२०८१, १४ बैशाख शुक्रबार

नुवाकोट चुनाव : कांग्रेसीमाझ केही अनुत्तरित प्रश्न

    मंसिर २१ २०७४ ११:५४

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

-दिनेश आचार्य

अघिल्लो संसद चुनावमा तिनै क्षेत्र जितेर नुवाकोटमा सर्वशक्तिमान बनेको कांग्रेस यसबर्ष स्थानीय चुनाव नसकिँदै ‘डिफेन्सिभ पोजिसन’मा पुगिसकेको थियो । स्थानीय चुनावमा धेरै तह जितेर पनि कोही कांग्रेसीको मुहारमा जितको आभा देख्न पाइएन । किनभने प्राविधिक जित कांग्रेसको बढी भए पनि मत भने बढी थिएन । त्यसमाथि जिल्लाको आधा मत भएको सदरमुकाम विदुर र नयाँ नगरपालिका बेलकोटगढी काग्रेसले लज्जास्पद रुपमा गुमाएको थियो । जबकी यी दुबै नगरपालिकामा त्रिपक्षीय भिडन्त हुँदा कांग्रेसकै मत बढी थियो ।

नयाँ संबिधान अनुसार भएको संसदीय चुनावले २ क्षेत्रमा खुम्च्याएको नुवाकोटमा कांग्रेसले २ वटा ‘बाघ’लाई मैदानमा उतारेको थियो । तर, चुनाबी मैदान मार्शल आर्टको रिङ नभएर दाइँ गर्ने खलो भैदिँदा त्यहाँ बाघकोभन्दा गोरुकै महत्व धेरै देखियो ।

चुनावको परिणाम आएको छैन । तर संकेत प्रष्ट देखिएको छ । कांग्रेसीहरु डिफेन्सिभ पोजिसनबाट पनि तल झरिसकेका छन । २ दशक पुरा समय सत्ता र शक्तिमा बसेका अनि ठुलो संगठन र अकुत पैसाका मालिकहरु चुनाव लड्दा पनि यस्तो अवस्था भयो । जबकी उनीहरु आफ्नो शक्ति र पैसाको बलमा जे पनि गर्न सक्ने घमण्ड पालिरहेका हुन्थे ।

चुनाबको टिकट बितरणमा नुवाकोटमा ३ जना नेता संसदीय बोर्डमा परे । तर आफुलाई जनताको नेता मान्ने र प्रजातन्त्रवादी ठान्ने ति नेताहरु यति तल गिरिसकेका छन भनेर कसैले नपत्याउने शैलीले उनीहरुले निर्णय गरे । प्रकाशशरण महतले नुवाकोटमा टिकट पाएनन र काठमाडौं गए । अरु २ जनाले भने आफुले मात्र टिकट लिएनन । उनीहरु आ–आफ्ना पिएलाई बोकेर चुनावमा होमिए । यसअघि उनीहरुका भाई–भतिजा पिएका रुपमा चुनावका सहयोगी हुन्थे भने अहिले त दुबै उमेदवार बनेका थिए ।

अर्जुन नरसिंह केसीले आफुलाई भोट माग्दा ‘मेरो भाईलाई पनि अर्को भोट दिनुस है’ भनेर किच्च मुख लगाउँदा मतदाताको मन अमिलो हुन्थ्यो । डा. महतले पनि आफ्ना भतिजा रमेश महतका लागि भोट माग्दा २२ बर्षदेखि नियमित उनैलाई भोट दिइरहेका मतदाताको मनमा आक्रोशको आभा निस्किन्थ्यो । तर ति जनता उनलाई जवाफ फर्काउँथेनन तर ‘आफ्नो पुरा जिन्दगी तिमीहरुकै खानदानलाई जिताएर सिद्धिने भयो’ भन्ने भाव बोकेर खुम्चिन्थे । त्यसो त डा. महतले अहिले पिए रहेका भतिजालाई मात्रै टिकट दिलाएका हैनन यसअघि स्थानीय चुनावमा पनि अर्का पिएलाई गाउपालिकाको टिकट दिएका थिए । यसअघि पनि पार्टी सभापतिमा भतिजालाई नै बोकेका थिए । गाउमा कहिल्यै नबसेका आफ्ना पिएलाई गाउ प्रमुखको टिकट दिने र अहिले भतिजालाई बोकेर हिँड्ने उनको दुस्साहसलाई मचाहिँ मुर्खता र बुद्धीहिनता नै भन्छु ।

भाई र भतिजालाई समेत बोकेर चुनावमा होमिएका दुई नेताप्रति हिजोजस्तो सम्मान र सद्भाव कसैमा थिएन । संभवत उनीहरु एउटै खर्चमा दुबैजनाले चुनाव जित्ने किफायती रणनीतिमा थिए । ‘पैसा खर्च गरेपछी चुनाव जितिहालिन्छ’ भन्ने मानसिकताले धेरै काम गरेको पाइयो । नुवाकोटका जनतालाई मुर्ख र दास ठानेका होलान सायद । तर बुझेनन, अहिलेको समय फरक छ । नुवाकोटमा दुईचार लाखको सम्पत्ति नभएको व्यक्ति कोही छैनन, अहिले ।

नेता भनेको त दूरदर्शी हुनुपर्छ । तर, हाम्रा यी नेता आफुलाई प्रधानमन्त्रीको दावेदार ठान्छन । आफुलाई सर्वज्ञ मान्छन । न कसैको सल्लाह लिन्छन, नत कोही मान्छे नै चाहिन्छ जस्तो गर्छन । केही चाटुकारहरुको घेरामा आफुलाई महान ठानेको भ्रममा बाँचिरहेका उनीहरु ‘बादशाहको नयाँ लुगा’ शीर्षकको कथामा एउटा बालकले सत्य ओकल्दा ढिलो भैसकेको हुनेछ । संभवत मेरो कलम त्यही कथाको बालकको मुखजस्तै हो ।
आफुलाई महान नता भनाउन चाहने दुबै नेतालाई स्थानीय चुनाव हुँदासम्म पनि ६ महिनापछी संसदीय चुनावमा आफु भोट माग्न जानुपर्छ भन्ने ज्ञान रहेनछ । नत्र उनीहरु स्थानीय चुनावमा आफ्ना उमेदवार जिताउन लागिपर्थे, जिल्लामा संगठन गर्थे । बरु उनीहरु त आफ्ना गुटका कार्यकर्ता उचाल्दै एकले अर्को पक्षलाई अन्तरघाती भन्दै पार्टीबाट निकाल्न उद्यत भए ।

अर्जुननरसिंह केसी ३ दिन विदुरमा बसेर भोट मागिदिएको भए ध्रुब अधिकारीले चुनाव जित्थे भन्नेहरु धेरै छन । तारेकेश्वरमा केसीनजिकका व्यक्तिहरुले चोकराजलाई हराए भनिएको छ । तर केसीले ६ महिनाअघि अहिले आफुले भोट माग्नुपर्छ भनेर अरुलाई सहयोग गर्नुपर्ने आवश्यकता देखेनन । न त उनले आफ्नो गुटका कार्यकर्ताहरु बेलकोटगढीमा खुलेआम पार्टीबिरुद्ध लाग्दा नै थामथुम पारे ।

भोट गनिसकेको भोलिपल्टदेखि चारैजना उमेदवारको खल्तीबाट ‘कथित अन्तरघाती’हरुको लिस्ट लामै निस्कनेवाला छ । तर त्यसअघि डा. महत र केसीले स्थानीय चुनावमा कुनचाही उमेदवारलाई जिताउन कस्तो पहल गरे, कार्यकर्ताले त्यो खोज्नु र सोध्नुपर्ने बेला भएको छ । के नुवाकोटका कांग्रेस कार्यकर्ताको राजनीतिक जीवन केसी र महतको खानदानलाई ‘कूत’ बुझाउनु मात्रै हो ?

यस्ता प्रश्नहरु अनेकन छन । तर नुवाकोटेहरु आफुलाई जति बाठो ठाने पनि प्रश्न गर्न डराउँछन । किनकी स्वार्थीहरुको जमात ठुलो छ । डा. प्रकाशरण महत किन एकपटक पनि नुवाकोटको चुनावी सभामा देखिएनन ? यो प्रश्न सायदै कसैले गरेको होला । र, प्रश्न गर्ने आँट भएकाहरु पनि भेटिएको छैन । काठमाडौंमै चुनाव लडेका गगन थापाले नुवाकोटको २ वटै क्षेत्रमा प्रचार गरे । तर हिजोसम्म नुवाकोटबाटै प्रतिनिधित्व गरिरहेका प्रकाशशरण महतले नुवाकोटमा एकपटक पनि भोट माग्ने आवश्यकता देखेनन । किन ?

डा. रामशरण महत यस्ता व्यक्ति हुन, जो सकेसम्म आफुभन्दा जुनिएरलाई कहिल्यै रिकग्नाईज गर्दैनन । पत्रकार किशोर नेपालले ‘मेरो समय’ नामक पुस्तकमा लेखे अनुसार डा. महत अंग्रेजी नजान्नेहरुलाई हेप्छन रे । उनले २०४८ सालदेखि चुनाव लड्दा पनि उनले कुनै अरु नेतालाई आफ्नो क्षेत्रमा भोट माग्न बोलाएनन । (अपवादको रुपमा २०४८ सालमा कृष्णप्रसाद भट्टराई थानसिंङमा आएका थिए । तर त्यो आगमन स्व. बद्रीराम भण्डारीको लागि थियो ।)

तर यसपटक म पनि अचम्ममा परेँ । गगन थापालाई मन नपराउने डा. महतले समेत आफ्नो क्षेत्रमा भोट मागिदिन अनुरोध गरेछन । सायद अब भने डा. महतले पनि युवाहरुको चाह, क्षमता र शक्तिको कदर गर्न थालेछन । उनी डराएर सहयोग मागेका हुन वा युवाहरुलाई प्रमोट गरेका हुन । कामना गरौं, दोस्रो कारणचाही होस ।

अर्को बिडम्बना, गगन थापालाई आफ्नो क्षेत्रमा भोट मागिदिन निम्त्याएका डा. महतले आफ्नै जिल्लामा भने अरुका लागि भोट मागेनन (रमेश महतलाई बाहेक) । ज्ञातब्य छ, नुवाकोट कांग्रेसमा ४ वटा गुट छ । केसी र महतको आआफ्नै गुट छ । त्यस्तै अहिले काठमाडौंमा सरुवा भए पनि डा. प्रकाशशरण महतले पुरानो प्रजातान्त्रिक कांग्रेस समर्थितसहितको छुट्टै गुट चलाएका छन । जसमा बहादुरसिंह लामासहित छन । त्यस्तै हिजो पन्चायतकालदेखि नै नुवाकोटमा कांग्रेस टिकाएको तर अहिले यी ३ वटै गुटलाई नमान्ने पुराना कांग्रेसीहरुको छुट्टै समुह पनि छ । तर यो समुह आफुआफुमा जलन र इष्र्याले छिन्नभिन्न छ ।

मुख्यत: केसी र महतको प्रतिस्पर्धी गुट पुरानै भए पनि बाम गठबन्धनको आगो बलेको बेला नुवाकोटमा कांग्रेसको स्थान कमजोर थियो । जुन स्थानीय चुनावले पनि प्रमाण्ति गरिसकेको थियो । यस्तो अवस्थामा पार्टीभित्रको आन्तरिक संघर्षमा प्रतिस्पर्धी भए पनि केसीका लागि डा. महतले भोट मागिदिँदा केही बिग्रन्थेन । २ नम्बर क्षेत्रमा केसीलाई मन नपराउने र महतलाई राम्रो मान्ने जमातका लागि भए पनि त्यो कामलाग्दो हुन सक्थ्यो । तर उनी एकपटक पनि २ नम्बर क्षेत्र टेकेनन ।

त्यस्तै अर्जुननरसिंह केसीका दाजुभाई दुबैजना २ नम्बर क्षेत्रमा चुनाव लडे पनि उनीहरुको पुख्र्यौली थलो साविक २ नम्बर र अहिलेको १ नम्बर राउतवेशी नै हो । उनी किन त्यस क्षेत्रमा एकदिन पनि गएनन ? केसी र महतले एक अर्कोको एक–एक सभामा गएर २० मिनेट भाषण गर्दा के बिग्रन्थ्यो ।

आफुलाई जतिसुकै राष्टिय नेता भने पनि आफ्नै जिल्लामा आफ्नै पार्टीका लागि भोट माग्न नसक्ने उनीहरुलाई जनताले चाही किन मानिरहनु पर्ने ? यस्तो अहँ र घमण्ड बोकेर चुनावमा आएका नेताहरुले प्रजातन्त्रवादी भन्दै समाजवादको कुरा गरेको कत्ति सुहाउन्न । यस्तो संकिर्ण सोचलेराष्टिय नेता हुन कठिन छ । आफ्नो क्षेत्रबाहेक अर्को क्षेत्रमा उनीहरु किन उपस्थित भएनन, यो कांग्रेसहरुका लागि एउटा अहंम प्रश्न हो । यसको जवाफ खोज्नैपर्छ ।

नुवाकोटको केही चुनावी सभाहरुको फेसबुक लाईभ हेरेको थिएँ । हेर्दा लाजमर्दो अवस्था थियो । हिजो म आफैले बौद्धिक र क्षमतावान ठानेका नेताहरुको कुतर्क र काईते बिचार सुनेर म आफैलाई लाज लाग्यो । भाईलाई टिकट दिनुको कारणबारे केसीले बोलेका कुराहरु त्यत्तिको नेताले बोल्ने तर्क थिएन । उता भतिजालाई टिकट दिँदा आफैलाई ‘बुमऱ्याङ ईफेक्ट’ पर्छ भनेर सुझाव दिनेहरुलाई डा. महतले पनि शत्रुझैं व्यवहार गरेछन ।
केसीले कतिवटा सभामा भाषण गर्दा आफुसँगै प्रदेश चुनावमा उठेका जगत तामाङको नाम समेत बिर्सिए । पटक पटक अड्कीएर अरुलाई सोधेपछी भन्थे । कांग्रेसको चुनावी सभाको मन्चमा कांग्रेसभन्दा ठुलो हैसियतमा गैरकांग्रेसी थिए । अनि कांग्रेसको मञ्चमा रुखलाई हैन, हलो, आँखा र चारकुनाभित्रको हलो चिन्हमा भोट मागेको देखियो । कहिल्यै २० जनाको सभा गर्न सक्ने हैसियत नभएका नयाँ शक्ति र राप्रपाका कार्यकर्तालाई फूलमाला ओढाएर आँखा र हलो चिन्हमा भोट माग्न लगाएपछी अर्जुननरसिंहले हिजोको कांग्रेसको शान मेटाए की भोट बढाए ? त्यो बाकस खोलेपछी थाहा हुन्छ ।

एकिकृत राप्रपाका उमेदवार राज्यलक्ष्मी श्रेष्ठलाई कांग्रेसमा भित्र्याउँलाको उल्टो असर परेको पनि उनले थाहा पाएनन । डा. लोहनी समर्थकहरुको भोट उनकै चिन्हमा जान्थ्यो तर उनलाई भित्र्याएपछी त्यो भोट सूर्यमा गयो । लोहनी समर्थकहरु कतिजना त एमालेमा प्रवेश नै गरे । डा. लोहनीले अर्जुनलाई भोट नहाल्नु बरु सुर्यलाई हालिदेउ भनेको भन्ने सुनियो ।

बेलकोटका शेरबहादुर गजुरेललाई कांग्रेस भित्र्याउँदा उनले कांग्रेसको मन्चबाट डा. प्रकाशचन्द्र लोहनीका लागि भोट मागे । यता नयाँ शक्तिका छत्र लामा र राप्रपाका बिष्णु सापकोटाले पनि हरेक सभामा आफ्नै पार्टीको प्रचार गरे । के नुवाकोटमा कांग्रेस यति गएगुज्रेको अवस्थामा पुगिसक्यो ? अर्जुन नरसिंहको दाजुभाई चुनाव लड्दा छत्र लामा र बिष्णु सापकोटाको शरण पर्ने दिन आइसक्यो ? उनीहरुलाई सम्मानसाथ मन्चमा बिराजमान गर्दा हिजो अर्जुननरसिंह पन्चायतमा हुँदा नुवाकोटमा कांग्रेसको बिउ रोप्नेहरु कहाँ थिए ? कहिल्यै खोजि भयो ?
कांग्रेसको मन्चमा बसेर कांग्रेस कार्यकर्ताहरुसँग राप्रपा र नयाँ शक्तिका लागि समानुपातिकमा भोट मागिरहँदा कांग्रेसबाटै समानुपातिक उमेदवार भएका बहादुरसिंह लामाहरु किन चुप भए ? किन सधैं तिनीहरुलाई बोकेर हिँडे ?

हुन त कांग्रेसलाई पार्टी हैन, चौरस्ताको पाटी भन्ने गरिन्छ । हिजो कृष्णप्रसाद भट्टराईलाई चुनाव हराउन सूर्य चिन्हमा भोट हाल्न लगाउने केसीहरु नै हुन, जो अहिले अरुलाई अन्तरघाती भनेर थाक्दैनन । १२ बर्ष जिल्लाको पार्टी सभापति हुँदा कति सिस्टम बनाएको भन्ने त चुनावहरुमा पार्टीपरिचालनको तरिका हेरेर नै थाहा हुन्छ । स्थानीय चुनावमा पार्टी जिल्ला समिति मरेतुल्य थियो । अहिले पनि उस्तै । प्रचार समितिको नौटंकी अनेक गरियो । चोकराज शाक्यको संषेजकत्वमा प्रचार समिति गठन गरिएको भनियो तर कहिल्यै पुरा भएन । उनले पनि राजिनामाको नाटक गरे तर त्यही पद बोकेर भाषण गर्न भने भ्याए । बिना योजना, पार्टी सिस्टमलाई बाईपास गरेर, ‘व्यक्ति नै पार्टी हुँ’ शैलीमा चुनाव लड्दा सधै सफल होईन्न । यसबाहेक उमेदवारहरुले फेसबुकमा खडा गरेको केही ‘ट्रोल’हरुले पनि केही भोट घटाए ।

ककनी गाउपालिकामा रमेश महतले केही भोटका लागि ठुलै रकम खर्चेछन । तर उनले किनेको भोट उनलाई मात्र गयो, डा महतलाई भने गएन । यसको प्रमाण चाहिए, मतगणनाको बेला त्यहाँको बाकस छुट्टै गनेर हेरे हुन्छ । उता महेन्द्र थिङ चुनाव लडेको प्रदेशमा ‘सानो आस्याँङ र ठुलो आस्याङ’ भन्ने नारा आएछ । अर्थात हितबहादुरलाई ठुलो आस्याङ र अनि थिङलाई सानो आस्याङ भनेर भोट हालिएको पनि चर्चा छ ।

चुनावमा पैसाको खेल ठुलै हुन्छ । केसी र महत दुबै अकुत सम्पत्ति भएका नेता हुन । उनीहरुले सोही अनुसारको खर्च पनि गरे । तर त्यो खर्च कसैले दशैंको बेला हारेको जुवाको क्षतीपुर्तीजस्तो मात्रै भयो । गत स्थानीय चुनावमा उठेका उमेदवारहरुमार्फत नै नेताहरुले चुनाबी खर्च बाँडेछन । तर उनीहरुले नेताले दिएको पैसा आफैले चुपचाप राखे । स्थानीय चुनाव लड्दा आफुले सिध्याएको रकम बल्ल फिर्ता पाइयो भनेझैं गरी कुम्ल्याए ।
अब चुनाव सकिएसी जित्ने रमाउछन, हार्ने कराउछन ।

हारका खास कारणहरु खोतलिदैनन । बरु आफ्नै पार्टीका मान्छेले भोट नदिएर हारेको रेडिमेड जवाफ दिइन्छ । एकले अरुलाई अन्तरघात गरेको आरोप लगाउने र आफु पानीमाथि ओभाने बन्ने प्रपन्च रचिन्छ । तर मुल कुरो नेताहरुले आत्मसमिक्षा गरुन । गल्ती स्विकार्दा कोही सानो हुँदैन । भाई र भतिजालाई बोकेर चुनावमा आउनु ठुलो भुल थियो भनेर माफी मागुन । इमानदार कार्यकर्ताले नेतालाई चाकडी हैन, प्रश्न गरुन ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top