२०८१, १७ बैशाख सोमबार

जनशक्ति पलायन र सरकारको दायित्व

रामहरि रिमाल     श्रावण १२ २०८० १३:०३


ramhari rimal orchid academy nuwakot

नेपालमा अहिले सबैतिर विदेश जाने लहर चलेको छ । घरको एउटा व्यक्ति विदेश गएको छैन भने समाजमा इज्जत नै नहुने भइसक्यो । कसैले छोराछोरीको हाल खबर सोद्धा पनि कुन देश गएको छ ? भनेर सोध्न थाल्छन । कति पढेको छ ? के काम गर्छ ? भन्ने तर्फ अहिले मान्छेको त्यति चासो नै हुदैन । पहिले पहिले काठमाण्डौमा घर छ कि छैन भनेर सोधिखोजी हुन्थ्यो भने अहिले कुन देशमा छ भन्ने सोधिखोजी हुन्छ ।

देशमा रोजगारीको अवसर नपाएर बैदेसिक रोजगारीमा जानु अस्वभाविक होइन । यहाँ उद्योग कल कारखाना खुल्न सकेका छैनन् । निजी क्षेत्रले दिने रोजगारीको दायरा साँघुरो छ । विकसित देशमा जस्तो कृषिमा आधुनिकीकरण हुन सकेको छैन जसले गर्दा कृषिमा निर्भर जनसंख्या अझै धेरै छ, कृषि निर्वाहमुखी मात्र छ, रोजगारमूलक हुन सकेको छैन । व्यापार र बाणिज्य क्षेत्रले पर्याप्त रोजगारी सिर्जना गर्न सकेको छैन । सरकारी वा निजि क्षेत्रमा जति रोजगारी सिर्जना हुन्छ, त्यसले मात्र बेरोजगारी समस्याको समाधान गर्न सक्दैन ।

नेपालमा वार्षिक लगभग ५ लाख व्यक्ति एस.इ.इ. परीक्षामा सहभागि हुन्छन् । त्यसमध्ये कति ११/१२ कक्षा अध्ययनका लागि योग्य हुन्छन् भने कति अयोग्य हुन्छन् । अयोग्य व्यक्तिहरु रोजगारीका लागि भौंतारिन थाल्छन् । नेपालमा रोजगारी पाउने सम्भावना न्यून हुन्छ र उनीहरुको गन्तव्य भारत र खाडि मुलुक हुन्छ । जुन विद्यार्थीहरु ११/१२ अध्ययन गर्छन, उनीहरु पनि १२ पास गरिसकेपछि अध्ययन भिसा आवेदन गर्न थाल्छन् र अमेरिका, अष्ट्रेलिया, क्यानडा आदि देशतिर पलायन हुन्छन् । यसरी हरेक वर्ष लाखौंको संख्यामा नेपालीहरु विदेश पलायन हुन्छन् । खाडि मुलुक वा अन्य देशमा कामको लागि भिसा (Working Visa) लिएर जानेहरु त केही बर्ष काम गरेर आफ्ना छोराछोरीको पढाइ खर्च जुटाएर फेरि देश फर्कलान । तर अध्ययन भिसा लिएर विदेश जानेहरु नेपाल फर्कने सम्भावा भने ज्यादै न्यून छ भन्ने कुरा उनीहरुले धमाधम पि.आर. लिएर त्यतै बस्न थालेबाट पुष्टि भइसकेको छ। बैदेशिक रोजगारमा जानेहरु नेपाल फर्किएर जुन सीप उनीहरुले विदेशमा सिकेका छन्, त्यसको आफ्नै देशमा प्रयोग गरिदिने हो भने त्यसले नेपाललाई बेफाइदा हुदैन । रेमिट्यान्स भित्र्याउन तथा सीप र प्रविधि हस्तान्तरणका लागि बैदेसिक रोजगारी उपयुक्त हुन्छ । तर दक्ष जनशक्ति पलायन भने देशकालागि घातक हुन्छ । देशका ग्रामीण बस्तीहरु धमाधम उजाड हुदैछन्, पाखा बारीहरु सबै बाँझो भएर बनमारा र उन्युले ढाक्दैछन् । जनसंख्या घटेको कारण वस्तिसम्म बाँदरले दुख दिन थालेको छ । गाउँघरमा कसैको मृत्यु हुदा त्यो लासलाई कसरी मरनघाट सम्म पुर्याउने भन्ने समस्या हुन थालिसकेको छ । निर्माण कार्यको ठेक्का लिने ठेकेदारले कामदार नपाएर भारत तिरबाट ल्याउनु पर्ने अवस्था छ । विद्यालयमा विद्यार्थी नभएर स्कूलहरु मर्ज गर्नुपर्ने अवस्था छ । कलेजमा विद्यार्थी नभएर बन्द हुने अवस्था छ । पढेलेखेकाले काम गर्नुहुदैन, कि त जागिर खानुपर्छ, कि त विदेश जानुपर्छ, अथवा टेवल वर्क मात्र गर्नुपर्छ भन्ने मान्यता हावी हुनाले श्रम गर्ने र श्रम प्रतिको सम्मान गर्ने संस्कारको विकास हुन सकेको छैन । सिपमूलक शिक्षा दिने, श्रमको भावना जगाउने, देश प्रेमको भावना जगाउने, स्वरोजगार बन्न सिकाउने, उपलब्ध श्रोत र साधनको उपयुक्त परिचालन गर्न सहयोग गर्ने, देशको विकासको योजना अनुसार दक्ष जनशक्ति उत्पादन योजना बनाउने, रोजगारीका नयाँ अवसरहरुको सिर्जना गर्ने जस्ता कुराहरुमा न त नीति निर्माता न त राजनीतिक नेतृत्व वा बुद्धिजीवी कसैको पनि ध्यान गएको देखिदैन । हामी नागरिकहरु पनि आफ्नो देशमा श्रम गरेर खान लजाउँछौं । भारि बोक्ने, खन्ने खोस्रने गर्दा आफ्नो इज्जत जान्छ भन्ने सोच्छौ तर विदेश गएर भाँडा माझ्न वा अन्य जस्तोसुकै कठिन काम गर्न पनि तयार हुन्छौं ।

नेतृत्वमा दीर्घकालिन सोच हुने हो भने यस्ता विषयहरुमा बहस चलाउनु पर्छ र एउटा ठोस नीति तर्जुमा गर्नु पर्दछ । उत्पादनका क्षेत्रहरुलाइ प्रोत्साहन र संरक्षण गर्ने नीति बनाउने, उद्योग स्थापनका लागि वातावरण तयार गर्ने, समाजवादी अर्थतन्त्रका आधारस्तम्भ निर्माण गर्ने, बैदेशिक लगानीलाई प्रोत्साहन गर्ने, राष्ट्रिय गौरवका आयोजनाहरुलाई पब्लिक कम्पनिको मोडलमा संचालन गर्ने जस्ता नीति बनाई व्यापक रोजगारीका अवसरहरु सिर्जना गर्नु पर्दछ । कलेज पढ्ने विद्यार्थीले नेपालमै “पढ्दै काम गर्दै” को अवसर पाए भने विदेश भौंतारिनु पर्दैन । कलेज पढ्न नसक्ने जनशक्तिको लागि पनि स्वरोजगारीका लागि वातावरण तयार गरिदिनु पर्दछ । मुख्य गरेर अवसरहरुको व्यापक सिर्जना नगरि स्वदेशमै जनशक्ति रोकिदैन । यसरी जन शक्ति पलायन हुँदै जाने हो भने कुनै दिन जनशक्तिको अभावमा अलिअलि बचेका ब्यवसाय पनि धरासायि बन्ने अवस्था नआउला भन्न सकिँदैन । त्यसैले राज्यले जनशक्ति पलायनलाई रोक्न हस्तक्षेपकारी भुमिका निर्वाह गर्न अब ढिला गर्नु हुँदैन ।

नागरिक स्तरबाट पनि यस विषयमा गम्भीर भएर सोच्न जरुरी छ । हमीले हाम्रा सन्तानलाई विदेश पलायन हुन प्रोत्साहन गर्ने हो भने बुढेसकालमा हाम्रो सहारा को बन्ने होला ? हाम्रा बालबालिकालाई देश प्रेमको भावना र राष्ट्रियताको पाठ पनि पढाउन जरुरी छ । राष्ट्रियता त जहाँ गए पनि होला तर विदेशी नागरिक भइसकेपछि देश प्रेम भन्ने कुरा त रहदैन । जुन देशको नागरिक भयो त्यहि प्यारो लाग्न थाल्छ र त्यहि देशको माया गर्नु पनि पर्छ । त्यो नागरिकको कर्तब्य नै हुन आउँछ । त्यसैले विदेशी नागरिकता, पि. आर. लिने जो सुकैले पनि मेरो नेपाल प्रति प्रेम छ भन्छ भने उसले सँगै भएकि आफ्नी आमालाई लात्तिले हानेर, आफ्नो घर छोडेर आमाको धेरै माया लाग्छ भने जस्तै हो । उसले त अलि अलि ओठेभक्ति देखाउला तर उसका सन्तानले त नेपाल भन्ने देश हाम्रा बाउ बजेको देश हो भन्न थालिहाल्छन् ।

कसरी हाम्रा सन्ततिलाई देशमै गरिखाने अवसरको सिर्जना गर्न सकिन्छ भन्ने विषय नै अहिले ज्वलन्त विषय हो । हाम्रा सन्तति नै मर्दा र पर्दाका हाम्रा सहारा हुन् । हामीले उनीहरुलाई सकेसम्म हामीबाट टाढिन दिनु हुदैन । हाम्रा लागि र देशको विकासको लागि पनि उनीहरुको अपरिहार्यता छ । त्यसैले समयमै यस विषयमा गम्भिर हुन जरुरी छ । यसको लगि सरकार र नागरिक समुदाय दुबैको उत्तिकै भूमिका रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top