अमेरिका बसाइका क्रममा विभिन्न क्षेत्र र सहरको घुम्नेक्रम चलिरहेको छ । त्यसो त अमेरिका भूगोलका हिसाबले निकै ठुलो छ । सहरीकरण पनि त्यत्तिकै भएको छ । बसोवास नजिकका भूभागमा सवारी साधनमार्फत् हिँडडुल गर्न सकिन्छ तर धेरै जसो ठाउँमा पुग्न सम्भव छैन । त्यसका स्थानमा हवाइयात्रा नै गर्नुपर्ने हुन्छ । अमेरिका बसाइका क्रममा बेलकोटगढी–१२ का मित्र रामेश्वर पाण्डेसँग सामाजिक सञ्जालमार्फत् मेरो कुराकानी भयो । उनी भर्जिनिया बस्दा रहेछन् । उनले भर्जिनिया, बाल्टिमोर र वासिङ्टन डीसी आदि ठाउँहरूमा घुम्नका लागि निम्ता दिए । मैले सहृदयता पूर्वक स्विकारेँ । र त्यसका लागि समय पनि मिलाएँ । टेक्सासको डालस एयरपोर्टमा हवाइजहाज चढ्न साँझ छ बजे बासस्थानबाट निस्केँ र साढे ६ बजे एयरपोर्ट पुगेँ । हवाइजहाज थियो स्प्रिन्ट एयरलाइन्स ।
एयरपोर्टको मुख्यः प्रवेशद्वार हुँदै बोर्डिङ पास चेकजाच गराई हवाइजहाज चढ़ने गेटमा प्रतीक्षारत रहेँ । इ-३२ गेटबाट चढेर हवाइजहाजको सिट नः ३०-इ मा बसेँ । घरेलु जहाज हुनाले जहाज सानो थियो । साढ़े सात बजे जहाज उड्यो । जहाज उड्नुभन्दा अगाडि पाइलटले आफ्ना परिचयका साथै सिटवेल्ट बाँध्नु पर्ने, अक्सिजन कमी भएको खण्डमा अक्सिजन प्रयोग गर्नु पर्ने, धुम्रपान गर्न नपाउनेजस्ता सन्देश प्रवाह गरेका थिए । मेरो सिट जहाजको झ्यालमा थियो । काठमाडौँबाट कतार र कतारबाट अमेरिका आउँदा पनि झ्यालमा नै सिट परेको थियो । कस्तो मिठो संयोग । जहाजले भुइँ छाडेर आकासिन थाल्यो । पृथ्वीको भूमिबाट हवाइजहाज चार हजार फिटको उचाइमा उडिरहेको छ । रातको समयमा झ्यालबाट तल देखिने दृश्यहरू नियाल्नमा व्यस्त थिएँ म । बादलभन्दा माथि भएकाले रातको समयमा पनि हवाई मार्ग उज्यालो देखिन्छ । तलतिर हेर्दा बादलले छेकेको समयमा अन्धकार र बादल हटेको बेलामा बत्तीले झिलिमिली भएका बस्तीहरू देखिन्छन् । समय गएको पत्तै भएन । साढ़े तीन घण्टाको समयमा बाल्टिमोर एयरपोर्टमा जहाज ल्यान्ड भयो । एयरपोर्टको बाहिरी प्रवेशद्वारबाट निस्केँ । मलाई स्वागत गर्नका लागि मित्र रामेश्वर पाण्डे र उनका छोरा राजिव पाण्डे अगाडि नै आइसकेका रहेछन् । बाल्टिमोरबाट मित्र रामेश्वरको निवास भर्जिनिया गयौँ । रातको समय भए तापनि नेपाल कै स्वादमा भोजन ग¥यौ । थोरै समय सुखदुःखमा गफिँदै निदाउनका लागि बिछ्यानमा पल्टियौँ ।
बिहानी पख सूर्य उदयसँगै धर्तीमा घामको उज्यालो छरिइसकेको छ । बिहानको स्नान गरेर हामी हातगोडा तन्काउन बाहिर निस्क्यौँ । हिँडडुल गर्ने क्रममा नेपाली दाजुभाइ र दिदीबहिनी धेरै भेटिए । अमेरिकाको प्रायः जसो ठाउँहरूमा नेपाली नै भेटिन्छन् । ठुुलै सङ्ख्यामा नेपालीहरू अमेरिकामा बसोबास गर्दै आइरहेका छन् । स्थानीय बस्ती, पार्क हुँदै हामी बासस्थानमा नै फक्र्यौ ।
बिहानको नास्ताका साथै खान खाएर हामी वासिङ्टन डिसी जान निस्क्यौँ । यात्राका क्रममा बस्ती, जङ्गल हुँदै सवारी साधनद्वारा दुई घण्टामा हामी वासिङ्टन डिसी पुग्यौँ ।
अमेरिकाको राष्ट्रिय राजधानी वासिङ्टन डिसीको नाम नसुन्ने मानिस विश्वमा थोरै होलान् । अझ नेपालजस्तो तेस्रो मुलुकका नागरिकका लागि त कण्ठै भएको नाम हो यो । डि.सी को अर्थ डिस्ट्रिक अफ कोलम्बिया । सन् १७९० जुलाई १६ मा पोटोम्याक नदीको किनारमा अमेरिकाको राजधानी बनाउने निर्णय भएको थियो । र यसलाई डिस्ट्रिक अफ कोलम्बिया भनियो अर्थात् सङ्घीय जिल्ला । यो नयाँ बन्ने राजधानीलाई सङ्घीय क्षेत्रअन्तर्गत राखियो । अर्थात् कुनै राज्य र जिल्लाअन्तर्गत यो रहेन । यसको डिजाइन सन् १७९१ मा फ्रान्सेली इन्जिनियर Pierre Charles L’Enfant ले गरेका थिए । ठुला सडकहरू, चौडा एभिन्युु, पार्क र स्मारकहरूको परिकल्पना गरिएको थियो । सन् १७८९ जर्ज वासिङ्टन अमेरिकाको पहिलो राष्ट्रपति भए । उनी दुई कार्यकाल राष्ट्रपति भएका थिए । सन् १७९९ मा उनको निधन भयो । तर वासिङ्टन डिसीको नाम चाहिँ सन् १७९१ मै राखेको मानिन्छ ।
सुुरुमा राजधानी बनाउँदा मेरील्यान्ड र भर्जिनियाका केही भागहरू समावेश थिए । सन् १८४६ मा भर्जिनिया पक्षबाट लिइएको भूभाग भर्जिनियालाई नै फिर्ता गरियो । अब वासिङ्टन डिसी मेरिल्यान्डबाट लिइएको भूभागमा सीमित भयो ।
अमेरिकाको उत्तर पश्चिम दिशामा रहेको डिसीको जनघनत्व सातौँ ठुलो महानगरमा पर्दछ । यस सहरमा धनी आफ्रिकी अमेरिकीहरूको विरासत रहेको छ । अमेरिकाको क्यापिटल, ह्वाइटहाउस र सर्वोच्च अदालतले गर्दा यस क्षेत्रलाई राजनैतिक शक्ति केन्द्रको रूपमा लिइन्छ ।
अहिले हामी वासिङ्टनका मुख्य सहरमा प्रवेश गरेका छौँ । चौडाबाटो छ । सड़कपेटीका दायाँबायाँ एकैनास रुखका बिरुवाहरू छन् । सडकछेउ वरिपरि ठुलाठुला, गगन चुम्बी भवनहरू ठडिएका छन् । केही भवनहरू प्यागोडा शैलीबाट बनेका पनि देखिइरहेका छन् ।
आज शनिवारको दिन हो । बिदा भएका कारणले मान्छेहरूको भिड बाक्लै देखिन्छ । सर्वप्रथम हामीले राष्ट्रपति निवास अर्थात् ह्वाइटहाउसको अवलोकन गर्ने निधो गर्यौँ । मूल सडकदेखि ह्वाइटहाउस वरिपरि गाडी पार्किङ गर्नका लागि ठाउँ खोज्यौँ । कतै पाइएन । सबै पार्किङस्थल गाडीले भरिएको थियो । पार्किङस्थलको खाली ठाउँ खोज्दा खोज्दै हैरान भयौँ । आधा घण्टा जति हामी रनभुल्लमा प¥र्यौ । आधा घण्टापछि बल्ल ठाउँ पाइयो । लामो स्वास फेर्दै हामी ह्वाइटहाउसको अग्र भागमा पुग्यौ । सुरक्षाकर्मी बाक्लै रहेछन् त्यहाँ । रङरोगन र मर्मत सुधारले गर्दा ह्वाइटहाउसलाई धेरै टाढाबाट बारबन्देज गरेर राखिएको थियो ।
ह्वाइटहाउस संयुुक्त राज्य अमेरिकाका राष्ट्रपतिको आधिकारिक निवास तथा कार्यस्थल । तीन वटा भवनमा एक सय ३२ वटा कोठा रहेको यो सबैभन्दा पुरानो संरचना । सन् १७९२ अक्टोबर १३ मा राष्ट्रपति जर्ज वासिङ्टनद्वारा शिला राखेर भवन निर्माणको थालनी गरेको इतिहास यसको प्राङ्गणमा पुग्दा पढ्न पाइन्छ । भवन निर्माणकार्य १७९२ देखि १८०० को बिचमा भएको देखिन्छ । भवन डिजाइन आइरिस इन्जिनियर जेम्स होवनले गरे थिए । युरोपेली शैलीमा निर्माण भएको भवनमा राष्ट्रपति निवास, पारिवारिक तथा राजकीय भोजन कक्ष, प्रवेश कक्ष, पूर्वी कक्ष, लालकक्ष आदि छन् । पहिलो तलाको प्रर्दशनी कक्षमा पूर्व राष्ट्रपतिहरूले प्रयोग गरेका सामानहरू राखिएका छन् । राष्ट्रपतिको पदवहालीमा ह्वाइटहाउसमा डेढ लाख आगन्तुकहरूको उपस्थिति रहन जान्छ । त्यहाँ सजिसजावटका लागि फ्रान्सलगायत विभिन्न ठाउँबाट ल्याइएका आकर्षक सामग्रीहरू उपलब्ध छन् । सेना, प्रहरी र विद्युतीय उपकरणद्वारा सुरक्षा प्रदान गर्ने ह्वाइटहाउसमा एक हजारभन्दा बढीले रोजगारी पाएका छन् । कर्मचारी अधिकांश युवा पुस्ताका छन् । ह्वाइटहाउसलाई लक्षित गरेर धेरै आक्रमण भए । सन् १८१४ मा ब्रिटिस सेनाले आक्रमण गरेको थियो । त्यस क्रममा भवनमा आगजनी गरिएको थियो । पछि त्यसलाई त्यही नक्साका आधारमा पुनर्निर्माण गरिएको थियो । आज त्यो भवन अमेरिकी वैभव र शक्तिको प्रतीक बनेर उभिएको छ ।
ह्वाइट हाउस नजिकै महान्त टावर रहेको छ । हामी हिँड्दै त्यहाँ पुग्थ्यौँ । वरिपरि पर्खालले घेरिएको छ । चारैतिर अमेरिकाको ठुला–ठुला झन्डाहरू फर्फराइरहेका छन् । चौरको बिच भागमा अग्लो टावर ठडिएको छ । समुद्री सतहबाट ३० फिटमा रहेको टावर पाँच सय ५५ फिटमा बनेको छ । टावरको रेखदेख तथा सञ्चालनको काम राष्ट्रिय उद्यम सेवाद्वारा गरिँदै आइएको रहेछ ।
अमेरिकाका राष्ट्रपति जर्ज वासिङ्टनलाई त्यहाँका नागरिकले राष्ट्रपिताका रूपमा सम्मान गर्छन् । उनको सैनिक तथा राजनैतिक जीवनको उच्च मूल्याङ्कन गर्दै सन् १८८८ मा उनकै सम्झनामा उक्त टावरको निर्माण गरेको देखिन्छ । क्रान्तिकारी युद्ध कालीन अवस्थामा यो टावरको निर्माण भएको हुँदा यसलाई अमेरिकाको स्वतन्त्रता, राष्ट्रिय शक्ति र समृद्धिको प्रतीक मानिन्छ । उक्त टावरको अवलोकन गर्न पाइने रहेछ । टिकट काटेर मात्र प्रवेश गर्न पाइने टावर बिहान ९.३० बाट एक बजे र दिउँसो २ बजेदेखि ६.०० बजेसम्म खुल्ने रहेछ । हामी त्यस क्षेत्रमा हुँदा उक्त टावर बन्द भइसकेको थियो । घुम्न धेरै ठाउँ बाँकी थियो । हामीले टावर चढ्ने आकाङ्क्षा नै राखेनौ ।
वासिङ्टन डि.सी. ऐतिहासिक ठाउँ भएर होला, पूर्णकदका शालिक र प्यागोडाशैली जस्ता देखिने भवनहरू धेरै देखिइरहेका छन् । महान्त टावरको नजिकै आकर्षक वाटर पार्क रहेको छ । हामी त्यहाँ गयौँ । खोला नै बगेको जस्तो देखिन्छ पानीको प्रवाह देख्दाखेरि । ठाउँठाउँमा विद्युतीय माध्यमबाट पानीका फोहोरा फ्यालिरहेको छ । पोखरीको नजिक ढुङ्गेधारा छ । पानीको चिसो हावाले शीतलताको अनुभूति दिन्छ । त्यहाँ पनि भित्ता र पर्खालमा युद्धकालीन र ऐतिहासिक चित्र तथा मूर्तिहरू छन् । यस ठाउँ अमेरिका स्वतन्त्रता भएको सम्झनामा प्रतिस्थापना गरिएको रहेछ । पोखरी माथिल्लो भागमा अमेरिकाका पचास वटा राज्यको छुट्टा छुट्टै नामाकरण लेखिराखिएको छ । ती हुन् ः अलाबामा, अलास्का, एरिजोना, अर्कांसस, क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावेयर, फ्लोरिडा, जर्जिया, इटाहो, इलिनाँय, इन्डियाना, आयोवा, कन्सास, केन्टुकी, लुइसियाना, मेन, मेरिल्यान्ड, मेसाचुसेट्स, मिचिगन, मिनेसोटा, मिसिसिपी, मिसौरी, मोन्टाना, नेब्रास्का, नेवाडा, न्युु हेम्पसायर, न्युजर्सी, न्युुयोर्क, न्यु मैक्सिको, नार्थ केरोलिना, नार्थ डकोट, ओहियो, ओकलाहोमा, ओरेगन, पेसिल्वेनिया, रोड आइल्यान्ड, साउथ केरोलिना, साउथ डकोट, टेनेसी, टेक्सास, युटा, वरमोन्ट, भर्जिनिया, वार्यिटन, वेस्ट भर्जिनिया, विस्कान्सिन, वायोमिङ्ग र हवाई ।
विभिन्न कालखण्डमा अमेरिकी गृहयुद्व भएका थिए । ती युद्धमा वीरगति हुने व्यक्तिविशेषका साथै युद्ध झल्कने दृश्य भएका मूर्ति या चित्रहरू राखिएका छन् । जसलाई स्मारक भनिन्छ जस्तैः लिंकन मेमोरियल, कोरियन वार मेमोरियल, भियतनाम भेट्रान्स मेमोरियल, जेफरसन मेमोरियल, नेशनल ल अफिसर मेमोरियल, कप्स वार मेमोरियल आदि हुन् । युद्धकालीन परिवेशका लागि त्यहाँ सङ्ग्रहालयहरूको स्थापना गरिएको छ । जस्तै स्मिथस्यन सङ्ग्रहालय, राष्ट्रिय वायुु सङ्ग्रहालय, अन्तरिक्ष सङ्ग्रहालय र प्राकृतिक इतिहास राष्ट्रिय सङ्ग्रहालय । यी सङ्ग्रहालयहरू प्रमुख आकर्षक केन्द्र बनेको छ ।
ऐतिहासिक परिवेश झल्काउने अर्को महत्त्वपूर्ण थलो हो– राष्ट्रिय मल । भवन गुम्बजशैलीमा रहेको छ । यो मल क्यापिटल मैदानको पश्चिम र वासिङ्टन स्मारकको बिचमा छ । यस क्षेत्रलाई उद्यानको रूपमा लिइन्छ । अमेरिकालाई आफ्नो जीवन नै बलिदान दिने व्यक्तिहरूको सम्मानमा शालिकहरू उद्यानवरिपरि राखिएका छन् । वीरताले सिञ्चित भूमिमा प्रत्येक वर्ष हजारौँको सङ्ख्यामा पर्यटकहरू यहाँ आउने गर्दछन् ।
वासिङ्टन डि.सी घुम्ने क्रममा हामी नेशनल ग्यालरी आफ आर्ट गयौँ । सन् १९३७ मा स्थापना भएको उक्त ग्यालरी विश्वको सबैभन्दा तेस्रो भ्रमण गर्ने स्थान हो भन्ने गरिन्छ । पहिले एन्ड्रयू डव्ल्यू मेलान भन्ने व्यक्तिले एक सार्वजनिक ग्यालरीको स्थापना गरेका थिए । उनले केही चित्र र मूर्तिहरू प्रदर्शनीमा राखेका थिए । उनको मृत्युपश्चात् महानगरले उनकै ग्यालरीलाई राष्ट्रिय नीतिमा समावेश ग¥यो । ग्यालरीका दुई भवन पूर्व र पश्चिम दिशामा छन् । प्रत्येक दिन बिहान १०ः०० बजेबाट साँझ ५ः०० बजेसम्म खुल्ला रहने ग्यालरीको अवलोकन गर्न टिकट काट्नु पर्दैन । भित्तामा झुन्ड्याइएका चित्र मूर्त र अमूर्त दुबै खालका छन् । पूर्णकदका शालिकहरू ग्यालरीका साथै बगैँचामा राखिएको छ । विश्व प्रसिद्ध लियोनार्दो दा भिन्चीको उत्कृष्ट फोटो पनि प्रदर्शनीमा राखिएको छ । यहाँका अन्य चित्रहरूमध्ये रिवर्वन्र्ड र भ्यान गेमको आत्मा चित्रहरूले सबैको मन जित्छ । अमेरिकाको स्वतन्त्रता घोषणा, संविधान, राष्ट्रका महत्त्वपूर्ण अभिलेखहरू यस ग्याालरीया सुरक्षित रहेछ । त्यस ग्यालरीले कलाका पारखीका लागि अध्ययन, अनुसन्धान र सिर्जनशीलताको अनुपम नमुना बनेर बर्सेनी लाखौँ कलाप्रेमीको धित मारिरहेछ ।
घुमफिर गर्ने क्रममा हामी वासिङ्टन विश्वविद्यालय पुग्यौँ । चारैतिर मूलबाटोले घेरिएको बिच भागमा भव्य भवनले बनेको विश्वविद्यालयको भित्र र बाहिर प्रसस्त मात्रामा जग्गा जमिन रहेको छ । भवनको प्रवेशद्वारको सजिसजावट भव्य छ । प्रवेशद्वारअगाडि नै पार्किङ् र आराम गर्नका लागि हरियो दुबोमाथि मेचको व्यवस्था गरिएको छ । क्याम्पस पढ्नका लागि विद्यार्थीको ओहरदोहरो देखिरहेका छौँ । वासिङ्टन विश्वविद्यालय खोल्ने चाहना पहिलो राष्ट्रपतिकै भएकाले डिसीमा नै सन् १८२१ मा विश्वविद्यालय स्थापना गरिएको थियो र सुुरुमा यसलाई कोलम्बिया कलेज भनिएको थियो पछि यसलाई वासिङ्टन विश्वविद्यालय भनियो ।
यस विश्वविद्यालयमा ठुलो अनुसन्धान केन्द्र, मेडिकल र इंजिनियर, प्रशासनिक भवनहरू छुट्टा छुट्टै रहेका छन् । यहाँ थिएटर, प्रयोगशाला, पुस्तकालय, अनुसन्धानका साथै आवासको पनि व्यवस्था गरिएको छ । प्रिमियम विश्वविद्यालयको रूपमा प्रसिद्ध यस विश्व विद्यालयको उद्देश्य ज्ञान पत्ता लगाउनु र प्रसारण गर्नु नै हो ।
हामी घुुम्ने क्रममा विश्वको सबैभन्दा ठुलो मानिएको पुस्तकालय द लाइबेरी अफ काङ्ग्रेस पनि गयौँ । क्यापिटल हिलमा रहेको यो पुुस्तकालयले धेरै अनुुसन्धातालाई आकर्षित गर्ने गर्दछ । अमेरिकी काङ्ग्रेसले सन् १८०० मा स्थापना गरेको यो पुुस्तकालयमा करिब सत्र करोडभन्दा बढी पुस्तक, नक्सा, फोटोग्राफ र डिजिटल सामग्री छन् भनिन्छ । ब्रिटिश आक्रमणताका पुस्तकालयका चार हजार पुस्तकहरू जलेका थिए थिए भन्ने गरिन्छ । सन् १८०१ मा थामस जेफर्सज तेस्रो राष्ट्रपति भएपश्चात पुस्तकालयका लागि पुस्तकहरू सङ्कलन गर्ने कार्य पुुनः थालनी भयो । । उनले छ हजार चार सय ८७ थान पुस्तक व्यक्तिगत रूपमा पुस्तकालयलाई हस्तान्तरण गरेका थिए । युरोपियन डिजाइनमा बनेको पुस्तकालयको तीन वटा भवनहरू छन्– जोफरसन, म्याडिसन र आदम । आम नागरिकका लागि जोफरसन भवनको पुस्तकालय खुल्ला रहन्छ । यहाँ सबै खाले पुस्तकहरू उपलब्ध छन् । पुस्तकालयमा पढ्नका लागि पहिलो तलामा अध्ययन कक्ष रहेको छ । ठुलो हलमा तीन तहले टेवल कुर्सी राखिएको छ । पुस्तकालयमा पढ्नका लागि समय तालिका निर्धारण गरिएको छ । आइतबार र सोमबार बन्द रहने तर अन्य बार भने पुस्तकालय खुल्ला रहने रहेछ । अन्य बार बिहान १०ः०० बजेबाट ५ः०० बजेसम्म र बुधवार भने बिहान १०ः०० बजेबाट बेलुका ८ः०० बजेसम्म पुस्तकालय खोलिने रहेछ । पुस्तकालयमा अध्ययन गर्न स्थानीयहरू सदस्यता बनेबापत कार्डको व्यवस्था गरिएको छ ।
वासिङ्टन डिसीमा घुमफिर गर्दा गर्दै साँझ पर्न लागिसकेछ । यति खेर हामी क्यापिटल बिल्डिङको अग्र भागमा आइपुगेका छौँ । यो भवन सङ्घीय सरकारको विधायिकी शाखा कार्यालय हो । राज्यको कानुन लेख्न, बैठक बस्ने, राष्ट्रपतिले निवेदन दिने र राज्यका सन्देशहरू यहीबाट सार्वजनिक गरिने हुँदा यो भवनले महत्त्व राखेको छ । सेतो रङ्गले पोतेको भवनको स्वरूप भव्य देखिन्छ । भवनको माथिल्लो भाग मन्दिर जस्तो आकृतिको छ । भवनको भित्र र बाहिर १ ठुला ठुला खम्बा जस्ता पिलर प्रयोग भएको छ । रूख, दुबो र फूलहरूले शोभायमान त्यस क्षेत्रको अग्र भागमा पूर्ण कदका सालिक पनि देखिन्छन् । भवनका भित्तामा युद्ध र अन्य ऐतिहासिक घटनाक्रमलाई बुझाउने मूर्त र अमूर्त चित्रहरू कुँदिएका छन् । भवनमा राम्रो सेमिनार हल छ जसमा एक हजार मान्छे अट्न सक्छन् । युुएस डलर ५० को नोटमा क्यापिटल भवनको चित्र अङ्कित छ ।
क्यापिटल भवन र काङ्ग्रेस पुस्तकालयको उत्तर दिशामा सुप्रिम कोट रहेछ । अमेरिकाको न्यायिक शाखाको सबैभन्दा उच्च अदालत हो– यो । वस्तुुकलाको भव्य नमुनाको रूपमा रहेको यो भवनको डिजायन क्यास गिल्बर्टले गरेका थिए । यसको निर्माण सन् १९३५ मा भएको थियो र सम्पन्न १९३८ मा भएको थियो । यसको परिकल्पनाकार थिए तत्कालीन राष्ट्रपति विलियम हार्डिङ टेफ्ट । उनी न्यायाधीश हुँदा परिकल्पना गरेका थिए तर त्यो भवन उनले देख्न पाएनन् भन्ने गरिन्छ । चार तलाबाट कार्य सम्पादन गर्दै आएको यो न्यायालयको पहिलो तलामा सभा सम्मेलन, प्रसासनिक कक्षका साथै अन्य शाखाहरू छन् । दोस्रो र तेस्रो तलामा न्याय सम्पादन र चौथो तलामा सुप्रिम कोटका पुस्ताकालय छन् । सोमवारदेखि शुक्रवार बिहान ९ः०० बजेबाट ३ः०० बजेसम्म, अन्य वार र सार्वजनिक बिदामा कोर्ट बन्द रहन्छ । एक मुख्य न्यायधीश र आठ न्यायाधीश रहेको सुप्रिम कोर्टले व्यवस्थापिका र संविधानको व्याख्या तथा फैसला गर्ने गर्दछ ।
अन्त्यमा, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र राजनैतिक केन्द्रको रूपमा रहेको वासिङ्टन डिसीका अविस्मरणीय यादहरूलाई मानस्पटलमा सँगाल्दै हामी हाम्रो बासस्थान भर्जिनियातर्फ लाग्यौँ ।
प्रतिक्रिया