२०८१, १५ बैशाख शनिबार

कृषिमा लकडाउनको प्रभाव

उदय राना मगर     असार ३ २०७७ १०:१८

udaya rana magar cdo jhapa dabali khabar nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विश्वको २१३ भन्दा बढी देशहरुमा कोभिड-१९ को सक्रमण फैलिरहेको छ । जसको कारण अधिकांश देशले आ–आफ्नो देशलाई लकडाउनको माध्यमद्वारा सुरक्षित गर्ने प्रयास गर्दै आएको छ । पछिल्लो दिनहरुमा दक्षिण एसियाको सवैभन्दा ठूलो जनसंख्या तथा अर्थतन्त्र भएको मुलुक भारतमा पनि कोभिड-१९ को संक्रमण देखिएको छ । यसको कारण देशव्यापी लकडाउनलाई बढाउदै लगेको छ । देशमा अत्यावश्यक सेवा बाहेक सबै व्यवसायहरू बन्द रहेको छ । लकडाउन बढाउदै जाँदा भारतमा आर्थिक संकट आउने विज्ञहरु बताउँछन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सहित विज्ञहरूले भनेका छन् कि भारत जस्ता देशहरूले लामो समयसम्म लकडाउन गर्दा गम्भीर आर्थिक संकटको सामना गर्नु पर्ने देखिन्छ । जसको फलस्वरूप, जनसंख्याको ठूलो हिस्सा भोक, कुपोषण, बेसहारा र अन्य समस्याहरूमा पर्न सक्दछ । यो कोभिट १९ को प्रभाव भन्दा बढी हानिकारक हुन सक्छ । यद्यपि परिस्थितिलाई सहज बनाउन केन्द्र र राज्य दुबै सरकारले खाद्यान्न उपलब्धता, आवश्यक, औषधि, आर्थिक सहयोग, कमजोर बर्गका लागि आश्रय दिने र आप्रवासी कामदारहरूमा सर्न सक्ने संक्रमणलाई न्यून गर्ने कार्य गर्दै आएको छ । एक अर्ब भन्दा बढी जनसंख्या रहेको भारतमा कोभिड-१९ को सक्रमण फैलदै जानु नेपालको लागि समेत चूनौती बनेको छ । खुल्ला बोर्डर भएकै कारण नेपालमा यसको प्रभाव बढी पर्ने देखिन्छ ।

कोभिड-१९ ले अर्थतन्त्रका सबै प्रमुख क्षेत्रहरुमा लकडाउने कारणले प्रभाव पार्ने भएता पनि खाद्या सुरक्षाको हिसावले बढी नै संकट पर्ने देखिन्छ । लकडाउनको अवधिमा खाद्य बजार खुला रहको भएता पनि, खाद्य मूल्य बढेको छ।

नेपालको अर्थतन्त्रमा बन्द अड्ताल नयाँ अनुभुतिजन्य विषय नभएता पनि सरकार आफैले गरेको लकडाउनको अनुभव भने नयाँ अभ्यास हो । यो अभ्यासले कृषिमा आधारित अर्थतन्त्र भएको नेपालमा समेत असर परेको छ । देशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान आ.व २०७५/७६ मा २७.४ प्रतिशत छ । कृषि बाहेक अन्य क्षेत्रहरु उद्योग, पर्यटन व्यवसाय र रेमिट्यान्सबाट राज्यकोषमा हुने योगदान पनि उल्लेख्य छ । यो क्षेत्रहरु समेत लकडाउनको कारणले गिरावट आउने हुदाँ कृषि क्षेत्रको उत्थान अति आवश्क भएकोछ । यस क्षेत्रमा कुलजनसंख्याको ६०.४ प्रतिशत जनता आश्रित छ । तर देशमा अहिले पनि खाद्यान्न उत्पादनमा पर्याप्त छैन । यो कुरालाई विश्व भोकमरी सूचाकांकमा नेपाल ७२ औ स्थानमा रही आएबाट पुष्टि हुन्छ । कृषि मन्त्रालयका अनुसार अझै पनि ७७ जिल्लाहरु मध्ये ३३ जिल्लामा खाद्यान्न नपुग्ने गरेकोे अवस्था छ । यो अवस्थामा नेपालमा गरिएको लकडाउनले बामेसर्दै गरेको अर्थतन्त्र फेरी पनि धारासायी हुने संकेत देखिन्छ । खाद्यान्नको अभावलाई झनै प्रभावित पार्ने निश्च्ति प्राय छ । युनाइटेड नेशन्स वर्ल्ड फूड प्रोग्राम (डब्ल्यूएफपी) ले नेपालमा खाद्यान्न सुरक्षाको सर्वेक्षणमा भनेका छन् कि खाद्यन्न मनसूनसम्म यथेष्ट भण्डार रहे पनि गहुँ र अन्य हिउदे बालीको फसलमा उल्लेखनीय कटौती हुने अनुमान छ । “कोभिड-१९ ले अर्थतन्त्रका सबै प्रमुख क्षेत्रहरुमा लकडाउने कारणले प्रभाव पार्ने भएता पनि खाद्या सुरक्षाको हिसावले बढी नै संकट पर्ने देखिन्छ । लकडाउनको अवधिमा खाद्य बजार खुला रहको भएता पनि, खाद्य मूल्य बढेको छ” तरकारीहरू लकडाउन अघि भन्दा दुई गुणा बेढेको देखिन्छ । दुग्ध र कुखुरा उत्पादनले पनि बजार र वितरणको समस्या झेल्दै आएकोछ ।

डब्ल्यूएफपीका अनुसार बजारमा खाद्यान्नका आपूर्तिहरू वर्तमा समयमा त पर्याप्त छ यद्यपि यो स्थिति एक महिना पछाडिसम्म जारी रह्यो भने, पछि अन्न र दालको बजारमा गिरावट हुन्छ । खासगरी दुर्गम बजारमा प्रमुख खाद्यान्नहरुको मूल्यलाई अझ बढी धक्का दिन सक्दछ त्यसकारण सरकारी हस्तक्षेप गरिएन भने ग्रामिण जनजिवन थप कष्टप्रद हुने निश्चित छ । कृषिमा श्रमको अभाव एकातिर छ भने अर्कातर्फ कृषि तर्फ यूवाको रुची छैन । श्रम र मेसिनरीको सीमित उपलब्धताले एकीकृत फसल व्यवस्थापनमा बाधा पुग्दै आएको छ । बजारमा कृषिजन्य उत्पादनका सामानहरु पर्याप्त रुपमा नपाउदा मूल्य पनि बढ्न थालेको छ । खाद्य सामाग्रीको अभाव बढ्दै जाने र वितरण प्रणाली प्रभावित भई पहुचवालाले महगो मूल्य हालेर पनि सामान खरिद गरी भण्डारण गर्ने गर्दा खाद्यन्न सचितिमा असर पर्ने तर्फ सम्वद्ध निकाय सचेत रहुनु पर्छ । बजारमा खाद्यान्नको संचिति बजारको माग अनुरुप छैन । खाद्य व्यवस्थापन र ट्रेडिंग कम्पनी (एफएमटीसी) का अनुसार नेपालमा खाद्यान्न भण्डार तीन महिनाको लागि पुग्ने छ, । यो लगभग १०,००० मेट्रिक टन खरिद गरी लगभग २,००,००० मेट्रिक टन खाद्यान्न भण्डार रहेको बताएको छ । यो लकडाउन बढ्दै जादा यो स्टकले धान्ने अवस्था रहदैन ।

नेपालमा हिउँदमा हुने वर्षातको कारणले गर्दा गहुँको उत्पादन राम्रो हुने थियो तर फसलको समयमा लकडाउनको कारण किसानको निदहराव भएको अवस्था छ । यदि लकडाउन जारी रह्यो भने यसले धान रोप्ने मौसमलाई असर पार्ने र सन् २०२० मा खाद्य सुरक्षामा गम्भीर असर पर्न सक्ने देखिन्छ । भारतले धान निर्यात रोकेको अवस्था छ, । भारतमा पनि लकडाउन छ, र त्यहाँका कृषकहरूले पनि हिउदे बाली, फलफूल, तरकारीहरू र अन्य बाली लगाउनका लागि समस्याहरू सामना गर्नुपरेकै कारण भारतमा पनि धानको उत्पादन घट्ने निश्चित छ । यस्तो अवस्थामा बैदेशिक रोजगारीबाट फर्केका नेपालीहरुलाई यस क्षेत्रमा आकर्षण गरी कृषि उत्पादन बढाउनु पर्छ । तर यो कार्य सजिलो भने छैन किनकी नेपालमा कृषिलाई हेलाको पेशाको रुपमा हेरिने गरेको छ भने अर्कातर्फ यसलाई व्यवसायिकरण र यान्त्रिकरण गर्न सकिएको छैन । यस्तो अवस्थामा कृषि उत्पादन बढाई खाद्यान्नमा आत्मानिर्भर बनाउने कार्य चूनौतीपूर्ण छ ।

कृषकले आफ्नो उत्पादनको लागि मूल्य नपाएको तर उपभोक्ताहरूले प्राय बढी तिर्नुपरिरहेको अवस्था छ ।

लकडाउनले कृषि र आपूर्ति श्रृंखलामा केहि गतिविधिहरू अवरूद्ध गरेको छ भन्ने कुरा केही प्रारम्भिक रिपोर्टहरूले देखाएको छ । श्रमिकको अभावले खाद्यान्न बाली भित्र्याउने कार्यमा बाधा पुगेको छ । विशेष गरी तराई क्षेत्रमा जहाँ गहुँ र मकै काटेर भित्र्याउन पाएको छैन । यातायातमा आएको समस्या र अन्य मुद्दाहरूको कारण आपूर्ति श्रृंखलामा अवरोधहरू छन् । कृषकले आफ्नो उत्पादनको लागि मूल्य नपाएको तर उपभोक्ताहरूले प्राय बढी तिर्नुपरिरहेको अवस्था छ । मिडिया रिपोर्टहरूले देखाएनुसार लकडाउनको क्रममा होटेल, रेस्टुरेन्ट, मिठाई पसल, र चिया पसलहरू बन्द हुँदा दुध बिक्रीमा कमि भएको छ । यसैबीच, कुखुरा तथा पशुपालक किसानहरु समेत लकडाउनको कारण नराम्ररी प्रभावित भएको अवस्था छ ।

लकडाउनको कारणले कृषि क्षेत्रमा सिर्जना गरेको असहजतालाई सुचारु गर्नका लागि केही उपायहरू तत्काल संचालन गर्नु आवश्यक छ । सरकारले लकडाउनमा पनि खाद्यान्न आपुर्ति व्यवस्थालाई खुल्ला गर्ने भनेकै कारण तत्कालमा बजारमा हाहाकारको अवस्था भने छैन । तर बजारमा भारतबाट खाद्यान्न नआउने र नेपालमा श्रम अभाव तथा उपलव्धतामा आएको गिरावट, ढुवानीमा आएको सिमितताका कारण बजार मूल्यहरु बढीरहेको छ । यसलाई नियन्त्रण गर्नका लागि अनुगमनको कार्यलाई प्रभावकारी बनाई कालाबजारीको धन्धा चलाउने उपर निर्मम रुपमा अघि बढ्न आवश्यक छ ।

आपूर्ति श्रंखलालाई व्यवस्थित बनाई राख्नु खाद्य सुरक्षाको लागि महत्वपूर्ण हुन्छ । सन् १९८३ मा बंगालको अनिकालमा २ देखि ३ मिलियन मानिसहरुको मृत्यु खाना आपूर्तिको अवरोधका कारणले भएको थियो, खाद्यान्नकोे अभावले होइन । त्यसकारण देशमा खाद्यान्नको उपलव्धता भएता पनि सवै क्षेत्रमा सहज रुपमा ढुवानी गर्न नसक्दा मुल्यबृद्धिका साथै सहज पहुच छैन । त्यसकारण पनि वितरण प्रणालीलाई नियमित गर्ने तर्फ ध्यान दिनु पर्छ । किसानलाई यो भाइरासबाट सुरक्षित राख्नका लागि सम्भव भएसम्म मापदण्डको पालना गराउदै कृषि कार्यमा सरिक गराइनु पर्दछ । किसानहरूको उत्पादनलाई सहज रुपमा बजारसम्म पहुँच पुर्याउनुपर्छ । कृषकहरूलाई राहत दिन पर्याप्त लचकता दिनुका साथै सरकारको सहयोगमा किसानको उत्पादनलाई शित भण्डारणमा सुरक्षित राख्ने प्रावधान मिलाउनु पर्छ । किसानहरूलाई भविष्यको उपभोग र बजारका लागि अतिरिक्त उत्पादनहरूको प्रशोधनका बारेमा सचेत गराउनुपर्दछ । साना पूजिबाट चलेका साना किसानहरुलाई सरकारी भरथेक भएन भने उनीहरु अहिलेको माहामारीकै कारण यो पेशाबाट पलायन हुन सक्दछ । किसानलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रममा समावेश गरिनुपर्छ । लकडाउनका उपायहरु बढ्दै जाँदा, ई कमर्सको प्रचलन बढेर आएको छ । यसलाई निरन्तरता दिई किसानको उत्पादनलाई होम डेलिभरीको माध्यमद्धारा घरघरमा पुरयाउदै कृषि उपजलाई बजारको पहुचमा पुरयाउनुपर्छ । सरकारले निर्यात प्रोत्सान गरी र आयात प्रतिस्थापना गर्न पनि कृषिको उत्पादन बढाउन आवश्यक छ । त्यसको लागि पनि किसान र उनीहरुको उत्पादनलाई सुरक्षित गर्नु पर्छ ।

प्रारम्भिक प्रतिवेदन अनुसार करिव ३० लाख नेपाली वैदेशिक रोजगारीमा गएका र उनीहरु स्वदेश फर्किन सक्ने आँकलन भइरहेको अवस्थामा खाद्यान्नको माग अझै बढ्न जाने हुन्छ । यहि यथार्तलाई मध्यनजर राख्दा सरकारले यसको लागि योजना बनाई अघि बढ्नुपर्ने देखिन्छ । खाली जमिन राख्ने जमिन धनीलाई जरिवान गर्ने नीतिलाई कडाइको साथ कार्यान्वयन गरिनु पर्छ । आ.व २०७७।७८ को बजेट आउदै गरेको अवस्थामा कृषि क्षेत्रलाई अग्रपंतिमा राखेर नीति तथा कार्यक्रम ल्याई बजेटको माध्यमद्वारा कृषि पूर्वाधारका कार्यक्रम समेत संचालन गरिनुपर्दछ । यसको साथै लकडाउनलाई चूनौती भन्दा पनि अवसरको रुपमा लिई शहर तथा बैदेशिक रोजगारीबाट फर्केका यूवा जनशक्तिलाई कृषि क्षेत्रमा अधिकतम प्रयोग गर्ने नीति तथा कार्यक्रम संचालन गरिनुपर्छ । यसो भएको खण्डमा कृषि क्षेत्रको माध्यमद्वारा नेपालको अर्थतन्त्रलाई सम्वृद्ध बनाउन सकिन्छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top