२०८१, १४ बैशाख शुक्रबार

झापा जिल्लाको जागिरे अनुभव

उदय रानामगर     आश्विन २७ २०७७ १०:२२


udaya rana mager china trade ambassador nuwakot

मेरो बाल्यकाल देखि कै सपना थियो पूर्वी नेपाललाई नजिकबाट अनुभुत गर्ने । त्यहाँको प्राकृतिक छटाहरुसँग रमाउने । तर संयोग मिलिरहेको अवस्था थिएन । छोटो समयको घुमफिरबाट त्यहाँको आर्थिक, सामाजिक तथा साँस्कृतिक पाटाहरुलाई सजिलै अनुभुत गर्न सकिने कुरा भएन । त्यो अवसरको खोजिमा थिए म । संयोगवस मलाई नेपाल सरकारको निर्णय अनुसार झापा जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइयो । सोही अनुसार मिति २०७६ असाेज १ गते उक्त कार्यालयमा हाजिर हुन पुगें । यो अवधि निर्णय भएको मितिले झण्डै १८ दिनपछि थियो । विभिन्न संसय र कौतुहलताको साथ यो जिल्लाको प्रशासनिक बागडोर संहाल्न पुगेको ममा अलिकति डर अलिकति उत्साह र अलिकति कौतुहलता थिए । पूर्वतिरको जागिरे अनुभव पहिलो अनि सम्मानीय प्रधानमन्त्रि ज्यूको गृह जिल्ला स्वभाविक रुपमा मैले पाएको जिम्मेवारीलाई बढी नै गहरुङ्गो महशुस गरेको थिए । कार्य अनुभवको हिसावले यो जिल्ला मेरो लागि प्रमुख जिल्ला अधिकारीको रुपमा रहेर कार्य गरेको पाथौ जिल्लाको थियो । तथापि कौतुहलता र प्राप्त जिम्मेवारीको विचको सन्तुलन कायम कसरी गर्ने भन्ने विषयमा सोचमग्न थिए ।

इलाम जिल्लाको पहाडी भूभागको फेदैमा अवस्थित यो जिल्लालाई दुईतिरबाट भारतिय भूमीले घेरिएको तर समथर अन्नको भण्डार तथा पूर्वको नै आर्थिक केन्द्रको रुपमा अवस्थित रहेको कारण पहाडी भेगका जनतालार्ई यहा रहेको भौतिक सुविधाले चुम्वक झै तानिरहेको भान हुन्थ्यो । यो मात्र कहाँ हो र जिल्लामा रहेको शिक्षित जनता अनि केन्द्रिय राजनीतिमा प्रत्यक्ष रुपमा नेतृत्व सम्हादै आएका राजनीतिक नेतृत्वले गर्दा मेरो जिम्मेवारीलाई थप चूनौतीपूर्ण भएको थियो । जनसख्याको थैलीलाई हेर्दा प्रदेश नं १ को दोस्रो ठूलो जिल्लाको रुपमा रहेको छ । बसाई सराई गरी आउने जनसख्याको अवस्थालाई हेर्दा १० बर्ष अघिको जनसख्यामा झण्डै दोव्वर भएको सजिलै आकलन गर्न सकिन्छ ।

शसक्त प्रतिपक्ष भएको जिल्ला भएकै कारण राजनीतिक सन्तुलन कायम गर्ने कार्य मेरा लागि फलामे चिउरा झै थियो नै । यो अवस्थामा गरिने कार्यसम्पादनले मेरो क्षमताको जाचपट्ताल गरेको सजिलै अनुमान गर्न सकिन्थ्यो । तर पनि मेरो निजामती सेवाको २१ बर्षे अनुभव त्यसमा पनि अधिकांश समय मोफसलको कार्यसम्पादनको कारण यो चूनौतीको समानाको लागि काथर हुन दिएन ।

यस जिल्लाका प्रशासनिक बागडोर सम्हालेका पूर्व प्रशासकहरुको भनाइमा जिल्लाको प्रशासन सन्चालन सजिलो तर बुद्धीमत्तापूर्ण कार्यसम्पादनबाट मात्र सम्भव हुन्छ । सुरुवातीका दिनहरुमा मलाई ती पूर्व प्रशासकको अनुभवले बारम्वार सजक बनाई रहन्थ्यो । तर, जव सुरुवातीका ती दिनहरु जिल्लाका राजनीतिक तथा प्रशासनिक व्यक्ति अनि नागरिक समाज तथा सन्चारकर्मि मित्रहरुसंगको भेटघाट पश्चात मेरो संसयलाई चिर्न सफल भए । जिल्लामा राजनीतिक तथा सार्वजनिक सरोकारका विषयमा आएका समस्यालाई राजनीतिक दलहरुको छलफलबाट नै टुङगोमा पुग्ने संस्कारले प्रशासन सन्चालनमा ठूलो सहयोग मिलेको थियो । त्यसको साथै अन्य जिल्लामा प्रयोगमा नआएको संवाद समूहको गठनले झन विवाद निरुपणमा कानुनी भन्दा पनि व्यवहारिक ढंगबाट निप्टारा लगाउने प्रचलनले मेरो पूर्व संमसयलाई चिर्न सहयोग पुग्यो ।

झापा सीमा क्षेत्रको निरीक्षण
झापा सीमा क्षेत्रको निरीक्षण ।

विस्तारै जिल्लालाई आफ्नै अनुभुतिले आलकार गर्दै गए । करिव १५ दिनमा नै विगतका बुझाई र मेरा लागि बनाईका हाउगुजीका फिरिङगोलाई चिर्न सफल भए । यो जिल्लाको मेरो कार्य अनुभव करिव १ बर्ष जति रहयोे । यो अवधिमा केही सम्झना गर्न लायक घट्ना जसले मेरो कार्यअनुभवको खातामा थप बढोत्तरी गर्यो नै ।

जिल्ला प्रशासन कार्यालय झापामा रहेको पुस्तकालयमा अध्ययन गर्दै पुर्व जिल्ला अधिकारी ।

आश्विन देखि माघ महिनासम्म मेरो लागि कार्यअनुभवको हिसावले अलि सुखद रहयो । यो अवधिमा जिल्लामा शान्ति सुरक्षा तथा विपदको हिसावले त्यति चिन्ता गर्नुपर्ने अवस्था रहेन । शित लहरको छनक देखिएता पनि त्यसले खासै ठूलो हानी गरेन । तर जंगली हात्तिको कारण हुने अन्न वाली तथा मानविय क्षति यहाको लामो समय देखिको नै समस्या हो । यस्ता समस्याहरु यो अवधिमा पनि नआएको होइन । यो अवधिमा जिल्ला प्रशासनको गिरेको शाखलाई उकास्न विशेष गरी सुशासनको पक्षलाई केन्द्र भागमा राखि अगाडि बढीयो । सुशासनका लागि सुधारका केही प्रयासहरु यहि अवधिमा अगाडि बढाइयो । विशेषगरीः शान्ति सुरक्षाको पक्षमा हेर्दा अपराधको सख्या २० प्रतिशतले कमि ल्याउन सफल भएको छ । यो अवस्थाले शान्ति सुरक्षाको अवस्थामा सुधार भएको भन्न सकिन्छ । सुशासनका सवालमा सेवाग्राहीहरुको लागि शुद्ध पिउने पानीको सुविधा, सेवाग्राही प्रतिक्षालयमा टेलिभिजन, कार्यालयको वातावरण स्वच्छ राख्नका लागि सबै कर्मचारीहरु सहभागी भई प्रत्येक महिनाको अन्तिम शुक्रबार कार्यालय परिसर सरसफाइ गर्ने कार्यको थालनी गरियो । फ्री वाइफाई, प्रत्येक महिनाको पहिलो आइतबार सन्डे मिटिङ, सेवा प्रवाह पारदर्शी, प्रभावकारी, चुस्त दुरुस्त बनाउन २२ बुँदे प्रतिवद्दता, सेवा प्रवाह तथा सुशासन प्रवर्दनका लागि टोकन प्रणालीको सुरुवात गरिएको छ । कार्यालयको सौन्दर्यता अभिबृद्धिको लागि कार्यालय भवनभित्र बुद्धको प्रतिमा र कछुवा सहितको माछा पोखरीको स्थापना गरीयो । सेवा लिन आउने सेवाग्राहीलाई लक्षित गरी कार्यालय परिसरमा पुस्तकालयको स्थापना गरिएको छ । यो पुस्तकालयमा करिव २ लाख भन्दा बढी रकमको विभिन्न प्रशासनिक तथा कानुनी पुस्तकहरुको संग्रह गरिएको छ । जिल्लाभित्र रहेको सरकारी जग्गाहरुको लगत संकलन गरी अभिलेखीकरण गर्ने कार्य सम्पन्न गरिएको छ । बैकिङ प्रणालीबाट गर्न गराउन कार्यालय परिषरमा नै प्रभु बैकको शाखा स्थापना गराएको छ । विगत लामो समयदेखि रहदै आएको बेरुजूलाई ९९.६ प्रतिशत फर्छोड गरीएको छ । त्यसै गरी यस आ.वमा दर्ता भएको ९१ प्रतिशत मुद्धा फार्छोट गरि न्याय सम्पादनमा सुधार गरिएको छ । प्रत्येक चौमासिकमा उत्कृष्ठ कर्मचारी घोषणा गरी निजको फोटो प्रकाशित गर्ने प्रणालीको सुरुवात गरेको छ । कार्यालयका कर्मचारीहरुको कार्यसम्पादन मापन कार्यलाई बैज्ञानिक तथा मापनयोग्य बनाउनको लागि डायरी तयार गरी दैनिक कार्यको प्रमाणिकरण गर्ने प्रणालीको विकास गरिएको छ । कार्यालय परिसरभित्र सेवाग्राहीको लागि निःशुल्क चियाको व्यवस्था गरिएको छ । जनताको अभिमत मार्फत सेवा प्रवाहमा सुधार गर्नका लागि सफ्टवेयर जडान गरी त्यसको गुनासोको सम्वोधन गर्ने कार्यको सुरुवात भएकोछ । यो यसता कार्यबाट सेवा प्रवाहमा सुधार आएकोछ । यो कार्यले जनविश्वास प्राप्त हुन थालेकोले पहिलो ६ महिनाको अवधिलाई सामान्य रहेको अनुभुत गरियो ।

जिल्ला प्रशासन कार्यालय झापा ।

जिल्लामा रहदा केही प्रतिनिधिमुलक घट्नाहरु जसले मेरो कार्यअवधिलाई स्मरण गर्न बाध्य बनाउछ । यहाको मुख्य समस्याको रुपमा रहेको गाई गोरु तस्करी गरी सिमापारी पठाउन विशेष गरी यसै जिल्लाको नाका प्रयोग हुने गरको छ । विभिन्न जिल्लाबाट संकलित पशुहरुको निकाशीलाई निरुत्साहन गर्न कठिन नै भयो । यसको तस्करी कार्यमा सम्लग्नहरुको पक्षमा अलिकति राजनितिककर्मी समेतको इच्छाशक्तिसँगै मिसिएर आउदा कानुनी रसि समेत कतिपय अवस्थामा खुकुलो हुने अवस्था आयो । सन्तुलनका खातिर कानुनी रसिलाई खुकुलो बनाउनु पर्नेमा आफुलाई हिमाल सरी कानुनको कसिमा अटल र अडिक रही कार्य गरियो ।

तर फाल्गुणको अन्तिमदेखि देशमा कोभिटको सक्रमण बढेसंग गरिएको लकडाउनको कारण यो व्यवसाय लगायन सवै व्यवसाय र सिमामा हुने चोरी तस्करी बन्द प्राय भयो । लकडाउन पछिको अवधि पुरै कोभिडको व्यवस्थापनमा लागियो जसले गर्दा अन्य सुधारका क्षेत्रहरुमा धिमापन आयो । यो कोभिटको समयमा जिल्लाका १५ वटा पालिका र त्यसको जनप्रतिनिधि तथा प्रदेश तथा सघीय सांसदहरुको तदारुपकता अनि जिल्ला समन्वय समितिको प्रमुखको भूमिका सम्झना गर्न लायक रहयो । यो विसंम परिस्थितिमा सवैको साथ र सहयोगले कोभिडको महामारीलाई थप बढ्न दिइएन । सवैभन्दा महत्वपूर्ण पाटो भनेको प्रदेश सरकार त्यसमा पनि मूख्य मन्त्रि मा. शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्रि मा. हिक्मत कार्की र स्वाथ्यमन्त्रिको वित्तिय सहयोग र भौतिक उपस्थितिले हामीलाई हतोसायिक हुन दिइएन । साच्चै क्वारेन्टाइनको व्यवस्थापन मुलतः जिल्ला बाहिरको जनताको व्यवस्थापन कठिन भयो । केन्द्रिय सरकारको नीति र निर्देशन आउने तर स्रोत साधनसंगै नआउदा व्यवस्थापनको पाटो कठिन रहन गयो । यि र यस्ता व्यवस्थापकिय कठिनाईको विचमा कोभिटलाई समाजसम्म फैलिन दिइएन । जसले गर्दा कुनै समय प्रदेशको नै पहिलो सक्रमित सख्या भएको यो जिल्लालाई पछिल्लो समयमा नियन्त्रणको घेराभन्दा बाहिर जान दिइएन । यो मेरा लागि जीवनकै एक शिकाई र भोगाई रहयो । यो अनुभवले अन्य जिल्लाको कार्य सम्पादनमा समेत सहयोग पुग्छ भन्दै त्यो क्षणलाई एउटा शिकाइको रुपमा ग्रहण गरे ।

जिल्लाका जनप्रतिनिधि, सुरक्षा निकायको प्रमुखहरु, सामाजिक संघसस्था तथा दानविर उद्योगी तथा व्यापारी बर्गको सहयोगका कारण कोभिट सक्रमणलाई समुदायसम्म जान दिइएन । यो कार्यबाट आफूलाई केहीहदसम्म आत्मसन्तुष्टि मिलेको छ । यसबाट आफू पुरस्कृत नै भएको अनुभुत गरिको छु । हुनतः झापाको बसाई अवधि त्यति लामो नभएता पनि यो अवधि स्मरणीय रहन गयो । यो अवधिमा सम्पादीत कार्यमा यहाको जनप्रतिनिधि तथा राजनीतिक नेतृत्वको सहयोगी मन तथा मेलमिलावले मेरो जागिरको दौरानमा नौलो अनुभूति गरे । योे अवधिको बसाई, मिठा यादहरु, आत्मीय साथीहरु, धेरै सिकाई र अनुभूतिको संगालोको रुपमा यो जिल्लाको रहन गयो । सरुवा भैसकेको अवस्थामा झापा गाउपालिकामा घटेको एउटा घट्ना जसले मेरो समग्र १ बर्षको सुखद अवधिलाई नमिठोमा परिणत गरिदियो । अप्रत्यसित र तरकारीमा नमक राख्न विर्सिएर पछी राखे झै गरी यसलाई कानुनी दायरामा ल्याइयो । यसमा सवै राजनीतिक दलहरु र झापा गाउपालिकाको जनप्रतिनिधिको सहयोग अविश्मणिय रहयो । खैर यो घट्ना मेरो जिवनका लागि सदा नमिठो यादको रुपमा रहेको छ ।

समग्रमा जिल्लाको बसाई अवधिलाई यादगार नै रहयो । त्यसमा सहयोग गर्नु हुने मन्त्रीज्यूहरू, माननीय सासंदज्यूहरू, राजनीतिक दलका नेताज्यूहरू, स्थानीय सरकारका प्रमुख ज्यूहरू लगायतका सबै जनप्रतिनिधिहरू, कार्यालय प्रमुख साथीहरू, सुरक्षा निकायका प्रमुखज्यूहरू लगायत सबै सुरक्षाकर्मीहरू, कार्यालयका सबै कर्मचारी साथीहरू, सञ्चारकर्मी मित्रहरू, गैरसरकारी तथा निजी क्षेत्रका व्यक्तित्वहरू लगायत सम्पुर्ण झापा वासि दाजुभाइ तथा दिदीवहिनीमा हार्दिक धन्यवाद सहित आभार र ब्यक्त गर्न चाहन्छु । झापाको बसाई केही नमिठो घट्नालाई छाडेर सुखद रहयो । झापा र झापाली जनता प्रति आभारी तथा अनुग्रही छु ।

(हाल लेखक चीनको हङकङस्थित नेपाली महावाणिज्य दूतको रुपमा हुनुहुन्छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया



Top