथा गुरूङ जातिको बाहुल्यता रहेको छ । धप्राङ्गथर, लामाथर, हर्षथर, सभाथर, कोइथर, गैरी थरे गरी छ वटा टोलमा विभाजित सिक्लेस घरआँगन, बाटोघाटो सफासुँग्घर देखिन्छ । पर्यटकको सुविधाका लागि होटेल र होमस्टे पनि व्यवस्था गरिएको छ । गुरूङ संस्कृतिलाई झल्काउनका लागि वि.सं. २०७१ मा इको म्युजिम सिलेक्स नामक सङ्ग्रहालय स्थापना गरिएको रहेछ । सङ्ग्रहालयमा गुरूङ जातिको भेषभूषा, गुरूङ जातिसँग जोडिएको घरायसी बस्तुका साथै कुट्को, कुरिलो, ससतुवा, बिष, जटामसी, सिल्टीमुर, पाँचऔँले, यार्सागुम्बाजस्ता बहुमूल्य जडिबुटी पनि प्रदर्शनमा राखिएको छ । कुशल चित्रकारले उतारेको क्यानभासजस्तो लाग्ने सिक्लेसलाई नेपाल सरकारले सांस्कृतिक तथा पर्यटकीय गाउँ भनेर घोषणा गरिसकेको छ । सुन्दर पर्यटन नगरी पोखराकोको माया र सुन्दरता यसरी मनभरि, मस्तिष्कभरि सँगालेर हामी त्यहाँबाट फर्कियौँ….।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top