२३ असार, नुवाकोट । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कम अंक ल्याएका एक विद्यार्थीलाई आत्महत्याको प्रयासबाट सफलतापूर्वक बचाइएको छ। अत्यधिक मानसिक तनाव र अपेक्षाकृत कम अंक प्राप्त भएपछि सबिना मिजार (नाम परिवर्तित)ले आत्महत्याको प्रयास गरेकी थिईन् ।
एउटा आवाज, एउटा सहानुभूतिको स्पर्श – मनोपरामर्शदाता यशोदा रिजालको एक फोनले जीवनको दिशा फेरिदियो। “तिमी असफल होइनौ, जीवन यति नै होइन” भन्ने सन्देश मात्र हैन, त्यो सन्देशमा आत्मीयता थियो, जीवन बाँच्ने प्रेरणा थियो।
विदुर नगरपालिकाका मनोपरामर्शदाता यशोदाका अनुसार तत्काल सम्पर्कमा आएकी उक्त विद्यार्थीको जीवन सुरक्षित रहन सक्यो । उनले भनिन्, “उनी निराश थिए, आफ्ना भविष्यका सपना चकनाचुर भएको ठान्दै थिईन् । समयमै परामर्श मिल्यो, र आज उनी अहिले सामान्य जीवनयापन गरिरहेकी छिन्।”
“ए ग्रेडको अपेक्षा राखेकी उनले बि ‘प्लस’ ग्रेड आएकोले हतोत्साही भएकी थिईन् । उनको आमा र बुबाको सम्बन्धको कारण पहिले देखिनै चिन्तित थिईन्”, मनोपरामर्शदाता यशोदाले भनिन् “आमाबुबाको सम्बन्ध बिग्रिंदा उनको बुबा जिल्लाबाहिर गएका थिए । जसले गर्दा सबिना (नाम परिवर्तित) झनै दु:खित थिईन्।”
“सबिना नर्सिङ पढ्ने तरखरमा थिईन्, एसइई नतिजामा ढुक्क थिईन् । सपना चकनाचुर भएको ठानेर उनले त्यो कदम उठाएकी थिईन् ।”
सबिना (नाम परिवर्तित)की आमा सहकारीमा कार्यरत छिन् । त्यसैबाट घरजम र पढाईको खर्च धानेकी छिन् । तर छोरीले चाहेको विषय अध्ययन गर्न आर्थिक अभाव रहेको छ। पढाई दिने कोहि दाता भए सबिनाको नर्स बन्ने चाहाना पुरा हुने थियो।
मनोपरामर्शदाता यशोदाको जीउने कला र समयले सबिनाको जीवनमा एउटा साँघु जस्तैं काम गर्यो—जहाँ निराशाको नदी पार गरेर उनी आशाको किनारमा आइपुगिन्। नर्सिङको सपना त अलि पर सरेको होला, तर जीवनलाई पुनः प्रेम गर्ने साहस सबिनाले पाएकी छिन् ।
शैक्षिक नतिजा र सामाजिक दवाबका कारण युवामा देखिएको मानसिक दबाब चिन्ताको विषय बनेको छ। यस घटनाले मनाेपरामर्शको महत्व झन् स्पष्ट बनाएको छ। विदुर नगरपालिकाले नगरबासीहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी आवश्यक सहयोग प्रदान गर्न निरन्तर प्रयास रहनु जरुरी रहेको छ।
प्रतिक्रिया