२०८१, १४ बैशाख शुक्रबार

सोफियाले पाएको र जोनीले नपाएको नागरिकता: रामचन्द्र भट्ट

    कार्तिक २३ २०७४ १५:२३

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

Ramchandra-Bhattaअघिल्लो साता एउटा समाचारले बीबीसी, सीएनएन, न्युयोर्क टाइम्स, वाल स्ट्रिट जर्ननलगायतका पश्चिमा सञ्चारमाध्यममा गतिलै स्थान पायो । समाचार थियो– साउदी अरेबियाले रोबोटलाई नागरिकता दिएको ।

गत जुन महिनामा जेनेभामा सम्पन्न इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनको वार्षिक सम्मेलनका समयमा उक्त रोबोट सार्वजनिक गरिएको थियो । मानवद्वारा निर्मित र मानिसले जनाउने सबै व्यवहारको प्रतिक्रिया दिने सोफिया नाम दिइएको उक्त रोबोटलाई नागरिकता दिएर साउदी अरेबिया पश्चिमा जगत्मा निकै चर्चित भयो ।

त्यो विषयले चर्चा पाएको तीन दिनपछि सोमबार बिहान सामाजिक सञ्जाल (फेसबुक)मा कसैले पोस्ट गरेको एउटा विषयले मेरो दिमाग पूरै घुम्यो । फेसबुकमा लेखिएको थियो–‘मेरो यो साथीलाई जसले नागरिकता दिलाउँछ, म उसले भनेको पार्टीको चुनाव चिह्नमा मत दिन तयार छु ।’

यो वाक्यभन्दा तल पोस्ट गरिएको फोटो परिचितजस्तो लाग्यो । प्रत्यक्ष भेट नभएको, नदेखेको १५/१६ वर्ष भइसके पनि गँगटेका जोनी जेकेलाई चिन्न गाह्रो भएन मलाई ।

०४५ सालमा च्वाडी स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि बट्टार क्याम्पस पढ्न थालेँ । पीपलटारदेखि साइकल चढेर क्याम्पस जाँदा बिहानीपख गँगटेवरिपरि मर्निङवाक गरिरहेका अग्लो, गोह्रो र मोटो व्यक्ति देखिन्थे । क्याम्पस छुटेर घर फर्किंदा गँगटे चोकसँगैको घरको आँगनमा बसेर प्रायः घाम तापिरहेका हुन्थे उनी ।

‘यो मान्छे इराकबाट आएको हो रे । धेरै वर्ष भइसक्यो अरे नेपालमा बसेको,’ कोहीकोहीले उनका बारेमा यति भनेको मेरो स्मृतिपटलमा छ । उनलाई चिन्ने नामै बन्यो– ‘जिमी इराकी ।’ वास्तविक नाम धेरै पछिसम्म पनि जानकारी थिएन ।

यही परिवारमा दुई साना बालकहरू पनि देखिन्थे । जिमीले घ्याङफेदीकी तामाङ्नी बिहे गरेका थिए । उनैबाट पैदा भएका थिए ती दुई बालक । ती दुई बालक पनि च्वाडी स्कुल पढ्थे । क्याम्पसबाट फर्कंदा उनीहरू स्कुल गइरहेको भेटिन्थे ।

जिमीको जीवन बडा उतारचढावको थियो । कसैले भन्थे– ‘उनी भारतको कस्मिरका हुन् ।’ कसैले भन्थे– ‘उनी इराकी हुन् ।’

जे–जसो भए पनि गँगटेको समाजमा भिजेर सामाजिक रूपमा उनी बसेका थिए । ०३०÷३१ सालदेखि नेपालमा बस्न थालेका उनी राम्रैसँग नेपाली पनि बोल्थे ।

ठ्याक्कै मिति याद भएन । ०५५/५६ साल हुनुपर्छ । म काठमाडौं जानका लागि पीपलटारबाट बस चढेँ । सँगैको सिटमा उनै जिमी रहेछन् । उनी पनि काठमाडौं जाँदै रहेछन् ।

ककनी प्रहरी चौकी पुगेपछि चेकजाँच हुन्थ्यो । त्यहाँ जिमीलाई बुधसिङका परिचित हवल्दारले तल झारे । जिमीलाई छाडेर बस काठमाडौं लाग्यो ।

त्यसको दुई महिनापछि समाचार खोजीको क्रममा नुवाकोट जेल पुगेको थिएँ । जिमीसँग त्यहीँ भेट भयो । उनले ठट्यौलो पारामा भनेका थिए, ‘ककनीबाट तपाईं काठमाडौं जानुभयो, म यहाँ आइपुगेँ ।’

जिमीका छोरा जोनी च्वाडीबाट २०५१ मा एसएलसी पास गरेपछि बट्टार क्याम्पसमा अध्ययन गर्थे । मेरो जानकारीमा रहेअनुसार उनी २०५३ सालमा स्ववियुको निर्वाचनमा सदस्यमा विजयीसमेत भएका थिए । जोनी क्रिकेटका राम्रा खेलाडीका रूपमा परिचित थिए ।

बाउका कारण नागरिकता बन्न नसक्दा क्रिकेटका राष्ट्रिय प्रतियोगिताहरूमा उनी सहभागी हुन नपाएको चर्चाहरू त्यतिखेर पनि भइरहन्थे । बाउको नागरिकताको ठेगान नभएका कारण जोनीको नागरिकता प्राप्तिमा समस्या रहेको सुनिन्थ्यो ।

०५८ सालदेखि नुवाकोट र ०६९ देखि नेपाल छाडेको हुँदा चाहेर पनि धेरै कुराहरू अपडेट हुन गाह्रो छ । अहिले फेसबुकमा जोनीको स्टाटस र उनका साथीहरूको समर्थन देखेपछि मलाई दुई दशक पुराना ती घटनाहरू सररर… दिमागमा घुम्न थालेका छन् ।

दाइ, तपार्इंले अमेरिका गएर पनि नागरिकता पाउने बेला भइसक्यो होला । मैले त यहाँ जन्मेर ३८ वर्ष पनि भइसकेँ । अहिलेसम्म नागरिकताकै ठेगान छैन,’ सोमबार बिहान फेसबुकमा भेटिएका जोनीले पीडा पोखे ।

उनको भनाइले मलाई निकै नमीठो अनुभव गरायो । जोनी र उनकी बहिनी जुली नेपालमै अझै भन्नुपर्दा गँगटेमै जन्मिए । उनीहरूले बोल्न जानेको पहिलो शव्द पनि नेपाली नै थियो । टुकुटुकु हिँड्न जानेर बाहिर निस्किएपछि उनीहरूले भेटेका बालसखाहरू पनि नेपाली नै थिए । अझै भन्नुपर्दा गँगटे, बट्टार, माझिटारभन्दा परका थिएनन् ।

बाल्यकालमा साथीहरूसँग खुसियाली साट्दा पनि र झगडा गर्दा पनि उनीहरूले नेपाली भाषा नै प्रयोग गर्थे । स्कुलमा पढेका किताबहरू पनि नेपाली भाषाकै थिए । अझै भन्नुपर्दा उनीहरूलाई जन्मदिने आमा पनि नेपाली नागरिकताधारी र नुवाकोटमै जन्मिएकी थिइन् ।

जन्मेदेखि नेपालभन्दा अर्को मुलुक नटेकेका जोनी ३८ वर्षसम्म पनि नागरिकताबाट विमुख हुनुपर्दा उनले पाएको पीडालाई नजरअन्दाज गर्न सकिँदैन । ‘नागरिकता नभएकै कारण मैले जिन्दगीमा धेरै अवसर गुमाएँ । विदेश पढ्न जाने धोको थियो । त्यो सुरुमै रोकियो । खेलमा लागेर नेपालभित्रै र बाहिर प्रतिस्पर्धा गर्ने मेरो रहर पनि नागरिकताविहीन भएकै कारण ब्रेक लाग्यो,’ उनले भने ।

नेपालको संविधान–२०७२ को धारा–११ को उपधारा–२ (ख) ले भनेको छ–कुनै पनि व्यक्ति जन्म हुँदा निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजका आधारमा नेपालको नागरिक ठहर्ने उल्लेख गरेको छ ।

मानौँ, यो धाराले उनलाई समेट्न सकेन । अर्थात् उनकी आमाले विदेशी नागरिकसँग बिहे गरेका कारण जोनीले वंशजका आधारमा नपाए पनि सोही धाराको उपधारा–५ ले जोनीलाई नेपालको नागरिकताबाट विमुख हुन नदिनुपर्ने । उपधारा–५ ले भनेको छ– ‘नेपालको नागरिक आमाबाट जन्म भई, नेपालमा नै बसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ ।’

जन्मदेखि अर्को देशमा पाइला नराखेका जोनीलाई नागरिकता दिनेतर्फ प्रशासनले किन खेलबाड गरिरहेको छ ? यो सर्वसाधारणका निम्ति सबैभन्दा पेचिलो र जोनीका लागि चोटिलो प्रश्न हो ।

नेपालको प्रशासनतन्त्र ‘आका’ (आवश्यक कारबाही) को आधारमा चलेको छ । विवेकका आधारमा, न्यायका आधारमा प्रशासनतन्त्र चलेको देख्न पाइँदैन । जोनी र जुलीका हकमा पनि कुनै पनि प्रशासकदेखि आँट गरेको देख्न पाइएको छैन । नेपालमै, नेपाली आमाको कोखमा जन्मेको ३८ र ३४ वर्षीय व्यक्तिलाई अहिलेसम्म नागरिकताबाट वञ्चित गराउनु लज्जाको पराकाष्ठा हो ।

यी दुई दाजुबहिनी नागरिकता खोज्न अब कहाँ जाने ? इराक जाने कि इन्डिया ? इराक जाउन् त यिनले त्यो देश सुनेका मात्र छन् । आमाको नागरिकतामा बाबुको ठेगाना कस्मिर श्रीनगर लेखिएको छ । जुन ठाउँ भारत प्रशासित कस्मिरमा पर्छ । जम्मु र कस्मिरले लामो समयदेखि भारतबाट स्वतन्त्र राज्यका रूपमा पहिचान खोजिरहेका छन् ।

तर श्रीनगरमा पनि उनीहरूको न समात्ने ठाउँ छ, न त टेक्ने ठाउँ नै । जे–जति छ, आफन्त साथीभाइ, भाषा सबै जन्मेकै ठाउँमा छ ।
संसारको सबैभन्दा आकर्षण मानिएको देश अमेरिकाले अर्को देशबाट गएर स्थायी बसोवासपत्र (ग्रिनकार्ड) पाएको व्यक्तिलाई पाँच वर्षपछि नागरिकता प्रदान गर्छ । अमेरिकाको सिभिक राइट्स, इतिहास, भूगोल र सामान्य बोलीचालीको अङ्ग्रेजीको अन्तर्वार्ता लिएपछि असल चरित्र भएकालाई नागरिकता दिइन्छ ।

अमेरिकामै जन्मेका बालबालिका स्वतः नागरिक हुन्छन् । चाहे जन्मने बालबालिकाका बाउ–आमा गैरकानुनी रूपमा अमेरिका बसिरहेका नै किन नहुन् । अमेरिकी भूमि र आकाशमा जन्मने हरेक व्यक्ति अमेरिकाको जन्मसिद्ध नागरिक हुन पाउँछ ।

तर, छिमेकी मुलुक भारतबाट नेपाल छिरेर अङ्गीकृत नागरिकता लिएकाहरू पटकपटक शासनसत्तामा पुगिसके । उता जोनी र उनकी बहिनी भने अहिलेसम्म नेपाली नागरिकताका लागि भिख माग्दै छन् ।

फेसबुकमा देखियो– ‘जसले जोनीलाई नागरिकता दिलाउनका लागि पहल गर्छ उसैलाई भोट ।’ के नागरिकताजस्तो कुरो पनि कसैको दया, विवेक र दान हो र ? यो त उनले जन्मसिद्ध पाउनुपर्ने विषय थियो । यो चुनावी मसला हुँदै होइन ।

स्थानीय प्रशासनले जोखिम मोल्ने आँट नगरेको अवस्थामा मन्त्रिपरिषद्मा लगेरसमेत निर्णय गराउने पहल सांसद र मन्त्रीहरूले गर्नुपर्ने थियो । तर, जोनीले नागरिकता पाउने उमेर पार गरेको पनि २२ वर्ष पूरा भइसक्यो । २२ वर्षसम्म नुवाकोटका कतिजना सांसद भए ? कतिजना मन्त्री भए ? अनि उहाँहरूले के गर्नुभयो नागरिकता दिलाउनका लागि ? यसको हिसाब–किताब खोज्नैपर्छ ।

जोनीका पिता जिमीले नेपालमै देहत्याग गरेको पनि १५ वर्ष भइसकेको छ । हिजो जोनीको प्रोफाइल फेसबुकमा हेर्दै थिएँ । बिहे गरेर तीनवटा बच्चासमेत भइसकेछन् । दशैँमा टीका र जमरा लगाएको परिवारसहितको फोटो राखेका रहेछन् । ‘दाइ, मेरी पत्नीको माइती ढिकुरे हो । उनीसँग त नागरिकता छ । तर, मैले अझै नागरिकता पाएको छैन । थाहा छैन मेरा बच्चाहरूको के हुन्छ ?’ उनी भन्दै थिए ।

हे पशुपनिनाथ, हाम्रा नेताहरू र प्रशासकहरूलाई सद्बुद्धि दिनुहोस् । नागरिकताजस्तो सरल विषयलाई किन यति जटिल र क्लिष्ट बनाइएको छ नेपालमा ? नेपालमै नेपाली आमाबाट जन्मेको, जन्मेदेखि नेपाल नछाडेको, नेपालमै काम गरेर झण्डै चार दशकदेखि बसिरहेको व्यक्तिले पनि नागरिकताका लागि रोइकराई गर्नुपर्ने कस्ता नेता र कस्ता प्रशासक ?

लेखक: त्रिशूली प्रवाह साप्ताहिकका संस्थापक सम्पादक हुन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top