sujim advert

नेपालको सार्वजनिक प्रशासनमा नैतिक आचरणको प्रश्न

राजनप्रसाद प्याकुरेल     भदौ २३, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

rajan pyakurel video thumbnail dabali khabar
advertisement placement

नैतिक आचरण मानव सभ्यताको आधारशिला हो । नैतिकशास्त्र र राजनीतिशास्त्र दुवैले मानवलाई नैतिक प्रतिनिधिको रूपमा परिकल्पना गरेका छन् । व्यक्ति विशेषलाई विवेकी तुल्याई उपयुक्त निर्णय लिन सक्षम तुल्याउने व्यवहारको अनुसरण नैतिकताले चिनिन्छ । हरेक मानिसले सही र असल कार्य गरेमा नैतिकतायुक्त समाज स्वतः निर्माण हुन्छ । नैतिकताले व्यक्तिको अन्तर्मनलाई आदेश दिने गर्दछ, जुन आदेशको पालना नभएमा आफैँमा असन्तुष्टि र असहजताको भाव पैदा हुन्छ । हाम्रा धर्म, संस्कृति, विधि, पद्धति र कानुन नैतिकताका स्रोत हुन् । अमेरिकी प्रशासनविद् अर्डवे टिडले ‘द आर्ट अफ एड्मिनिष्ट्रेसन’ मा भने जस्तै प्रशासन एक नैतिक काम हो भने त्यसलाई सञ्चालन गर्ने प्रशासक नैतिक सहचारी हुन् । नैतिक दर्शनलाई हाम्रा धार्मिक ग्रन्थ तथा महान् दार्शनिकले सत्गुणका रूपमा व्याख्या गरेका छन् । श्रीकृष्णको गीता, शाक्यमुनि बुद्धको ‘शील’ नैतिक आचरणका चरम रूप मानिन्छन् । सुकरात, जिसस, कन्फ्युसियस, लाबोत्से जस्ता दार्शनिकले नैतिक शिक्षामा ठुलो योगदान गरेका छन् ।

नैतिकता र सदाचारिताका आधारमा सम्भव भएसम्मका धेरै मुलुकबिच व्यक्तिगत स्वतन्त्रताको मापन गरी नैतिकताको सूचकाङ्क निर्धारण गर्ने ‘द वर्ड इन्डेक्स अफ मोरल फ्रिडम’ ले हरेक बर्ष सर्वेक्षण गरी नैतिकता र सदाचारिताको अवस्थालाई देखाउने गर्दछ । यस सर्वेक्षणमा नेपालको अवस्था नाजुक नै देखिन्छ । खासगरी सनातनकालदेखि चल्दै आएको मूल्य, मान्यता र संस्कृति लोप हुनु, एक्लो परिवार विकास हुँदै जानु, भौतिकवादको बढ्दो बाहुल्यता, परसंस्कृति ग्रहण, देखासिकीको प्रभाव, छिट्टै धनी बन्ने चाहना तथा गरिबीका कारण सर्वसाधारणमा नैतिक आचरण ह्रास हुँदै गएको आभास हुन थालेको छ । हाम्रो सार्वजनिक प्रशासनमा समेत समाजको यही तस्बिर प्रतिबिम्बित भएको आभास हुन्छ ।

कर्मचारी आचरणसम्बन्धी विषयमा निजामती सेवा ऐन, २०४९ मा निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरण उल्लेख गरिएको छ । यी आचरणका अतिरिक्त मुलुकी देवानी संहिता, भ्रष्टाचार निवारण ऐन, राजस्व चुहावट नियन्त्रण ऐन, सम्पत्ति शुद्धीकरण नियन्त्रण ऐन, अख्तियार दुरुपयोग अनुसन्धान ऐन र न्याय परिषद् ऐनका प्रावधानले पनि सार्वजनिक प्रशासनमा नैतिकताका निम्ति कानुनी आधार तय गरेको छ । त्यसै गरी आचरणको पालनामार्फत मर्यादित जीवन शैलीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र आदिको संस्थागत प्रबन्ध गरिएको छ । यस क्षेत्रमा बहस पैरवी गर्न विभिन्न अन्तर्राष्ट्रिय तथा गैरसरकारी संस्थासमेत क्रियाशील छन् ।

नेपालको सार्वजनिक प्रशासनको क्षेत्रमा नैतिकता र आचरणका सम्वन्धमा कर्मचारीहरुले निम्न अनुसारको आचरण पालना गर्नुपर्ने व्यवस्था रहेको छ ।

१. समय पालना र नियमितता

१.१ कर्मचारीले नेपाल सरकारबाट निर्धारित समयमा नियमित रुपले कार्यालयमा हाजिर हुनुपर्दछ र सकेसम्म पहिले विदाको स्वीकृति नलिई कामबाट अनुपस्थित हुनु हुदैन ।

२. अनुशासन र आज्ञापालन

२.१ कर्मचारीले अनुशासन रही आफ्नो जिम्मेवारी इमान्दारी र तत्परताको साथ पालन गर्नुपर्दछ ।
२.२ कर्मचारीले सरकारी कामसम्बन्धी कुरामा आफूभन्दा माथिको अधिकृतले दिएको आज्ञालाई शीघ्रताका साथ पुरा गर्नुपर्दछ ।
२.३ कर्मचारीले आफूभन्दा माथिका सवै कर्मचारीहरुप्रति उचित आदर देखाउनु पर्नेछ । आफू भन्दा मुनिका कर्मचारी प्रति उचित व्यवहार गर्नु पर्नेछ ।

३. सरकारको आलोचना गर्नु नहुने ।

४. सूचनाको हक सम्वन्धी कानुन बमोजिम बाहेक सरकारी कामकाजसम्वन्धी समाचार प्रकाशन गर्न नपाइने

५. कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुने ।

६. पोशाक र परिचयपत्र लगाउनु पर्ने: प्रत्येक कर्मचारी कार्यालयमा उपस्थित हुँदा नेपाल सरकारले तोके वमोजिमको पोशाक र परिचयपत्र लगाउनुपर्नेछ ।

७. सेवाग्राहीहरुप्रति उचित र समान किसिमको व्यवहार गर्नेः कर्मचारीले जात, जाति, धर्म, भाषा, लिङ्ग, उमेर राजनीतिक वा सामाजिक हैसियत, भौगोलिकता, राजनीतिक दृष्टिकोण, पहुँच वा सम्बन्ध, शारीरिक अवस्था, वैवाहिक स्थिति वा अन्य कुनै पनि आधारमा भेदभाव नगरी सवैलाई सम्मानका साथ उचित र समान व्यवहार गर्नुपर्नेछ ।

८. कार्यालय समयमा कार्यालयसँग सम्वन्धित काममात्र गर्नुपर्ने: कर्मचारीले कार्यालय समयमा कार्यालयको कामको लागि निर्धारित स्थानमा रहेर कार्यालयको काम मात्र गर्नुपर्नेछ र कार्यालय समयमा कार्यालयको कामसँग असम्बन्धित व्यक्तिगत वा अन्य कुनै क्रियाकलापमा संलग्न हुनुहुँदैन ।

९. कार्यालयका सामान तथा सुविधाको दुरुपयोग गर्न नहुने

९.१ कर्मचारीले कार्यालयको प्रयोजनको लागि रहेका मेसिनरी यन्त्र वा अन्य साधन तथा सुविधाहरुको व्यक्तिगत प्रयोजन वा फाइदाको लागि प्रयोग गर्नुहुँदैन । साथै सरकारी सम्पत्तिको प्रयोग वा उपयोग घरायसी प्रयोजनको लागि गर्नु हुदैन ।
९.२ कर्मचारीले कार्यालयको प्रयोजनका लागि रहेका मेसिनरी यन्त्र वा अन्य साधन तथा सुविधाहरु अधिकार प्राप्त अधिकारीको लिखित आदेशविना कार्यालयबाट अन्यत्र लैजान तथा अन्य व्यक्तिलाई प्रयोग गर्न दिन हुँदैन ।
९.३ कर्मचारीले पदीय हैसियतमा प्राप्त गरेको हक,अधिकार सुविधा वा सहुलियतको दुरुपयोग गर्नुहुँदैन ।
९.४ कार्यालय समयमा व्यक्तिगत एकाउण्टका फेसबुक, ट्विटरजता सामाजिक संजालको प्रयोग गर्नु हुदैन । तर, कार्यालयगत एकाउण्टको प्रयोग तोकिएको कर्मचारीले गर्न सक्नेछ ।
९.५ कार्यालय समयमा कम्प्युटरमा खेल खेल्ने, गीत बजाउने अनधिकृत वेभ साइटहरु प्रयोग गर्नु हुँदैन ।
९.६ कर्मचारीले आफ्नो कार्यकक्षबाट बाहिर जाँदा कार्यकक्षमा प्रयोग भईरहेको कम्प्युटर, बत्ती, हिटर, ए.सी., पंखा बन्द गरेर मात्र जानु पर्दछ ।

१०. सेवा प्रवाह र सेवाग्राही प्रतिको व्यवहार
१०.१ कर्मचारीले आफ्नो कामसँग सम्बन्धित सेवाग्राहीप्रति मर्यादित व्यवहार गर्नुपर्नेछ ।
१०.२ सेवाग्राहीको कामसँग सम्बन्धित विषय, प्रक्रिया र काम सम्पादन गर्न लाग्ने समय समेतको स्पष्ट जानकारी सेवाग्राहीलाई यथा समयमा गराउनुपर्नेछ ।
१०.३ कर्मचारीले आफूलाई सुम्पिएको जिम्मेवारीलाई मर्यादा पूर्वक वहन गरी निश्पक्ष, स्वच्छ तथा छिटो छरितो रुपमा कार्य सम्पादन गर्नु पर्दछ ।
१०.४ कर्मचारीले सेवा प्रदान गर्दा वृद्ध, अशक्त, अपाङ्ग, सुत्केरी वा गर्भवती महिला, वालबालिका र असहायलाई प्राथमिकता दिनुपर्नेछ ।
१०.५ कर्मचारीले सेवाग्राहीको काम समयमै सम्पन्न गरि दिनुपर्नेछ । कुनै कारणबाट समयमै काम सम्पन्न हुन नसक्ने भएमा वा सेवाग्राहीले चाहेको कार्य सम्पादन गर्न नसकिने वा नमिल्ने भएमा त्यसको आधार र कारण जानकारी यथाशीघ्र सम्बन्धित सेवाग्राहीलाई दिनुपर्नेछ ।
१०.६ कर्मचारीले सरकारी वा सार्वजनिक सेवामा सर्वसाधारणको सहज र प्रत्यक्ष पहुँच पुग्ने गरी सकेसम्म सरल र सहज भाषामा जानकारी तथा सल्लाह दिनुपर्नेछ ।
१०.७ कुनै सेवाग्राहीको कार्य सम्पादनको क्रममा नेपाल सरकारको कुनै निकायमा रहेको कुनै जानकारी वा विवरण आवश्यक पर्ने भएमा त्यस्तो जानकारी विवरण त्यस्तो कार्य सम्पन्न गर्ने कर्मचारीले आफ्नो कार्यालय मार्फत मगाउने व्यवस्था गर्नुपर्नेछ ।
१०.८ कर्मचारीले आफ्नो कार्यालयबाट गरिने सेवा प्रवाहको सम्बन्धमा नागरिकहरुको वैधानिक गुनासो प्रति सधै संवेदनशील रहनुपर्नेछ र त्यस्ता गुनासाहरु सकेसम्म कम आउने गरी आफ्नो कार्यशैलीमा सुधार गर्दै जानुपर्नेछ ।

११. आर्थिक अनुशासन र सदाचारिता:
११.१ कर्मचारीले आफ्नो काम कारवाही आर्थिकरुपमा मितव्ययी तथा किफायतपूर्वक गर्नु पर्नेछ ।
११.२ कर्मचारीले आर्थिक अनुशासन कायम राख्दै आफ्नो छविलाई स्वच्छ बनाउन हरदम प्रयत्नशील रहनु पर्दछ ।
११.३ कर्मचारीले आफू वा आफ्नो परिवारका सदस्यबाट समेत सरकारी कोष वा सरकारी वा सार्वजनिक सम्पत्तिको हिनामिना, वेवास्ता र दुरुपयोग गर्न गराउन हुँदैन ।
११.४ कामसँग सम्बन्धित व्यक्तिसँग कुनै नगद जिन्सी आदि उपहार ग्रहण गर्न हुँदैन । दान, उपहार, सापटी, चन्दा आदि प्राप्त गर्नु हुदैन ।
११.५ सरकारी सवारी साधन प्रयोग गर्ने कर्मचारीले सरकारी सवारी साधनको दुरुपयोग गर्नु हुँदैन ।

१२. व्यक्तिगत आचारण:
१२.१ कर्मचारीले जुवा खेल्ने, तास खेल्ने तथा सार्वजनिक रुपमा जाँडरक्सी सेवन गर्ने वा अन्य यस्तै समाजमा निन्दनीय हुने कार्य गर्न वा त्यस्तो व्यवहार प्रदर्शन गर्न हुदैन ।
१२.२ कर्मचारीले नेपाल सरकार र सेवाप्रति जनविश्वास अभिवृद्धि गर्न सदैव प्रयत्नशील रहनुपर्नेछ
१२.३ कर्मचारीले आफ्नो पद तथा सेवालाई मर्यादित बनाउन सदैव सकारात्मक रहनुपर्ने तथा अरुको लागि अनुकरणीय हुने गरी सबैलाई शिष्ट तथा मर्यादित व्यवहार गर्नुपर्नेछ ।
१२.४ मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्दै सुरक्षा सुदृढीकरण गरी कानूनको पूर्ण पालनाद्धारा प्रत्याभूति दिलाउन प्रयासरत रहनु पर्दछ ।
१२.५ जनतामा सरकारप्रतिको विश्वास अभिवृद्धि गरी सुरक्षा निकाय र स्थानीय जनताहरुबीच सुसम्बन्ध कायम गर्नु पर्दछ ।
१२.६ विभागीय पूर्व स्वीकृति विना शान्ति सुरक्षाका विषयमा वाहेक कुनै NGO/INGO को निमन्त्रणमा गोष्ठी, सेमिनार र कार्यक्रममा सहभागी नहुने ।

१३. कार्यालय समयभित्र हुने जिल्ला विपद् व्यवस्थापन समितिको वैठक बाहेक अन्य सबै वैठक एक घण्टाभित्र सम्पन्न गर्ने/गराउने ।

१४. विविधः निजामती सेवा ऐन, २०४९ र नियमावली २०५०, सुशासन व्यवस्थापन सञ्चालन ऐन, २०६४, नियमावली २०६५, र निजामती कर्मचारीको आचारण सम्बन्धी नियमावली २०६५ र अन्य सस्थान, सैनिक, प्रहरी, बोर्ड, बीमा समिति, प्राधिकरण, आयोजना लगायतले आफ्नो निकायको प्रचलित कानुन बमोजमका आचरण सम्बन्धी व्यवस्थालाई समेत पालना गर्नु पर्नेछ ।

सेवाग्राही/नागरिकले ध्यान पुर्याउनु पर्ने विषयहरु

  • सेवा वितरणको प्रक्रिया र मापदण्डलाई अबलम्बन गर्नु पर्दछ,
  • सेवा प्रदायकलाई नम्र, शिष्ट व्यवहार र शालिन व्यवहार प्रदर्शन गर्ने,
  • सार्वजनिक सेवाको लागि विचौलिया लिई कार्यालय आउनु हुदैन । कार्यालयको काम सम्बन्धी प्रकृया र आवश्यक कागजातका सम्बन्धमा नागरिक वडापत्र र सहायता कक्षबाट जानकारी लिनुपर्छ ।
  • कार्यालयले तोकेको सेवा प्रवाहको समय तालिकाको पालना गर्ने,
  • कर्मचारीलाई अनावश्यक स्वार्थ, दवाव, प्रलोभनमा पार्नु हुँदैन,
  • कार्यालय परिसरमा रहेका सार्वजनिक सम्पत्तिमा हानि पु¥याउने काम गर्नु हुदैन
  • शौचालयको प्रयोग गरि सकेपछि पानीको प्रयोग गर्ने, जथाभावी नथुक्ने, अनावश्यक कागजात, बोतल लगायतका फोहोरलाई डस्टबिनमा राख्ने गर्नुपर्छ ।

अन्त्यमा, सामाजिक मूल्य, मान्यता तथा संस्कृतिमा आउँदै गरेको ह्रासका कारण हाम्रा नैतिक मूल्य मान्यताहरू क्रमशः साँघुरिँदै गएका छन् । धन र सम्पत्तिले सामाजिक प्रतिष्ठा बढाउँदा व्यक्तिमा छिट्टै धनी हुने अभिलाषा बढ्दै गएको छ । सार्वजनिक प्रशासनमा आचरण र सदाचारितालाई संस्थागत गर्न नसकिनुले समाजमा नैतिकताको धरातल कमजोर हुँदै गएको देखिएको छ । सेवाग्राहीमा चेतनाको स्तर अझै कमजोर हुँदा सार्वजनिक सेवाप्रतिको गुनासो र सहभागितामा नागरिक सहभागिता न्यून छ । आचरणका नियमले सेवाग्राही र नागरिकलाई समेट्न सकेको छैन । शक्ति र भक्तिमा आधारित कर्मचारी व्यवस्थापन र परिचालन विधि प्रचलनमा रहनु, कार्यसम्पादन मूल्याङ्कन वस्तुगत नहुनु, कर्मचारीको मूल्याङ्कनमा नैतिकता र सदाचारितालाई आधार नबनाइनुले नेपालको सार्वजनिक प्रशासनमा नैतिक मूल्य मान्यता धराशायी हुँदै गएका स्पष्ट हुन्छ । कर्मचारीतन्त्रको परम्परागत सामन्ती मूल्य मान्यताका कारण गैरनैतिक सवालमा आकर्षण बढेको छ । कठोर कार्यविधि, संरचनात्मक कर्मचारी र हस्तक्षेपकारी राजनीतिले गर्दा शासक र शासितको सम्बन्ध सन्तुलित र वैध हुन सकेको छैन । यसबाट पेसागत निष्ठा र आचरणगत ह्रास आई निजामती सेवाको साख निरन्तर कमजोर बन्दै गएको छ ।

सार्वजनिक प्रशासनमा नैतिकता प्रवर्धन गर्नमा देखिएका समस्यालाई समयमै सम्बोधन गरी यसलाई नैतिक शासनमा रूपान्तरण गर्न अब ढिला गर्नु हुँदैन । यसका लागि सर्वप्रथम राज्य र राज्यबाहेकका पात्रलाई समेट्ने गरी राष्ट्रिय सदाचार नीति कार्यान्वयन गरिनु आवश्यक छ । सार्वजनिक प्रशासनका लागि मान्य तथा समाजले स्विकार्ने सिद्धान्त र मूल्यहरू समावेश भएको नैतिक संहिता तर्जुमा गरी लागु गरिनु पनि त्यत्तिकै आवश्यक छ । सार्वजनिक क्षेत्रका लागि नैतिक निर्देशिका, आचारसंहिता, नैतिक स्वायत्तता, नैतिक निर्णय निर्माण पद्धतिको विकास, उदाहरणीय नेतृत्व, नैतिक संस्कृति, मूल्यमा आधारित सेवा प्रवाह, अध्यात्मवादको विकास, नैतिक सङ्गठन जस्ता नीतिगत पूर्वाधारको आधारशिला विकास गरिनु पर्छ । त्यसै गरी नैतिकता र सदाचारितालाई विद्यालय तहको पाठ्यक्रमबाटै समावेश गरी नैतिक आधारशिला निर्माणको व्यावहारिक सुरुवात गर्नु पर्छ ।

लेखक नेपाल विद्युत प्राधिकरण देविघाट जलविद्युत केन्दका प्रशासकीय अधिकृत हुनुहुन्छ।

bidur tax consultancy services in nuwakot

magne raja nepali movie

ताजा अपडेट

प्रतिक्रिया

Top