२०८१, १४ बैशाख शुक्रबार

सम्पदा वस्ती पूरानै शैलीमा

    असार २६ २०७६ २२:१९

nuwakot sampada basti nuwakot durbar square
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । ऐतिहासिक साततले दरबार क्षेत्र वरपर निर्माण भइरहेको सम्पदा वस्तीको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विदुर नगरपालिका वडा नं. २ मा रहेको ऐतिहासिक तथा पुरातात्विक सम्पदा साततले राष्ट्रिय संग्राहलय वरपरका निजी घरलाई पूरानै शैलीमा निर्माण गरिएको हो ।

२०७२ को महाभुकम्पले क्षति पुगेका साततले दरवार क्षेत्र वरपरका घरहरुलाई पूरानै शैलीमा निर्माणको लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले चासो देखाएपछि अहिले धमाधम वस्ती निर्माणको काम भइरहेको छ । सम्पदा वस्तीमा ४ सय २८ घरधुरी समेटिएको छ । नुवाकोट सम्पदा संरक्षण मञ्चका अध्यक्ष पुष्कर शर्मा रिमालले दुई सय भन्दा धेरै निजी घरहरु पूरानै शैलीमा निर्माण भइसकेको बताए । उनले निजी आवास अनुदान पाउने ४ सय २८ घरलाई सम्पदा वस्तीमा समेटेपनि एक सय घरहरुलाई अनिवार्य भने नगरिएकोले यो संख्या घट्न सक्ने बताए । ‘लक्ष्य ४ सय २८ घर नै परम्परागत शैलीमा निर्माण गर्ने भन्ने हो, रिमालले भने– ‘३ सय ५० भन्दा धेरै घर परम्परागत झल्को दिने खालका बन्छन् ।’

मौलिक पहिचान झल्कने खालक घरमा होम स्टे सञ्चालन, पर्यटकीय आकर्षकको रुपमा विकास गर्न सकिने भएकाले परम्परागत घर निर्माणमा स्थानीयको चासो बढेको वडा नं. २ का वडाध्यक्ष विरेन्द्रकुमार शाहीले बताए । विशाल नेपालको पहिलो राजधानी, काठमाडौबाट नजिकै रहेको नुवाकोट दरवार क्षेत्रको ऐतिहासिक र धार्मिक महत्वलाई जीवन्त राख्नको लागि सम्पदा वस्तीले महत्वपूर्ण भूमिका खेल्ने शाहीले बताए ।

सदाबहार हावापानी, साततले दरबार, भैरवी मन्दिर, तलेजु भवानीको मन्दिर, त्रिदेशीय व्यापार मार्ग लगायतले नुवाकोटको पहिचानलाई व्युताउन सम्पदा वस्तीको महिमा महत्वपूर्ण रहेको स्थानीय महेन्द्रकुमार श्रेष्ठले बताए ।

मल्लकालीन तथा शाहकालीन समयका पुरातात्विक सम्पदाहरु रहेका कारण यसबाटै आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षित हुने भएकोले दरवार क्षेत्रका गाउँलाई सम्पदा गाउँको रुपमा विकास गर्न लागिएको विदुर नगरपालिकाले जनाएको छ । सम्पदा गाउँमा घर बनाउँदा पुरानो शैलीलाई कायम राख्नुपर्ने र रातो रंगको झिंगटी आकारका जस्तापाताले छाउनुपर्ने छ । सम्पदा गाउँलाई परम्परागत ढाँचाका भौतिक संरचनाहरु निर्माण गरेर ऐतिहासिक तथा पुरातात्तिक स्थलको रुपमा पहिचान कायम राख्नको सम्पदा वस्ती निर्माणले भूमिका खेल्ने स्थानीयको बुझाई छ ।

सम्पदा वस्ती निर्माणको लागि नुवाकोट सम्पदा संरक्षण मञ्चले नक्सा निर्माण र नक्सा पास गर्ने काममा स्थानीयलाई सहयोग गरिरहेको छ । विदुर नगरपालिकाले सम्पदा वस्तीमा निर्माण हुने परम्परागत घरका लागि थप ४० हजार रुपैयाँ अनुदान दिने र निःशुल्क नक्सा पास गरिदिने प्रतिवद्धता व्यक्त गरेको छ ।

सम्पदा वस्तीमा निर्माण हुने हरेक घरले पुर्ननिर्माण प्राधिकरणमार्फत निजी आवास अनुदानको लागि प्राप्त हुने तीन लाख रुपैयाँमा थप ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस बाहेक वस्तीमा निर्माण भएका घरसंंख्या जोडेर सार्वजनिक भौतिक पूर्वाधार विकासको लागि चार लाख रुपैयाँको दरले एकमुण्ट अनुदानसमेत प्राप्त गर्ने छन् । अनुदान रकम व्यक्तिगत नभई सम्पदा वस्तीको खानेपानी, सडक, मठमन्दिरलगायतका पूर्वाधार विकासमा खर्च हुने अध्यक्ष रिमालले बताए । सार्वजनिक भौतिक पूर्वाधार विकासको लागि डिपिआरसमेत तयार भइसकेको छ । डिपिआर अन्र्तगत वैकल्पिक सडक निर्माण, बजार क्षेत्रमा ढुंगा विछ्याउने, कालिका, मालिका मन्दिरमा पदमार्ग, बौद्ध विहार, सीतापोखरीलगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुको जिर्णोद्वार गर्नेलगायतका कार्यक्रमहरु सञ्चालन हुनेछन् ।

नुवाकोटमा नेपाल एकीकरण थालनी गरेका गोरखाका राजा पृथ्वीनारायण शाहले निर्माण गरेको नौतले दवरा हाल साततले दरबार, मल्लकालिन रंगमहल, गारदघर, देवीपीठ भैरवी मन्दिर, ठूलो घण्टा, लामपाटी, शीतलपाटी, सरस्वती मन्दिर, लिच्छवीकालीन तलेजु भवानीका मन्दिर यस क्षेत्रका मुख्य धार्मिक तथा ऐतिहासिक क्षेत्र हुन् । दरबार, पृथ्वीनारायणका पालामा सैनिक परेड खेल्ने टुँडिखेल, कालिका र मालिका मन्दिर, मानदेवकालीन कालभैरव मन्दिर, तोपखाना, सरस्वतीथानस्थित अंशु वर्माकालीन चैत्य, गणेश मन्दिर, मञ्जुश्रीको मूर्तिलगायत ऐतिहासिक तथा पुरातात्विक सम्प्दा पनि यस क्षेत्रभित्र पर्दछन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top