२०८१, १४ बैशाख शुक्रबार

लहरे तरकारीबाट लाभ लिदै किसान

    असार २७ २०७५ २२:४४

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

भगवती लामा, लिखु, नुवाकोट । लहरै लहराले जेलिएर फलिरहेका अनेक तरकारी । देख्दै रहर लाग्दो । काँचै खाऊ जस्तो लाग्ने गरी लहरे तरकारी फलाइरहेका छन् नुवाकोट लिखु गाउँपालिका वडा नम्बर १ खानीगाउँ ढिकुरेका तोयानाथ ढकालले ।

उनले आफ्नो खेतमा लहरे तरकारी खेती गरेर आर्थिक उपार्जन गरिरहेका छन् । लौका, करेला, फर्सी, बोडी, घिरौला, घ्यु सिमि, काक्रो जस्ता तरकारी फलाइरहेका छन् ढकालले । करिव ७ रोपनी जग्गामा तरकारी खेती गर्दा तीन महिनामा ५ देखि ६ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउछन् ।

“बुवाले तरकारी खेती गर्नुहुन्थ्यो, मैले निरन्तरता दिइरहेको छु । छोराको पनि तरकारी खेतीमा नै मोह छ । हाम्रो लागि त यो पेशा पुस्ता हस्तानतरण झै भएको छ,” उनी भन्छन्, “लगानी तीन लाख रुपैयाँ बराबरको हुन्छ । बचत पनि त्यतिकै हारहारीमा हुन्छ । उव्जाउ भएका तरकारी बजारसम्म छोराले पुराउने गरेका छन् ।”

नुवाकोटको ढिकुरेमा फलेका तरकारी स्थानीय बजारदेखि राजधानिसम्म पुग्ने गरेको छ । प्राय किसानहरुले स्थानीय बजारमा आफैले पुराउछन् भने व्यावपारी मार्फत राजधानीसम्म पुराउने गरेका छन् । स्थानीय बजारमा किसानले सस्तो मूल्यमा बिक्रि गरे पनि राजधानी पुराउदा व्यापारीहरुले बढिमूल्यमा विक्रि गर्ने गरेको तोयानाथका छोरा रामधन ढकाल बताउछन् ।

“तरकारीले सोचे जस्तैको भाउ पाइरहेको छ तर बिचौलिया प्रवृतिले उपभोक्ता ठगिएका छन् । हामीले प्रतिकिलो २५ रुपैयाँमा केही तरकारी व्यापारीलाई दियो भने उपभोक्ताले ४० देखि ५० रुपैयाँसम्म खरिद गरिरहेको देख्छु,” रामधन भन्छन्, “सिधै उपभोक्ता ठगिएको देख्दा दुख लाग्छ । कृषक, व्यापारी र उपभोक्ता विचको पर्खाल ठूलो हुदै गएको छ । त्यसको लागी मूल्य समायोजन हुनु आवस्यक रहेको देख्छु ।”

ढिकुरे लब्धुकी गीता राईले पनि लहरे तरकारी खेती नै गर्छिन् । यो समयमा उनले तरकारी बेचेर दैनिक ३ देखि ५ हजारसम्म आम्दानी गर्छिन् ।

व्यापारीहरु गाउँगाउँमा आए पनि बजारसम्म ल्याउदा राम्रो मूल्यमा तरकारी बिक्रि हुने गरेको उनी बताउछिन् । “बाह्रै महिना तरकारी खेती गरिन्छ । मौसम अनुसारको फरकफरक खेती हुन्छ । बजारको खासै समस्या छैन । काठमाडौँ लगेर बेच्ने व्यापारी नि आउछन् लिन तर भाउ राम्रो दिदैनन्,” गीता भन्छिन्, “प्राय बट्टार लगिन्छ । गाडी रिजर्भ गरेर । एक टिपको हजार रुपैयाँ पर्छ भाडा ।”

गीता राईको अनुसार किसानहरुले घिरौला प्रतिकिलो ४० रुपैयाँ, प्याज ५० रुपैयाँ, करेला ६० रुपैयाँ, हरियो खुर्सानी ५० रुपैयाँमा व्यापारीलाई बिक्रि गर्ने गरेका छन् । किसानको भन्दा व्यापारीकै मूल्य चल्छ । “व्यापारीले हामीसँग सस्तोमा नै लिन्छन् । उपभोक्तालाई सस्तोमा दिएको देख्दा दुख लाग्छ । ४० रुपैयाँमा किनेको चिज साठी सत्तरीमा विक्रि गर्छन् व्यापारीले । त्यस्तो देख्दा आफ्नो पौरखको सहि मूल्याङ्न नभएको पाउछु,” राईले भनिन् ।

जिल्लाको खानीगाउँ, थानसिङ, चौघडा, रातमाटे, ककनी, जिलिङ लगायतकाको क्षेत्रका किसानहरुले व्यवसायिक रुपमा तरकारी खेती गर्ने गरेका छन् । जिल्लाको रानीपौवा, देविघाँट, विदुर, बट्टार, ढुङ्गे, त्रिशुली लगायतको बजारमा कृषकहरुले उत्पादन गरेको तरकारी खपत हुने गरेको छ ।
जिल्लाको विभिन्न भुभागमा केराउ कोसा, मकै सिमि, घ्यु सिमि, तने बाडी, मकै, काक्रो, फर्सी, करेला, घिरौला चिचिन्डो, बरेला, कुपिण्डो लगायतकाको लरे तरकारी खेती हुने गरेको छ । आर्थिक वर्ष २०७४/ ७५ मा लहरे र अन्य गरेर जिल्लाको ३ हजार २ सय ३८ हेक्टर क्षेत्रफल जग्गामा तरकारी हुने गरेको जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत डाक्टर कमलराज गैरेले बताएका छन् ।

“किसानहरुले लहरेसँगै अन्य जातको तरकारी खेतीलाई व्यवसायिक रुपमा अघि बढाइरहेका छन् । यो आर्थिक वर्षमा ४१ हजार ३ सय २० मेट्रिक टन तरकार उत्पादन भएको छ,” गैरेले भने, “यो वर्ष १ अर्व १७ करोड ७२ लाख ७२ हजार रुपैयाँ बराबरको तरकारी उत्पादन भएको छ ।”

तरकारी खेतीलाई बढवा दिएर आत्मनिर्भर बनाउनको लागि गत वर्षदेखि नुवाकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत तरकारीको जोन कार्यक्रम सञ्चालन भइरहेको छ । जिल्लामा रहेको १२ स्थानीय तहमध्ये ४ स्थानीय तहभित्र पर्ने १५ वटा वडामा जोन कार्यक्रम चलिरहेको छ ।

ककनी गाँउपालिकामा रहेको ७ वटै वडा, शिवपुरी गाँउपालिकाको वडा नं. ६ समुन्द्रादेवी, वडा नंं ७ सुनखानी र वडा नं. ८ थानापती, पञ्चकन्या गाँउपालिकाको वडा नं. ३ पञ्चकन्या, वडा नं. ४ थप्रेक वडा नंं ५ भदुटार, दुप्चेश्वर गाँउपालिका वडा नंं ३ रातउवेशी र वडा नंं ५ बालकुमारीमा कार्यक्रम चलिरहेको जोन कार्यक्रमका प्रमुख एवं कृषि विकास कार्यालय नुवाकोटका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत डाक्टर कमलराज गैरेले बताएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top