२०८१, १५ बैशाख शनिबार

सामाजिक संस्कारका परिवेशमा हायू

श्रीराम श्रेष्ठ     जेष्ठ २३ २०७९ १३:३४

shreeram shrestha Hayoo
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नेपालमा बसोबास गर्दै आएका जनजातिमध्ये हायू जाति एक पिछडिएको जातिमा पर्दछ । यो जाति रामेछाप जिल्लाको सुकाजोर र सिन्धुली जिल्लाको रतनचुरा, डाँडीगुराँसेका साथै कमलामाई नगरपालिकामा सदियौँदेखि बसोबास गर्दै आएको छ । होचो कद, गहुँ गोरो देखिने हायू जातिको रूपरङलाई नियाल्दा दनुवार र थारू जाति जस्तो देखिन्छ । राष्ट्रिय जनगणना २०५८ ले महिला ९२९ र पुरुष ८९२ गरी जम्मा १८२१ सङ्ख्या देखाएको छ भने २०६८ को जनगणनाले महिला १,५२४ र पुरुष १,४०१ गरी जम्मा २९२५ सङ्ख्या देखाएको छ । यसरी माथि उल्लिखित दुई जनगणनालाई हेर्दा हायू जातिको सङ्ख्यामा वृद्धि भएको देखिन्छ ।

‘हायू’ नाम हिन्दुले राखिदिएका हुन् वास्तविक नाम ‘वायु’ हो भनेर आजभन्दा १६० वर्षपहिले पच्छे हायूले अङ्ग्रेज लेखक हड्सनसित भनेका थिए । हड्सनले त आफ्नो हायू भाषाको शब्दभण्डारको नाम ‘वायु भोक्यावलरी’ भन्ने राखेका छन् । उनलाई ‘हायू’ हरू वायु नै हुन् भन्ने लागेको देखिन्छ । यस जातिका बूढाबूढीले आज पनि वायु नै उच्चारण गर्दछ । (१. आचार्य, बाबुराम, प्राचीन कालको नेपाल, नेसनल बुक सेन्टर, काठमाडौँ, २०६०, पृष्ठ ३७ ।) नेपालका इतिहासविद् बाबुराम आचार्यले पनि ‘हवायू’ भनेका छन् । जनकलाल शर्माले २०३९ मा प्रकाशित हाम्रो समाज: एक अध्ययन पुस्तकमा हायूको वास्तविक नाम वायु हो भनी चर्चा गरेका छन् । यसो त उच्चारण गर्ने क्रममा वायु र हायू एकै भएको हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ ।

यस जातिको उत्पत्ति नेपालमा कसरी र कहिले भयो भन्ने सन्दर्भमा विभिन्न व्यक्तिहरूको भनाइ र लोककथा विद्यमान रहेको छ । हायू जातिलाई केही विद्वान्ले किरातभित्रको जातिका रूपमा पर्ने कुरा बताएका छन् भने अर्को थरीको भनाइमा किरात जाति नभई आग्नेय जातिको हुन सक्ने मत राखेका छन् ।

तस्विर: युथ हायू

हायूहरूको विषयमा सुनुवार वंशावलीमा एउटा किंवदन्ती भने प्रचलित छ जसअनुसार परापूर्वकालमा एक राजाका ७ वटी छोरी थिए । ती ७ मध्येकी अन्तरी मैया सधैँभरि रातिराति जङ्गलमा नुहाउन जाने गर्थिन् । उनको यो क्रम धेरै लामो समयसम्म चल्यो । त्यत्तिकैमा एक रात अचानक सूर्योदय भयो र ती अन्तरी मैया गर्भवती भइन् । यो खबर जताततै फैलियो र राजाले पनि थाहा पाए । त्यसपछि उनी अविवाहित छोरी गर्भवती भएकोमा अत्यन्तै चिन्तित भए । त्यतिकैमा व्यास ऋषिले राजालाई ती कन्याको गर्भ सूर्यदेवको हो चिन्ता लिनु पर्दैन भनेपछि बल्ल राजा ढुक्क भए । कन्याको गर्भ परिपक्व भएपछि त्यसबाट एक पुत्रको जन्म भयो । उनका पाँच पुत्र जन्मिए । ती पाँचै जना ठूलो भएपछि सँगसँगै उनीहरू घुम्न भनी निस्किए र तिब्बतसम्म पुगे । त्यहाँ पुगेपछि एक भाइ उतै बस्ने इच्छा गरेकाले उनलाई त्यतै छाडी बाँकी चार भाइ त्यहाँबाट नेपालको भोटतिर झरे । उनै चार भाइमध्ये एक भाइका सन्तान पछि गएर लिम्बू भए । अर्को भाइका सन्तान राई भए । अर्कोका सुनुवार भए र कान्छोका हायू कहलिए । यसरी सूर्यदेवको गर्भबाट आफ्ना पुर्खाको जन्म भएको किंवदन्ती सुनाउँदै हायूहरूले आफूहरूलाई सूर्यदेवका सन्तान भन्दछन् र सूर्यकै पूजा गर्दछन् । (२. पाण्डेय, मधुसूदन, नेपालका जनजातिहरू, पैरवी प्रकाशन, २०६०, पृष्ठ १२९, ३० ।

त्यस्तै यस जातिका बूढापाका आफ्नो जातिको आगमन लङ्काबाट भएको भन्ने भनाइ छ भने यसै जातिका केही बौद्धिक जमात हायूहरू सिमरौनगढबाट आएको तर्क अघि सार्छन् । माथिका भनाइमा तारतम्य देखिन्न । विदेशी विद्वान् लेखक क्याम्पबेलले हायू जाति लङ्काबाट नै आएको हो भनेका छन् । रावणको मृत्युमा शोकगीत गाइन्थ्यो । हायू जातिमा कसैको मृत्यु हुन गएमा शोकगीत गाउनुका साथै लङ्काका राजा रावणलाई पूजाआजा गरी शोकगीत गाउँथ्यो भनिएको छ । उपर्युक्त भनाइलाई क्याम्पबेलले यस्तो अभिव्यक्ति दिएका छन्: They bury then lead and worship Rawan, the Raksha King of Lanka and him only the dance and dire are lamentation for the death of Rawan . They describe themselves as having come originally from Lanka in great numbers, not being Content to remail after the defeat of then king by Ramchandra, that they had at the time of them migration upward of 300 volumes of seared writings conneeted with them peculiar creed, which were gradually destroyed and lost, until now, when they are without any record of it. हायूको उत्पत्तिको इतिहास लिपिबद्ध रूपमा भेटिएको छैन । तसर्थ हायू जाति नेपालमा सदियौँदेखि बसोबास गर्दै आएको हुँदा रैथाने जातिमा अभिलेख्य गर्न सकिने कुरामा सहमत हुँदा फरक नपर्ला ?

यस जातिको बारेमा प्रचलित दन्त्यकथा यस्तो रहेको छ । ‘मुक्ति क्षेत्रका राजाकी छोरीका सन्तानमध्येका एक भाइ नै हायू हुन् । रानीका सन्तानले हस्तिनापुरको लडाइँ लडे तापनि हार खाई सिमरौनगढ गई बसे । त्यहाँ बस्ने क्रममा तान्त्रिक देवी चण्डेश्वरीले स्वर्णचरी दिएकी थिइन् । एकआपसमा मनमुटाव भएपछि भक्तपुरमा आई बसे । पाँच भाइमध्ये कान्छो भाइ तामाकोसीको किनारैकिनार गई अन्यत्र ठाउँमा गई बस्ने नै हायू हुन् ।

त्यस्तै गरी अर्को दन्त्यकथा यस्तो छ ‘एक समय लङ्कापालमा अनिकाल प¥यो । त्यहाँका जनताहरूले सहज रूपमा जीवन गुजारा गर्न कठिन प¥यो । एक सन्तानका पाँच भाइ लङ्का छाडी हिँड्ने क्रममा जङ्गलैजङ्गल हिँडे । कान्छो भाइ छलियो । दाइहरूले भाइले सङ्केत पाओस् भनी केराको बोट काट्दै गए । भाइ अगाडि बढ्ने क्रममा केराको गुभो पलाइसकेछ । दाजुहरू धेरै अगाडि बढेछन् भनी ती भाइ त्यहीँ अर्थात् रामेछाप जिल्लामा नै बसी घरजम गरे । सन्तान वृद्धिका कारण अन्यत्र ठाउँमा बसाइँ सरी बस्ती बसाले, तिनै सन्तान हायू हुन् ।

यो जातिको मूल घरमा चीनका आदिम पुर्खाहरूले ल्याएको भनिने एउटा ढोल हुन्छ । त्यसलाई पहिलो चार दिन बजाएर नाचगान गरिन्छ । पाँचै वा छैटौँ दिनमा (मङ्गलबार पारेर) वनदेवीको पवित्र स्थानमा कार्यक्रम केन्द्रित हुन्छ । सातौँ र आठौँ दिन ढोल बजाउँदै दर्शकहरूसहित स्वजातीय बन्धुहरूको घरघरमा गई नाचगान गरी देवीको आशीर्वाद बाँड्छन् । प्रत्येक हायू घरका आइमाईहरूद्वारा चिन्डा वा लौकाको घैँटाभरिभरि जाँडपानीले यिनीहरूको आवभगत गरिन्छ । यो चाड सिद्धिएपछि ढोल र झ्याली फेरि चोखो ठाउँमा राख्दछन् । उक्त पूजाको मेलामा खुकुरी र दापहरू लुकाएर राख्नुपर्ने गाउँमा कसैले जुत्ता लाएर वा लौरो लिएर हिँड्नु नहुने आदि अनौठो नियमहरू पालन गर्छन् । (३. शर्मा, नगेन्द्र, नेपाली जनजीवन, साझा प्रकाशन, चौथो संस्करण २०६३, पृष्ठ १३० ।)

हायू जातिको बस्ती जङ्गलको छेउ भिरालो ठाउँमा हुन्छ । अन्य जातिको बस्तीभन्दा अलि पर रहेको छ । प्रायजसो घर एकतले छ । सुत्नका लागि छुट्टै कोठा हुँदैन । सुत्ने कोठा नजिकमा अगेनो हुन्छ । घरको दलानमा केही ठाउँ रहेको हुन्छ । त्यही ठाउँलाई बारेर गाईबस्तु पाल्ने गरिन्छ । घरआँगन हुन्छ । आँगनको कुनै एक कुनामा सुँगुरको खोर बनाई सुँगुर पालिएको हुन्छ ।
त्यस्तै हायूहरू कपासको खेती गरी धागो काट्ने र आफूलाई आवश्यक पर्ने लुगा आफैँ बनाउँथे । सबैका घरमा लुगा बुन्ने तान हुन्थ्यो । यद्यपि स्थानीय बजारमा सस्तो मूल्यमा लत्ताकपडा पाइन थालेपछि धागो काट्ने र लुगा बुन्ने काम छाडेको देखिन्छ ।
हायू जातिको नाममा जग्गाजमिन छैन । सार्वजनिक जग्गा खनी खोस्री खेतीपाती गर्छन् । उब्जनी कम हुने हुँदा ज्याला मजदुरीका साथै साहूका घरमा नोकरका रूपमा काम गर्छन् । यिनीहरू स्थानीय जङ्गलमा उपलब्ध भएको निगालोद्वारा डोको, नाम्लो, थुन्चे, भकारी आदि बनाई स्थानीय बजारमा विक्रीवितरण गर्ने गर्छन् । स्वादिलो फल च्यूरीको घिउ निकाल्नुका साथै जाँडरक्सी निर्माणका लागि मर्चा बनाउने काम पनि यिनीहरूले गर्छन् । अहिले फाटफुट रूपमा केही युवाहरू सेना तथा प्रहरीमा भर्तीसमेत भएका छन् ।

हायू जातिका मानिसहरू आफ्नो गोत्र बताउन सक्दैनन् । गोत्रावलीमा उल्लेख नभएका सबै गोत्र कश्यप हुने हुँदा हायू पनि कश्यप गोत्रअन्तर्गत नै पर्दछन् । यिनीहरूका थरहरू ढकालकमलिश्च, सूर्यवंशी कंश्य, कुकुलुञ्च, यासुङ्ग, भँंवजाती, इश्रेचाखुँ, सूर्यवंशी कंशिनो, सार्जिप कम लिश्च आदि छन् । तर आफ्नो थर किटान गरेर नै यिनीहरू बताउन सक्दैनन् । (४. दाहाल, विष्णुप्रसाद, नेपालका जातीय संस्कार, खण्ड २ ने.प्र.प २०७०, शीर्षक ः हायू जातिको संस्कार, पृष्ठ ३१६ ।)

तस्विर: युथ हायू

हायू जाति आफूलाई किरातीको नै वंशज ठान्दछन् । तर यिनीहरूको बोली किरातीहरूको भन्दा भिन्न छ । हायूजाति मुख्य चार थरमा विभाजित छन्– (१) दिनतिसो, (२) बालन वा बालुङ, (३) मोफुम र (४) जाक्कुम । कसैकसैको भनाइमा सिन्नो, कमलेस्छो र याकुकंको पनि हायूका थरहरू हुन् र यी थरहरूका उपथरहरू पनि छन् –जस्तै बालन् थरको पछिरिमे र सुग्र, मोफुम थरको बिदाबारे र वलासो जाक्कुमको इसोरे र रोत्सिने इत्यादि । (५. शर्मा, पूर्ववत्, पृष्ठ १२९ ।)

अन्य जातिको जस्तै हायू जातिको पनि आफ्नै वेशभूषा रहेको छ । पहिरनको हकमा पुरुषले टोपी, भोटो, पटुका र कछाड बाँड्छन् । महिलाले जामा, चौबन्दी चोलो र पछ्यौरा ओड्छन् भने हातभरि चुरा, गलामा पोते, नाकमा बुलाकी लगाउँछन् । तर पुरुषले भने गरगहना लगाउँदैनन् ।

यो जाति पितृसत्तात्मक छ । घरको मूल व्यक्तिबाट घर चलेको हुन्छ । घर चलाउन आवश्यक परेको खण्डमा परिवारका अन्य सदस्यसँग सरसल्लाह लिने गरिन्छ । तर परिवारमा घरमूलीको आदेश नै अन्तिम हुन्छ ।

हायू समाजमा पुरुषहरूका जुन सामाजिक श्रेणी र थर रहेका छन् । तिनमा महिलाहरूको स्थान त्यति उच्च देखिँदैन । महिलाहरूले जेठा बूढा, गौरुङ, टहले र फोचो जस्ता सामाजिक विशेष स्थान प्राप्त गरेको पाइँदैन । जुन थरका पुरुषसित विवाह भयो त्यही नै थर महिलाको पनि हुने गरेको देखिन्छ । महिला होऊन् वा पुरुष नामका पछाडि जात नै लेख्दछन् अर्थात् ‘हायू’ नै लेख्छन् । आइते हायू वा काले हायू र सेती हायू वा मङ्गली हायू लेख्दछन् तर काले ‘दोफुम’ वा मङ्गली ‘यहकुम’ भनेर लेख्दैनन् । यसरी हेर्दा यिनीहरूको जात ब्राह्मणहरूको गोत्र जस्तै लाग्दछ । ब्राह्मण वा क्षत्रीमा नामका पछाडि कसैकसैले मात्र गोत्र लेख्ने गर्दछन् । जस्तै ‘राहुल साङ्कृत्यायन’ । साङ्कृत्यायन राहुलको गोत्र हो । उनको थर त पाण्डेय हो । (६. पोखरेल, डी.आर, हायू जातिको लोकजीवन, नेप्रप, २०७०, पृष्ठ ७७ ।)

हायूहरूको आफ्नै जातको भाषा छ । भाषा भने लिखित छैन अर्थात् लिपि भेटिएको छैन । विदेशी लेखक एवं अनुसन्धानकर्ताले हायू जातिको भाषालाई वायु भाषा भनेका छन् । विश्वमा बोलिने भाषामध्ये संस्कृत भाषा उत्कृष्ट मानिन्छ । संस्कृतमा भन्दा हायू भाषा परिष्कृत रहेको बुझिन्छ । त्यसो भएको हुनाले विदेशी लेखकहरूले यस भाषालाई महŒव दिएको हुनु पर्दछ । हायू भाषालाई भोट–बर्मेली परिवार मान्दै आएका पनि छन् । हायू समाजमा आफ्नो जातिको भाषा बोल्नेको सङ्ख्या दिन–प्रतिदिन घट्ने क्रममा छ ।

यिनीहरूको भाषा लिम्बूहरूसँग झन्डैझन्डै मिल्ने हुँदा यिनीहरू पनि लिम्बूहरूकै सन्तान हुन् कि जस्तो लाग्दछ । (७. बी.एच्. हड्सन, जर्नल अफ. द एसियाटिक सोसाइटी–बङ्गाल, भोल्युम २६ ।)

हायू भाषाका नमूना:

क) नातागोता बुझाउने शब्दहरू:
हायु भाषा – नेपाली भाषा
किस्की – हजुरबा
पिख्पी – हजुरआमा
ओख्पु – बा
ओमू – आमा
थेँपू – ठूलो बुबा
थेमू – ठूली आमा
पोङ्पौइ – कान्छा बा
पोङपयू – कान्छी आमा
नीनु – फुपू
नीन्यौ – फुपाजु
बोलो – दाजु
फुङ्म्यान – भाउजू
बालु – भाइ
दीयु – बुहारी
नोनो – दिदी
फुङ – भिनाजु
दीयू – बहिनी
दीयू – ज्वाइँ
ताओ – छोरो
तामी – छोरी
थाचो – नाति
थामी – नातिनी
कुख्कु – मामा
कुकुुयू – माइजू
ओख्यू – ससुरा
उमू – सासू
बुलु – जेठान
बालु – सालो
दीयू – साली

ख) शरीरका अङ्ग बुझाउने शब्दहरू:

हायु भाषा- नेपाली भाषा
आङ – शरीर
पुछी – टाउको
सोम – रौँ
टुप्पी – टुपी
भितिरेयू – गिदी
रू – खप्पर
ताजलाङ् – निधार
नोक्छयूङ – कान
मेक् – आँखा
चोनू – नाक
सोम् गा – लुङठुङ जँुगा
लू – दाँत
लिङ्गाँ – जिब्रो
मुखछयू – मुख
तो उङ् – ठोङ् घाँटी
गोत् – हात
गोच् – छाती
थुम् – मुटु
तिमुलुङ्ठुङ् – फोक्सो
मूली – पेट
दिमेन् – नङ
सोलीपुङ् – नाइटो
पेतुना – योनी
चुहाजाता – स्तन
पुल्छयो – चाक
खोकली – घुँडा
छेपरी पिँ- डौला
दिङ्च्याङ् – कुर्कुच्चा
पौँजा – पैताला
छिरी – घिच्रो

ग) पशुपक्षी बुझाउने शब्दहरू

हायु भाषा – नेपाली भाषा
खोक्यी – गाई
चुआले – बाच्छो, बहर
चुओली – बाच्छी
खोक्यी – गोरु
खोक्यी साँढे
चेली – बाख्री
चेला – बोका
भेडोक – भेडा
भेडी – भेडी
घोडाक – घोडा
हात्तीक – हात्ती
खोओ स्यो – कुखुरा
खोओ छयोमी – कुखुरी
चि चि – भँगेरो
हुओटा वइ – गिद्ध
विलु – बाघ
बिलु – सिंह
सिग्जी – मलसाँप्रो
सिम्टाल्नो – सारौँ
ट्टोबु – सर्प
फेकच – भ्यागुतो
कोओल्याङ् – छेपारो
पिक्छो – सालक
गुद्धी – गोहोरो
चुयु – मुसा
द्धाना – बिरालो

घ) खाद्य पदार्थ बुझाउने शब्दहरू

हायु भाषा – नेपाली भाषा
बुती : भात
बुलम् – दाल
लुसी – तरकारी
नाख्तीमु – ढिँडो
युक्छो – च्याख्ला
कुन – मासु
गुल्बा – माछा
सेख्ता – आलु
लुसी – प्याज/लसुन
राँपी – पिँडालु
सेख्ता – फर्सी
तोक्छयू – काँक्रा
सेक्ता – बरेला
पेवासी – सिमी
गुलुम्याक – बोडी
लुसी – घिरौँला
लुसी – चिचिन्डा
सेकता – भ्यान्टा
बोजा – धान
छयाङ्रा – चामल
खोओङ् – गहत
मासी – मास
दुजी – कोदो
सुस्याङपोइ – खुर्सानी
छोक्सी – तरुल
देउसोती – सखरखन्डा
वनछोक्सी – वन तरुल
जिता – चिनी
छयूम्ता – मह
लेंकू – घ्यू
कि – नुन
हेल्दुङ्मी – बेसार
सिफी – अदुवा
पेल्ता – दूध
मेङ्ता – दही
छेलल् िपोता – मही
ती – पानी
छे तेकू – रक्सी
सोयो – जाँड
लुसी – छ्यापी
जाताङ् – सिलाम
तुप्ता – चिउरा
युकछोरेता – सातु

ङ) फलफूल बुझाउने शब्दहरू

हायु भाषा – नेपाली भाषा
घ्यामारी – फलिँट
सेख्ता – सुन्तला
जुली – आँप
बेलाती – अम्बा
रिसा – केरा
सेख्ता – मेवा
सेती – नास्पाती
जुउता – कागती
जुली – निबुआ
तुक्छी – अमला
सेक्ता – आरु
तोक्छु – काँव्रmो
रविन्दा – गोलभेडा

च) मसला बुझाउने शब्दहरू

हायु भाषा – नेपाली भाषा
लुसेक्याङ – जिरा
कुल्कुल्भु – नरिवल
जाताङ् – काजु
चाम्ता – ओखर
जित्ता – चाकु
सेख्ता – बदाम

छ) लुगाकपडा बुझाउने शब्दहरू

हायु भाषा – नेपाली भाषा
चुप्ताङ – कमिज
भितेरे चुप्ताङ – गन्जी
किक्छेयाङ् – कछाड
लेहे चुप्ता – जुत्ता
मोक जा – मोजा
पुछे खोस्च्याङ् – टोपी
छेरे पोप्च्याङ – मफलर
आनिरख्याङ चुप्ताङ् – चोलो
आनिरख्याङ चुप्ताङ् – ब्रा
मितेर चुप्ताङ् – पेटीकोटे
तामाख्याङ चुप्ताङ् – लुङ्गी
सिकताङ – फुली
तोक्छुया सिक्ताङ् – तिलहरी
ले हे सिक्ताङ – कल्ली
गोदे सिक्ताङ – औँठी
चोउलोपिमु – चन्द्रमा
गोदे सिक्ताङ् – चुरा
ताङलागे फिच्याङ् – टीका

ज) हातहतियार बुझाउने शब्दहरू

हायु भाषा – नेपाली भाषा
फो योङ् – बन्चरो
युक्चयाङ् – तरबार
चुखा – कोदालो
दुवुच्याङ् – कोदाली
कोतरो – हँसिया
ताजाङ् – लौरो
छेप्च्याङ् – भाला
उप्च्याङ – धनु
तिङ्च्याङ – कैँची
छयाप्च्याङ् – चक्कु
दुबुच्याङ् – खन्ती
रूक्च्याङ् – हलो
तोप्चयाङ् – करुवा
चु – काँडा
दुपुच्याङ – कुटो
डल्लातोपी – डल्लेठो
छयापच्याङ् – चुप्पी
कोहोप्चयाङ – साबेल
गैँती – पिक

झ) घरेलु सामान बुझाउने शब्दहरू

हायु भाषा – नेपाली भाषा
खिइची – डोका
नओए – नाम्लो
सिप्ता – बरियो
पोख्च्याङ् – डोरी
डाली – डालो
बुख्च्याङ् – सोली
ताख्च्याङ – भकारी
पेप्छयू – काइँयो
कुक्षो – बाँसको खपटा
बोफच्याङ् – मान्द्रो
पोफच्याङ् – गुन्द्री
पुङ्ता – चित्रा

ञ) रूख र वनस्पति बुझाउने शब्दहरू

हायु भाषा – नेपाली भाषा
थुङ्सिङ् – सल्लो
सालायू – साल
मेघ हुदिई – खिर्रो
खोथङ् गाँ – गहते
दानाकेर्वा – घाँस
चुराङ् – भलायो
पिप्छयू – काइँयो
सिइछिङे बुदी – धँगेरो
तीतुक्षी – पानी अमला
जीवी – कोइरालो
स्यूँडी कक – सिउँडी

ट) अङ्क बुझाउने शब्दहरू

हायु भाषा – नेपाली भाषा
कोलु – १
नाउङ् – २
छयुउङ् – ३
ब्लीउङ नर – ४
कोलु गोट कोँकली – ५
कोलु गोटमु कोँकली – ६
कोलु गोटमु नाउँ कोँकली – ७
कोलु गोटमु छयुउङ – ८
कोलु गोटमु ब्लीउङ – ९
नाउङ गोट कोलु खन माँ आङनोता – १०

ठ) क्रमबोधक सङुख्या बुझाउने शब्दहरू

हायू भाषा – नेपाली भाषा
नीतिबुकलाः स्तामेट्मी – पहिलो
नुकुन् बालास्ता ःले कोतना कोत खोक्लाक्षे – दोस्रो
खोत् मा जक्ता मामेजुत् – तेस्रो
खालिम्म चुलिम पाको दे – चौथो
थोलग्ने माचुसुग्मी – पाँचौँ
गोन्टिरीसीको दे – छैटौँ
क्रोलान् क्रोद हा मिचिस्चे – सातौँ
बाँखम् व्राख मिस्कान् इस्चे – आठौँ
इमा मुनाहु कोहे हाङ – नवौँ
तिरीनुकुन् नुसिको – दसाँै
आहुड् आङ हुँकुखेन् मिमाआँ थाइप्चिने – एघारौँ
आबुगन् खोक्ला थाइपेच् – बाह्रौँ

ड) हायु भाषाका केही वाक्यहरू

हायू भाषा – नेपाली भाषा
बारी हे कुल्पाङ खुनाना नो । बारीमा मकै सप्रेको हुनेछ ।
तामीताओ बेक्च्याङ् ठामे लाला आनुं । छोराछोरी विद्यालय गएका छन् ।
खोक्यहा घास जो हो । गाईले घाँस खान्छ ।
हायू केम लाख्ता नोम् । हायू घर गएको थियो ।
ती चङ् नानुङ तोङ । हिजो पानी प¥यो ।
कोमी विङ्चा बोक्इनो । उसले राम्रो अक्षर लेख्यो ।
हिमाल मैदावाङ्मी तुक्की । हिमालमा हिउँ पर्ला ।
ओमुहाँ कथा थास्तानुङ नानो । आमाले कथा सुन्नुभएको थियो ।

हायू बोलीसम्बन्धी केही उल्लेख रोचक हुने देखिन्छ । यी बोलीलाई तिब्बती बर्मेली भाषासमूहअन्तर्गत किरात शाखाको पनि उपशाखा मान्ने गरिन्छ । यद्यपि राई र लिम्बू दुवै बोलीहरू योभन्दा भिन्न पाइन्छ । तिब्बती बर्मेली भाषाहरूबाट किराती भाषाहरूलाई अलग्याउने विशेषताहरूमध्ये क्रियाशब्दको जटिल नियम एउटा हो । अर्कोतिर हायू बोलीमा पनि संस्कृतमा झैँ क्रिया शब्दको एकवचन र बहुवचन मात्र नभई द्विवचन पनि हुन्छ, जुन एउटा अग्घोरै अनौठो कुरा हो र निम्न उदाहरणबाट छर्लङ्ग हुन्छ ।

हायू – नेपाली
बुकमी (ऊ) – उठ्छ
बुकछम (उनी दुई) – उठ्छन्
बुकमेम (उनीहरू) – उठ्छन्

हायू भाषाको क्रियामा अर्को एक विशेषता पाइन्छ । हामीहरूभन्दा यसको दुई माने हुन्छन् – (१) तिमी र म (२) उनी र म । तिव्बत बर्मेली भाषाहरूमा सामान्यतया यो गुण पाइने भए तापनि तिनमा उपनाममा मात्र सीमित भएको विशेषता हायू बोलीमा क्रियामा समेत देखापर्दछ, जस्तै:

हायू – नेपाली
बुकसुङमी – उठेँ
बुकिछङमी (तिमी र म दुई जना) – उठ्यौँ
बुकछोङमी (ऊ र म दुई जना) – उठ्यौँ
बुख्ककोङ्मी (तिमी र म) – उठ्यौँ
बुख्कीङमी (उनीहरू र म) – उठ्यौँ

क्रियाले कर्ता र कारक दुवैलाई सम्बोधन गर्न अर्को एक विशेषता किराती र हायूमा पाइन्छ । हायू र नेपालीको निम्न तुलनाबाट स्पष्ट हुने यो विशेषताको उल्लेख गरी पाठकहरूको कौतूहलसम्म जगाउने जमर्को यहाँ गरिन्छ:

हायू – नेपाली
पुख्कुङकी – मैले उसलाई उठाएँ ।
पुख्कुङछेम – मैले उनीहरू दुई जनालाई उठाएँ ।
पुख्कुङछेम – मैले उनीहरूलाई उठाएँ ।
पुङनोम – मैले तिमीलाई उठाएँ ।
पुङनोछेम – मैले तिमी दुई जनालाई उठाएँ ।
पुङनोनेम – मैले तिमीहरूलाई उठाएँ । (८. पूर्ववत्, शर्मा, पृष्ठ १३१, १३२ ।)

उपर्युक्त उदाहरणमा पुख्कुङ्मी र पुख्कुङमेम क्रियापदले कर्ता र कारक दुवैलाई व्यक्त गरेका छन् । क्रियापदभित्रै सर्वनाम (म, ऊ र उनीहरू) पनि रहेको देखिन्छ । मैले मा ‘म’ (कर्ता) र उसलाई (कारक) को प्रयोग देखिँदैन केवल क्रियापदले सबै जनाएको छ । हायू भाषाको क्रिया शब्दको एकवचन र बहुवचन मात्र हुँदैन । द्विवचन पनि हुन्छ । तिब्बती–बर्मेली भाषामा यस्तो व्यवस्था प्रायः पाइँदैन । तामाङ भाषामा क्रियाले सङ्ख्याको कुनै सङ्केत दिँदैन ।

हायू जाति हिन्दुधर्म मान्ने हुँदा दसैँ, तिहारलगायत सबै चाडपर्व मान्छन् । यिनीहरू मुख्यतः कुलपूजा अर्थात् देवाली पूजा गर्दछन् । प्रायजसो जातिले देवाली पूजा बर्सेनि गर्दछन् । यद्यपि खर्चले धान्न नसक्ने हुनाले ४÷५ वर्षको अन्तरालमा देवाली मनाउँछन् । देवालीका लागि आवश्यक सामग्रीको जोहो गर्न पहिलेदेखि नै सजग हुन्छन् । (९. मेचीदेखि महाकाली, भाग २, सूचना विभाग, काठमाठौँ २०३१, पृष्ठ १७० ।)

तस्विर: युथ हायू

हायू जातिको कुलपूजा प्रत्येक वर्ष वैशाख पूर्णिमा गरिन्छ । यसलाई देउपूजा पनि भनिन्छ । आफ्नो कुलदेवताको साथसाथै स्थानीय देवीदेवतालाई बोका, पाठी, परेवा, कुखुरा आदिको बलि दिएर धूपबत्तीसहित गरिने यस पूजामा पुजारीले बोल्नु हँुदैन र सँुगुरको बलि पनि यस पर्वमा चल्दैन । देवताको रूपमा गहुँको पिठोको सोल्मा बनाइएको हुन्छ र यही सोल्मामा पर्ने गरी बलि दिएको बस्तुको रगतको सिर्का पारिन्छ । यसपछि धूप र साल धूप, बाटेको धूप वा गाईको नौनीको धूप हाल्दछन् र जग्गामा राखेको धनुमा यस दिन देउ बर्सेको मानिन्छ र पुजारी वा अरूलाई धनुद्वारा वाण हान्न लगाइन्छ । धनुमा ताँदो चढाई १० हातजति टाढा सालको रूखमा एउटा निसान बनाई हानिन्छ । धनुद्वारा वाण निसानमा नलागेसम्म दिनभर पनि वाण हानिन्छ । निसाना लागेपछि जाँड, पानी चढाइन्छ र उक्त पूजाका सामानलाई सफा र सुग्घर स्थानमा लगी सेलाइन्छ ।१० (१०. पूर्ववत्, दाहाल, पृष्ठ ३२३ ।)

हायू समाजमा भूतप्रेत रहेको विश्वास गर्छन् । मान्छे सुतेको बेलामा आत्मा घुम्न जान्छ । मान्छेको मृत्यु हुन गएमा उसको शरीर मात्र त्याग हुने तर आत्मा अमर रहन जान्छ र मृतात्मा नै प्रेत हो भन्ने ठान्छन् हायू जाति । तसर्थ मृतकको रीतअनुसार दाहसंस्कार गर्नुका साथै एक वर्ष दुःख बार्ने गर्छन् । उनीहरू बिरामी परेको बेला भूत लागेको सम्झन्छन् । तान्त्रिक विधिद्वारा झारफुक गरेमा निको हुने धारणा राख्दछन् ।

यस जातिले कुलदेवतालाई प्रमुख देवताको रूपमा लिन्छ । वनदेवी र अन्य देवीदेवताको पूजा गर्छन् । यिनीहरूले देवीको जात्रालाई प्रमुख चाडको रूपमा मनाउँछन् । त्यस बखत नाचगान, कीर्तन भजन गर्ने गर्छन् । गीतमा रावणले हारेको वर्णन गरिन्छ । ८/९ दिनसम्म मान्ने उक्त चाड फागुन र माघ महिनामा पर्दछ ।

यसमा मुख्य गायक गाउँका वयोवृद्ध हुन्छ । उसलाई गीतका सबै पङ्क्तिहरू राम्ररी सम्झना हुन्छ र पूजाआजाको तरिका पनि जानेको हुन्छ । यस बेला गाइने गीत रावणको मृत्युमाथि बिलौना गरिएको होइन । यो हायू जातिको इतिहास, उनीहरूको समुदायमा आएको उथलपुथल र ढोलको कथा हो ।

यस अवसरमा पूजा गरिने देवी पनि हायूका पुर्खासँगसँगै लङ्का पलङ्काबाट आएको विश्वास गर्दछन् । देवीलाई गाउँको मध्यभागमा एक काभ्रोको रूखमा धेरै घण्टी र त्रिशूलको साथमा स्थापना गरिएको हुन्छ । हायूहरूले सुँगुरको मासु खाने भए तापनि देवीमा कुनै भोग नचढ्ने भएकोले हायू गाउँमा सुँगुर पालिन्न । देवीपूजाको अवधिमा खुकुरी र दाप सबै लुकाएर राख्नुपर्छ, गाउँमा कसैले जुत्ता लगाउनु हुन्न । लौरो लिएर हिँड्न पनि हुन्न । देवीको खास बार मङ्गलबार मानिन्छ र प्रत्येक मङ्गलबार हायू पुजारीले देवीस्थानमा दूध चढाउँदछ । सो देवी हायूहरूको खास देवी मानिए तापनि त्यहाँ बनेको देवीस्थान अधिराज्यको अरू देवीथान जस्तै देखिन्छ ।

हायू जातिमा थर हुन्छन् । ती हुन्: जेफम् याकुकंको, सिन्नो, वालुङ र कमलेस्छो । प्रत्येक थरको आफ्नो कुलदेवता हुन्छ र उक्त थरमा पर्ने विभिन्न परिवारहरू मिलेर दसैँमा कुलघरमा पूजा गर्दछन् । सो अवसरमा मुलामी (जेठोपाको) ले रीत पु¥याएर पूजा गर्नुपर्छ । यिनीहरूको आफ्नो थरभित्र बिहेबारी चल्दैन ।११ (११. पूर्ववत्, मेचीदेखि महाकाली, पृष्ठ १६८ ।)

हायू जाति मनोरञ्जनमा औधी रमाउँछन् । आफ्नो गाउँठाउँमा हुने शुभ कार्यहरूमा नाचगान विशेष गरेर युवायुवतीहरू दोहोरी गीत गाएर रमाइलो गर्छन् । बूढापाकाहरू भने उखानटुक्का भनेर मनोरञ्जन दिने प्रयास गर्छन् । यसै समयमा युवायुवतीहरू जोडि मिलाउने पनि गर्दछन् ।

हायू जातिमा नौ दिनमा न्वारान गर्ने गरिन्छ भने बच्चाको नाम बुवाले राख्दछन् । विशेष त बच्चाको नाम जुन बारमा जन्मेको हो, त्यही बारको नामबाट राख्ने गर्छन् । सुत्केरी २० दिनसम्म बारिन्छ । सुत्केरीलाई कोही कसैले पनि छुँदैन । सुत्केरी घरको बाहिरी कोठामा राखिन्छ । यस्तो रीतलाई हेर्दा यिनीहरू अलि कट्टर देखिन्छन् । सुत्केरीलाई २० दिनमा गाईको गहुँत खुवाएर चोख्याइन्छ । बालक छ महिना भएपछि पास्नी गरिन्छ । अन्य जातिको भन्दा फरक ढङ्गले बच्चालाई भात खुवाउने साइत जुराइन्छ बुधबार र शुक्रबारका दिन जाँडरक्सी राखिन्छ । यदि जाँडरक्सी स्वादिलो भएमा साइत परेको मानिन्छ । बच्चालाई भात खुवाउने काम पहिले हजुरआमा र आमाबाट सुरु गरिन्छ । चाँदीको डबलले बच्चालाई भात खुवाइन्छ ।

त्यस्तै तीन वा पाँच वर्षमा बालकको व्रतबन्ध गरिन्छ । अन्य जातिको जस्तै बालकलाई गाईको गोठमा लगी पशु बाँध्ने डोरीले बाँधी मामाद्वारा केश काटिन्छ । काटिएको कपाल चेलीबेटीले सालको टपरीमा थापी अमलाको बोटमुनि सेलाइन्छ ।
व्रतबन्धमा मामाले दक्षिणास्वरूप केही रकमका साथमा लुगाफाटा दिइन्छ । व्रतबन्धमा इष्टमित्र घरगाउँलेलाई डाकी माछामासुका साथमा जाँडरक्सी खान दिइन्छ ।

चोरी, जारी, विधवा तथा प्रेमविवाह हुने गरे तापनि हायू जातिमा अन्य जातिको जस्तै मागीविवाह सर्वोपरि मान्दछन् । जब केटाको उमेर २० वर्षको हुन्छ तब विवाहका लागि उपयुक्त मानिन्छ । केटाको विवाह गर्न लायक छ कि छैन भनी मापन गर्न एक रोचक प्रसङ्ग रहेको छ । केटा र केटाको बुबा एकआपसमा भिड्दा यदि छोराले जितेको खण्डमा विवाहका लागि लायक ठानिन्छ । केटा पक्षबाट केटी माग्न जाँदा साथमा जाँडरक्सी साथमा लगिन्छ । केटी पक्षले पनि केटा पक्षबाट लगिएको जाँडरक्सीमा जाँडरक्सी मिसाइन्छ । उक्त जाँडरक्सी मीठो भएमा ग्रहदशा राम्रो भएको मानिन्छ भने जाँडरक्सी मीठो नभएमा ग्रहदशा बिग्रेको बुझ्छन् । जाँडरक्सी केटी पक्षले खाएमा विवाहको प्रस्ताव स्विकारेको मानिन्छ । विवाहको मिति तोक्न पुनः केटा पक्षले अर्को दिन जाँडरक्सीका साथै अन्य खानेकुरा लिएर गइन्छ । केटा पक्षले पर्याप्त मात्रामा सामान लिएर नआएमा विवाह गरेपछि एक वर्षसम्म ससुरालीमा बसेर काम गर्नुपर्दछ । दुलही लिन दुलाहासहित दलबलका साथमा जन्ती लगिन्छ । विवाहको कार्य ज्वाइँद्वारा गरिन्छ । बिनाजग्गे अक्षताले मात्र पर्साएर विवाह सम्पन्न गरिन्छ । रातभर जन्ती जाने दुलाहा पक्षका मान्छेहरूले जाँडरक्सी खाएर नाचगानमा व्यस्त हुन्छन् । बिहानीपख दाजुले दुलहीलाई पिठ्यूँमा बोकेर दुलाहाको घरसम्म पु¥याइदिन्छन् । दुलाहाको घरमा छरछिमेकी इष्टमित्रलाई निम्त्याएर विवाह भोज खान दिन्छन् । हायू जातिमा तामाङ जातिमा जस्तै फुपू चेला र मामा चेलाबीच बिहेबारी चल्छ ।

यस जातिका लागि विवाह सर्वोपरि मानिन्छ । विवाहको दिन दुलाहा पक्षबाट गाइने गीतलाई महŒवपूर्ण रूपमा लिइन्छ । भीमविक्रम थापाद्वारा लेखिएको विवाह गीत:

हा…..ई इबाहाङ चोको माइती राज लेह ते ब
हा…..ई ईवाहाङ् चोको कुटुम्बै विवाह पाँच के
बाह्रभाइ कुटुम्ब बाह्रभाइ माइती
हा…..ई ईबाहाङ् चोको माइती राजै
हा…..ई ईबाहाङ् चोको रिसीले चाको बुकुनी
माइती है राजै
ईबाहाङ् चो को पायी ही ई..ई पायी ई…ई
ईबाहाङ् चो को माना है । माङचो हो माना
ईबाहाङ चोको बिहाई पाँच के ।।

समयका परिवर्तनसँगसँगै यिनीहरूको वैवाहिक सम्बन्ध अन्य जातिहरूसँग हुन थालेको देखिन्छ । विशेष गरेर नेवार, क्षत्री, तामाङ, मगर, घर्ती आदि जातिसँग बिहेबारी पनि गरेका छन् । अन्य जातिसँग छुटफुट रूपमा मागीविवाह हुने गरेको र धेरैजसो विवाह चोरीविवाह हुने गरेको देखिन्छ ।

हायू जातिका परिवारका कुनै सदस्यको मृत्यु हुन गएमा तत्काल लासलाई घरको दलानमा ल्याइन्छ । मृतकको लुगाकपडा फुकाली गुप्ताङ्ग मात्र छोप्ने काम हुन्छ । लासलाई कात्रोले ढाकेर भित्तामा अड्याई राखिन्छ । लासलाई डोकोमा राखेर गाड्नका लागि चिहानतर्फ लगिन्छ । डोको सकभर मृतकको छोराले बोक्नुपर्दछ । यदि छोराले नसकेमा अर्थात् छोरा नभएमा जो किरिया बस्छ उसैले बोक्छ । चिहानमा लगेपछि खाल्टो खनी मृतकका साथमा मृतकले प्रयोग गरेका सामानहरू गाडिन्छ । चिहानको काम सकिएपछि मलामीहरू नुहाउँछन् ।

किरिया बस्नेलाई पँधेरामा लगी कपाल काटेर सेतो झुम्रो टाउकोमा र सेतो कपडा लगाइदिन्छन् । मलामीहरू घर फर्कंदा बाटोमा बयरको काँडालाई टेक्ने चलन छ । किरिया बसेको भोलिपल्टबाट किरियापुत्रीले आफँैले भात पकाएर खान्छन् तर नुन भने खाँदैनन्, त्यस दिन दाउरा बालेर रात कटाउँछन् । १३ दिनसम्म किरिया बसिन्छ । १३ दिनमा शुद्धि गरिन्छ । सोही दिनमा पुनः कपाल काट्ने र गहुँत खाने गरिन्छ । यसै दिन मलामीहरूलाई डाकी मासुका परिकारमा भोज खान दिइन्छ । यस जातिमा श्राद्ध गर्ने चलन छैन । तिहारको औँसीमा घरगाउँलेलाई डाकी भोज खान दिइन्छ । यस जातिका बारेमा अनुसन्धान गर्नेहरूको भनाइमा लासलाई बसाएर गाड्नेबाहेक सबै संस्कार हिन्दुधर्मसँग मिल्दोजुल्दो हुँदा हायूहरू हिन्दु नै हुन् भनेका छन् ।

निष्कर्ष

राज्यले हायू जातिलाई लोपोन्मुख जातिको सूचीमा सूचीकृत गरेको छ । वि.स.२०६४/०६५ सालदेखि यस जातिका वृद्धदेखि बालबालिकालाई मासिक रूपमा भत्ता पनि दिँदै आएको छ । आर्थिक स्थिति सुधारिँदै गएर होला अहिले यस जातिका बालबालिका पठनपाठनका लागि विद्यालय हुँदै उच्चशिक्षा हासिल गर्ने जमात पनि दिन–प्रतिदिन बढ्दै गएको छ । राज्यको प्रत्येक निकायमा आरक्षण कोटा निर्धारणले गर्दा निजामती, प्रहरी, सेना जस्ता पेसामा पढेलेखेका हायू जातिका युवा पुस्ता संलग्न रहेको भेटिएको छ । तसर्थ राज्यले हायू जातिको बाँच्न पाउने अधिकारलाई सुनिश्चितता गर्न सफल भएको सहजै अड्कल गर्न सकिन्छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top