२०८१, १४ बैशाख शुक्रबार

वामपन्थी भोट अन्त जाँदैन -बद्री मैनाली

    कार्तिक १७ २०७४ १२:२२

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बद्री मैनाली, नुवाकोट क्षेत्र नं. १ को प्रदेश सभा ‘ख’बाट वाम गठबन्धनका उमेदवार

वामपन्थीहरू निर्वाचनको मुखमा पाइने मीठो–मसिनोको भरमा पनि पर्दैनन् र निर्वाचनमुखी खरदारको जागिरको झुटा आश्वासनमा पनि पर्दैनन् ।

नेकपा एमाले नुवाकोटका उपाध्यक्ष बद्री मैनाली आगामी मङ्सिर १० गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा होमिइसकेका छन् । वाम गठबन्धनले संयुक्त उम्मेदवारको रूपमा नेकपा एमालेले नुवाकोट क्षेत्र नं. १ को ‘ख’मा मैनालीलाई उम्मेदवार बनाएको हो । पार्टीमा युवा परिचालन गर्न सक्ने मैनालीले एकसरो गाउँको संयुक्त भेला गरिसकेका छने । एक्लै निर्वाचन लड्न होमिएका मैनालीले अहिले वाम गठबन्धनले आफूलाई अझ सहज भएको अनुभव गरेका छन् । नेकपा एमालेको क्षेत्रीय उपाध्यक्ष, केन्द्रीय शिक्षा विभागको सदस्य हुँदै जिल्ला उपाध्यक्ष निर्वाचित भएका मैनालीसँग डबली खबरले गरेको कुराकानीको  सारंश:-

चुनावी अभियान कसरी अघि बढिरहेको छ ?

अहिले देशमा निर्वाचन घोषणा भएको छ । आगामी मङ्सिर १० गते नुवाकोटमा पनि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदै छ । हामी वामपन्थीहरूबीच एक भएर भविष्यमा पार्टी एकता गर्ने र हाललाई गठबन्धन बनाएर जाने सहमति भएको कुरा सबैलाई थाहै छ । मलाई नेकपा एमालेले वाम गठबन्धनको तर्फबाट मलाई नुवाकोट क्षेत्र नं. १ को प्रदेश सभा ‘ख’को उम्मेदवार बनाएको छ । म सबै गाउँमा एकसरो पुगेर कार्यकर्तास्तरमा गठबन्धनको भेला बैठक गरेर आएको छु ।

एकसरो गाउँ घुमेर आउँदा मतदाताको धारणा के पाउनुभयो ?

वाम गठबन्धन भएकोमा मतदाताहरू अत्यन्तै उत्सुक छन् । वाम तालमेलले नुवाकोटमा मात्रै होइन देशैभरि ऊर्जा थप्ने काम गरेको छ । मैले एकसरो गाउँ भ्रमणमा जाँदा जनताले नीति–निर्माण र मुलुकको विकास र समृद्धि चाहेको पाएँ । जनताका जनजीविकाका सवालमा गाउँठाउँको विकास गर्ने पार्टी र त्यसका प्रतिनिधिलाई मत जाहेर गर्न जनता आतुर छन् । सानातिना लोभ र खरदारको जागिरको आश्वासनमा लाग्ने नुवाकोटे जनता छैनन् ।

तपाईंले टिकट पाउनुभयो, पार्टीले किन तपाईंलाई नै उम्मेदवार बनाएको ?

म यस पार्टीमा लागेको दुई दशक बितिसकेको छ । नुवाकोटको भूगोलमा पनि १० वर्षदेखि विभिन्न पदमा बसेर काम गरिसकेको छु । पदमा नहुँदा पनि नुवाकोटको विभिन्न विकास निर्माण र सामाजिक सेवाका काममा मैले दिएको योगदान नै पार्टीले मूल्याङ्कन गर्ने आधार हो । ०६४ देखि नुवाकोट बुद्धिजीवी परिषद्को सदस्य, क्षेत्रीय उपाध्यक्ष, केन्द्रीय शिक्षा तथा मानव संसाधन विभागको सदस्य हुँदै गएको जिल्ला अधिवेशनमा निर्वाचित जिल्ला उपाध्यक्ष भएर अहोरात्र पार्टी काममा खटिएको छु । पार्टीको काममा तल्लीन रहँदै कार्यकर्ता संरक्षणमा मैले खेलेको भूमिका र पुराना नेताहरूको अनुभव लिँदै युवाहरूलाई अघिसार्नुपर्छ भन्ने पार्टी–नीतिअनुसार नै मैले टिकट पाएको छु ।

तपाईंले आफ्नो क्षेत्रका प्रत्याशी उम्मेदवारलाई समेट्न सक्नुभएन नि ?

मलाई त्यस्तो लाग्दैन । त्यसका लागि मनोनयन दर्ताको दिनदेखि नै हाम्रा नेताहरू लागिरहनुभएकै छ । एकाध नेताहरू आफ्नो कामविशेषले उपस्थित हुन नसक्नुभएको भए पनि उहाँहरूसँग नियमित सम्पर्कमै छु । निर्वाचनको माहौल तात्दै आएपछि उहाँहरू लाग्नुहुने नै छ । पार्टीभित्र कुनै असन्तुष्टि हुनुपर्ने कारण नै छैन । पार्टी एकखाले निर्णयमा नपुगुन्जेल सबै त्यस क्षेत्रका नेता–कार्यकर्ता जसले लामो समयदेखि पार्टी जीवनमा लागिरहनुभएकाहरूमा त्यो इन्छा जाहेर हुनु स्वाभाविक हो । तर, पार्टीले एउटा निर्णय लिइसकेपछि त्यो व्यक्ति होइन पार्टी निर्वाचन लडेको हो भन्ने सम्झनुपर्छ भन्ने मेरो धारणा हो ।

नेकपा एमालेको सङ्गठन कमजोर भएको ठाउँबाट चुनाव लड्दै हुनुहुन्छ, चुनाव जित्ने आधार के हो ?

नेकपा एमालेको सङ्गठन नुवाकोटमा कमजोर छैन । गत स्थानीय तहको निर्वाचनमा हामीले धेरै प्रतिनिधि जिताएका छौँ । प्राविधिक रूपमा जिल्ला समन्वय समिति हाम्रो हातमा छैन । तर, मतको हिसाब गर्ने हो भने अत्यन्त बलियो सङ्गठन छ नुवाकोटमा एमालेको । केही गाउँपालिकामा हामी थोरै मतले हारेका छौँ । हाम्रा त्यस क्षेत्रका भूगोलका कमिटीहरू एकदम चलायमान छन् । नेकपा एमालेको जस्तो बलियो सङ्गठन नुवाकोटमा अरू पार्टीको छैन ।

तपाईं उम्मेदवार भएको ठाउँमा स्थानीय तहमा माओवादीले २ वटा गाउँपालिका जितेको छ, वाम तालमेल कति सफल होला ?

वाम गठबन्धनका उम्मेदवारहरूलाई जिताउन मतदाताहरू लागिसकेका छन् । यहाँ अव को एमाले को माओवादी भन्ने छैन । ‘सबै वाम एक ठाम’ भन्ने नारालाई हामीले अङ्गीकार गरिसकेका छौँ । स्थानीय तहमा कसले कहाँ जित्यो त्यो भोट कता जाला भन्ने चिन्ता होइन । अहिले वाम भोट वामतिर लोकतान्त्रिक भोट उतैतिर हुन्छ । हामी आफ्नो भोटलाई सुरक्षित गर्दै लोकतान्त्रिक भोट तान्नेतिर लाग्नुपर्छ । र, नुवाकोट जिल्लालाई वामपन्थीहरूको लालकिल्ला बनाउनुपर्छ भनेर हामी सबै लागेका छौँ । मत कुन भूगोलकाले कहाँ हाल्ने भन्ने हामीले बुझाइसकेका छौँ । वामपन्थी भोट अन्त जाँदैन ।

तपाईंले निर्वाचन जित्ने आधार के हो ?

यसमा आधार खोजिरहनुपर्दैन । गत स्थानीय तहको मतलाई हेर्ने हो भने नुवाकोट क्षेत्र नं.ं १ मा हामी वाम उम्मेदवारको मत १४ हजारभन्दा बढी छ । मेरो प्रदेशमा पनि ८ हजार मतभन्दा माथि छ । वामपन्थीहरू निर्वाचनको मुखमा पाइने मीठो–मसिनोको भरमा पनि पर्दैनन् र निर्वाचनमुखी खरदारको जागिरको झुटा आश्वासनमा पनि पर्दैनन् । वामपन्थीहरू कहिल्यै पनि झुटो राजनीति गर्दैनन् । सिद्धान्त, आस्था र विचारको राजनीति गर्छन् । मैले त्यस क्षेत्रमा गरेको काम र विकास निर्माणमा पु-याएको योगदान नै निर्वाचन जित्ने आधार हो । म हिजो क्षेत्रमै निर्वाचन लड्न तयार भएको थिएँ । आज वाम तालमेलले म प्रदेशमा निर्वाचन लड्दै छु । मलाई त्यस क्षेत्रका जनताले सहज रूपमा चुनाव जिताउँछन् भन्ने अपेक्षा लिएको छु ।

तपाईंका स्थानीय एजेन्डाहरू के–के छन् ?

पार्टीले लिएको एजेन्डा त छँदै छ । त्यसबाहेक पनि मैले ककनीलाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र घोषणा गने सकेँ र देशमा भित्रिने पर्यटकहरूलाई ककनीको बारेमा चिनाउन सक्नुपर्छ भन्ने मेरो जोड छ । पञ्चकन्यालाई पनि धार्मिक पर्यटकीय रूपमा महत्वपूर्ण क्षेत्र घोषणा गर्नुपर्छ । लिखुलाई उर्वर कृषि उत्पादनको थलोको रूपमा विकास गर्नुपर्छ । समग्र प्रदेशको विकासमा मेरो योगदान हुने नै छ ।

प्रस्तुति: विष्णु तारुके

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top