२५ भदौ, विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले बुधबार बिहान १० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेद्वारा जारी आदेशअनुसार जिल्लामा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन वा सभा गर्न पूर्ण रूपमा रोक लगाइएको छ। यो आदेश उल्लङ्घन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार हाल देशभर विकसित भैरहेको जेन-जीको प्रदर्शन लगायतका घटना क्रमशः सामान्यीकरण हुँदै गइरहेको र वार्ताका लागि आह्वान समेत भइसकेको अवस्थामा नुवाकोट जिल्लामा व्यक्तिगत तथा सार्वजनिक सम्पति क्षति पुऱ्याउने लगायतका अराजक गतिविधि हुन सक्ने जनाएको छ ।
जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी जिल्ला सुरक्षा समितिको आज भाद्र २५ गतेदेखि अर्को आदेश नभएसम्मको लागि नुवाकोट जिल्लाभर लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संसोधन सहित) को दफा ६ को उपदफा (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुश, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ। साथै, अति आवश्यक बाहेक सबै निजी तथा सार्वजनिक यातायातका सवारी साधनहरु सञ्चालनमा पूर्णतः रोक लगाइएको छ।
उक्त अवधिमा यस आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारवाही हुने जनाएको छ।
प्रतिक्रिया