२०८१, १४ बैशाख शुक्रबार

१० वर्षदेखि रोग लुकाएकी कान्छिमाया भन्छिन्– आम्मै कसरी भन्नु यस्तो कुरा!

    जेष्ठ २१ २०७५ ११:५९

women period
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

धादिङ-

गजुरी– १० वर्ष भयो कान्छिमाया गुरुङको पाठेघर खसेको। निकै समस्या आएपछि पाठेघर अड्काउने उपचार विधि अन्तर्गत रिङ लगाएकी छिन्। तर, गाउँ-समाजको डरले शल्यक्रिया भने गराउन सकेकी छैनन्।

घरमा समस्याबारे जानकारी भए पनि छिमेकमा थाहा नभएको उनी बताउँछिन्।

‘आम्मै कसरी यस्तो कुरा भन्नु, गाउँमा भने त बसिनसक्नु हुन्छ, यस्तो भएको त गाउँमा निकै नराम्रो मान्छन्, उपचार गर्न आउँदा पनि लुकेर आउनुपर्छ,’ उनले सुनाइन्।

000

७२ वर्षीया शान्ति ढकालले पनि आफ्नो समस्या लामो समयसम्म लुकाइन्। उनले त पाठेघर खसेपछि उपचार गराउनुको सट्टा आफ्नै हातको चुरा फुकालेर कपडा बेरेर यौनाङ्गभित्र राखिन्।

चिकित्सकका अनुसार उनको यो उपाय स्वास्थ्यमाथि झन् गम्भीर जोखिम हो।

‘पाठेघर खसेपछिको पीडा त म शब्दमा भन्न पनि सक्दिनँ,’ उनले भनिन्, ‘यस्तो विषयमा अरुलाई कसरी भन्नु भनेर चुरा र कपडा प्रयोग गरेकी हुँ।’

गजुरीको प्राथमिक स्वास्थ्य केन्द्रमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविरमा आएकी ढकालको जाँचका क्रममा यौनाङ्गबाट चुरा निकालिएको हो।

चुरा र कपडाका कारण उनको यौनाङ्गमा संक्रमण भइसकेको वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ प्राडा आरती शाहले बताइन्।

‘हामीले कपडा बेरिएको चुरा निकालेर नयाँ मेडिकल रिङ राखिदिएका छौँ,’ डा शाहले भनिन्, ‘अहिले पनि समाजमा पाठघेर खसेपछि अस्पताल गएर उपचार गराउने परिपाटी कम छ, त्यही कारण महिलाहरु जटिल अवस्था भएपछि मात्र उपचारका लागि आउने गर्छन्।’

000

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दुई दिनसम्म सञ्चालन गरेको उक्त शिविरमा आएका महिलामध्ये ५० प्रतिशतमा पाठेघर खस्ने र संक्रमणको समस्या भेटिएको छ। शिविरमा ५ सयभन्दा बढी महिलाको पाठेघरको मुखको पानीको नमूना संकलन गरिनुका साथै, स्तनको परीक्षण गरिएको छ।

पाठेघरको क्यान्सर परीक्षण शिविर भएकाले पनि धेरै महिलामा पाठेघर खस्ने समस्या फेला परेको हो।

‘अधिकांश महिलाको पाठेघर खस्ने, संक्रमण, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्या देखिएको छ। हामीले पाठेघरको क्यान्सर छ कि छैन भनेर पाठेघरको मुखको पानी जाँच गर्नका लागि नमूना संकलन गरेका छौँ,’ वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ सहप्रध्यापक डा सन्ध्या चापागाईंले भनिन्।

कति महिलामा धेरै समयदेखि समस्या देखिए पनि उपचार नगर्दा अन्य समस्यासमेत देखिन थालेको उनको भनाइ छ।

धेरै सन्तान जन्माएका, शारीरिक रुपमा बढी परिश्रम गर्ने, भारी बोक्ने, गर्भावस्थामा उकाली-ओराली गर्ने महिलामा पाठेघर खस्ने समस्या बढी देखिएको छ।

वर्षौंदेखि पाठेघर खसेको समस्या झेलेर बसेका महिलाले घरछिमेकमा लाज हुने डरले समस्या लुकाउने गरेको चिकित्सकको भनाइ छ।

000

क्यान्सरका बिरामी बढ्न थालेपछि वीरको क्यान्सर विभागले स्थानीय तहमै पुगेर यो रोगको परीक्षण गर्ने, जानकारी र उपचार सेवा दिन विभिन्न शिविर आयोजना गर्ने कार्यक्रम अनुसार गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई दिने शिविर राखेको थियो।

शिविरमा गजुरी गाउँपालिकाका ८ वडा र वरपरका गाउँपालिकाका महिलाको पाठेघर परीक्षण गरिएको हो।

स्थानीय तहमै पाठेघरको परीक्षण गर्न सकेमा क्यान्सर हुने सम्भावनाबारे थाहा पाउन सकिने भन्दै वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञको टोलीले धादिङका विभिन्न स्थानका स्वास्थ्यसंस्था कार्यरत ३० स्वास्थ्यकर्मीलाई  क्यान्सर रोगबारे अभिमुखरीकरण तालिम पनि दिइएको थियो।

पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन गरिने भिआइए परीक्षण, पाठेघरको पानीको जाँच प्याप स्मेयर परीक्षण सेवा स्थानीय तहमै उपलब्ध नहुँदा धेरै महिला क्यान्सरको अन्तिम अवस्थामा मात्र अस्पतालमा उपचारका लागि पुग्ने गरेको क्यान्सर रोग विशेषज्ञ प्राडा विष्णुदत्त पौडेल बताउँछन्।

नेपालमा जनचेतनाको कमीले क्यान्सर रोग अन्तिम अवस्थामा पत्ता लाग्ने कारण यसबाट हुने मृत्यु बढ्दै गएको छ। क्यान्सरबाट हुने मृत्युमध्ये पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबाट हुने मृत्युदर उच्च छ। (हेल्प पब्लिकेशन)

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top