२०८१, १४ बैशाख शुक्रबार

लकडाउन! मुस्लिम समुदाय, रमजान र तब्लिगी जमात

डबली खबर     बैशाख १० २०७७ १२:२६

namaj masjid trishuli nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

Mohd Zaya-मोहम्मद जेया

विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर अहिलेसम्म एक लाख ७७ हजारभन्दा बढीले ज्यान गुमाइसके। संक्रमणको जोखिमको डरले नेपालमा पनि विगत २९ औं दिनदेखि लकडाउन गरिएको छ ।

कोरोनाभाइरसको महामारीसँग यतिबेला विश्व लडिरहेको छ । नेपालले पनि सामना गर्दैछ । यस भाइरसको अहिलेसम्म कुनै औषधि पत्ता लाग्न सकेको छैन । शक्तिशालि राष्ट्र अमेरिका, चीन लगायतका देशहरु यसको विरुद्धको औषधि विकासको लागि अनुसन्धानमै लागिरहेको छ । नेपाल सरकारले कोरोना संक्रमण फैलिन नदिन देशलाई चैत्र ११ गतेदेखि लकडाउन गरेको थियो । सरकारबाट जारी भएको लकडाउनको समयमा पनि दैनिक गुजारा चलाउन गाह्रो भएपछि शहर तथा कर्मथलोमा बस्दै आइरहेका मानिसहरु पैदल नै हिँडी घर फर्किरहेका छन् । लकडाउनको समयमा अत्यावश्यक सामाग्री बाहेकका सवारीसाधन चलाउन रोक लगाएको छ । सरकारले यो समयमा मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरुमा भिडभाड नगर्न र सार्वजनिक स्थलहरुमा नबस्न निर्देशन गरेको छ । सबभन्दा पहिले त सम्पूर्ण जनताले लकडाउनको पालना गर्नुपर्छ । अर्को कुरा सबैले भौतिक दुरीलाई कायम गरी सामाजिक सहयोगी भावलाई बढावालाई निरन्तरता दिनुपर्छ । सकेसम्म अत्यावश्यक काम नपरी घरमै बस्नु नै कोरोनाको मुख्य उपचार हो ।

धार्मिक, सांस्कृतिक, सामाजिक कार्यहरुमा मठमन्दिर, मस्जिद, गुम्बा, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरुको भेला नगर्न नेपाल सरकारको निर्णय अनुसार मुस्लिम आयोगले चैत्र ७ गते सूचना जारी गर्दै मुस्लिम समुदायले नियमित रुपमा पढिने नमाज र शुक्रबारका दिन पढिने जम्माको नमाज सकेसम्म घर वा जहाँ बसेको त्यहिँ बसेर पढ्ने र मस्जिदमा सकेसम्म ५ जनाभन्दा कम उपस्थितिमा पढ्ने पढाउने, मदरसाहहरुमा पठनपाठन बन्द गराउने र अति आवश्यक नभई कुनै पनि किसिमका कार्यक्रम सहभागी नहुन आफ्ना समुदायका नागरिकलाई अनुरोध गरेको थियो । सरकारले लागु गरेको चैत्र ११ गतेदेखि जारी गरेको लकडाउनलाई मध्यनजर गर्दै नुवाकोटमा पनि मुस्लिम समुदायका नागरिकलाई पनि जिल्लास्थितका त्रिशुली, बट्टार र देवीघाटमा रहेका मस्जिदबाट पनि सोहिअनुसार नियमन मान्न र घरमै नमाज पढ्न र पढाउन सूचना जारी गरिएको त्रिशुली मस्जिदका धर्म गुरु अब्दुल वाहब इमामले जानकारी दिएका थिए । विदुर नगरपालिकाको पहलमा त्रिशुलीमा ६३ र बट्टारमा १८ जनाको र्‍यापिड डाइनोस्टिक टेस्ट (आरडीटी) विधिमार्फत चेकजाँच गरिएको विदुर नपा-१ को कार्यालयको तथ्यांकले देखाएको छ। आरडीटी चेकजाँचबाट सबै जनाको निगेटिभ आएको थियो ।

मुसलमानहरु कोरोना संक्रमण बढेसँगै घरमै बसेर नमाज पढ्दै आईरहेका छन् । मस्जिदमा भने धर्म गुरु र दुई जनाको उपस्थितीमा नमाज पढ्ने गरेको छ  । हरेक दिन नमाज पढ्नका लागि मुसलमान मस्जिदमा आउने गरे पनि लकडाउनको निषेधाज्ञाको कारणले पूर्ण रुपमा बन्द रहेको गरिएका छन् । नुवाकोटबाट कोही पनि मुलसमान बाहिर देश नगएकाले संक्रमणको त्रास नभएको स्थानीय करिम अन्सारीले जिकिर गरेका छन् भने जिल्लामा अहिले कुनै पनि तब्लिगी जमात रहेको छैन।

त्रिशूलीमा दुई सय पचास वर्ष अघिदेखि बसोबास गरिरहेका मुसलमानहरु व्यापार व्यवसायका सिलसिलामा नुवाकोट जिल्लाका देवीघाट, छहरे, वेत्रावती, सामरी, आप्रँह र चोकदे र रसुवा जिल्लालगायत क्षेत्रमा छरिएर रहेका मुसलमानहरु अहिले करिब तीन सय जना रहेको छ भने ३५ घर गृहस्थी रहेको आँकलन रहेको छ। मुसलमान समुदायका मानिसहरु प्राय: सबै व्यापारी क्षेत्रमा लागेका छन्। सबभन्दा बढी कस्मेटिक र कपडा पसल गरी जीविकोपार्जन गर्दै आईरहेका छन्। त्रिशुलीमा एक विद्यालय रहेको छ।

उदयपुर र पर्साको मस्जिदमा रहेका जमातीमा कोरोनाभाइरस पोजिटिभ देखिएपछि मुस्लिम समुदायका व्यक्तिहरुमाथि प्रश्‍न उठाइएको थियो । विभिन्न मस्जिदहरूमा बसेका मुस्लिम समुदायका अन्य व्यक्तिहरुमा कोरानाको संक्रमण देखिएसँगै विभिन्न खाले टीकाटिप्पणी हुन थालेपछि राष्ट्रिय मुस्लिम आयोगले सर्वपक्षीय बैठक डाकेको थियो । आयोगले मुस्लिम सांसद, अगुवा, सबै राजनीतिक दलमा आबद्ध मुस्लिम संगठनका नेता, जमातिका पदाधिकारीलाई बोलाएर छलफल गरिरहेको थियो । आयोगले मस्जिद र मदरसामा जमातीहरु लुकेर नबसेको प्रस्ट पारेको थियो भने मुलुक कोभिड-१९ संक्रमणको जोखिमसँग लडिरहेका बेला विभिन्न मुद्दा बनाएर जातीय द्वन्‍द्व फैलाउने काम हुन लागेको भन्दै आयोगले आपत्ति जनाएको थियो । यस्तै नेपालमा रहेका जमातीहरुका अगुवालाई दुई दिनभित्र स्वदेशी तथा विदेशी जमातीहरुको विवरण आयोगमा बुझाउनका लागि निर्देशन दिइएको थियो भने सर्वपक्षीय छलफलले कुनै पनि मस्जिद र मदरसाहरुमा जमाती नलुकेको तर १०० जमाती लकडाउनले गर्दा विभिन्नस्थानमा रहेको निष्कर्ष निकालेको थियो ।

सामाजिक सञ्जाल, विभिन्न सञ्‍चारमाध्यममा नेपालमा कोरोना फैलाएको भन्दै मुस्लिम समूदायमाथि व्यापक आरोप लगाउँदै देशभरका मुसलमान समुदायका नागरिकहरुको र्‍यापिड डाइनोस्टिक टेस्ट (आरडीटी) विधिमार्फत चेकजाँच गर्नुपर्ने माग उठेको थियो । सत्यतथ्य नबुझी मिथ्या आरोपहरुको भरमा एउटा समुदायमाथि आरोप लगाउँदा साम्प्रदायिक सद्‍भाव खलबलिने अवस्था आउने आयोगले जनाएको थियो । मुस्लिम समुदायकोे महान् पर्व रमजान पनि नजिकिदै छ। त्यसबेला नमाज पढ्ने ठाउँहरुमा भीडभाड हुन नदिनका लागि आयोगले अपिल गरेको छ ।

साँझ सूर्य अस्ताएपछि सो व्रत तोड्ने अर्थात् इफ्तयार गर्ने र रमजानका अवसरका नमाज पढ्नुका साथै गरिव गुरुबालाई आफ्नो सम्पत्तिको केही हिस्सा दान गर्ने भएकाले पनि रमजानको महिनालाई दान धर्मको महिनाका रूपमा पनि मुस्लिम समुदायले लिने गरिएको छ । एक महिनासम्म रोजा बसेर महिनाको अन्तिम दिनको अघिल्लो दिन चन्द्रमा हेरेर स्थानीय इदगाहमा पुगेर सामूहिक नमाज पढेर इद मनाउने चलन रहेको छ । रमजान पर्वको अवधिभर मुस्लिम समुदायमा झुटो नबोल्ने, झैझगडा नगर्ने विश्वास रहेको छ ।

स्वास्थ्यकर्मीका अनुसार यो रोग कुनै जातीय, समुदाय हेरेर सर्ने तथा संक्रमण हुने होइन कोरोनाभाइरस मानवबाट मानवमा श्वासप्रश्वासको माध्यमबाट सर्नेछ । जसले गर्दा भौतिक दुरी कायम गरी सङ्क्रमणबाट जोगिन वा संक्रमितहुनबाट जोगिन विश्व स्वास्थ्य संगठनले जारी गरेको सुरक्षित स्वास्थ्यको सावधानी अपनाउनुपर्ने भनिएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुले अग्रभागमा रहेर महत्वपूर्ण कोरोना संक्रमण नियन्त्रण गर्न महत्व भूमिका खेलिरहेका छन् । आम नागरिकले पनि सरकारले निर्देशन गरेको लकडाउनको पालना गरी घरमा बसी आफु र अरुलाई बचाउनु पर्छ । कोरोना भाइरसले विश्वलाई आतंकित बनाएको छ। कोरोनाविरुद्धको लडाइँ लड्न हामी पनि कुनै जात, धर्म, लिङ्ग नछुट्याई सबै एकजुट भएर लडौं ।

 


 

तब्लिगी जमातको इतिहास

तब्लिगी जमातको स्थापना सन् १९२६ मा भएको हो। सामान्यतया तब्लिकको अर्थ धर्मको प्रचार हो भने जमातको अर्थ समूह। यसको स्थापना भारतको हालको दिल्ली नजिकै भएको मानिन्छ। तब्लिगी जमातका संस्थापक हुन् मौलाना मोहम्मद इलियास। उनी भारतीय नागरिक हुन्। तब्लिगी जमातको पहिलो सम्मेलन सन् १९४१ मा भारतमै भएको थियो। उक्त सम्मेलनमा २५ हजार मुसलमान सहभागी थिए। सन् १९४० को दशकसम्म तब्लिगी जमातको समूह भारतमा मात्र सीमित थियो।

पहिलो सम्मेलनपछि यसको विस्तार सुरु भएको देखिन्छ। भारतबाट पाकिस्तान, बंगलादेश, अफगानिस्तानलगायतका दक्षिण एसियाली मुलुक हुँदै यो समूह एसिया, युरोप, अमेरिका र अफ्रिकी मुलुकहरुमा पुगेको हो। अहिले विश्वका करिब १५० देशमा यो समूह छ। तब्लिगी जमात विश्वमै ठूलो संस्था (समूह) का रुपमा परिचित छ। नेपालमा पनि यो समूह करिब ६० को दशकदेखि सक्रिय छ। यो विशुद्ध आस्थावानहरुको समूह हो। इस्लाम भित्रकै एउटा समूह हो जो इस्लामका तौर–तरिकालाई स्थापित गर्न र समाजलाई गलत बाटोमा जान नदिन तल्लिन छ।तब्लिगी जमातले हरेक वर्ष ठूला सम्मेलन आयोजना गर्छन्, जसलाई भनिन्छ इज्तिमा। दक्षिण एसियाली मुलुकसहित विश्वका विभिन्न विकसित र विकासोन्मुख देशहरुमा पनि यस्तो सम्मेलन वर्षमा धेरैपटक आयोजना हुन्छन्। यसपटक नेपालको सप्तरी, बोदेबर्साइन गाउँपालिकाकाको जाँजरमा पनि यस्तो सम्मेलन भएको थियो फागुन पहिलो साता। उक्त सम्मेलनमा पाकिस्तान, मलेसिया, इण्डोनेशिया, सिंगापुर, थाइल्याण्ड, भारतलगायतका मुलुकबाट तब्लिगी जमात सहभागी थिए। नेपालबाट पनि धेरै जिल्लाका मुसलमान सहभागी थिए। यस्तो सम्मेलनमा पनि इस्लामका आस्था र उसका तौर तरिकाबारे बहस हुन्छ।

उद्देश्य के हो?

तब्लिगी जमातको प्रमुख उद्देश्य इस्लाम धर्मालम्बीहरुबीच इस्लामको सही शिक्षा विस्तार र आस्थालाई पुनर्जीवन गर्नु हो। जो जन्मजात मुसलमान छन् वा जसले इस्लाम कबुल गरेको छ, उनीहरुलाई इस्लामका तौरतरिका अलवम्बन गराउनु उनीहरुको ध्येय हुन्छ। उनीहरुको चाहना हुन्छ, सबै मुसलमानले इस्लामिक विधिअनुसार जीवनयापन गरुन्। इस्लामका प्रवर्तक मोहम्मदकै बाटो अबलम्बन गरुन्, गलत बाटो नअपनाउन्। त्यसका लागि उनीहरु उपदेश दिन्छन्। गलत बाटोमा हिँडेको छ भने उसलाई प्रेमपूर्वक धार्मिक लइनमा ल्याउन भरमगदुर कोसिस गर्छन्।

तब्लिगी जमातले घर छाडेर टाढा टाढासम्म यात्रा गर्छन्। त्यस्तो यात्रामा ३ वा ५ जनादेखि माथिको समूह हुन्छ। उनीहरु ३ दिन, ४० दिन, ४ महिना, ७ महिना र एक वर्षको यात्रा तय गर्छन्। तोकिएका दिन पूरा गर्नुलाई ‘चिल्ला’ पूरा गर्नु भनिन्छ। त्यस्तो यात्रामा सबै खर्च स्वयंले बेहोर्छन्। कतिपयले खाना पकाउने भाँडाकुडादेखि ग्यास चुलो, ओढ्ने ओछ्याउनेसमेत आ-आफ्ना देशबाटै बोक्छन्। यात्राअवधिभर उनीहरुको बसाई मस्जिदभित्रै हुन्छ।

कहाँबाट आउँछन्?

जानकारहरुका अनुसार नेपालमा धेरैजसो तब्लिगी जमात पाकिस्तानबाट आउँछन्। पाकिस्तानमा तब्लिगी जमातप्रति आस्था राख्नेहरुको समूह ठूलो छ। त्यहाँबाट युवादेखि वृद्धसम्मै तब्लीगमा हिँड्ने प्रचलन छ। विभिन्न पेशाकर्मी र सरकारी कर्मचारीलेसमेत विदा लिएर यात्रा तय गरेका हुन्छन्। पाकिस्तानबाहेक भारत, बंगलादेश, इण्डोनेसिया, मलेसिया, सिंगापुर, थाइल्याण्डलगायतका देशबाट पनि तब्लिगी जमात नेपाल आउँछन्। नेपालका मुसलमानहरु पनि भारत, पाकिस्तान, बंगलादेशलगायतका मुलुकमा तब्लिगमा जाने गरेको देखिन्छ।

धेरैभन्दा धेरै मान्छेले उपदेश सुनुन् भन्नेमात्र होइन, धेरैले तब्लिग यात्राका लागि समय निकालोस् भन्ने पनि तब्लिगी जमातहरुको आकांक्षा हुन्छ। त्यसका लागि कुनै ठाउँको मस्जिद वा बस्तीमा एकपटक गरिएको दावत (आह्वान वा निमन्त्रणा) पर्याप्त नहुने भएकाले तब्लिगी जमातको यात्रा निरन्तर चलिरहन्छ। निश्चित विषयवस्तुमा मात्र एकोहोरो केन्द्रित भइराख्ने भएकाले तब्लिगीहरुले कतिपय देशमा ‘धार्मिक भेडा’को संज्ञा पनि पाएका छन्।

सन्दर्भ:

  1. विकिपीडिया
  2. को हुन् तब्लिगी जमात ?

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top