२०८१, १७ बैशाख सोमबार

मोहीपानी धारा

कृष्टिना के.सी.     पुष १ २०८० १४:३८


mohini dhara cristina kc panchakanya rural municipality nuwakot

(हाम्रो देशका विभिन्न ठाउँमा परापूर्व कालदेखि नै कलात्मक ढुंगेधाराहरू रहेका छन् । हामी सबैलाई थाहा छ, ती ढुंगेधाराहरूमा मूलदेखि नै बग्ने मिठो र चिसो पानी नेपाली जीवनको अमूल्य सम्पदाको रूपमा रहेका छन् ।)

धेरै पहिलेको कुरा हो । एउटा पहाडी जङ्गलको बीचमा एउटा ढुङ्गेधारा थियो । त्यस धारामा पानीको सट्टा चिसो र मिठो मोही आउँथ्यो । त्यो पशुपालनको युग थियो । वरपरका मानिसहरू भेडा पाल्थे । जीवन चलाउन मानिसहरू कहिले कता कहिले कता गरिरहन्थे । जहाँ पशुपालन गर्न सजिलो हुन्थ्यो, त्यहीं जान्थे । त्यसैले उनीहरू भेडापालन गर्न त्यहीँ ढुङ्गेधारा भए ठाउँमा आइपुगेका थिए । भेडीगोठ बनाएर बसेको ठाउँ भएकोले त्यो ठाउँलाई भेडीखर्क भनिन्थ्यो ।

भेडाबाट मानिसहरूले प्रशस्त लाभ लिएका थिए । भेडाबाट ऊन निकाल्थे । ऊनबाट राडी, पाखी र बख्खु बनाउँथे । भेडीको दुधबाट घ्यू निकाल्थे । खानाको रूपमा मासुको पनि प्रयोग गर्दथे । भेडीखर्कको दुई कोश दक्षिणपूर्वमा भेडावारी भन्ने ठाउँ थियो । त्यहाँ गोठालाहरू भेडा चराउँथे । साँझ भेडीखर्कमा ल्याइ राख्ने गर्दथे । साँझबिहान दुध दुहुने गरिन्थ्यो । यसरी नै त्यहाँका मानिसहरूको दैनिकी चलेको थियोे ।

भेडा धेरै भएकोले दूध प्रशस्त हुन्थ्यो । उनीहरू घ्यू जम्मा पार्थे । मोही पिएरै सकिंदैनथ्यो । धेरै भएको मोही खोल्सामा फ्याँक्थें । त्यस खोल्साबाट बगेको पानीमा मोही मिसिएर बग्थ्यो । त्यो मोही बग्दै बग्दै तल पाताल भन्ने ठाउँमा पुग्दथ्यो । त्यत्ती तल पुग्दा पनि मोही निक्कै स्वादिलो भएर बग्थ्यो । बाटोमा हिंड्ने बटुवाहरूले खोल्सामा झरेको मोही पिउँथे । उनीहरू मोही पिएर खूब रमाउँथे ।

त्यस जङ्गलको तल ठूलो फाँट थियो । त्यहाँ एकजना गोठालो बस्थे । उनको नाम गोठेश्वर थियो । उनी सँधैं जंगलबाट घाँस
काटेर ल्याउने गर्दथे । जंगलमा हरेक दिन खोल्सामा बगेको मोही पिउने गर्दथे । उनले विचार गरे, ‘यस्तो स्वादिष्ट मोही पिउन धारो बनाइदिन पाए क्या काइदा हुन्थ्यो ! बटुवाहरूलाई मोही पिउन सजिलो हुन्थ्यो ।’ यस्तो सोचेर उनले काम सुरू गरे । हरेक दिन घाँस काटेर थकाई मार्न बस्दा हँसियाले ठूलो ढुङ्गालाई ठुँङ्न थाले । दिनदिनै ठुँङ्दै ढुङ्गामा कला भर्दै गए । जङ्गलमा कलात्मक ढुङ्गा तयार भयो । ढुङ्गा निक्कै नै गरूङ्गो थियो । जो कोहीले सजिलै हल्लाउन पनि सक्दैनथ्यो । तर, गोठेश्वर निक्कै बलिया थिए । उनले घाँसको भारीमाथि त्यो ढुङ्गा बोकेर ल्याए । अनि, कलात्मक ढुङ्गेधारा बनाए । अब धारो बन्यो । धारोबाट बटुवाहरूले सजिलै मोही पिउँन सक्ने भए ।

दिनहरू बित्दै गयो । धाराबाट मोही बगिरह्यो । त्यो धाराको नाम मोहीधारा रह्यो । बटुवाहरूले मोहीधाराबाट तिर्खा मेटाउँदै गए ।

एकदिनको कुरा हो, एकजना बटुवा त्यही बाटोबाट घर फर्कंदै थिए । उनले धाराबाट सेतो र खाउँ खाउँ लाग्दो मोही बगेको देखे । उनले मोही बग्ने धाराको बारेमा सुनेका थिए । तर, त्यो मोही चाख्ने मौका पाएका थिएनन् । कलकल बगेर गइरहेको मोही देखेर मन थाम्न सकेनन् । दुई हत्केलामा मोही थापेर पिए । “जति पिएपनि नअघाउने मोही”, भन्दै फेरि पिए । उनको घरमा दुहुनो थिएन । उनका परिवार दुध, दही, मोही खान खूब मन पराउँथे । “आहा कति मीठो मोही ! जति पिए पनि फेरि पिउँ पिउँ लाग्ने ! यस्तो मीठा मोही मैले कहिल्यै खान पाएको थिइन् । मेरो जहान परिवारलाई पनि यो मोहीको स्वाद चखाउनु प¥यो ।” भन्दै उनले झोलाबाट अंखोरा झिके । धाराको मोही भरे । त्यस मोहीलाई नहल्लाई फटाफट घरतिर लागे । बाटो लामै थियो । घरमा पुगेर आँगनबाटै श्रीमतीलाई बोलाए । “ए मैयाँ यता आउत, मैले के ल्याएको छु हेर त !” बुढाको आवाज सुनेर हस्याङ फस्याङ् गर्दै उनी बाहिर आइन् । अंखोरा समातेर हेरिन् । “केक्केन ल्याउनुभयो भन्ठानेको । जाबो पानी पो ल्याउनुभएको रहेछ । किन चिच्याएर कराउनु भएको ?” श्रीमतीले यस्तो भनेको सुनेर उनले हत्त न पत्त अंखोरा खोसेर हेरे । नभन्दै त्यो मोही त पानी पो बनिसकेको रहेछ । उनी केही बोलेनन् । भोलिपल्ट सबेरै उठेर त्यही धारामा हस्याङ फस्याङ गर्दै पुगे । त्यहाँ पुग्दा त उनी अचम्ममा परे । हिजो मोही बगिरहेको थियो । धारामा अहिले त पानी पो बगिरहेको रहेछ । उनी जिल्ल परे । मन खिन्न पारेर घर फर्किए । उनले त्यहाँको मोही घरमा लगेर हो वा माथि भेडीखर्कको भेडीगोठ अन्तै सारेर हो त्यस दिनदेखि धाराबाट सफा, चिसो र मिठो मोही कहिल्यै आएन । मोही नबगे पनि धारामा कलकल चिसो पानी आइ नै रह्यो । अहिले पनि मोहीपानी धारोमा त्यस्तै पानी बगिरहेको छ ।

(यस्तो प्रसिद्ध लोकोक्ति बोकेको त्यो ऐतिहासिक धारो अन्त कतै नभएर हाम्रै आफ्नै पञ्चकन्या गाउँपालिका वडा नं. २ स्थित मोहीपानी पातालमा रहेको मोहीपानी धारा हो । आजभोलि त्यही धाराको आडबाट ग्रामीण सडक बनेपछि टाढाटाढाबाट आउने मानिसले समेत यस धाराबाट बग्ने मोहीजस्तै चिसो पानी पिउने गरेका छन् । कति मानिसहरू यस्तो कलात्मक धारामा पुगी तस्विर खिच्ने, भिडियो बनाउने, नुहाउने र पानीसँग रमाउने गर्दछन् । त्यहाँ मानिसहरू वनभोज पनि गर्दछन् । यसको संरक्षण र सम्बर्द्धन गर्नु हामी सबैको दायित्व हो ।)

श्री ईन्द्रायणी माध्यमिक विद्यालय, कक्षा ७

यो लेख पञ्चकन्या गाउँपालिकाद्वारा आयोजित बालसाहित्य महोत्सव २०८० को अवसर प्रकाशित पञ्चकन्या कथाहरु प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top