२०८१, १९ बैशाख बुधबार

हाइकु सङ्ग्रह ‘काउसो जुन’ र सेन्युका यथार्थ चित्रण

श्रीराम श्रेष्ठ     कार्तिक २१ २०७९ १२:३७


kaauso joon shreeram shrestha

नेपाली साहित्यमा जापानी साहित्यबाट भित्रिएको हाइकु विधाको छुट्टै स्थान छ । वि.सं २०२० तिर नेपाल प्रवेश भएको मानिने हाइकु वर्तमानसम्म आइपुग्दा निकै मन पराइने र लोकप्रिय विधा हो । जापानमा एघारौं शताब्दीदेखि नै हाइकु शैलीका रचनाहरु प्रयोग हुँदै आए पनि साहित्यिक सिर्जनाका रुपमा भने सत्रौं शताब्दीतिर भएको पाइन्छ । नेपाली साहित्यसम्म हाइकु पुग्न धेरै लामो समय लागेको देखिन्छ । विशेषत १७ अक्षरमा सम्पूर्ण अभिव्यक्ति दिइसक्नुपर्ने कविताको सानो रुप नै हाइकु हो । यसलाई लघुतम संकथनका रुपमा लिइन्छ । पहिलो हरफ ५, दोस्रो हरफ ७ र तेस्रो हरफल ५ अक्षरको गरी जम्मा तीन हरफमा रचना गरिएको सिर्जना हाइकु हो भन्न सकिन्छ । विशाल भाव वा विषयलाई पनि अत्यन्त संक्षेपमा प्रस्तुत गरिने भएकाले हाइकु गहन र प्रभावकारी हुन्छ । यस्तै हाइकुको नेपाली परम्परालाई निरन्तरता दिंदै प्रकाशित हाइकु सङ्ग्रह हो ‘काउसो जुन’ । हाइकुसङ्ग्रह ‘काउसो जुन’ को रचयिता साहित्यकार दिल पौडल हुन् । कविता, गजल, आख्यान र समालोचना जस्ता साहित्यका विधाहरुमा सशक्त रुपमा कलम चलाउँदै आएका साहित्यकार दिल पौडेलको जापानी शैलीका नेपाली हाइकु र सेन्यु रचनामा उत्तिकै सक्रियता रहँदै आएको छ ।

प्रस्तुत पुस्तक हाइकुसङ्ग्रह भित्र ‘काउसो जुन’ शिर्षकमा हाइकु र ‘पुर्पक्ष मन’ शिर्षकमा सेन्युसङ्ग्रह गरी दुई भागमा विभक्त गरी हाइकु र सेन्यु रचनाहरुलाई सङ्ग्रह गरिएको छ । नेपाली परिवेश र विद्यमान अवस्थाका विषयवस्तुका विविध पाटालाई हाइकु र सेन्युमा गहन रुपले प्रस्तुत गरिएको छ । प्रकृति, सामाजिक सांस्कृतिक तथा राजनीतिक विषयहरु सांकेतिक रुपमा रचनाका शब्दहरुमा समेटीएका छन् । केही उदाहरण:

बेलका पात
सोझो सिधा गाउँले
हृदय खात !

ढुङ्गे बगर
खडेरीमा डुबान
सलल्ल नदी !

हावाको पात
हावाले हल्लाएको
हावाकै हात !

स्थिर कुइरो
सिर्सिरे बतासमा
पानी ओइरो !

प्रकृतिका सुन्दर भावहरुलाई हाइकुमा बुझ्न सकिन्छ । प्रकृति आफै चलायमान र गतिशिल अवस्थालाई परैबाट नियाल्न र अवलोकन गर्न सकिन्छ भन्ने भावना प्रतिविम्वित गर्ने थुप्रै हाइकु रचनाहरु कृतिमा छन् । कृतिभित्र थुप्र्रै राजनीतिक सामाजिक अवस्थाका यथार्थतालाई सांकेतिक रुपमा हाइकुकारले चित्रण गर्ने प्रयास पनि गरेको पाइन्छ । जस्तै:

कैदी समय
भीमकाय धमिरा
नौटङ्की क्षण !

मान्छेको पेवा
एकोहोरो घमण्डी
अमूल्य मेवा !

विद्रोही नानी
माला गाँसिरहेकी
गन्धे खुर्सानी !

मुख्य खबर
खुरापाती समय
मन बगर !

भित्तामा भिर
थुनिएका बाटामा
कोसीको पिर !

जुलुस नारा
भातमारा आवाज
सलह सारा !

यी र यस्तै ४ सय ७९ वटा हाइकुहरुमा समकालीन नेपाली र विश्वका सन्दर्भ, केही हाइकुमा मानव जीवनको यथार्थ र मानवीय प्रवृत्तिको प्रतिबिम्ब पाइन्छ । केही हाइकुहरुमा शहरी र गाउँले जीवनका गरिबी, अभाव आदिका चित्रण पाइन्छ भने कतिपयमा न्याय, समाजिक अवस्था, सीमा अतिक्रमण, वैदेशिक हस्तक्षेप, देश र समाजका सबै परिवेश र प्राकृतिक वातावरणका पक्षहरुलाई सांकेतिक र विशेष महत्वका साथ भावना र प्रतिविम्वहरुलाई प्रस्तुत गरिएको हाइकुहरु संग्रहीत छन् ।

कृतिभित्र समेटिएको अर्को विधा शैली हो सेन्यु । ‘पुर्पक्ष मन’ शिर्षकमा सेन्युसङ्ग्रहमा करिव १ सय ८५ वटा सेन्युहरु छन् । सेन्युका विषयवस्तु पनि हाइकुमा जस्तै पाइन्छ । राजनीति, सामाजिक प्रवृत्ति र बिकृतिहरुको चित्रण गरिएका छन् । प्रेम, भावना, सांकृतिक सामाजिक प्रवृत्तिका विविध पक्षलाई विषय बनाएर शिर्षक सहित सेन्युमा चित्रण गरिएका छन् । उहाहरणमा केही सेन्यु रचनालाई हेरौं:

पुरानो नशा
नवीन बोतलमा
नरको दशा !

सके गर्नुस
चिडियाको सिकार
नत्र मर्नुस् !

माक्र्स लेनिन
गौतमको सन्देश
अन्धो जीवन !

बिक्रीको स्याउ
ग्राहकको चाहना
फोहोर झ्याउ !

भोक र प्यास
पुस्तौंपुस्ता दास
सधैं उदास !

चाकडी काम
सदैव छलछाम
अनि इनाम !

मुलुकको शिक्षा नीति फरक छ । हुनेखानेहरू निजी बिद्यालयमा अध्ययन गर्छन् भने हुँदा खानेहरू सरकारी विद्यालयमा अध्ययन गर्छन् । सरकारले गुणस्तर शिक्षाका लागि यथेस्ट बजेटको व्यबस्था गरेको छ । तथापि सरकारीको तुलनामा निजी बिद्यालयको पढाइको स्तर उच्च देखिन्छ । शिक्षा क्षेत्रमा देखापरेको विवृmतिलाई पटाक्षेप गर्दै हाइकु मार्फत प्रस्तुत गरेका छन् ।

पैसाको खेल
सोर्सफोर्स सफल
निमूखा फेल ।

परीक्षा जाँच
अन्योलग्रस्त प्रश्न
हपहप्ती राप ।

पढाई थोर
राजनीतिज्ञ धेरै
प्रेमको खोर ।

तन्नेरी जोस
असफल भएपछि
शिक्षाको दोष ।

नेपाली साहित्यमा मूक्तक लेखन गर्दा चार हरफमध्ये पहिलो, दोस्रो र अन्तिममा अनुप्रास मिलाएर तेस्रो हरफ स्वतन्त्र लेखन जस्तै प्रस्तुत काउसो जुनमा रहेका प्रायस हाइकुहरूमा हाइकुकार दिल पौडेलले पहिलो र तेस्रो हरफमा अनुप्राश मिलाएका छन् भने दोस्रो लाइन स्वतन्त्र ।

बसन्त डाली
पल्लवी गिरिकुञ्ज
चिप्लिदाँ आली !

साउने झरी
खोलानाला कल्कल
फुरूङ्ग चरी !

विभिन्न शिर्षकमा चरना गरिएका सेन्युहरुमा मुख्य रुपमा नेपालको विद्यमान राजनीतिक, सामाजिक लगायत विभिन्न पक्षहरु र त्यसमा देखिएका विकृति विसंगतिहरुलाई ब्यंग्य गरिएको पाइन्छ । देशमा पटक पटक परिवर्तन आए पनि पुरातन मानसिकताले जरो गाडेर बसेको प्रति रचनाकार ज्यादै चिन्तित देखिन्छन् । सेन्युमा धेरैजसो शिर्षकहरुमा पनि यो झलक स्पष्टै पाइन्छ ।

लालित्य रस
लबस्तरा ओखती
उछिटो गाँस !

पखेटा कुँजा
हिमाल गणतन्त्र
सावाँ र ब्याज !

प्रेम र जीवनका अनुभुतिहरुसँगै अन्य सबै पक्षका सेन्युहरु सङ्ग्रहमा समेटिएका छन् ।

गलामा रङ
जोरजुलुम म्वाइँ
मुटुमा रङ !

उषाकी लाली
सुख स्वप्नको चाह
रात जुनेली !

कृतिमा समेटिएका हाइकु र सेन्युहरुले उठान गरेका विविध क्षेत्रका विषय र चित्रणहरुको बिम्ब प्रस्तुत गर्न रचनाकार सफल देखिएका छन् । रचनाहरु सुन्दर, सरल र उत्कृष्ट बनाउनु रचनाकारको विशेषता नै देखिन्छ । समग्रमा भन्नुपर्दा रचनाकार दिल पौडेल एक सफल साहित्यकार मात्र नभएर सफल हाइकुकार हुन भन्नेमा दुई मत रहँदैन । प्रकाशित कृतिको उत्कृष्टताले नेपाली साहित्यको हाइकु विधामा एक उत्कृष्ट र अनुपम कृतिको रुपमा स्थान बनाउन सफल बनेको छ भन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top