२०८१, १४ बैशाख शुक्रबार

सबैको भगवान्: गोसाइँकुण्ड भगवान्

    श्रावण २४ २०७६ २०:११

phurpa tamang
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

फुर्पा तामाङ

जसलाई गोसाइँकुण्डको शक्तिबारे थाहा छैन, उसलाई यो भनाइ अनौठो, अमिल्दो र अपत्यार लाग्दो हुन सक्छ । तर, जसलाई परेको छ, उसले यो कुरा साँच्चै हो रहेछ भन्ने लाग्छ । किनभने धर्म, धार्मिक र आध्यात्मिक कुरा कुनै तर्कले होइन विश्वास र आस्थाले मात्र अनुभूति गर्न सकिने विषय हो । न यो वादविवादको विषय बनाउन मिल्छ । जब धर्मलाई वादविवादको विषय बनाइन्छ, तब त्यहाँ शान्ति हुँदैन । झगडाको बिउ रोप्ने काम मात्र हुन्छ ।

हो, संसारमा धेरै मानिसहरू आस्तिक छन् र नास्तिक पनि छन् । आस्तिक पनि एउटै छैनन् । धेरै धर्महरू छन् । यसका फरकफरक अनुयायीहरू छन् । यसकारण गोसाइँकुण्ड भगवान्प्रतिको आस्था, विश्वास र सम्मान गर्नेहरू पनि फरक–फरक धर्मका अनुयायीहरू छन् । हुन्छन् ।

हिन्दुहरूका अनुसार यो कुण्डमा वर्षको दुईपटक पूजाका लागि मेला लाग्ने गर्छ । ती हुन्– गंगा दशहरा र जनैपूर्णिमा । धेरै टाढाबाट भक्तजनहरू आउँछन् । यो क्रम धेरै पुरानोदेखि हो । थरीथरीका भक्तजनहरू देख्न सकिन्छ । भाग खानेदेखि शुद्ध शाकाहारी देख्न सकिन्छ । लट्टाधारी जोगीदेखि घरदेखि नाङ्गो खुट्टाले हिँडेर आउने पनि हुन्छन् । यी भक्तजनहरू गोसाइँकुण्ड भगवान्प्रतिको आस्थाले आएका हुन् । उनीहरूको जीवनकालमा भगवान् गोसाइँकुण्डको अनुकम्पाले काम गरेका हुन्छन् ।

कुरा हिन्दूको मात्र होइन । कुरा बौद्ध र बोन (बोन्पो/झाँक्री) धर्मका अनुयायीहरू विशेषगरी तामाङ जातिले यो कुण्डलाई असाध्यै मान्दछन् । उनीहरूको श्रद्धा र भक्ति कुण्डलाई आफ्नो महान् देवता र पितृहरूसँग जोडेर हेर्दछन् । उनीहरू जनैपूर्णिमाको बेला पूजा गर्न जान्छन् । बोन्पो (झाँक्री)सँग धार्मिक, सांस्कृतिक र मनोरञ्जनका शब्दहरू राखेर गीत गाएर नाचगानसहित पूजा गर्न जान्छन् । तर, गंगा दशहाराको बेलामा भने जाँदैनन् । बोनधर्म (झाँक्री) अनुसार यो परम्परा कुण्ड बनेदेखिको हो ।

फोटो: विकिपीडिया

तामाङ बोन्पोहरू गोसाइँकुण्डलाई धेरै नामले पुकार्छन् । छोकर (सेतो कुण्ड) भन्छन् । छो भनेको कुण्ड हो । कर भनेको कर्पो अर्थात् सेतोको पुछ«े शब्द हो । सेतो कुण्ड भन्नुको अर्थ शान्ति, शालीन र राम्रो कुण्डको रूपमा लिइन्छ । यसैगरी ह्याप क्षेग्याल क्षेम्पो (पिता) र ह्युम फमा डोल्मो (माता) र ल्हाक्षेन्पो मादेउ (ठूलो भगवान्) को रूपमा मान्ने चलन छ ।

बोन्पो (झाँक्री) हरूले धेरै कुण्डलाई पुज्ने गर्छन् । तीमध्ये पनि गोसाइँकुण्डलाई सबैभन्दा ठूलो भगवान्को रूपमा लिइन्छ । जिल्लाको १०८ कुण्डमध्ये सबैभन्दा क्षेत्रफलको हिसाबले ठूलो मात्र नभएर पुजिने परम्पराको दृष्टिकोणले पनि ठूलो मानिन्छ । नयाँ बोन्पो (झाँक्री) सिकेपछि कुण्डमा गएर पूजा गर्नुपर्छ । बोन्पोको मृत्युपश्चात् आत्मा (बेन्से) कुण्डमा पूजा गरेर कुण्डदेखि पश्चिममा रहेको डुप्खङ गुफामा तोर्मो बनाएर अन्तिम बिदाइ गरिने परम्परा छ । यसकारण यो कुण्डको महत्व यस जिल्लाका तामाङ बोन्पोहरूमा असाध्यै रहेको छ ।

बोन्पोहरूको मात्र कुरा छैन । बौद्ध लामाहरू पनि पूर्णिमाको बेला पूजा गर्न जान्छन् । मृतकहरूको नाउँबाट बत्ती बाल्ने, लुङ्दर चढाउने, कोरछ्याङ (दान दिने) र छो (प्रसाद) बाँड्छन् । यो काम गर्न रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका हिमाली गाउँमा बसोबास गर्नेहरू आउने गर्छन् ।

गोसाइँकुण्डमा स्नान गरेपछि दुःख, बिमार र ग्रहदशा टार्न सकिन्छ भन्ने विश्वास छ । मनले चिताएको कुरा पूरा हुन्छ भन्ने ठूलो विश्वास छ । जीवनभरिमा सके तीनपटक नसके एकपटक भए पनि गोसाइँकुण्डमा गएर पूजा गर्दा आफ्नो लक्ष्य र उद्देश्य पूरा भएको बताउनेहरू प्रशस्त छन् ।

फोटो: विकिपीडिया

काठमाडौंको म्हेपीमा बस्ने रिता श्रेष्ठलाई डाक्टरले दिएको औषधिले कहिल्यै निको हुन सकेन । लामो समय उपचार गर्दा पनि बिरामी निको भएन । उनी मात्र नभएर उनका परिवार धेरै चिन्तित थिए । श्रीमान्, दाजुभाइहरू र छोराछोरी सबै दुःखी थिए । एक रात सपनीमा भोलेबाबाको भक्त बन । गोसाइँकुण्डमा नाङ्गो खुट्टाले हिँडेर जानू । तेरो मनको इच्छा पूरा हुनेछ भनेपछि उनी काठमाडौंदेखि हिँडेर गोसाइँकुण्ड पुगिन् । कुण्डमा स्नान गरेर पूजा गरेर फर्किन् । त्यसपछि उनी निको भइन् ।

जापानका प्राध्यापक डा. काजुको तत्सुमी र उनकी प्रेमी ई. केन्जीबीच लामो समय प्रेम सम्बन्ध रह्यो । तैपनि विवाहको साइत जुर्न सकेको थिएन । यो कुरा उनले सानो भार्खु, रसुवाका सोनाम छिरिङ लामालाई सुनाइन् । लामाले उनलाई गोसाइँकुण्ड लगेर पूजा गरिदिए । पूजा गरेको तेस्रो वर्ष विवाहको साइत जु¥यो । दुवैजना नेपाल आएर गोसाइँकुण्डमा विवाह गरे ।

ठूलो भार्खुनिवासी गोसाइँकुण्डका मुख्य पुजारी बोन्पो (झाँक्री) दावा तामाङ भन्छन्, ‘सन्तान नहुनेले गोसाइँकुण्डमा स्नान गरेर सन्तान मागे सन्तान हुन्छ । धन मागे धन दिन्छ । आयु मागे आयु दिन्छ । यसकारण यो कुण्डलाई पिता–माता (ह्याप क्षेह्याल क्षेम्पो, ह्युम् फमा डोल्मो) र सेतो कुण्ड (छोकर) भनेको हो ।

फोटो: विकिपीडिया

बोन्पो दावा तामाङका पिता पूर्खाहरू यो कुण्डसँग जोडिएर आउँछ । उनीहरूका पूर्खा कर्पुबेनलाई गोसाइँकुण्ड भगवान्ले सपनामा सिकाएर बोन्पो (झाँक्री) बनाएको कथा ठूलो भार्खु गाउँमा रहेको छ । मानव बोन्पो गुरुबिना भगवान्ले नै सपनामा सिकाएर कर्पुबेन् बोन्पो (झाँक्री) भएकोले उनलाई औतारी÷अवतारी झाँक्री भनिन्छ । अन्य झाँक्रीहरू जुत्ता लगाएर ढ्याङ्ग्रो बजाएर कुण्डमा पूजा गर्न जान्छन् । तर, कर्पुबेन् झाँक्रीको पालादेखि निजका सन्तानहरू अहिले पनि नाङ्गो खुट्टा जान्छन् । गाउँदेखि कुण्डसम्म जङ्गलको काँडे गोरेटाहरूमा मन्त्र जप्दै पूजा गर्दै जान्छन् र फर्किंदासम्म खुट्टामा एउटा काँडाले घोचेको हुँदैन । यो उनीहरूको धार्मिक प्रतिज्ञा (दम्ल) हो ।

के तपाईंलाई पनि मनोकामना पूरा गर्ने इच्छा छ ? छ भने गोसाइँकुण्ड जान नछुटाउनुहोस् । अर्को पालि जान्छु नभन्नुहोस् । यसैपालि जान्छु भनेर जानुहोस् । आउनुहोस्, हामी रसुवावासी तपाईंहरूलाई स्वागत गर्नेछौँ ।

अधिवक्ता फुर्पा तामाङ, ठूलो भार्खु, रसुवा

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top