२०८१, १४ बैशाख शुक्रबार

नुवाकोट, रसुवा र धादिङमा एमालेको वाम गठबन्धन र काङ्ग्रेसको लोकतान्त्रिक गठबन्धन भिड्दै

    कार्तिक १६ २०७४ १६:४६

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर/ नुवाकोटमा केन्द्रीय तहका नेताहरू चुनावी मैदानमा छन् । यसैले गर्दा यहाँको निर्वाचन अलि बढी रोचक हुने देखिएको छ । उम्मेदवारहरू आ–आफ्नै एजेन्डा लिएर चुनावमा होमिएका छन् । मङ्सिर १० गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नुवाकोटको छिमेकी जिल्ला रसुवा र धादिङमा पनि संयुक्त वाम गठबन्धन र नेपाली काङ्ग्रेसबीच कडा टक्कर हुने देखिएको छ ।

नुवाकोटबाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेका काङ्ग्रेस केन्द्रीय सदस्य एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महत लोकतन्त्रको रक्षा र आर्थिक समृद्धिका लागि आफू चुनावी मैदानमा उत्रिएको बताउँछन् भने उनका प्रतिस्पर्धी साझा वाम गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङले संविधानको कार्यान्वयन, रक्षा र विकासका लागि आफू जनताको माझ आएको बताएका छन् ।

त्यस्तै, निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका काङ्ग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले जिल्लाको समग्र उन्नतिका लागि निर्वाचनमा होमिएको बताएका छन् । उनी आफूले जनताको साथ पाउने र विजयी हुने बताउँछन् । त्यही क्षेत्रबाट केसीका प्रतिस्पर्धी एवम् साझा वाम गठबन्धनबाट उम्मेदवारी दिएका एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा आफूले जिल्लाको सिपाही बनेर राजनीतिक यात्रा अघि बढाइरहेकाले आफ्नो जित सुनिश्चित रहेको बताउँछन् । जिल्लाको मैले गाउँबस्तीसम्मको दुःख, पिर, मर्का बुझेको र सक्दो सहयोग र समाधान गरिरहेकाले जनताको आशा र भरोसा मप्रति रहेकाले मेरो जित सुनिश्चित भएको बताउँछन् ।

लोकतन्त्र, समानता, न्याय र समान अवसरका नारा बोक्ने राजनीतिक दलहरू आफैँमा कति लोकतान्त्रिक छन् भन्ने तिनले चुनावमा उठाएका उम्मेदवारको निरन्तरताबाट थाहा हुन्छ । नेपालको राजनीतिमा बेलाबेलामा परिवारवादको चर्चा भएसँगै चुनावमा टिकट लिने र दिने सवालमा ‘बूढो साँढेले झैँ ओगटिरहने’ प्रवृत्ति व्यापक छ । एकपटक नेता भएपछि बाँचुन्जेल नेता, एकपटक कुनै क्षेत्रबाट चुनावमा उम्मेदवारी पाएपछि त्यही क्षेत्र वा जिल्लालाई आफ्नो पेवा ठानेर बस्ने प्रवृत्तिले जरा गाडेको छ । त्यस्ता क्षेत्र र जिल्लामा अर्कोले नेतृत्व पाउन पहाडै खस्नुपर्ने अवस्था छ ।

पञ्चायतकालमा काङ्ग्रेसको राजनीति गर्दागर्दै राष्ट्रिय पञ्चायतमा सदस्य भएका नुवाकोटका अर्जुननरसिंह केसी पञ्चायतकालमै दुईपटक राष्ट्रिय पञ्चायत सदस्यमा (रापस) मा उठे र एकपटक स्वास्थ्य सहायकमन्त्री, एकपटक यातायात राज्यमन्त्रीसमेत भए । पछि जिल्ला पञ्चायतको सभापतिसमेत भए । उनी ४६ सालको जनआन्दोलनताका सभापतिकै नाताले ‘जनआन्दोलन प्रतिकार समितिको जिल्ला संयोजक’ थिए । बहुदल आएपछि उनी राप्रपा थापाका संस्थापक महामन्त्रीसमेत बने । लगत्तै काङ्ग्रेस प्रवेश गरेका उनले एकैपटकमा नुवाकोटबाट सांसदको टिकट पाए । बहुदलीय व्यवस्थाअन्तर्गतको सांसदमा पाँचपटक उम्मेदवार बन्ने अवसर पाएका उनी पञ्चायतमा समेत गरेर पाँचपटक मन्त्री भइसकेका छन् । सम्पन्न काङ्ग्रेसको तेह्रौँ महाधिवेशनमा उनी सभापति शेरबहादुर देउवाकोे प्यानलबाट महामन्त्री पदका प्रत्याशीसमेत थिए । आगामी मङ्सिर १० गते हुने सङ्घीय संसद्को निर्वाचनमा पनि उनी प्रत्यक्षतर्फबाट काङ्ग्रेसको उम्मेदवार बनेका छन् ।

पञ्चायतकालमै संयुक्त राष्ट्रसङ्घको जागिर खाएका डा. रामशरण महत शेरबहादुर देउवा नेविसङ्घका अध्यक्ष हुँदा उक्त सङ्गठनको महामन्त्री थिए । राजनीति गर्नकै लागि कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबाट बोलाइएका उनी ०४८ को संसदीय चुनावमा नुवाकोटबाट काङ्ग्रेसका तर्फबाट चुनाव लडे । चुनाव हारेपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बनेका महत नुवाकोटबाटै पाँचपटकसम्म सांसदको टिकट पाएर चारपटक जित हात पार्न सक्षम बने । उनी चारपटक अर्थ र एकपटक परराष्ट्रमन्त्रीसमेत भइसकेका छन् ।

प्रदेश सभामा को–को छन् उम्मेदवार

प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नं. १ (क) मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काङ्ग्रेसका महेन्द्र थिङ र संयुक्त वाम गठबन्धनबाट माओवादी केन्द्रकी राधिका तामाङ मैदानमा रहेका छन् । यसैगरी निर्वाचन क्षेत्र नं. १ (ख) मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काङ्ग्रेसका रमेशकुमार महत, संयुक्त वाम गठबन्धनतर्फबाट एमालेका बद्री मैनाली चुनावी मैदानमा उत्रिएका छन् । यस्तै प्रदेश सभातर्फ प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ (क) मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काङ्ग्रेसका जगदीश्वरनरसिंह केसी र संयुक्त वाम गठबन्धनबाट एमालेका केशवराज पाण्डे चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । त्यसैगरी प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ (ख) मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काङ्ग्रेसका जगतबहादुर तामाङ र संयुक्त वाम गठबन्धनबाट माओवादीका हीरानाथ खतिवडा उम्मेदवार बनेका छन् ।

४६ उम्मेदवार मैदानमा

प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न पार्टी र स्वतन्त्रबाट उम्मेदवारी दिएका ५७ जनामाध्ये ११ जनाले मनोनयन फिर्ता लिएका छन् । ११ जना उम्मेदवारले नाम फिर्ता लिएपछि ४६ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यको उम्मेदवारी फिर्ता लिनेमा निर्वाचन क्षेत्र नं. १ बाट नेकपा एमालेका जयागार तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नरेन्द्रप्रसाद फुँयाल र नयाँ शक्ति पार्टी नेपालका सन्तबहादुर तामाङ छन् । यस्तै, प्रदेश सभाअन्तर्गत निर्वाचन क्षेत्र नं. १ (क) बाट राप्रपा प्रजातान्त्रिकका उम्मेदवार दामोदर थापा क्षेत्री र (ख) बाट राप्रपा प्रजातान्त्रिकका दीपकुमार राईले पनि उम्मेदवारी फिर्ता लिए ।

६ महिला चुनावी प्रतिस्पर्धामा

प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा ६ महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । जिल्लामा ७ महिलाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन क्षेत्र नं. २ बाट एकीकृत राप्रपा राष्ट्रवादीबाट उम्मेदवारी दिएकी राज्यलक्ष्मी पाण्डे श्रेष्ठले मनोनयन फिर्ता लिएपछि ६ महिला मात्र चुनावी मैदानमा रहेका हुन् ।

प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. १ बाट एसिला थापा स्वतन्त्र उम्मेदवार छिन् । प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. २ मा नेकपा क्रान्तिकारी माओवादी (मोहन वैद्य) निकट महिला सङ्गठनको केन्द्रीय अध्यक्ष लक्ष्मी मुडभरीले देशभक्त जनगणतान्त्रिक मोर्चाबाट उम्मेदवारी दिएकी छिन् ।

यस्तै, प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. १ (क) बाट पूर्वराज्यमन्त्री राधिका तामाङ माओवादी केन्द्रबाट, ग्युर्मी शेर्पा नयाँ शक्ति पार्टीबाट र सुनिता थोकर स्वतन्त्रबाट चुनावी मैदानमा छन् । प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. २ (ख) बाट रीता ओझाले स्वतन्त्र उम्मेदवारी दिएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मतदाता बढे, मतदान केन्द्र थपियो

मङ्सिर १० गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा नुवाकोटका २ लाख ८ हजार १ सय ९१ जनाले मतदान गर्न पाउने भएका छन् । वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा १ लाख ८५ हजार ७ सय ८२ जना मतदाता रहेका थिए । स्थानीय तहको निर्वाचनपछि जिल्ला प्रशासन कार्यालय नुवाकोट, निर्वाचन कार्यालय विदुर र स्थानीय तहका केन्द्रदेखि वडा कार्यालयसम्म सञ्चालन भएको घुम्ती सेवा शिविरबाट २२ हजार मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

निर्वाचन क्षेत्र नं. १ मा १ लाख ५ हजार २ सय ८७ जना र क्षेत्र नं. २ मा १ लाख २ हजार ९ सय ४ जना मतदाता छन् । यस्तै, प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश सभा (क) मा ५२ हजार १ जना, (ख) ५३ हजार २ सय ८६ जना मतदात छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा सदस्य (क) मा ५१ हजार ६ सय ४९ जना र (ख) मा ५१ हजार २ सय ५५ जना मतदाता छन् ।

त्यसैगरी मतदाता सङ्ख्या वृद्धिसँगै मतदान केन्द्रसमेत थपिएका छन् । स्थानीय तह निर्वाचनमा १ सय २९ वटा मतदान स्थलमा २ सय ४० वटा मतदान केन्द्र निर्धारण भएकोमा अहिले मतदान स्थल साबिककोलाई कायम गरी केन्द्र भने २० वटा थप गरी २ सय ६० पु¥याइएको जिल्ला निर्वाचन अधिकृत जनार्दन अधिकारीले जानकारी दिए । एक मतदान केन्द्रमा १ हजार मतदाता मात्र समावेश गर्ने भएकाले २२ हजार मतदाता वृद्धि भएपछि २० वटा मतदान केन्द्र थप भई निर्वाचन आयोगबाट स्वीकृत भएर आएको निर्वाचन कार्यालयले जनाएको छ ।

धदिङमा नयाँ अनुहार

एमाले नेता राजेन्द्र पाण्डे र माओवादी नेता शालिकराम जम्मरकट्टेल नेकपा एमाले पार्टी कार्यालयअगाडिबाटै धादिङको संयुक्त नाराजुलसहित उम्मेदवारी दर्ता गर्न जाँदै गरेका दृश्य आफैँमा अनौठो थियो । जिल्लामा निर्वाचनको बेला प्रायः झडपमा उत्रिने नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा नेपाली काङ्ग्रेस र राप्रपाका नेताहरू पनि यसपालि संयुक्त रूपमा उम्मेदवारी दर्ता गरी केन्द्रीय निर्देशनअनुसार गठबन्धनमा समाहित हुँदै चुनावी प्रचारप्रसारमा जुटिरहेका छन् ।

१० मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको प्रथम चरणको निर्वाचनले जुराएको संयोग थियो, यो । चुनावी गठबन्धन बनाउने प्रतिस्पर्धाबीच एमाले र माओवादी तथा काङ्ग्रेस र राप्रपाबीच देखापरेको यस्तो हार्दिकता आफैँमा सुखद थियो । चुनावी अभियान सञ्चालन गर्ने क्रममा धादिङ एमाले र माओवादीले संयुक्त कार्यकर्ता भेलाको आयोजना गरी संयुक्त निर्वाचन परिचालन कमिटी बनाई गाउँगाउँमा चुनावी प्रचारप्रसारमा खटिरहेका छन् ।

धादिङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ र २ मा संयुक्त वाम गठबन्धनका तर्फबाट एमालेका भूमिप्रसाद त्रिपाठी र खेमप्रसाद लोहनी उम्मेदवार बनेका छन् भने लोकतान्त्रिक गठबन्धनका तर्फबाट काङ्ग्रेसका विश्व अर्याल र दिलमान पाख्रिन चुनावी प्रतिस्पर्धामा छन् । संयुक्त वाम गठबन्धनका तर्फबाट क्षेत्र नं. १ को प्रदेश–‘क’मा एमालेका राजेन्द्र पाण्डे, प्रदेश–‘ख’मा माओवादीका शालिकराम जम्मरकट्टेल तथा क्षेत्र नं. २ को प्रदेश–‘क’मा एमालेका रामकुमार अधिकारी र प्रदेश–‘ख’मा माओवादीका जगत सिंखडा उम्मेदवार बनेका छन् । लोकतान्त्रिक गठबन्धनका तर्फबाट काङ्ग्रेसले क्षेत्र नं. १ को प्रदेश–‘क’मा र ‘ख’मा मधु श्रेष्ठ र प्रभातकिरण सुवेदीलाई अगाडि सारेको छ भने क्षेत्र नं. २ को प्रदेश–‘क’मा काङ्ग्रेसका रमेश धमला र प्रदेश–‘ख’मा राप्रपाका डम्बर तामाङ चुनावी प्रतिस्पर्धामा छन् ।

धादिङमा प्रतिनिधिसभाका दुई र प्रदेश सभाका चारवटै क्षेत्रमा नयाँ शक्ति पार्टीले पनि आफ्ना उम्मेदवार अगाडि सारेको छ । २०७० को संविधानसभा निर्वाचनमा तीनवटै क्षेत्र एक्लै जितेको एमाले माओवादीको समेत समर्थन पाएकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेको छ । काङ्ग्रेसका नेताहरू पनि दुवै राप्रपासँग गठबन्धन गरेकाले आफूले जित्ने दाबी गर्दै चुनावी प्रचारप्रसारमा कुदिरहेका छन् । राजेन्द्र पाण्डेबाहेक धादिङबाट प्रतिनिधिसभा र प्रदेश सभामा संयुक्त वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबाट नयाँ अनुहार चुनावी मैदानमा रहेका छन् ।

रसुवामा निर्माण व्यवसायीबीच प्रतिस्पर्धा

मङ्सिर १० गते हुने निर्वाचनमा रसुवामा दुई राजनीतिक दलले निर्माण गरेको गठबन्धनबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । जिल्लामा क्रियाशील राजनीतिक दल दुई गठबन्धनमा बाँडिएपछि लोकतान्त्रिक गठबन्धन र संयुक्त वाम गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा एक तथा प्रदेश सभा सदस्यमा दुईजना निर्वाचित हुनेछन् ।

प्रतिनिधिसभा सदस्यका लागि दुवै गठबन्धनबाट उम्मेदवार बनेका दुईजना ठूला निर्माण व्यवसायीका रूपमा चिनिन्छन् । संयुक्त वाम गठबन्धनबाट एमालेका जनार्दन ढकाल र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काङ्ग्रेसबाट उम्मेदवार भएका मोहन आचार्य निर्माण व्यवसायी हुन् । जिल्लामा ०५६ सालदेखि पैसाको बलमा राजनीति हुँदै आएको आरोप लागिरहेका अवस्थामा यसपटक दुईजना निर्माण व्यवसायी नै प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएपछि ठूलै पैसाको चलखेल हुन सक्ने अड्कल जिल्लावासीले गरेका छन् ।

०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका ढकालले यसपटक पनि टिकट पाएका छन् । ०४७ सालमा अनेरास्ववियु प्रारम्भिक समितिको सदस्य बनेर राजनीतिक यात्रा थालेका ढकाललाई ०६४ सालमा माओवादी उम्मेदवारलाई सघाएको आरोप लागेको थियो । ०६४ सालको निर्वाचनमा ११ हजार मत ल्याएर जितेका माओवादीका प्रेमबहादुर तामाङलाई दोस्रो संविधानसभा चुनावमा उनै ढकालले पराजित गरेका थिए ।

अन्तिम समयमा पार्टीले टिकट दिएपछि आचार्य हेलिकोप्टर चार्टर गरेर मनोनयन दर्ता गराउन रसुवा पुगेका थिए । ०४६ सालदेखि राजनीतिमा लागेका उनले फिलिपिन्सबाट इन्जिनियरिङ गरेका छन् ।

०६४ सालको निर्वाचनमा माओवादीबाट विजयी भएका प्रेमबहादुर तामाङ अहिले नयाँ शक्ति पार्टीमा छन् । उनी अहिले प्रदेश सभा सदस्य ‘ख’बाट उम्मेदवार छन् । ‘पैसाको राजनीति नभई विचारको राजनीति गर्नुपर्छ’ भन्ने उनको राजनीतिक यात्रा अनेरास्ववियु क्रान्तिकारी रसुवाको तेस्रो जिल्ला सम्मेलनबाट जिल्ला सदस्य भएपछि सुरु भएको थियो । ०५० चैतबाट राजनीतिक यात्रा थालेका तामाङले एभरेस्ट टेक्निकल इन्स्टिच्युटबाट सबओभरसियर सकाएर आरआर क्याम्पसमा भर्ना भएका उनी पढाइ छोडेर तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र जनयुद्धको समर्थन गर्दै भूमिगत भएका थिए ।

प्रदेश सभा (क) का लागि टिकट पाएका कर्णेल लामा होटेल व्यवसायी हुन् । उनी एमालेका रसुवा अध्यक्ष हुन् । ०४६ सालमा एमाले स्याफ्रु गाउँ कमिटीको सदस्य बनेका उनको राजनीतिक यात्रा त्यहीँबाट सुरु भएको हो । ०४९ सालमा जिल्ला विकास समिति सदस्य, ०५४ मा स्याफ्रु गाविसको अध्यक्ष र ०६२ मा दुर्गम क्षेत्र विकास समिति सदस्यसमेत बनेका तामाङले एसएलसीसम्मको अध्ययन पूरा गरेका छन् ।

प्रदेश सभा (क)मा लोकतान्त्रिक गठबन्धनबाट टिकट पाएका प्रभात लामा नयाँ अनुहार हुन् । उनले राजनीति गरेको करिब १० वर्ष भएको छ । उनी ०६४ सालमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य बनेका हुन् । उनी नेपाली काङ्ग्रेस महासमिति सदस्य हुन् । प्रदेश सभा (ख) बाट संयुक्त वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका इन्द्रप्रसाद गोतामे नेकपा माओवादी केन्द्र रसुवाका संयोजक हुन् । उनले तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र जनयुद्धको सुरुदेखि नै विभिन्न जिल्लामा विभिन्न जिम्मेवारी पूरा गर्दै खारिएका नेताको रूपमा चिनिन्छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top