२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

स्मृतिमा गोरखा

श्रीराम श्रेष्ठ     मंसिर १४ २०७९ १०:३६


gorkha dairy shreeram shrestha

धेरै अघिदेखि गोरखा घुम्ने रहर थियो । सचेत रूपमा घुम्नु र थाहै नपाइ घुम्नुमा अन्तर हुन्छ । गोरखाको इतिहास र सांस्कृतिक विरासतका बारेमा धेरथोर जानकारी भएपछि यस भेगको यात्राका लागि झन बढी उद्वेलित भइरहेको थिएँ । यसै परिप्रेक्ष्यमा हामी गोरखा जान भनेर नुवाकोटबाट धादिङको गल्छी, मलेखु, चितवनको मुगलिङ हुँदै तनहुँको आबुखैरेनी पुग्यौं। त्यहाँबाट गोरखा बजार जानका लागि बस र साना गाडीहरू लामबद्व छन् । ती गाडीहरू उछिन्दै हामी अगाडि बढ्यौँ । मोटर बाटो नजिकै सफा र निलो रङ्गमा दरौँदी नदी फराकिलो भएर बगिरहेको छ । यस नदीले कतिका मार्किक कथा बोकेको होला ! कतिको इतिहास बोकेको होला ! कतिको जीवन बोकेको होला ! बाटामा हिँड्दा हिँड्दै म सोचिरहेको छु ।

नदीको आसपासमा धान फल्ने फाँट लमतन्न सुतेको छ । बुद्व हिमालको काखबाट नारद पोखरी हुँदै आएको दरौँदी आबुखैरीनीमा आएर मस्याङ्दी नदीमा मिसिन्छ र मुग्लिङमा पुगेर त्रिशुलीमा मिसिन्छ । दरौँदी नदीको पानी गोरखा नगरपालिकामा समेत पु¥याएको छ । गोरखा नगरपालिकाको ३ वडादेखि ९ नम्बर वडासम्मका बासीहरूले खानेपानी दरौँदीकै पानी उपभोग गर्दै आएका छन् । संघीय खानेपानी मन्त्रालयले नै त्यहाँ खानेपानी तथा ढल व्यबस्थापन आयोजना सञ्चालन गरेको छ । उक्त आयोजनाबाट साढे २४ हजारभन्दा बढी जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएको देखिन्छ । दरौँदी नदी प्रसिद्व धार्मिक क्षेत्र पनि हो । १२ वर्षको अन्तरालमा दराँैदी र भुसुन्डी नदीपारि खोप्लाङमा कुल देवता पूजा गर्ने चलन छ भन्ने थाहा पायौँ । उक्त पूजामा २० हजारभन्दा बढी मानिसहरूको जम्काभेट हुन्छ भन्ने पनि गोरखा जाने सन्दर्भमा थाहा पाएका थियौँ । विशेषतः त्यहाँ पूजा गरेपछि चिताएको सबै कुरा पूरा हुने र अगति परेका पितृहरूले मोक्ष पाउने धार्मिक विश्वास त्यस स्थानसँग जोडिएको कुरा पनि बाटैमा थाहा पायौँ । मानिसहरू आफ्नो कुलको उद्दार हुने विश्वास लिएर त्यहाँ पूजा गर्न जाँदा रहेछन् ।

दरौदी नदीको पुलबाट गोरखा बजार १६ कि.मी टाढा छ । बाटोमा १२ कि.मी बजार देखियो । गोरखा बजारबाट १२ किमिको दूरीमा भएकाले सायद यस बजारलाई १२ किलोमिटर भन्ने चलन रहेछ । मोटरबाटोको दायावाया पक्की घरहरू छन् । बजारले नयाँ सहरको स्वरूप धारण गरेको छ । पूराना बजारको त्यति धेरै स्वरूप देखिँदैन । १२ कि.मी बजारबाट अलिकति अगाडि गएपछि सल्लेघारी वनको बिचबाट गोरखा बजारलाई ताकेर गाडी कुदिरह्यो । घना जङ्गलको बिचमा मोटर बाटो देख्दा मलाई चितवनको जङ्गलको याद आइरह्यो थाहा छैन सहयात्री साथीहरूलाई के अनुभूति भइरहेको थियो । गोरखा बजार पुग्नै लाग्दा बाटोमा पर्ने लक्ष्मी बजार आउँछ । बसोबास र ब्यापारिक हिसावले लक्ष्मी बजारको महत्त्व निकै छ । गोरखा नगरपालिका वडा नं. ९ मा पर्ने लक्ष्मी बजारमा बैँक, विद्यालय, प्रहरी चौकी, संघसंस्था, होटल तथा पसलहरू बाक्लै देखिइरहेका छन् । लक्ष्मी बजारको नजिक आहाल डाँडा भन्ने ठाउँ छ । यहाँ गोरखनाथ आश्रम राजविद्या शक्तिकेन्द्र निर्माण भइरहेको छ । । गोरखनाथ गुठीको ५१४ रोपनी क्षेत्रफल रहेको जमिनमा केन्द्र निर्माणको थालनी भएको हो । उक्त क्षेत्रमा पीठसँगै योगशाला, गौशाला, प्रवचन र ध्यान केन्द्रको समेत निर्माण गर्न लागिएको रहेछ । मानिसभित्र विकास हुँदै गरेको धार्मिक र अध्यात्मिक संस्कारले मलाई निकै आकर्षित ग¥यो । साँझ पर्नै लाग्दा हामी गोरखा बजार पुग्यौँ ।

हामी आउन लागेको कुरा मित्र खिल गुरूङलाई थाहा थियो । त्यहाँ बस्ने प्रबन्ध उहाँले नै गर्नुभएको थियो । बजार एरियामा रहेको गुरुङ पाहुना घरमा हाम्रा लागि उहाँले चारओटा कोठाको बन्दोबस्त गरिदिनुभएको रहेछ । तीन परिवारलाई एउटा एउटा कोठा र सवारी चालकलाई एउटा कोठा बन्दोबस्त गरिएको थियो । हामी त्यहाँ गएर फ्रेस भयौँ र साँझको समयमा बजार घुम्न निस्कियौँ । हाम्रो बसाइ गोरखा बजारमा एक दिन र गोरखाली मित्र गुरुङको घरमा एक दिन रहेको छ ।

गोरखा बजार काठमाडौँदेखि उत्तर–पश्चिममा अवस्थित छ । गोरखा बजार गोरखा जिल्लाको सदरमुकाम पनि हो । पहिले यो बजार पृथ्वीनारायण नगरपालिकामा पथ्र्यो । अहिले नाम परिवर्तन गरी गोरखा नगरपालिका नामाकरण गरिएको छ । मलाई यहाँका मानिसले गोरखाली राजा पृथ्वीनारायण शाहको योगदान र महत्त्वलाई मनन गर्न नसकेको अनुभूति भयो । सहरीय सुविधातिर उन्मुख रहेको यस भेगमा मगर, गुरूङ, नेवार, तामाङ, घले, चेपाङ आदि जातिको बसोबास रहेको छ । मैले त्यहाँको भूगोललाई नियाल्दा गोरखा र नुवाकोट एकै किसिमको परिवेशजस्तो लाग्यो । घुमफिरलाई छोट्याउँदै हामी बासस्थान अर्थात् पाहुना घरमा आयौँ । साहुजीको न्यानो आतिथ्यलाई स्वीकार्दै खाना खाएर ओछ्यानमा पल्ट्यौँ । दिन भरिको थकानले निद्रादेवीलाई चाँडै नै बोलायो र हामी गोरखा बजारमा मस्तसँग निदायौँ ।

०००

गोरखा जिल्ला अनेक दृष्टिले महत्त्वपूर्ण छ । हाल प्रशासनिक सुगमता र राजनीतिक नेतृत्वका लागि दुई निर्वाचन क्षेत्र र चार प्रदेश अनि ११ स्थानीय निकायमा विभाजित छ । गोरखा र पालुङटार गरी दुई नगरपालिका छन् भने अजिकरकोट, आरूघाट, गण्डकी, चुमनुब्री, धार्चे, भीमसेन, सहिद लखन थापा, सिरानचोक र सुलिकोट गरी नौवटा गाउँंपालिका छन् । तीन हजार तीन सय वर्ग कि.मी. क्षेत्रफल रहेको गोरखा समुद्र सतहबाट २२८ मिटर देखि ८१६३ मिटरसम्मको उचाइमा रहेको छ । गोरखा जिल्लाको पूर्वमा धादिङ जिल्ला तथा तिब्बत (चीन), पश्चिममा तनहुँ, लमजुङ, मनाङ र तिब्बत (चीन), उत्तरमा तिब्बत (चीन), दक्षिणमा चितवन, तनहुँ, र धादिङ जिल्ला पर्दछ । गोरखाको नामाकारण सम्बन्धमा भिन्न भिन्न भनाइ रहेको छ । नेपाली भाषामा खर्कको अर्थ घाँसे मैदान (भूमी) हो । यस भेगका जमिन त्यस बेलाको समयमा घाँसे मैदान थियो सायद । त्यसैले त्यस भूमीको नाम खर्क राखियो र पछि त्यही खर्क शब्द परिमार्जित भएर गोरखा रहन गयो भन्ने एकथरि मानिसको भनाइ रहेको छ । अर्को भनाइअनुसार संस्वृmतमा गोरक्षको अर्थ गाइको रक्षा गर्नु वा गाईको रक्षक भन्ने हुन्छ । नेपालमा गाई मार्नु गम्भीर अपराध मानिने भएकोले यस भूमीको नाम गोरक्ष राखियो र पछि गोरखा भयो । अर्को पनि मान्यता रहिआएको छ त्यो हो– नेपालमा पहिलो पटक गोरखामा गोरखनाथ नामका सन्त देखापरेका थिए । उनै गुरु गोरखनाथको नामबाट गोरखा नाम रहन गएको थियो । गुरु गोरखनाथबारे अनेक किंवदन्ती रहेका छन् । गोरखा दरबारनजिककै एउटा गुफा छ र त्यहाँ गुरु गोरखनाथको मूर्ति पनि रहेको छ । गुफानजिकै गोरखकालीको मन्दिरसमेत रहेको छ । गोरखामा गुरूङ जातिको बहुलता रहेको छ । यी जातिका युवाहरू ब्रिटिश आर्मीमा संलग्न छन् ।

०००

भ्रमणको दोस्रो दिन हामी सङ्ग्रहालय गयौँ । गोरखाको ऐतिहासिक महत्त्वलाई जनसमक्ष चिनारी गराउन एउटा सङ्ग्रहालय निर्माण गरिएको छ । सामरिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको चिनारीका लागि गोरखा दरबार सङ्ग्रालयको महत्त्व दिनप्रति दिन बढ्दै गएको पायौँ त्यहाँ पुगेर हेरेपछि । यो सङ्ग्रहालयको निर्माण वि.सं. २०४० सालमा सम्पन्न भए तापनि वि.सं.२०६५ बाट सर्वसाधारणलाई खुल्ला गरिएको थियो । सङ्ग्रहालय परम्परागत शैलीमा बनाइएको छ । काष्ठ कलाद्वारा सजिएको सङ्ग्रहालय दुई तलाको छ । १९ वटा कोठाहरू छन् । तीन मुखे झ्याल, टुँडाल, १९ वटा थामको कलात्मक बरन्डाले सङ्ग्रहालय आकर्षक देखिँदैछ । मुख्य प्रवेशद्वारको दुवै छेउमा पृथ्वीनारायण शाहले प्रयोग गरेका दुईवटा परम्परागत तोपहरू राखिएको छ । सङ्ग्रालयमा शाहवंशीय राजा द्रव्य शाह हुँदै पृथ्वीनारायण शाहसम्मका महत्त्वपूर्ण सामग्रीहरू पर्यटकीय पुरातात्त्विक वस्तु, विभिन्न जातजातिहरूको संस्कृति झल्कने सामग्रीहरूसमेत राखिएको छ । सङ्ग्रहालय प्रवेश गर्नका लागि आन्तरिक पर्यटकका लागि रू २५/– र विद्यार्थीहरूको लागि रू १०/– लिने गरिएको छ । हामीले करिव एक घण्टामा सङ्ग्रहालय अवलोकन ग¥यौँ ।

आर्थिक वर्ष ०७८/०७९ मा ७६ हजार भन्दा बढीले सङ्ग्रालय अवलोकन गरेको कुरा मैले त्यहीँबाट थाहा पाएँ । सङ्ग्रहालयसँगै ६८ रोपनी क्षेत्रफलमा फैलिएको बगैँचासहितको गोरखापार्क पनि छ । मानिसहरू त्यहाँ आराम गरिरहेका देखिन्थे । हामी पनि एकछिन बस्यौँ । चैत्र वैशाख महिनामा मात्र खुल्ने सङ्ग्रहालय २०७८ भदौ २२ गतेबाट दशैँ र तिहारमा ३–३ दिनबाहेक अन्य समयमा खुल्ला राख्न थालिएको रहेछ ।

सङ्ग्रालयको मूल द्वारमा पृथ्वीनारायण शाह र कालु पाँडेको पोसाकमा सजिएका दुई व्यक्तिहरू उभिइरहेका थिए । पृथ्वीनारायण शाहले जस्तै एक औँला उठाएको र अर्को हालते तरबार बोकेको दृश्यले म चकित परेँ । पृथ्वीनारायणको अङ्गरक्षक बनी कालु पाँडेजस्तो मान्छे साथैमा खडा थियो । पुरानो इतिहासलाई बिउँझाउने दृश्यले गर्वको अनुभूति भयो । साँच्चि मानिसलाई केके अवस्थाले संवेदित बनाउँछ है ! म त्यसै त्यसै भावुक भएछु ।

सङ्ग्राहलय घुमघाम गर्दा बिहानको १२:०० बजिसकेको थियो । हामी सबै जना खाना खानका लागि पुनः पाहुनाघरतर्फ लाग्यौँ । दरबार घुम्न बाँकी नै थियो । गेस्ट हाउसको नियमअनुसार कोठाको चेक आउट गर्नुपर्ने दिनको १२:०० बजे । चालक दाजुले हाम्रा झोलाहरू सबै गाडीको पछाडिपट्टि डिक्कीमा राख्नुभयो । हामी गेस्ट हाउसको हिसाबकिताब गरेर निस्कियौँ । गाडी दरबार सङ्ग्रहालयको विपरीत दिशाको कच्ची बाटोतर्फ अगाडि लाग्यो । वर्षयामको पानीले गर्दा बाटोमा खाल्टा खुल्टी त्यतिकै थिए । अलि अगाडि गएपछि दोबाटो देखियो । हामी अलमलमा प¥यौँ । बस्ती वरिपरि नभएकाले रोकियौँ । त्यहाँ एक स्थानाीयसँग भेट भयो । उनी सैनिकसेवामा कार्यरत रहेछन् । उनैले दरबार जाने बाटो देखाइदिए । हामी ती सैनिकले भनेबमोजिम देब्रेतर्फ लाग्यौँ । बाटो उकालो थियो । गाडी उक्लनै हम्मेहम्मे प¥यो । केही समय उकालो चढेपछि बल्ल आइपुग्यो दरबार उक्लने छिँडी । थकाइ मारीमारी हामीले छिँडी उक्लियौँ । बजारबाट हिँड्ने बेलामा पानी लिन बिर्सिएछ । उकालोमा तिर्खा लाग्यो तर हामीसँग पानी थिएन । धन्न थुन्चेमा पानीका बोटल बोकेर आएकास्थानीय दुई युवक त्यहाँ थकाइ मारी बसेका रहेछन् । हामीले उनकै सहयोगले पानीको तिर्खा मेट्यौँ । गोरखा बजारमा जनघनत्वको वृद्विका कारण पानीको पर्याप्तता नहुनाले स्थानीय बजारबासी पिउने पानीका लागि दरबारभन्दा मुनि धारा (कुवा) मा पानी भर्न आउँदा रहेछन् । पहिले राजादेखि दरबारियाहरूले त्यही पानी पिउने गरेका थिए रे भन्ने कुरा पनि हामीले थाहा पायौँ । यतिखेर हामी दरबारको ठिक मुन्तिर आइपुगेका छौँ । माथि हे¥यो चट्टाने भिर । चट्टाने भिरको थुम्कोमा गोरखा दरबार । नेपालको इतिहासलाई हेर्दा शाह वंशीय शासन कालमा निर्माण भएका दरबार र गढीहरू यस्तै यस्थै भूगोलमा बनाएको देखिन्छ । अर्कोे देशका आक्रमणबाट बच्न यस्तो खालको संरचना बनाउने गरिन्थ्यो । इतिहाससम्बन्धी अनेक कुरा मनमा खेल्दा खेल्दै हामी दरबारको द्वारमा आइपुग्यौँ र पश्चिम ढोकाबाट प्रवेश ग¥यौँ ।

वस्तुकलाका दृष्टिले गोरखा दरबार निकै महत्त्वपूर्ण रहेको छ । काठमाडौँ बाट १४२ कि.मी को दूरीमा गोरखा दरबार रहेको छ । सवारी साधनबाट जाँदा ४ः०० घण्टा लाग्छ । नेपालको अर्को महत्त्वपूर्ण शहर पोखरा गोरखासँग एकदमै नजिक छ । गोरखाबाट पोखरा पुग्न २ घण्टाको समय लाग्छ । गोरखामा पालुङटार एयरपोर्ट अथवा गोर्खा एयरपोर्ट पनि छ । गोरखा एयरपोर्टबाट गोरखा जान अनेक सवारी साधनहरू पाइन्छन् । दरबार उच्च ठाउँमा रहेका कारण चारैतिर बढो मनमोहक दृश्यहरू दख्न सकिन्छ । त्यहाँबाट विशेषतः अन्नपूर्ण, मानस्लु र गणेश हिमालको सेताम्य टाकुराहरू देखिन्छन् । पूर्वी भागमा पृथ्वीनारायण शाहको पुरानो दरबार छ । दरबारको प्राङ्गणमा गोरखकाली मन्दिर छ । त्यसैले छालाको जुत्ता, बेल्ट आदि भित्र लैजान पाइँदैन ।

नजिकै गारेखनाथको मन्दिर पनि छ । गोरखनाथ मन्दिरमा पूजाआजा गर्ने कार्य द्रव्य शाहको पालादेखि चल्दै आएको हो भन्ने मान्यता छ । गोरखनाथलाई द्रव्य शाहका पालादेखि उनको सन्ततीले मूल देवता मान्दै आएका छन् । गोरखनाथको नित्यपूजा तत्कालीन राजा पृथ्वीपति शाहको पालादेखि सुरू भएको हो भन्ने भनाइ पनि रहेको छ । मन्दिरमा मच्छेन्द्रनाथ र भैरवका मूर्तिहरू छन् । चाँदीबाट निर्मित छ सिंहासन । मूर्तिहरू सबै धातुका छन् । भक्तजनहरूले मन्दिरमा त्रिशूल चढाउँछन् । मन्दिरभित्र र बाहिर राजेन्द्रलक्ष्मी देवीका पालादेखिका अभिलेख अंकित घण्टहरू झुन्ड्याइएका छन् । गोरखनाथलाई रोटी चढाउनुका साथै भैरवका लागि बोका र कुखुराको बलीसमेत चढाउने गरिन्छ । नेपाल सरकारको स्वामित्वमा रहेको गोरखनाथको नाममा आफ्नै गुठी रहको छ । गोरखनाथलाई नेपालको राष्ट्र देवता पुराना नेपाली सिक्कामा श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखिएको पाइन्छ । त्यस्तै, नेपालको राष्ट्रिय निशान छापमा पनि गुरू श्री गोरखनाथको चरण अङ्कित छ । गोरखनाथ मन्दिरको पूर्वतिर गोरखनाथ गुफा रहेको छ । हिन्दु धर्मलम्बीहरूमा विशेषगरी ब्राह्मण, क्षेत्रीहरूका लागि अतिनै महत्त्वपूर्ण स्थलको रूपमा गोरखनाथ मन्दिरलाई लिइन्छ । तत्कालीन राजा द्रव्य शाहले गोरखा राज्यको स्थापना गर्नुभन्दा अघि यसै गुफामा बस्ने गरेको भनाइ छ । त्यस्तै पृथ्वीनारायण शाहलाई गोरखनाथले जुठो दही खान दिएको भन्ने किंवदन्ति पनि छ । गोरखनाथलाई पिठोबाट बनाएको रोटी चढाउने चलन छ । वि.सं. २०६१ सालदेखि ‘रोटी महोत्सव’ चल्दै आएको छ । अघिल्लो वर्ष कोरोनाको कारणले गर्दा महोत्सवलाई सामान्य तरिकाले मनाएको थियो । यस वर्ष वैशाख पूर्णिमा अर्थात् जेष्ठ २ गतेदेखि ११ दिनसम्म ‘रोटी महोत्सव’ भव्यताका साथ सम्पन्न भयो । गोरखनाथ महोत्सवमा १ लाख ५४ हजार ६ सय २४ ओटा रोटीहरू चढाइएको थियो । रोटी महोत्सवले गोरखाको धार्मिक पर्यटनको विकासका लागि महत्त्वपूर्ण टेवा दिएको छ भन्न सकिन्छ । कालिका मन्दिरलाई एक महत्त्वपूर्ण शक्तिपीठको रूपमा लिइन्छ । कालिका मन्दिरमा जमरा राखेपछि मात्र देशभरमा हिन्दुहरूले जमरा आ–आफ्नो घरमा राख्छन् । दसैँ अर्थात् प्रतिपदा सुरू भएसँगै कालिका मन्दिरमा नियमित कालो बोका बलिदिने चलन छ । २०७२ सालको भूकम्पले कालिका मन्दिरलाई क्षतविक्षत पा¥यो । लामो समयसम्म पुनः निर्माणको पर्खाइमा रहेको मन्दिरको संरचना रेक्टोभिडिङबाट जस्ताको त्यस्तै बनाउने काम हालै सम्पन्न भएको छ ।

०००

सिद्वि प्राप्तिका लागि सिद्विकाली देवी मन्दिर प्रख्यात छ । गोरखा पुगेपछि यहाँ पुग्न जो कोही लालायित हुन्छन् । मन्दिरसम्म पुग्नका लागि केही समय पैदल यात्रा गर्नुपर्छ । मन्दिरमा जानका लागि सुन्दर छिँडीको निर्माण गरिएको छ । छिँडीको वरिपरि फलामको बार लगाइएको छ । उक्लँदा उक्लँदै हामी थकाइले हिँड्नै नसक्ने भएका थियौँ । धेरै नै थाकेपछि हामी बाटोको बिचमै भुइँमा टुसुक्क बस्यौँ । अरू पनि त्यसैगरी बसिरहेका थिए । उच्च ठाउँमा रहेको हुँदा खुल्ला छ वातावरण । मन्द मन्द बगेको हावाले शीतलता प्रदान गरेको छ । वरिपरिका बस्तीहरू स्पष्टसँग देखिएका छन् । त्यहाँ भेटिएका स्थानीयबासीको भनाइअनुसार भीमसेन थापाको सम्मान स्वरूप उनकै नामबाट गाउँपालिकाको नाम राख्ने काम भयो–भीमसेन थापा गाउँ पालिका ।

राष्ट्रका निधि र वीर गोरखालीको सम्झनामा समर्पित गाउपालिकाको नाम राख्दा गर्भानुभूति भयो । हिँड्दा हिँड्दै आइपुग्यो सिद्विकाली मन्दिर । उच्च ठाउँमा रहेको र वरिपरि खुल्ला वातावरणमा रहेको मन्दिरमा प्रवेश गर्दा स्वर्गानुभूति ग¥यौँ । मन्दिर वरिपरि सल्लाघारीले ढपक्क ढाकेको छ । मन्दिरमा पूजापाठका लागि अठार वर्ष उमेर पुगेका नवविवाहित युवा पुरोहित रहेछन् । मन्दिरमा ५ जना पण्डितद्वारा दैनिकी चण्डी, वेद, रुद्री पाठ गर्ने चलन रहेछ । विजया दशीको घटस्थापनाका दिन पूजाआजा गरी यहाँ सामूहिक जमरा राख्ने चलन रहेछ । मन्दिरमा नगरासमेत बजाउने चलन छ । बाबाले सिद्वि प्राप्त गरेर नै सिद्विकालीका भगवती मन्दिरको स्थापना गरेको भनाइ सुनियो । भाकल स्वरूप दर्शानार्थीहरूले बोका, कुखुराको बलि दिँदा रहेछन् । धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण रहे तापनि शौचालय, खानेपानी, पाटीपौवा, पक्कि सडकका साथै यथोचित प्रचार प्रसार हुन नसकेकोजस्तो लागिरह्यो ।

०००

गोरखा जिल्लामा रहेको पालिकामध्ये सिरानचोक गाउँपालिका पनि एक हो । यो पालिका इतिहाससँग जोडिएको हुनाले महत्त्वपूर्ण छ । भूगोलका हिसावले सिरानचोक मध्यम भागको उच्च पहाडीमा पर्दछ । आरूघाटबाट आधा घण्टामा पुगिने सिरानचोक प्रशासनिक हिसाबमा तत्कालीन ७ वटा गाउँ विकास समिति (केराबारी, थालुजुङ, हर्मी, गाखु,श्रीनाथकोट, छाप्रोक र जौवारी) समाबेश गरिएको छ । यस पालिका समुद्री सतहबाट १९७४ मिटरको उचाइमा रहेको हुँदा हावापानी फाइदा जनक छ । सिरानचोक गाउँ पालिका वडा नं. ७ मा अवस्थित श्रीनाथकोट र सिरानचोक दरबार ऐतिहासिक धार्मिक पर्यटकीय दृष्टिकोणले प्रसिद्व छ । सिरानचोकको पुरानो नाम स्यार्तन हो । स्यार्तनको अर्थ सबैको प्रिय डाँडा भन्ने हुन्छ । गोरखा बजारदेखि नजिकको अग्लो उचाइमा रहेको डाँडो यही हो ।

बाइसे, चौबिसे राज्यहरूसँग युद्व गर्दा गोरखालीहरूले यसै भूमी प्रयोग गरेका थिए । पृथ्वीनारायण शाहले एकीकरणको आरम्भ सिरानकोटबाट नै गरेका थिए । अमरसिंह थापाले सिरानकोटमा रहेर चौबीसे राज्यलाई पराजित गराएका थिए भन्ने भनाइ यहाँ प्रचलित रहेको छ । वि.सं. १६१६ देखि १८३७ सम्म गोरखालीले यसै भूमिमा रहेको विभिन्न राज्यहरूसँग लडाइँ लडेका थिए । भीमसेन थापा र अमरसिंह थापाको जन्म सिरानचोकमा नै भएको थियो । यहाँ रहेको किल्ला (गढी) लाई सिरानचोक गढी नामले चिनिन्छ । १६ औँ शताब्दीमा एक भण्डारी थरको राजाले सिरानचोक कोटमा राज्यस्थापना गरी कोट निर्माण गरेको भनाइ छ । यतिखेर किल्ला दरबार भग्नावशेषमा परिणत हुँदै छ । युद्वको लागि खनिएका बङ्करहरू अहिले पनि देख्न सकिन्छ । पुरातात्त्विक वस्तुहरू चोरी भइसकेको छ । त्यस्तै यहाँ सैन्य दरबारका अवशेष पनि भेटिएको छ । कोट र दरबारको अलवा श्रीनाथ बाबा आश्रम उत्तरतिर जोगी गुफा, महादेवको शिवालयजस्ता धार्मिक स्थलहरू सिरानचोक भूगोलमा रहेको छ । यसै भेगमा श्रीनाथ मण्डली देवीको मन्दिर पनि रहेको छ । यस मन्दिरमा पुग्न गोरखाको बाह्रकिलो छेपेटार हुँदै तर्कि डाँडा चित्रे भञ्ज्याङदेखि भच्छेक जाने पक्की सडकबाट जान सकिन्छ । परापूर्व कालमा नाथ समुदायका एक जोगीले सिरानचोकमा मण्डली नामकी देवीको मूर्तिको स्थापना गरी नृत्य पूजा आजा गर्ने गरेका थिए । श्रीनाथ बाबाले दैनिक पूजा आराधना गर्ने गरेकाले उक्त मन्दिरको नाम श्रीनाथ मण्डली देवी राखिएको रहेछ । राज्यमा पानी नपरी खडेरी पर्न गएमा यस मन्दिरमा बलि पूजाका साथै जलाधार गरेमा क्षणभरमै वर्षा हुन्छ भन्ने जनविश्वास लामो समयसम्म यहाँ रहेको जानकारी त्यहीँ गएपछि थाहा भयो ।

०००

नेपालका शाह वंशीय राजाहरूको पुख्यौली थलो राजस्थानको चितौडगढ मानिन्छ । चितौडगढका संस्थापक राजा चन्द्रवंशी भट्टारक ऋषिराज राणाजी हुँदै जमन खान र मिन्चा खान नै शाह वंशको पूर्खाहरू हुन् भन्ने कुरा इतिहासकारहरूले उल्लेख गरेका छन् । यी पूर्खाहरू राजस्थानमा मुस्लिमहरूको आव्रmमणलाई सामना गर्न नसकेर भाग्ने व्रmममा नेपाल प्रवेश गरेका हुन् भन्ने मान्यता पनि उनीहरूको छ । तर जे होेस् आधुनिक नेपालको निर्माणमा शाहवंशीय राजाहरूको योगदान अतुलनीय रहेको छ । अझ पृथ्वीनारायण शाहले हिमाली देशहरूको एकीकरण नगरेको भए आज नेपाली जाति संसारको कुनै कुनामा पनि हुँदैनथ्यो ।

नेपाल एकीकरणपूर्व नेपाल बाइसे, चौबीसे राज्यमा विभक्त थियो । यी राज्यहरूमा शाह वंशका हरिहरसिंह खानदेखि ऋषिकेश शाहसम्मका राजाहरू भए भने खस साम्राज्य विघठन भएपछि महासामन्तहरूले आफूलाई राजा घोषित गरी स–साना राज्यहरू सञ्चालन गरिरहेका थिए अनि सेन राज्यको पनि राम्रै हालीमुहाली थियो । लमजुङका राजा नरहरि शाहका भाइ द्रव्य शाहले लिगलिग कोटमा दौड जितेर घलेहरूलाई परास्त गरेपछि वि.सं. १६१६ मा गोरखा राज्यको स्थापना भएको थियो । द्रव्य शाहका वंशहरू पुरन्दर शाह, छत्र शाह, राम शाह, डम्वर शाह, कृष्ण शाह, पृथ्वीपति शाह, नरभूपाल शाह र पृथ्वीनारायण शाह हुन् । पृथ्वीनारायण शाहको सार्थक प्रयासले आधुनिक नेपालको निर्माण हुन सक्यो । द्रव्य शाहले गोरखा राज्य स्थापना गरे भने पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे । यसरी सिङ्गो नेपाल एकीकरणको शुभारम्भ कर्ताको जन्मभूमिको तीन दिने भ्रमणलाई बिट मार्दै हामी मध्यरातमा काठमाडौँ फर्क्यौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया



Top