१० असोज, काठमाडौँ । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) ले टिगद्वारा प्रस्तुत ‘नास-आईटी एक्स्पो २०२५’ को घोषणा गरेको छ ।
कार्यक्रम आगामी कार्तिक २१ र २२ अर्थात् नोभेम्बर ७ र ८ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने भएको छ ।
नेपालको प्रविधि क्षेत्रलाई सुदृढ बनाउन, स्थानीय उत्पादन प्रवर्द्धन गर्न र घरेलु बजारलाई उजागर गर्ने उद्देश्यले यो एक्स्पो आयोजना गर्न लागिएको हो । एक्स्पोले व्यवसायलाई प्रविधिसँग जोड्ने मात्र नभई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल रूपान्तरणमा विशेष जोड दिने आयोजकले जानकारी दिएका छन् ।
नास-आईटीका अध्यक्ष गौरव पाण्डेले प्रदर्शनी नेपालको अत्याधुनिक आईटी सोलुसन प्रदर्शन गर्नु, उद्योगहरूसँग सहकार्य बढाउनु र प्रविधि विकासले कसरी व्यवसायको भविष्य निर्माण गरिरहेको छ भन्ने देखाउनु रहेको बताए ।
दुई दिनसम्म चल्ने यस कार्यक्रममा ३० भन्दा बढी आईटी कम्पनीहरूले आफ्नो सेवा तथा समाधान प्रस्तुत गर्ने जनाएको छ ।
त्यस्तै, विशेष अफर तथा प्याकेज, लगानीकर्ता तथा कर्पोरेट नेटवर्किङ, नवीनतम डिजिटल समाधान सार्वजनिक गर्ने र प्रत्यक्ष पिच सेसनजस्ता आकर्षण रहनेछन् ।
कार्यक्रममा कर्पोरेट नेतृत्व, नीतिनिर्माता, लगानीकर्ता तथा उद्यमीहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ ।
कार्यक्रममा मुख्य प्रायोजक टिग, सिल्भर प्रायोजक ईसेवा र एनसेल बिजनेस, भायानेट, डाटा वर्ल्डलगायतका सहयोगी संस्थाहरूको सहकार्यमा सम्पन्न हुने भएको छ ।
प्रतिक्रिया